कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

क्रमभङ्ग, धुलिखेल र तरङ्ग

प्रा. अभि सुवेदी

काठमाडौ — जगदीश राणाको उत्तर-आधुनिक विस्फोटमा मैले एक सिर्जनात्मक क्रमभङ्गको तरङ्ग देखेँ ।

नेपाल समसामयिक अध्ययन केन्द्रको निम्तोमा 'हिजो र आजको नेपाली समाज' विषयमा बोल्न हामी तीनजना म, साहित्यकार अनि समाजशास्त्री प्राध्यापक चैतन्य मिश्र र कीर्तिपुर केन्द्रीय विभागका शिक्षक डम्बर चेमजुङ धुलिखेल लज रिसोर्टको प्राङ्गणमा उनन्तीस माघको बिहानै पुग्यौं । यस संस्थाका मुख्य मानिस र राजनीतिशास्त्री प्राध्यापक लोकराज बराल सायद हाम्रै प्रतीक्षामा थिए । चिया खाने क्रममा उनले अघिल्लो दिनको उद्घाटनको कथा सुनाए । उनी निकै खुसी देखिन्थे । उद्घाटन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गरेका थिए ।
हेटौंडामा माघ तेस्रो हप्तामा भएको उनको पार्टीको सातौं महाधिवेशनले फेरि अध्यक्ष छानेका यी प्रचण्डको प्राज्ञिक कर्ममा लागेका मानिसहरूलाई भेटेर दिएको यो पहिलो भाषण थियो । प्राध्यापक बरालले प्रचण्डको राजनीतिक व्यक्तित्वको विषयमा सुनाए । बराल सरले प्रचण्डको व्यक्तित्वको त्यो पक्ष कहिल्यै देखेका थ्ािएनन् । उनले प्रचण्डको शारीरिक भावभङ्गिमा, उनका हात र औंलाहरूको चलाइ अनि उनको फटाफट हिँड्ने गति र मानिसहरूसँग बोल्ने र भेट्ने तरिकालाई लिएर बीपी कोइरालाको अङ्गभाषाको सम्झना भएको कुरा सुनाए । बीपीसँग प्रचण्डको तुलना गरे । उनले भारतका अरु नेताहरूका अङ्गभाषाको प्रसङ्ग पनि ल्याए । मलाई पनि बराल सरले यसरी शरीरको भाषाको कुरा गरेको नौलो लाग्यो ।
रङ्मञ्च र नाटकको मानिस भएको कारणले यस्तो चित्रणमा म अर्थ देख्छु । राजनेताहरूलाई सपना र विचारले चलाउँछ । कहीं पुग्ने तिनका सपना छन् भने ती सजग रहन्छन् । हरिणले कान ठाडा पारेर बीच-बीचमा टाढाबाट केही सङ्गीतमय आवाज सुनेजस्तै कोही-कोही राजनेताहरू आफ्ना सपना र भविताको ध्वनि सुन्छन् भन्ने पढिएको छ । काव्यिक व्याख्या हो । प्राध्यापक बराल विगतमा नेपाली काङ्ग्रेसका समर्थकमात्र होइन, विद्यार्थी हुँदा एक सक्रिय नेता पनि थिए । तर तिनको लामो प्राज्ञिक जीवन र अध्ययनले तिनलाई स्वतन्त्र हुन सिकाएको छ । बराल सरको यो अवतार उनको पछिल्लो कृति 'नेपाल—नेसन स्टेट इन द विल्डरनेस' -२०१२) मा देख्ािन्छ । केही वर्षदेखि तिनले पत्रपत्रिकामा आफ्ना गहन विचार स्वतन्त्र रूपले लेख्तै आएका छन् । बराल सरले सुनाए, 'प्रचण्डले हिजो बोलेको कुराले म चकित भएँ । तिनले कुनै राजनीतिक दललाई गाली नगरी आफ्नो राजनीतिक अनुभवबारे सुनाए । मैले प्रचण्डलाई यो कुरा भनिदिएँ ।'
एउटा प्राज्ञिक मानिस कुन दलको हुनसक्छ भनेर अड्कल काटिरहनु समय नष्ट गर्नुमात्र हो । परेको बेला लागेको कुरा भन्ने हो । प्राज्ञिक मानिसले राजनेताको खोजी गर्दा निरपेक्ष भएर लाग्नुपर्छ । प्रचण्डले बोलेको बराल सर भन्दै गए— राजनीतिक समाधान विपरीत चिन्ता भएका मानिसहरूको दोभानमा सम्पन्न हुन्छ । उनको र गिरिजाबाबुको बीचमा राजनीतिक भिन्नता थियो । दुई ध्रुव थिए ती । तर त्यही कारणले उनीहरू एक ठाउँमा आएर फरक विचारको द्वन्द्वबाट सम्झौता गर्न बाध्य थिए । उनीहरूले त्यसै गरे । इतिहासमा परिवर्तन आयो । प्रचण्डले भने, विपरीत दलको मानिससँग मात्रै द्वन्द्वको अवस्था हुँदैन । आफ्नै दलभित्र पनि हुन्छ । जहाँनेर त्यस्तो अवस्था हुन्छ, त्यहीं सम्झौता गर्नुपर्ने ऐतिहासिक क्षणको रचना हुन्छ । जुन राजनेताले त्यो बुझेर काम गर्छ, त्यसले मात्र समाधान निकाल्न सक्छ भन्ने तिनको भनाइको औचित्य आयोजक केन्द्रका प्राध्यापक कृष्ण हाछेथ्युँलाई पनि लागेको थियो । तिनका काम र विचारसँग पनि म परिचित छु ।
प्रचण्डले भनेको अलग विचारका सम्पर्क विन्दुमा सम्झौता गर्नुपर्छ र त्यस्ता सम्झौता उनले गिरिजाबाबु र आफ्नै कामरेड बाबुराम भट्टराईसँग पनि पटक-पटक गरेको कुरालाई प्रचण्डले भनेको सुनाए, प्राध्यापक बरालले । प्रचण्डको यो द्वन्द्वात्मक चिन्ता व्यवहार र अगाडि जानलाई खोज्नुपर्ने समन्वयबाट जन्मेको हो । विपरीत विचारहरू अलग रहे भने न द्वन्द्व हुन्छ न अग्रगति हुन्छ भन्ने दर्शन तिनले राखे । नेपालको सन्दर्भमा भने त्यसले बीपी कोइरालाको मेलमिलापको दर्शन सम्झाउँछ । बीपीको पार्टीका कतिपय र सर्वसाधारणले उनको मेलमिलापलाई शाह राजासँग गरिने एक कालको सम्झौताको रूपमा मात्र लिए । लाग्छ, अहिले आएर प्रचण्डले आफ्ना अनुभवहरू राखेपछि बीपीको मेलमिलापको दर्शन के थियो भन्न्ो कुरा झन् प्रस्ट भएको छ । प्रचण्डको यो अनुभव र दर्शनले नेपालको अहिलेको राजनीतिक गाँठो खोल्न कति काम कसरी गर्ला, हामी हेछौर्ं । तर त्यस्तो सम्झौताको प्लेटोमा पुग्न अमूक राजनेता वा नेताहरूको व्यक्तित्व र भिजन कारक हुन् । त्यसो हो भने के राजनीति भनेको घटनाको शृङ्खलामात्रै हो र तिनलाई मिलाइबस्नु राजनेताहरूको कर्म हो ? प्रश्न जटिल छ ।
म आफूलाई मनपर्ने इतिहासकार चिन्तक हेइडन ह्वाइटका विचार ल्याउँछु । ती भन्छन्, ऐतिहासिकीले मानिसलाई घटनाका शृङ्खलामा मात्र बाँधेको थियो । यस्ता घटना आकस्मिक हुन्छन् । तर ती घटनाको पछिल्तिर काल्पनिकी र सिर्जना हेर्न सक्नुपर्छ । त्यसरी हेर्नु भनेको काव्य हो । सिर्जना हो । त्यस्तो सिर्जनात्मक पक्ष हेर्नसक्ने राजनेताहरूले ठूला काम गरेका छन् ।
हामीले हिजो र आजका समाजका परिवर्तनका छलफल गर्‍यौं । डम्बर चेमजोङले श्रवण मुकारुङले लेखेको गीतमा जनजाति नाच पर्दामा देखाए । त्यसमा जनजातिले हामीले बनाएको भूमि, अनि हाम्रो रगत-पसिनाले बनेको देश अनि संघर्ष हाम्रो र जित हाम्रो भन्ने भाव थियो । डम्बरले राज्यमा हैकम चलाउने राज्यले गरेका मूल कामहरूको पछिल्तिरको राजनीति देखाए । उनी सबै कुराको जरो राजनीतिलाई देख्छन् । चैतन्यले भने, कोही जाति पनि शुद्ध, एकल हुँदैन । अस्मिता एकल हुँदैन । त्यस्तो शुद्ध जातिको परिकल्पना काल्पनिकीमात्रै हो । पहिचान मिश्रति हुन्छ, किनकि अब 'हाइबि्रडिटी' यथार्थ भइसकेको कारणले एकल जातीय भन्नु यथार्थ होइन भन्ने विचार राखे । कुनै जातिको नाममा लोकतन्त्र हुँदैन, जस्तो बाहुन लोकतन्त्र वा अर्को जातीय लोकतन्त्र भन्नु फजुल कुरा हो, तिनले भने । तिनले समाजको परिवर्तनलाई आर्थिक उत्पादनको आधारमा हेरे । मेरो प्रस्तुति समाज परिवर्तनको विषयमा थियो । मैले हिजो र आजको समाजको परिवर्तन हेर्न नेपाली समाजले चलाएका केही आधारभूत विम्बहरूको प्रयोग गरेंँ ।
दलित र महिलाको विषयमा समाजका चिन्तन खासै अगाडि जान नसकेको कुरा मैले राखेंँ । अङ्ग्रेजी भाषाको प्रयोग राणाहरूका दरबारबाट बाहिर गएर हेबरमासले भनेझैं आमवृत्त हुन नसकेको तर पछि आएर त्यो प्रजातान्त्रिक चेतनाको विस्फोटको संवाहक भएको कुरा राखेंँ । मैले इतिहास र भूगोलको पहिलोपटक द्वन्द्व भएको कुरा भने । सहभागी युवाहरू विविध पृष्ठभूमिका भेटिए । ती नयाँ नेपालको संघारमा छन् । मेरो प्रस्तुतिमा तिनले देखाएका तिनका उत्सुकता र प्रश्नले पुलकित
भएँ । एक साँझ तिनीहरूकोे भेलामा शिव रिजाल र म साथीहरूसंँग धुलिखेल गयौं । ती युवायुवती नेपाली गीतका लयमा नाचेको हेरेंँ । धुलिखेल लजको चिसो डाँडोमा सपना आँखाका ढकनीले आधी छोपेर नाचेका तिनका तरङ्गित शरीरहरू मलाई नेपाली समयको प्रवाहजस्तै लागे ।
यो मिश्रति मुडमा एउटा अर्को एउटा अनुभव थपियो । बराल सरका सपना र एकजना चौरासी वर्षका लेखकका विचारमा साम्य हुनखोजेको देखेर चकित भएँ । लेखक जगदीशशमशेर राणाको 'उत्तर-आधुनिक विस्फोट' भन्ने किताब विमोचनको प्रसङ्ग छ । काठमाडौंमा उत्तर-आधुनिकता विषयका छलफलमा जानु मलाई खासै अर्थ राख्तैनन् । तर एकपटक हेरेपछि राणाको अनुरोधमा एकल वक्ताको रूपमा बोल्न गएँ । किताबको पुछारतिर जगदीश राणाले राखेको कुराले हल्लायो । तिनले नेपालको माओवादी आन्दोलन, त्रिसठ्ठी सालको नरसमुद्र सबैको निष्कर्ष निकालेर भनेका छन्, यो अभूतपूर्व शान्त र गतिशील विस्फोट हो । माओवादी युद्धले यो देशका बोल्न नसक्ने, विपन्न मानिसलाई वाचाल बनायो । नेपालका सबै राजनीतिक दलहरूले उचित काम गर्दैछन् । ती वार्ता गर्दैछन् । त्यो प्रजातान्त्रिक अभ्यास हो । विचलन हो । उनले यो विचारलाई उत्तर-आधुनिक बाहुल्य विस्फोट भनेका छन् । तिनले एकाध हप्ता अगाडि एउटा अन्तर्वार्तामा बीपी कोइराला र प्रचण्डलाई एक ठाउँमा राखेर मानेको कुरा सम्झेंँ । मैले पनि यिनै कुरा अनेकौंपटक लेखेको छु ।
बराल सर र यी अराजक साहित्यकारका विचार मिल्नु संयोग होइन । मैले भने, अहिले नेपाली राजनीति र चिन्ता पछिल्तिर सिर्जनाले सङ्कटको सुन्दर काव्य लेख्तैछ । जाक राँसिएर र जाक डेरिडा फेरि बोल्छन्, प्रजातन्त्र र कविता एकअर्कालाई नभई हुँदैन । अनेकौं विम्बहरूका यात्रा गर्दै, कविताजस्तै उपनिषद, डेरिडा, माक्र्स र संगीतकार स्ट्राभिन्स्की, अनि पहिलो उत्तर-आधुनिक विचार प्रयोग गर्ने 'आर्किटेक्ट' चाल्र्स जेङ्क्स, क्रान्तिले वाचाल बनाएका नेपाली विपन्न नरनारीका विविधतालाई सिर्जनशील शैलीमयी लेखकले तयार पारेको यो किताबले उत्तर- आधुनिकतावादको असरल्लभन्दा नागार्जुनको अर्थपूर्ण दर्शनतिर लगेको कुरा मैले राखें । तर बराल सरको प्रचण्ड व्याख्या, प्रचण्डको पुँजीवादी समाजवाद अनि जगदीश राणाको उत्तर-आधुनिक विस्फोटमा मैले एक सिर्जनात्मक क्रमभङ्गको तरङ्ग देखें ।


प्रकाशित : फाल्गुन ७, २०६९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?