काठमान्डुको पिलो !

अखण्ड भण्डारी

काठमाडौ — कथा भन्न बसेकी हजुरआमालाई कविता पो फुरेछ । काखको नाति झकाइसकेको थियो ।

बर्खामा हिलो हुन्छ
हिउँदमा धुलो
बाहिर गई घर आउँदा
आँखामा पर्छ फुलो
सडकको बीचैमा
कति ठूलो दुलो ?
ढल फुटी दिसासरि
बग्छ त्यहीँ कुलो
अग्लो घरको छतबाट
र्झछ प्लास्टिक कालो
खोतलेर हेर्दाखेरि
गुहु हुन्छ आलो
नगरबाट महानगर
हुँदै गयो ठूलो
हड्डी-मासु बढे पनि
ज्यानचाहिँ झन् लुलो
हेर्दाहेर्दै बढिसक्यो
काठमान्डुको पिलो !
लौ न अब निचोरौं
भइसक्यो ढिलो !!
'पिलो' शब्द सुनेपछि जुरुक्क उठ्यो । किनकि उसलाई एक महिनाअघि त्यही पिलोले थला पारेको थियो । निचोर्दा पिप ननिखि्रएपछि डाक्टरकहाँ लगेर चिरफार गर्नैपरेको थियो । त्यो दिन सम्झँदा उसलाई अझै होसै गएजस्तो लाग्छ ।
'कसलाई आएछ रे पिलो ?' आत्तिँदै जुरुक्क उठेर उसले सोध्यो । 'काठमान्डुलाई', हजुरआमाले भनिन् ।
'को हो काठमान्डु भनेको ?'
'हाम्रो राजधानी ।'
'राजधानी भनेको ?'
'देशको मुटु ।'
'मुटुमै पिलो आएछ आमा ?'
'हो त ।'
'च्चःच्चः कति गाह्रो भो होला ?'
'त्यही त ।'  
'कत्रो छ काठमान्डु आमा ?'
'ठूलो ।'
'मभन्दा ठूलो ?'
'धेरै ठूलो ।'
'कसरी आएछ त त्यति ठूलोलाई पिलो ?'
'फोहोर बढेर ।'
'कसरी बढेछ त फोहोर ?'   
'सुन् कथा ।'
हजुरआमा कथा भन्न थालिन्-
एकादेशको एउटा राजधानी रहेछ । त्यसको नाम रहेछ काठमान्डु । भएका रूख ढालेर उजाड बनाए पनि 'मान्डु' सँग जोडिएको त्यसको 'काठ' कहिल्यै हटेनछ । काठैकाठले बनाएका अमूल्य एवं कलात्मक सम्पदा कुहुँदै गए पनि त्यसको 'काठ' कहिल्यै मक्किएनछ । सायद अग्राखभन्दा कडा होला त्यो !
त्यही भएर त त्यो जब्बर भएर जोगिएको जोगियै गरेछ ! तर त्यो काठले बचाउन सकेनछ आफ्नो साख । लुगा फेरेपछिकी बेहुलीजस्तै बिस्तारै शृंगारविहीन हुँदै गएछ काठमान्डु । क्रमशः खस्किँदै गएछ । यतिन्जेसम्म आइपुग्दा त शरीरभरि फोहोरै-फोहोर बोकेर दङदङ गन्हाउन पो थालेछ । रोगी, असभ्य र मेलोमेसो हराएको जस्तो देखिन थालेछ ।
त्यसका सडकमा हिँड्दा नाक थुन्नुपर्ने दिन आएछ । झोलामा फोहोर बोकेर नगरवासी फ्यात्त किनारमा फाल्दा रहेछन् । त्यो कुहेर दुर्गन्ध बढ्दो रहेछ । विस्तारका सिलसिलामा जताततै सडक भत्काइँदा रहेछन् । त्यहाँबाट निस्किएको फोहोर र धुलो-मैलो पेटीतिरै थुपि्रएका रहेछन् । तिनलाई न पन्छाइँदो रहेछ, न त निरन्तर निर्माण नै गरिँदो रहेछ । गरिगए पनि घरि कालो सूचीमा परेकालाई ठेक्का दिइँदो रहेछ, घरि कामै नगरी ठेकदार भाग्दा रहेछन् । सम्भवतः पैसै-पैसामा बिक्दा रहेछन् निर्णायकहरू । पैसा नभई त्यहाँ कुनै काम अघि नबढ्ने भएकाले सडक बन्ने साइत कहिल्यै जुर्दो रहेनछ ।
हाहाहा... सुट लाएर कार्यालय, कार्यक्रम वा समारोहमा जानेहरू हिउँदमा पनि रेनकोट ओढ्दा रहेछन् । पानी पर्छ भनेर होइन, सुट धुलोमैलो हुन्छ भनेर । आकर्षक गाडी चढ्नेहरू समारोहमा पुग्नुअघि यसो साइड लाएर झर्दा रहेछन् । गाडीको धुलो पुछपाछ गरेर इज्जतिलो बनाई गेटभित्र छिराउँदा रहेछन् । नत्र मान्छेचाहिँ टाइफिटिङ, गाडीमा भने फोहोरको मिटिङ हुने रहेछ । त्यस्तो केही नगर्नेहरू रागिनासे बनेर पुग्दा रहेछन् ।
त्यहाँका बासिन्दा घरभित्रै मास्क लाउँदा रहेछन् । झ्यालबाट छारो पसेर आँखामा असर गर्छ भनी सुत्दा पनि चस्मा लाउँदा रहेछन् । बर्खामा सडकमै पौडी खेल्न स्विमिङ कस्टम बोक्दा रहेछन् । हिउँदमा धुलो छेल्न अनुहारै ट्याप्प छोप्दा रहेछन् । धुलोको कुइरोले बाटै ढाक्ने हुनाले मोटरसाइकल वा साइकल चलाउनेले अन्दाजमा ठोक्दा रहेछन् । त्यसको केही दिनमै टीबी लागेर रातदिन खोक्दा रहेछन् । रोगै-रोगको घर बनिसकेछ राजधानी काठमान्डु ।
अन्यत्र पहिला पूर्वाधार बनाएर सहर बसाइन्छ । राजधानी भएर पनि काठमान्डुलाई त्यो भाग्य जुरेनछ । सहर बनेपछि सडक बनाइएछ । खानेपानीको पाइप बिछ्याउन खनिएछ । ढलका लागि फेरि भत्काइएछ । विस्तार गर्न फेरि खन्ने र भत्काउने काम भएछ । सुन्दै छु- मेलम्चीको पानी ल्याउन फेरि त्यसरी नै पिच उप्काउनैपर्छ रे । अचम्म छ, किन तालमेल नमिलाएका होलान् ? सडक भत्काएर पैसा त स्वाहा बनाए-बनाए, सधैं फोहोर पारेर त्यहाँका बासिन्दाको जीवन किन ध्वस्त पारिदिएका होलान् ?
भगवान् पशुपतिनाथको वासस्थान काठमान्डु स्वर्गजस्तो हुनुपर्ने, नर्कजस्तै हुँदै गएछ । तिनै भगवान्लाई चढाउने 'पवित्र' वाग्मतीमा समेत ढलैढल बग्दो रहेछ । त्यहीँको जलले 'चोख्याएर' तीर्थालुहरू आफू र पशुपतिलाई 'शुद्ध' बनाउँदा रहेछन् । थाहा छैन- त्यसलाई शुद्ध भनिन्छ कि अशुद्ध ? धार्मिक स्थलसम्म सफा र चोखो राख्न नसक्ने हाम्रो कल्याण पो कसरी होला र ?
बोल्दा-बोल्दै हजुरआमा रोकिइन् । छेउमा भएको तातो पानी एक घुट्की पिइन् । सरकारी धाराबाट आजै थापेर भकभक उमालेको त्यो पानी पनि ढलजस्तै गन्हायो । दिक्क मान्दै मुख लेप्य्राइन् । र नातितिर हेरेर सोधिन्, 'यसरी सबैतिर फोहोरै-फोहोर भएपछि काठमान्डुलाई आउँदैन त पिलो ?'
नातिले जवाफ दिएन । घचघच्याइन्, फेरि बोलेन । यसो हेर्दा ऊ त निदाइसकेको पो रहेछ !
------
मस्त निद्रामा रहेको त्यो नाति कतै हामी नै त होइनौं ? सबैले चिमोटिहेरौं त आफू-आफूलाई ! 

प्रकाशित : पुस १५, २०७० १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?