कम्युनिस्ट ब्युरोक्रेसी

लेखनाथ न्यौपाने

काठमाडौ — परम्परागत रूपमा ब्युरोक्रेसीलाई बुझ्दा ढिलाइ, स्वार्थ र लाल फित्ताशाहीको रूपमा लिइन्छ...

परम्परागत रूपमा ब्युरोक्रेसीलाई बुझ्दा ढिलाइ, स्वार्थ र लाल फित्ताशाहीको रूपमा लिइन्छ, जसले स्वविवेकको प्रयोगलाई प्रोत्साहित नगर्नेमात्र होइन, सिर्जनशील प्रयोगमा समेत बाधा पुर्‍याउँछ । मेरो काम होइन भनेर उत्तरदायित्वबाट पन्छने, आफ्नो स्वार्थ वृद्धि गर्न एकले अर्कोलाई दोषारोपण गर्ने र जनतालाई जवाफ नदिनेमात्र होइन कि जनचाहनाको कदर नै नगर्ने ब्युरोक्रेसीका प्रवृत्तिगत नकारहरू हुन् ।
जसरी भए पनि कुर्सी (पद) मा पुग्नु, कुनै विधिविना दसकौं एउटै पद ओगटिरहनु, कहिल्यै कुनै नैतिकताको बोध नहुनु, माथिको कुर्सीले तलका कुर्सीहरूलाई आदेश दिइरहनु, आदेशको अनन्त शृङखलाले विवेक र सिर्जनशीलता मर्दै जानु, सूत्रात्मक निर्देशनको शृङखला जनतासम्म पुग्दा पुरै निस्प्रभावी हुनु, तर माथिल्लो कुर्सी यस्तो जनविरोधी प्रक्रिया र नतिजाबाट बेखबर हुनु कम्युनिस्ट ब्युरोक्रेसीको प्रवृत्ति बन्दै छ ।
सामान्यतया कम्युनिस्ट पार्टीमा विचार र राजनीतिक बहसमा पदीय हैसियतले छेकथुन गर्न पाउँदैन भन्ने मान्यता हुन्छ । कम्युनिस्ट पार्टीमा पदलाई कार्यविभाजनको रूपमा मात्र बुझिन्छ । संगठन छाता आकारको होइन, पिरामिड आकारको हुन्छ । पार्टी भनेको नेताहरूको संगठन हो र यसमा सामूहिक नेतृत्वको अवधारणा बलियोसँग व्यवस्थित हुन्छ । अभिव्यक्तिमा स्वतन्त्रता र कामकारबाहीमा एकरूपता यसको विधि हो । हरेक पार्टी सदस्य हुनुको अर्थ चुन्ने र चुनिने अधिकार सुनिश्चित हुन्छ वा गरिन्छ । कमिटीको नायक सचिव हुन्छ, जो आफ्नै कमिटीका सदस्यहरूले चुन्छन् । आत्मालोचना र आलोचना कम्युनिस्टहरू सच्चिने र रूपान्तरण हुने संस्कार हो आदि । यद्यपि समकालीन नेपाली कम्युनिस्ट आन्दोलनभित्र उपरोक्त विषयहरूको प्रयोग कसरी भएको छ ? परिणामले के देखाइरहेको छ ? यसतर्फ भने त्यति बहस हुनसकेको छैन ।
कम्युनिस्ट पार्टीको महाधिवेशन नीति निर्माण र केन्द्रीय समिति योजना निर्माणको थलो मानिन्छ । यो ठाउँमा वा कम्युनिस्ट पार्टीभित्र नयाँ विषयको प्रवेश कसरी गराउने भन्ने सन्दर्भ सबैभन्दा महत्त्वको तर अक्करमा फलेको फर्सीजस्तै बन्ने गरेको छ । भित्रबाट प्रवेश गराउन खोज्दा पदीय दायित्व वा कुन तहको नेता-कार्यकर्ता हो ? भन्ने कसीमा घोट्ने संस्कार बाधा बन्छ भने सार्वजनिक बहसद्वारा प्रवेश गराउन खोज्दा दबाबद्वारा तुष्टि प्राप्ति भनेर बुर्जुवाको तक्मा झुन्ड्याइन्छ । फरक मत वा नयाँ विषय अथवा विवादका विषयमा बहस गर्ने ठाउँ सिद्धान्तमा 'आन्तरिक फोरम' भने पनि व्यवहारमा रूपान्तरण हुन नसकेको यथार्थसमेतले कम्युनिस्टहरू फुट्ने-फुटाउने प्रक्रियामा फस्न पुग्छन् । यही अव्यवस्थाको कारण आन्तरिक विषय र पात्रहरू सार्वजनिक माध्यममार्फत आफ्ना मतहरू दर्ज गर्छन्, जुन परम्परागत कम्युनिस्ट विधि र संस्कारसँग मेल खाँदैन ।
तल्लो कमिटी वा जुनियर कार्यकर्ताको अध्ययन, ज्ञान र विवेकद्वारा पैदा भएका नयाँ विचार र विषयलाई पार्टीभित्र बहस गर्न खोज्दा कम्युनिस्ट ब्युरोक्रेसीको कारण त्यसले न भित्र ठाउँ पाउँछ, नत सार्वजनिक रूपबाट बहस संगठित गरेर भित्र प्रभावित गर्न मिल्छ । यसो होइन भने कम्युनिस्ट पार्टीमा कसरी नयाँ विचार र विषयले प्रवेश पाउँछ त ? दूर क्षितिजतिर औंला देखाएर वर्ग-संघर्षबाट मात्र नयाँ विचार जन्मन्छ भन्ने बनिबनाउ निष्कर्ष निकालिन्छ र बाँकी अरु बन्ध्याकरणमा पर्छन् ।
एकीकृत माओवादीकै कुरा गर्दा, बाबुरामको विचार (शान्ति र संविधान, जुन आफैं असफल भइसक्यो) मा प्रचण्ड झरिसक्दा पनि एकातिर बाबुराम पेलानमा पर्ने प्रक्रिया रोकिएको छैन भने अर्कोतिर बाबुराम विचार नै पार्टी विचार हो नभनी प्रचण्डकै विचार भनेर प्रचार गरिँदैछ । फुन्टिबाङ (बाबुराम कारबाहीमा परेको) देखि चुनबाङ (कारबाही फुकुवा भएको) बैठकसम्मका बाबुराम-गतिविधि प्रचण्ड प्राधिकारको पेलानद्वारा जन्मिएको थियो, जुन आजसम्म यो वा त्यो रूपमा जारी छ । पार्टी संगठनभित्र प्रचण्डले प्रभाव देखाएर बाबुराम र अरू कैयौं (सीपी गजुरेल, देव गुरुङ, रामबहादुर थापा, यानप्रसाद गौतम, रविन्द्र श्रेष्ठ आदि) लाई पाखा लगाए, तर आज आफैं पाखा लाग्ने डिलमा पुग्दैछन् । यो नै कम्युनिस्ट ब्युरोक्रेसीभित्रको सबैभन्दा ठूलो असफलता हो ।
कम्युनिस्ट पार्टीको नेतृत्व प्रणालीको अन्तरवस्तु भनेको सामूहिक नेतृत्व, क्षमताहरूको केन्द्रीकरण र एक नेता अर्कोको परिपूरक हो भनिन्छ । तर व्यवहारमा उत्रँदा अस्वस्थ प्रतिस्पर्धी, पद ताकुवा र लिन प्याओजस्ता आरोप-प्रत्यारोप सुरु हुन्छ । 'मैले सकिन, फलानो कमरेडमा सम्भावना छ' भन्ने कम्युनिस्ट संस्कार आज लालटिन बालेर खोज्नुपर्ने ठाउँमा पुर्‍याइएको छ । विभिन्न तर्क, तथ्य र तानाबाना बुनेर प्रतिस्पर्धीलाई सके साइजमा ल्याउने र गीत गाउन लगाउने, यसरी उपाय लागेन भने संगठन प्रभावको प्रयोगले घटुवा र कारबाहीको डन्डा हानेर आफू शेर हुने तरिका आजको कम्युनिस्ट ब्युरोक्रेसीकै उदाहरण हो ।
राजनीतिमा संलग्न हुनुको अर्थ छिटो-छिटो नेता रिझाएर पदमा पुग्ने र रातारात धनी बन्ने ध्याउन्न तलैदेखि संगठित बन्दै छ । यसको दृष्टान्त कम्युनिस्टमात्र नभई अरू पार्टीहरूमा पनि देखिन्छ । यसकारण तलै बसेर जनताको सेवा गर्ने, इमानदारिता प्रस्तुत गर्ने र मूल्य स्थापित गर्ने संस्कार मृतप्रायः भएको छ । छिटो-छिटो माथि जाने, पदको दुरुपयोग गरेर सम्पत्ति थुपार्ने र जीवनभर कम्युनिस्ट नेता भइरहने परिपाटीलाई जब एक्स-रे गर्न सक्दैनौं, तब कम्युनिस्ट संगठन नवधनाढ्यहरूको कब्जामा जाने निश्चित हुन्छ ।
यस्तो संगठनको आधार निकै कमजोर बन्न जान्छ । फलस्वरूप संगठनात्मक संरचना छाता आकारमा स्खलित हुन्छ । आज कम्युनिस्ट पार्टी, यसमा पनि माओवादी संगठनको केन्द्र भीमकाय बन्नु यसैको प्रभाव हो । माओवादी र एमाओवादीको केन्द्र दुई र चार सय, राज्य समितिहरू छ सयसम्मका र जिल्लाहरू त्यति नै संख्याका हुनु छाता आकारको अनुपम उदाहरण हो । यसभन्दा तल न संगठन छ, नत काम गर्ने कार्यकर्ता नै । संगठनको यस्तै आकारले पार्टीलाई बदनाम बनाउँछ र बलियो पिरामिडको ठीक उल्टो उभिन्छ ।
विकृतिले भरिएका ठेकेदार, दलाल, तस्कर, ठगहरूसमेत माथिल्लो कमिटीमा पुगेको देख्दा-देख्दै पनि हटाउन सकिन्न । यदि यसबारे छलफल हुनथाल्यो भने गुटको मजेत्रोले ढाक्ने प्रतिस्पर्धा चल्छ । दुई सय, चार सय र छ सयका कमिटीको बैठक -खासमा आमसभा) मा केको छलफल, बहस र केको निष्कर्ष निस्कनु ? बैठक पुस्तिकामा हस्ताक्षर गरी औपचारिकता पनि पुरा गर्न नसक्ने कमिटी बनाएपछि, बहस र छलफल नभएपछि, कमिटीले निर्णय नगरेपछि मनोगत धारणा, अवस्तुवादी निर्णय र नकारात्मक परिणामबाहेक अरु के हात लाग्थ्यो र ? एकाध नेता वा व्यक्तिले मात्र जब दूरगामी विषयको निर्णय लिन थाल्छन्, तब घोर मनोगतवादमा आन्दोलन फस्नेमात्र होइन, संगठनभित्र माथि चाकरी र तल नोकरशाहीतन्त्र बढ्दै जान्छ । यो खालको ब्युरोक्रेसीलाई तोड्न नसक्ने हो भने अन्ततः कम्युनिस्टहरू आफैं सिद्धिन्छन् ।
कम्युनिस्ट पार्टीमा कति पार्टी सदस्य बराबर एक केन्द्रीय सदस्य वा कति जनता बराबर कत्रो केन्द्र बनाउने भन्ने ठेगानै हुँदैन । नेताको मर्जी वा सनकको भरमा विनाविधि घटाउने र बढाउने शृंखला चलाइन्छ । यसको एकमात्र उपचार आन्तरिक जनवाद अथवा चुन्ने र चुनिने प्रक्रियालाई व्यवस्थित बनाउने नै हो । तर यो सन्दर्भमा न छलफल हुन्छ, नत योजना नै बन्छ वा नत विषय प्रवेश नै हुन्छ । यस सन्दर्भका विधानका धाराहरू आफैं दङ्ग पर्छन् र मूर्तिसरह बन्छन् । कतिपय कम्युनिस्ट पार्टीहरू आन्तरिक निर्वाचनको प्रक्रियामा प्रवेश गरेका छन् । तर तिनीहरूभित्र दीर्घकालीन पक्ष-विपक्षबाहेक विकसित संस्कार प्रदर्शन गर्न नसकेको यथार्थ एमालेलाई हेरे पुग्छ । निर्वाचन नै अन्तिम निस्कर्ष हो कि होइन वा तेस्रो विकल्प के हुनसक्छ भनेर त्यसतर्फ पार्टी न प्रवेश गर्न चाहन्छ, नत बहस गर्न तयार नै । एकाध नेता वा गुटका अगुवाको गोजीबाट नाम झिकेर जब मनोनीत गर्ने परम्परा कम्युनिस्ट पार्टीको जीवन बन्छ, तब नेता रिझाउने, गुलामी गर्ने र गुट बनाउने कम्युनिस्ट विरोधी संस्कार फैलिँदै जान्छ । द्वन्द्ववादको अनिवार्य प्रयोगमाथि तेल घस्ने तरिका प्रवेश गर्दैगर्दा तल अनिवार्य डन्डा चलाउने प्रक्रिया सुरु हुन्छ ।
कम्युनिस्ट नेता बन्न अनिवार्य पक्ष इतिहास (अनुभव) हो । तर सँगै अर्को पक्ष शैक्षिक र भौतिक गति (वस्तुलाई छिट्टै बुझ्ने र तत्काल पहल लिने) र परिणाम निकाल्ने पनि हो भन्ने सच्चाइ भुत्ते बन्दै गएको छ । यसले गणेश प्रवृत्ति (अल्छी, नेता वरिपरि घुम्ने तर योग्य भइरहने) हावी हुँदै गइरहेको छ । योग्यता, क्षमता र गतिशीलताको आधारमा कार्यविभाजन नगरी कहिलेदेखि लागेको भन्ने आधारमा मात्र पद दाबी गर्ने र जिम्मेवारी सुम्पने गलत प्रक्रिया नसच्याउने हो भने पेन्सन पाकेका लाहुरेहरूको संगठनजस्तै बन्नेछ, कम्युनिस्ट पार्टी ।
हामी कम्युनिस्टहरू सामन्तवादी समाजका उत्पादन भएकाले आत्मालोचना गर्ने परिपाटीको विकास हुनसकेको छैन । आलोचना त कम्युनिस्ट शब्दकोशबाटै 'डिलिट' हुँदै छ । यदि कसैले आलोचना गरिहाल्यो भने 'मलाई आलोचना गर्ने ?' भनेर 'इगो' पलाउन थाल्छ र ऐनमौकामा आलोचकमाथि कैंची चलाउन पुग्छ । आलोचकलाई विस्तारै पाखा पारिन्छ, भूमिकाविहीन बनाइन्छ र अन्तिममा उसलाई 'मैले गल्ती पो गरेछु कि के हो' भन्ने ठाउँमा पुर्‍याइन्छ र पलायन हुन बाध्य पारिन्छ । यो कम्युनिस्ट मूल्यविरोधी संस्कारले रचनात्मकता र आलोचनात्मकता कमजोर हुँदै जानेमात्रै होइन, चाकरी, चाप्लुसी र गुलाम संस्कृति भित्र्याउँछ । विडम्बना, यसैबाट अभिजात वर्गीय संस्कार कम्युनिस्ट पार्टीमा संस्थागत हुन पुग्छ ।
तल्ला कमिटी र कार्यकर्ताबाट आउने नयाँ विचारलाई सुन्ने र पार्टीमा प्रवेश गराउने विधि, चुस्त-दुरुस्त र गुणस्तरीय संगठन बनाउनका लागि चुन्ने र चुनिने विधिलाई व्यवहारमा उतार्ने प्रक्रिया, आत्मालोचना र आलोचना नै रूपान्तरणको अचुक औषधि ठानेर लागू गर्ने इच्छाशक्ति भयो भनेमात्र कम्युनिस्ट आन्दोलनभित्र देश, समाज र सदस्यको भविष्य सुरक्षित हुनसक्छ, अन्यथा यसैको माखेसाङ्लोमा परेर सकिने खतरा कम्युनिस्ट आफैंले निम्त्याउँदै छौं ।
लेखक नेकपा-माओवादीका केन्द्रीय सदस्य हुन् ।






प्रकाशित : पुस १६, २०७० १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

बैंक खाता रोकिएपछि रेमिट्यान्स व्यवसाय धरापमा

नवीन पोखरेल

लन्डन — बेलायतका अधिकांश वाणिज्य बैंकले मनी ट्रान्सफर -रेमिट्यान्स) कम्पनीको खाता बन्द गर्दै नयाँ खोल्न रोक लगाएपछि व्यवसाय प्रभावित बनेको छ ।

वित्तीय संस्थाको 'मनी सर्भिसेस बिजनेस' लाई कडाइ गर्ने यहाँको सरकारको पछिल्लो नीतिले नेपाली व्यवसायी पनि समस्यामा परेका छन् । नेपालीका करिब ९० प्रतिशत व्यवसाय बन्द हुन सक्ने अनुमान छ । नयाँ नीतिबारे प्रस्ट नबताइए पनि सम्पत्ति शुद्धीकरणसँग जोडिएको विषय भएको र अवैध रकम ओसारपसार हुने आशंकामा खाता रोकिएको अनुमान व्यवसायीको छ ।
मनी ट्रान्सफर कम्पनीलाई पछिसम्म खाता सञ्चालन अनुमति दिइरहेको बारक्लेज बैंकले समेत गत मेमा सूचना जारी गरी अक्टोबरदेखि सबैको खाता बन्द गरिदिएपछि धेरै नेपाली व्यवसाय धराशायी हुने देखिएको हो । लोयड््स, एचएसबीसी आदि बैंकले यसअघि नै कारोबार रोकिसकेका थिए ।
बेलायतमा रहेका अन्य अन्तर्राष्ट्रिय बैंकका शाखाहरूमा खाता खोली व्यवसाय अगाडि बढाउने विकल्प तत्काल सम्भव नहुँदा व्यवसायीमा चिन्ता बढेको छ । बैंक खाता बन्द भएपछि कतिपय व्यवसायीले अन्य प्रयोजनका लागि खोलिएका व्यापारिक खातामा ग्राहकको रकम संकलन गरी व्यवसाय धानिरहेका छन्, जुन गैरकानुनी र असुरक्षित छ ।
कतिपयले मनी ट्रान्सफर व्यवसायमा आश्रति हुन नसकिने स्थिति देखेपछि अनलाइन गिफ््ट र हवाई टिकट बिक्री थालेका छन्् ।  
खाता सञ्चालन कायमै रहेका केही ठूला कम्पनी वेस्टर्न युनियन, मनी ग्राम, रिया मनी ट्रान्सफर आदिलाई असर नपरे पनि विशेषतः सानो तह र निश्चित देश र समुदायलाई सेवा दिने संकटमा परेका हुन्् ।
सन्् २००७ देखि बेलायतबाट बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स सुरु गरेको नेटफक्स पछिल्लो परिवर्तनले प्रभावित भएको छ । आफ््नो खाता नहुने बित्तिकै अरू रेमिट््यान्स कम्पनीको एजेन्टका रूपमा बाँधिनुपर्ने र उनीहरूले दिएको सर्भिस चार्जको केही प्रतिशत मात्र आफ््नो भागमा पर्ने भएकाले व्यवसाय धराशायी भएको उक्त कम्पनीका प्रबन्ध निर्देशक प्रकाश भट्टराईले कान्तिपुरलाई जनाए ।
'अहिले जसको खाता छ, उसको एजेन्ट भएर उनीहरूकै रेट र महँगो सेवा शुल्कमा पैसा पठाउँदा व्यवसाय धराशायी हुँदै छ,' भट्टराईले थपे, 'हामीलाई मुनाफामा करिब ७० प्रतिशत असर परेको छ ।' उनले नेपाल राष्ट्र बैंकले नेपालका बैंकहरूलाई विदेशमा शाखा खोल्न अनुमति दिएपछि बेलायतमा नेपाली बैंकका शाखा खोले सहज हुने बताए ।
बेलायतमा मनी ट्रान्सफर व्यवसाय गर्न ठूलो कम्पनी भए फाइनान्सीयल कन्डक्ट अथोरिटीअन्तर्गत 'अथोराइज्ड पेमेन्ट इन्स्िटच्युसन' र सानो भए 'स्मल पेमेन्ट इन्स्िटच्युसन' का रूपमा दर्ता हुनुपर्ने प्रावधान छ । सानामा दर्ता भएका बेलायतभरका लगभग तीन सय कम्पनीमध्ये २ सय ५० भन्दा बढीको बैंक खाता बन्द भइसकेको व्यवसायीको दाबी छ ।
सन्् २००४ देखि मनी ट्रान्सफर व्यवसाय गरिरहेको भण्डारी ब्रदर्सका प्रबन्ध निर्देशक कमल भण्डारीले बैंकहरूको कठोर नीतिका कारण व्यवसायमा ठूलो उतारचढाव आएको बताए । ्
'नाफा घाटाभन्दा पनि सेवा नै दिन नपाइने हो कि भन्ने चिन्ता बढेको छ,' भण्डारीले थपे, 'हामीले धेरै बैंकसँग सम्पर्क गर्‍यौं तर कसैले पनि मानेनन्् । यहाँको नियम कानुन विपरीत जान झन्् जोखिम छ ।'
सन्् २००२ देखि बेलायतमा सेवा दिइरहेको आईएमईका निर्देशक कमल पौडेलले भने बैंक खाताकै कारण आफूहरूलाई समस्या नपरेको दाबी गरे । 'नेपाली समुदाय केन्दि्रत र एउटै मात्र बैंकमा खाता हुनेहरूलाई समस्या होला तर हामी त्यसको असरबाट टाढा छौं,' पौडेलले भने । आईएमईले नेपालबाहेक अन्य २२ मुलुकमा पैसा पठाउने काम गरिरहेकाले पनि समस्या नआएको दाबी पौडेलको छ ।   
ग्राहकसँग संकलित रकम सीधा बैंकिङ च्यानलमार्फत नपठाई अवैध धन्दा -हुन्डी) गर्नेका भने दिन फिरेको व्यवसायीको बुझाइ छ ।

प्रकाशित : पुस १६, २०७० १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्