कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

तन, मन र धन सबै दिने नेता

दिनेशचन्द्र थपलिया

काठमाडौ — २००७ सालको दिल्ली सम्झौतामा नेपाली कांग्रेसका नेता सुवर्ण शमशेर राणा...

तन, मन र धन सबै दिने नेता
२००७ सालको दिल्ली सम्झौतामा नेपाली कांग्रेसका नेता सुवर्ण शमशेर राणा र वीपी कोइरालाको विशेष प्रयासमा पहिलो बुँदामै 'सम्भव भएसम्म छिटो, विधिवत संविधानसभाको चुनाव सम्पन्न गरेर त्यसद्वारा नेपालको संविधान निर्माण गर्ने' कुरा स्पष्टसँग उल्लेख गरिएको थियो । जे भए पनि ६ दशक लामो सघंर्षपछि मुलुकमा संविधानसभाको निर्वाचन भयो । नेपालको ठूलो लोकतान्त्रिक पार्टीका नेतृत्वकर्ता यतिबेला सरकार प्रमुख हुनुहुन्छ । सोही पार्टीका पूर्वनेता राष्ट्रपति हुनुहुन्छ । तर यो महत्त्वपूर्ण घडीमा कांग्रेस वास्तविकताबाट ओझेलमा पर्दै जानथालेको छ । किनकि आफ्ना संस्थापक एवं पूर्वसभापति सुवर्ण शमशेरलाई 'खोपीको देवता'का रूपमा मात्रै पुज्ने काम गरेको छ ।
२३ वर्षको उमेरमा स्नातकोत्तर गरेका सुवर्ण शमशेर राणा परिवारका प्रथम स्नातकोत्तर थिए । केही समय राजा महेन्द्रलाई राजदरबारभित्र गई पढाउने काम गरेका सुवर्णको स्वभाव अन्य राणाको भन्दा नितान्त फरक थियो । २००४ चैत ३१ गते श्री ३ मोहन शमशेरले नेपाली राष्ट्रिय कांग्रेसलाई अवैध घोषणा गरेपछि नेपालजस्तो मुलुकमा राणाशासन फाल्ने सशस्त्र संघर्षमात्रै उपयुक्त औजार हो भन्ने तर्कमा २००६ सालसम्म वीपी पनि सहमत भए । २००६ चैत २७ गतेदेखि कलकतामा दुवै दलको संयुक्त अधिवेशन बोलाइयो । दुवै पार्टीले 'राष्ट्रिय' र 'प्रजातन्त्र' शब्द झिक्ने सहमतिपश्चात पार्टी एकीकरण भयो । र एकीकृत पार्टीको नाम नेपाली कांग्रेस बनेपछि सुवर्ण कोषाध्यक्ष बने ।
एकीकरणपश्चात सुवर्णका भान्जा थिरबम मल्लको नेतृत्वमा पूर्णसिंह खवास, डीबी राई, दिलमान सिंह लगायतका सेनाको अनुभव बोकेका व्यक्तिहरूको लडाकु दस्ता गठन गरियो । उनीहरूलाई भारतका विभिन्न स्थानमा फौजी तालिम दिन थालियो र हतियार संकलन द्रुतगतिमा सुरु भयो । सशस्त्र क्रान्तिको सम्पूर्ण जिम्मा सुवर्ण शमशेरलाई दिइयो । अनि कांग्रेस पूर्णरूपले सशस्त्र क्रान्तिको तयारीमा जुट्यो । सशस्त्र क्रान्तिलाई विधिवत रूपमा अनुमोदन गर्न २००७ असोज १० र ११ भारतको बैरगनियाँमा कांग्रेसले विशेष सम्मेलन बोलायो । सम्मेलनपश्चात एकदिन सशस्त्र क्रान्तिकै प्रसंगमा कुरा गर्न वीपी र गणेशमान भएको स्थानमा उनी पुगे । कुराकानीकै क्रममा सुवर्णले 'क्रान्तिका निम्ति हतियार किन्न कति रकम चाहिन्छ' भन्ने प्रश्न राख्दा वीपीले 'त्यही २५/३० लाख' भने । जवाफमा सुवर्णले 'त्यतिले कहाँ क्रान्ति हुन्छ, म १ करोड दिन्छु' भने । २००७ कात्तिक २५ र २६ को राति शून्य समयमा मुक्ति सेनाले वीरगन्ज आक्रमण गरेर सशस्त्र संघर्षको सुरुवात गर्‍यो र तेजबहादुर अमात्यलाई त्यहाँको प्रमुख बनायो । सशस्त्र संघर्षको पहिलो आक्रमणमा नै थिरबम मल्ल मारिए । छोटो समयमा आधाभन्दा बढी राज्य कांग्रेसको कब्जा र नियन्त्रणमा आयो । २००७ फागुन ७ गते प्रजातन्त्रको घोषणासँगै गठन भएको संयुक्त सरकारमा क्रान्तिनायक सुवर्ण शमशेर अर्थमन्त्री बने । २००८ माघ १९ गते अर्थमन्त्रीको हैसियतले सुवर्ण शमशेरले नै पहिलोपटक बजेट प्रस्तुत गरे ।
२०१२ माघमा वीरगन्जमा सम्पन्न् महाधिवेशनले गणेशमान सिंहलाई पराजित गर्दै सुवर्ण शमशेरलाई सभापतिमा निर्वाचित गर्‍यो । यो महाधिवेशनले कांग्रेसको इतिहासमै अति महत्त्व राख्ने समाजवादी सिद्धान्तलाई अनुमोदन गर्‍यो । त्यसपछि कांग्रेस समाजवादी पार्टी बन्यो । समाजवादी नीतिको प्रस्ताव सुवर्ण शमशेरले नै गरेका थिए ।
संविधानसभा लगायतको माग गर्दै २०१४ मङ्सिर २२ देखि भद्र अवज्ञा आन्दोलन प्रारम्भ गर्‍यो । ठूलो दबाबपछि २०१५ जेठ २ गते सुवर्ण शमशेरको अध्यक्षतामा सर्वदलीय चुनावी मन्त्रिपरिषदको गठन भयो । २०१५ भदौ ३ गते मन्त्रिपरिषद अध्यक्ष एवं अर्थमन्त्री हुँदा उनले दोस्रो बजेट रेडियो नेपालमार्फत सार्वजनिक गरेका थिए । सुवर्णकै नेतृत्वमा २०१५ फागुन ७ देखि पहिलो आमचुनाव सुरु भयो । १०९ स्थानमध्ये कांग्रेसले ७४ स्थानमा विजय हासिल गर्‍यो भने उनी बाराको मध्यउत्तर क्षेत्र. नं. ५२, पर्साको पूर्व क्षेत्र. नं. ५३ र गुल्मीको दक्षिण-पश्चिम क्षेत्र. नं. ९१ गरी तीन स्थानबाट चुनाव जिते । चुनावपछि राजा महेन्द्र सुवर्णलाई प्रधानमन्त्री बनाउन चाहन्थे । वीपी कोइरालाले सुवर्णलाई प्रधानमन्त्रीका लागि आग्रह गरे पनि उनले स्वीकार गरेनन् । २०१६ बैसाख २१ ग्ाते सुवर्णकै ललिता निवासमा कांग्रेस केन्द्रीय समिति, संसदीय समिति र प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको संयुक्त बैठक बस्यो । बैठकमा उनले वीपीलाई संसदीय दलको नेतामा प्रस्ताव गरे । गणेशमानले समर्थन गरे । २०१६ जेठ १३ गते वीपी कोइरालाको प्रधानमन्त्रीत्वमा पहिलो जननिर्वाचित सरकार गठन भयो । वीपीको विशेष आग्रहमा मन्त्रिपरिषदका अध्यक्ष भइसकेका सुवर्णले उक्त मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीका साथै अर्थ, आयकर र योजना विकासमन्त्रीको जिम्मेवारी सम्हाले । २०१६ साउन २५ गते पहिलोपटक संसदमा बजेट पेस गरे । त्यही बजेटदेखि प्रत्येक साउन १ गतेलाई नयाँ आर्थिक वर्ष मानिने व्यवस्था गरे भने २०१६ चैत ३० देखि भारु. १०० को नेरु. १६० विनिमय दर कायम गरे । राजा, रानी र युवराजको सम्पत्तिबाहेक शाही परिवारको सम्पत्तिमा कर लाग्ने व्यवस्था गरे । प्रगतिशील करप्रणाली लागु गरे । २०१६ असार २७ गते त्रिभुवन विश्वविद्यालय ऐनको तर्जुमापश्चात सुवर्ण शमशेर त्रिविको पहिलो उपकुलपति बने । २०१७ असार २३ मा सुवर्णले नै चौथोपटक बजेट प्रस्तुत गरे ।
२०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार र प्रतिनिधिसभा भंग गरी सम्पूर्ण शासन हत्याउँदा सुवर्ण शमशेर भारतमा थिए । महेन्द्रको तानाशाही कदमबाट अत्यन्त क्रुद्ध हुँदै २०१७ साल माघमा भारतको पटनामा उनले पार्टीको सम्मेलन बोलाए । सम्मेलनले प्रजातन्त्र पुनःस्थापनाका लागि पुनः सशस्त्र संघर्ष गर्ने निर्णय गर्‍यो । संघर्षको सम्पूर्ण जिम्मेवारी सुवर्णलाई सुम्पियो । सोही कारण निरंकुश पञ्चायती सरकारले उनको बालुवाटारको दरबार, ललिता निवास (हालको राष्ट्रबैंक भवन) जफ्त गर्‍यो । दलमाथि प्रतिबन्ध लागेपछि विदेशिन बाध्य पार्टीका नेता तथा कार्यकर्ताको विदेशी भूमिमा विचल्ली हुनथालेपछि सुवर्णको काँधमा फेरि तिनको भरणपोषणको थप जिम्मेवारी थपियो । कार्यकर्ताको भरणपोषण र २०१८ को सशस्त्र संघर्षका लागि उनले कलकत्तामा रहेको आफ्नो निजी सम्पत्ति र घरसमेत बिक्री गरे । २००७ को सशस्त्र क्रान्तिले जस्तो उचाइ लिन नसकेपछि ८ वर्षको निर्वासनपश्चात २०२५ मा उनी स्वदेश फर्के र जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ता छुटाउन पहल गरे । वीपीको नेतृत्वमा प्रजातन्त्रको पुनःस्थापनानिम्ति २०२९ मा पुनः दोस्रोपटक सशस्त्र क्रान्ति सुरु भयो । नाजुक स्वास्थ्यका कारण यो क्रान्तिमा सुवर्ण त्यति सक्रिय हुनसकेनन् । २०३४ कात्तिक २४ गते सुवर्ण शमशेरको कलकत्तामा निधन भयो ।
खानदानी सुखसयललाई तिलाञ्जली दिँदै देश, जनता र प्रजातन्त्रका लागि संघर्षको मैदानमा ओर्लेका सुवर्ण शमशेरले जीवनको अन्तिम दिनसम्म पनि सिद्धान्त र निष्ठाको राजनीति गरे । राष्ट्र र पार्टीलाई सक्दो तन, मन र धन र सबै दिए ।

प्रकाशित : फाल्गुन १४, २०७० ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?