निर्णायक शक्तिको उदय सम्भव छ

रवीन्द्र मिश्र

काठमाडौ — बाहिरका तयार छन्, प्रश्न,गगन थापा र गोकर्ण विष्टहरुसँग साहस छ कि छैन भन्ने हो ।

निर्णायक शक्तिको उदय सम्भव छ
देशको समृद्धि र विकासलाई राजनीतिसँग जोडेर हेर्दा पछिल्लो समयमा दुईवटा धारणा प्रबल रूपमा देखिएका छन् । पहिलो, वर्तमान राजनीतिक पार्टी र नेतृत्व जति नै भ्रष्ट, स्वार्थी, असक्षम, गुटबन्दीग्रस्त र पूर्व-दृष्टिविहीन भए पनि यिनैलाई सुधार गर्दै लगेरमात्र परिवर्तन सम्भव छ । नयाँ विकल्प खोज्नु हतास मानसिकताको उपज हो ।
दोस्रो, त्यस्ता पार्टी र नेतृत्व यति धेरै दुर्गुणबाट ग्रस्त छन् कि तिनलाई सुधार्न र नेतृत्वमा असल व्यक्तिहरू पुर्‍याउन दशकौं लाग्न सक्छ र त्यसको पनि कुनै 'ग्यारेन्टी' छैन । तसर्थ समृद्धि र विकास हाम्रै जीवनकालमा चाहने हो भने नयाँ विकल्प नखोजी सुखै छैन । एमाओवादी नेता बाबुराम भट्टराईदेखि नेपाली कांग्रेस र नेकपा एमालेका कतिपय लोकपि्रय नेताहरू लगभग सहमत देखिन्छन् ।
माथिका दुबै विकल्पहरूमा बल नभएको होइन । तर यो आलेखको उद्देश्य क्रमशः बलियो बन्दै गएको दोस्रो विकल्पलाई कसरी ठोस रूप दिन सकिन्छ भन्नेबारे चर्चा गर्नु हो । सफल नेतृत्व भनेको दुर्लभ गुणहरूको विशिष्ट समिश्रण हो । कोही व्यक्तिहरू एकदमै असल र इमानदार होलान् । तर त्यति हुँदैमा ती राजनीतिका लागि उपयुक्त नहुन सक्छन् । तर यो देशमा राजनीतिमा नरहेका, विविध क्षेत्रमा कार्यरत, सिंगो राष्ट्रले सम्मान गर्ने र सफल नेतृत्वको दुर्लभ गुण पनि बोकेका धेरै नेपालीहरू छन् । उनीहरूसँग अन्तरक्रिया गर्दा बारम्बार यस्ता प्रश्न उठ्ने गरेका छन् : अब राम्रा मानिसले एउटा संस्थामात्र बनाउने कि देशै बनाउने ? आफैंलाई मात्र रूपान्तरण गर्ने कि समग्र देशलाई नै ?
आखिर सीमित व्यक्तिहरूले जति नै राम्रो काम गरे पनि त्यसको असर राष्ट्रको सर्वांगिण परिवर्तनमा प्रधान नभई सहायकमात्र हुने रहेछ । त्यसबाट समाजले केही पाउने रहेछ, व्यक्तिको सम्मान बढ्ने रहेछ, तर सिंगो राष्ट्रको सम्मानमा भने तात्त्विक अन्तर नपर्ने रहेछ । यो तथ्य धेरै नेपालीहरूले धेरै गहिरो रूपमा अनुभूत गर्न थालिसकेका छन् । राम्रो कामका लागि अनेकौं सम्मानबाट विभूषति एक नेपालीले आफ्नो वर्षौंदेखिको योगदान केवल 'खुद्रा काम'जस्तो लाग्न थालेको बताए भने अर्का एकजनाले सिंगो शरीरमा घाउ लाग्दा आफूचाहिंँ एउटा औंलामा लागेको घाउको उपचार गरेर दंग परिरहेको उल्लेख गरे । एकजना वरिष्ठ प्रशासकले भने, 'मैले जति नै राम्रो काम गरे पनि महत्त्वपूर्ण निर्णयहरूमा राजनीतिक नेतृत्वको सहीछाप नभई त्यो कार्यरूपमा परिणत हुनै सक्दैन ।' उनीहरू सबै नयाँ राजनीतिक शक्तिको आवश्यकतामा पूर्णरूपमा सहमत छन् ।
यसरी राजनीतिभित्र र बाहिरका अधिकांश राम्रा भनिएकाहरू नयाँ विकल्प अपरिहार्य रहेकोमा सहमत हुँदाहुँदै पनि किन भैरहेको छैन त नयांँ शक्तिको उदय ? अन्तरक्रियाका क्रममा त्यसको मूलकारण यस्तो रहेको पाइयो : पार्टीभित्रका राम्रा भनिएकामा बाहिर निस्किएर निर्माण गरेको नयाँ शक्ति विफल भए, आफ्नो राजनीतिक भविष्य नै समाप्त होला कि भन्ने भय छ भने पार्टी बाहिरका राम्रा भनिएकाहरूमा आफूबाट नयाँ राजनीतिक शक्तिको सफल थालनी हुनसक्नेमा विश्वास नै छैन । त्यसबाहेक वैचारिक स्पष्टता, आर्थिक स्रोत र संगठनात्मक विस्तारका चुनौतीको कसरी सामना गर्ने भन्नेबारे दुबै समूहमा अन्योल देखिन्छ भने नयाँ शक्तिलाई केही वर्षभित्रैमा स्थिर र निणर्ायक बनाउन सकिन्छ भन्नेमा पनि उनीहरूलाई विश्वास छैन ।
यसर्थ राजनीतिभित्र र राजनीतिबाहिर छुट्टाछुट्टै रूपमा भैरहेका त्यस्ता प्रयासहरू सफल हुने सम्भावना न्युन देखिन्छ । त्यसमा पनि दुबै पक्षका आ-आफ्ना यतिविघ्न सीमितताहरू छन् कि तिनले त्यस्तो अग्रसरतालाई प्रभावकारी हुनै दिँदैनन् । बाबुराम भट्टराईले संकेत गरेअनुरुप राजनीतिकर्मीहरू ध्रुवीकृत भएर नयाँ शक्ति निर्माण भैहालेछ भने पनि उच्च नेतृत्वमा दशकौंसम्म पद्धति, संस्कार र पारदर्शिताहीन अनि गुटबन्दी, षडयन्त्र र स्वार्थबाट प्रेरित राजनीतिक माहोलमा हुर्किएकाहरूको बाहुल्य हुने त्यस्तो अग्रसरता निर्णायक शक्तिमा रूपान्तरण हुन असम्भव हुनेछ । त्यसलाई नेतृत्व दिने उच्च तहका नेताहरूमध्ये आधा नै इमानदार र सक्षम भए भने पनि बाँकी रहेका आधाले नेतृत्वको सिंगो टोकरीलाई अहिलेजस्तै दुर्गन्धित तुल्याइदिने निश्चित छ ।
गैर-राजनीतिक व्यक्तिहरूबीच चलिरहेका बहसहरूका हकमा भने उनीहरूको आदर्श इच्छा र राजनीतिक पार्टी निर्माणको धरातलीय यथार्थबीच आकाश-पातालकै अन्तर देखिन्छ । वैचारिक धरातल निर्माण गर्न, आर्थिक स्रोत जुटाउन, गाउंँ तहदेखि देशभर संगठनात्मक संरचना विस्तार गर्न र लाखौंको संख्यामा आस्थावान कार्यकर्ता निर्माण गरेर निणर्ायक शक्ति बन्न सहज हुने छैन । अबको निर्वाचनमा कमसेकम सामान्य बहुमत हासिल गर्ने आत्मविश्वास र स्पष्ट लक्षणबिना नै राजनीतिक पार्टी खोल्ने चाहना बोक्नु समय, स्रोत र ऊर्जाको दुरुपयोग हुनसक्छ ।
यो देशलाई दोस्रो, तेस्रो, चौथो बन्ने राजनीतिक समूह होइन, निर्णायक रूपमा पहिलो बन्ने नयाँ पार्टी चाहिएको छ, जसले देशमा नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न सकोस् । जो सिद्धान्तको होइन, तीव्र विकासको बाहक बन्न सकोस् । सैद्धान्तिक रूपमा जति नै अलग परिचयको आभास दिनखोजे पनि प्रमुख दलहरू कसैले पनि अब लोकतन्त्र, गणतन्त्र र उदार अर्थतन्त्रलाई चुनौती दिने ठाउँ रहेन । सर्वसाधारणले लोकतन्त्रभित्र सिद्धान्त होइन, विकास खोजिरहेका छन् । लोकतन्त्रभित्र विकास दिनसकेको खण्डमा कुनै राजनीतिज्ञले सिद्धान्तका ढड्डा लेखिरहनु पर्दैन, कालान्तरमा सम्बन्धित प्राज्ञहरूले स्वतः त्यस्तो विकासको मोडललाई सिद्धान्तमा प्रतिपादित गरिदिनेछन् ।
त्यो नौलो सुरुवात न राजनीतिमा ध्रुवीकरणको अपेक्षा गर्ने राजनीतिकर्मीहरूबाट मात्र सम्भव छ, नत वर्तमान राजनीतिबाट वितृष्णा जागेका अन्य पेसाकर्मीहरूको जमातबाट नै । त्यस्तो नयाँ शक्तिको सुरुवात, त्यसको तीव्र उत्थान र निणर्ायक सफलता केवल एउटा बाटोबाट मात्र सम्भव छ, त्यो हो : राजनीतिबाहिर- हरेक पेसा र क्षेत्रका- विश्वासिला, लोकपि्रय र नेतृत्व क्षमता भएका व्यक्तिहरूले नयांँ राजनीतिक शक्ति निर्माणका लागि आ-आफ्नो पेसा र क्षेत्र त्याग्ने र राजनीतिभित्र- हरेक समूह र पार्टीका- विश्वासिला र लोकपि्रय अनुहारहरू बाहिर आउने । त्यसो गर्दा यो देशका तुलनात्मक रूपमा सबभन्दा इमानदार र सक्षम व्यक्तिहरूको एउटा यस्तो चुम्बकीय शक्ति निर्माण हुनेछ, जसलाई हेर्ने बित्तिकै सर्वसाधारणमा नौलो आशा बिजारोपण हुनेछ । त्यस्तो शक्तिको निर्माणसँगै देशका प्रमुख दलहरूको समर्थन आधार कसैले पनि नफुटाई स्वतः लगभग दुई फ्याकमा विभक्त हुनेछ । निःसन्देह रूपमा नेपाल लगायत विश्वभर विविध क्षेत्रमा कार्यरत कैयौं वरिष्ठ विज्ञहरू आफ्नो विज्ञता नेपालको हितमा लगाउन उत्सुक हुनेछन् ।
परिणामतः नयाँ शक्तिले गाउँ-गाउँसम्म सांगठनिक संरचना विस्तारका लागि त्यति ठूलो चिन्ता गरिरहनु पर्दैन, किनभने त्यसले ल्याउने लहर यति शक्तिशाली हुनेछ कि देशका कुनाकाप्चामा त्यो शक्तिसँग आबद्ध हुन मानिसहरूले गर्वको अनुभूति गर्नेछन् । पार्टी इकाइहरू स्वतः निर्माण हुनेछन् । र नेतृत्वमा जस्ता व्यक्तिहरूको परिकल्पना गरिएको छ, उनीहरूप्रति नैतिकमात्र होइन, आर्थिक सहयोगको ओइरो लाग्नेछ । 'हामीलाई वर्षको सय रुपैयांँ दिनोस्, हामी यो देशको सय वर्षको भविष्य निर्माण गरेरै छाड्छौं' भनेर खुलामञ्चमा गगन थापा, गोकर्ण विष्ट, महावीर पुन र रमेश खरेलजस्ता नेपालीहरू एकसाथ उभिएर आग्रह गर्ने हो भने सहयोग गर्नेका लागि तँछाड-मछाड हुनेछ । मैले यहांँ चार जनाको नाम प्रतिकात्मक रूपमा मात्र लिएको हुँ । यो देशमा अरु धेरै त्यस्ता व्यक्तित्वहरू छन् ।
रह्यो नयांँ शक्तिको वैचारिक धरातलको पाटो । नेपालमा लोकतन्त्र, गणतन्त्र र उदार अर्थतन्त्रको जरा यति बलियोसँग फैलिसक्यो कि अब कसैले पनि त्यसलाई सहजै चुनौती दिन सक्दैन । एकीकृत माओवादीले उनीहरूको कुनै समयको प्रमुख शत्रु भारतसँग उसको लगानी प्रबर्द्धन र संरक्षणका लागि बिप्पा सम्झौतामा हस्ताक्षर गरिसक्यो भने अरु दलहरूको त के कुरा ? जसले अब यी स्थापित मान्यतालाई चुनौती दिन खोज्छन्, ती सँधै 'साना दल'को पगरी भिर्न बाध्य हुनेछन् । यति भैसकेपछि विकासकेन्दि्रत राजनीति गर्नेहरूका लागि लोकतन्त्र, गणतन्त्र र उदार अर्थतन्त्रको स्वरूपको बहस स्वतः गौण हुनेछ । त्यसमा पनि हार्वर्ड विश्वविद्यालयका ख्यातिप्राप्त जेफ्री स्याक्सजस्ता कुनै बेलाका उदारवादी अर्थशास्त्रीदेखि नेपालकै हकमा कुरा गर्ने हो भने कुनै बेलाका साम्यवादी अर्थ-राजनीतिका प्रखर पक्षधर बाबुराम भट्टराईसम्म सबै आ-आफ्ना अतिवादी धार त्यागेर लगभग परोपकारी राज्य र उदारवादी परोपकारी अर्थनीतिको अवधारणामा रूपान्तरित भैसकेका छन् । भनेपछि नयाँ शक्तिले कुनै नौलो दर्शनका लागि दिमाग खियाइरहनु पर्दैन ।
यस्ता तर्कहरू गर्दैगर्दा कतिपयले त्यसलाई भारतमा आम आदमी पार्टीको सफलताबाट उत्साहित भएर अभिव्यक्त भएको दृष्टिकोण भन्ने गरेका छन् । तर यस आलेखमा जुन प्रकृतिको राजनीति निर्माणको परिकल्पना गरिंँदैछ, त्यो आम आदमीभन्दा धेरै गुणा सशक्त र दिगो हुनेछ ।
यसरी राजनीतिबाहिर र भित्रका इमानदार, विश्वासिला र समझ भनिएका नेपालीहरू आउंँदो आमनिर्वाचनमै निर्णायक शक्तिका रूपमा प्रकट हुनसक्ने गरी गोलबद्ध भएर नयाँ राजनीतिक पार्टी गठन र त्यसको रणनीति निर्माणमा नलाग्ने हो भने यो देशको राजनीति अझै धेरै वर्षका लागि अन्धकार नै रहनेछ । अब वर्षौं लगाएर एकजना गगन थापा कांग्रेसको सभापति, एकजना गोकर्ण विष्ट एमालेको अध्यक्ष बन्दैमा, महावीर पुनले अरु दर्जनौं गाउँमा वायरलेस प्रविधि प्रयोगबाट विकासको परिकल्पना गर्दैमा या केही वर्षका लागि रमेश खरेल प्रहरी प्रमुख बन्दैमा समग्र देश समृद्ध र विकसित हुनै सक्दैन ।
यो देशसँग के छैन ? सगरमाथा छैन कि, गौतम बुद्धको जन्मस्थल छैन कि, पशुपति छैन कि, केदारनाथको शिरभाग डोलेश्वर महादेव छैन कि, कृषियोग्य जमिन, जडिबुटी, पानी, प्राकृतिक सौन्दर्य छैन कि, केचाहिँ छैन ? हामीले केवल पश्चिमाहरूले जस्तो राष्ट्रलाई छोटो अवधिमै समृद्ध बनाउने त्यस्ता अमूल्य सम्पत्तिलाई कसरी प्रबर्द्धन गर्ने भन्नेमात्र सिक्नुपर्छ । प्राकृतिक स्रोत र साधन अत्यन्त न्युन भएका कैयौं देशले भब्य विकास गरेका छन् भने हामी सबै कुरा भएर पनि गरिबीमा पिल्सिएको दशकौं भैसक्यो । यति हुँदा पनि देश सांँच्चै हांँक्न सक्ने नेपालीहरू आँट निकालेर एकढिक्का हुनसक्दैनन् र राष्ट्रको बृहत्तर रूपान्तरणमा होमिन सक्दैनन् भने ती सबै व्यक्तिगत रूपमा ठूला र असल त कहलिएलान्, तर ती देश बदल्न नसक्ने विफल पुस्ताकै सदस्य बन्नेछन् । अनि ती अलि संवेदनशील पनि रहेछन् भने कैयौं दिनसम्म भोकै पेट छट्पटिएपछि सानी छोरीलाई अँगालोमा बाँधेर कर्णाली नदीमा हामफाली आत्महत्या गर्न बाध्य आमाको जीवन रूपान्तरण गर्न नसकेको दोषानुभूति लिएर मर्नेछन् ।
त्यो दोषबाट मुक्त हुने हो र आफ्नै जीवनकालमा देश परिवर्तन भएको हेरेरै मर्ने हो भने गर्ने अहिले हो, भोलि ढिलो भइसक्नेछ । छुट्टाछुट्टै गरेर केही हुनेवाला छैन । राजनीतिभित्र र बाहिर जो-जो नयाँ शक्ति निर्माणको बहसमा सामेल छन्, ती सबैले आँट निकालेर एकत्र हुने समय यही हो । बाहिरका धेरै राम्रा मानिसहरू तयार छन् । प्रश्न, भित्रका गगन थापा र गोकर्ण विष्टहरूसँग साहस छ कि छैन भन्ने हो । नत्र थापा र विष्टहरूको जिन्दगी पनि देशमा लोकतन्त्र र गणतन्त्र ल्याउनमा ठूलो योगदान पुर्‍यायौं भनेर गर्व गरेरै बित्नेछ । राजनीतिको मूललक्ष्य- राष्ट्रको समग्र रूपान्तरण- मा भने तिनको कुनै उल्लेख्य भूमिका रहने छैन । नयाँ शक्तिको उदय र आउँदो निर्वाचनमा विजय सम्भव छ । समयमै चेतना भया !

प्रकाशित : फाल्गुन ३०, २०७० ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?