कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

यसरी बिताए कारागार

काठमाडौ — म र मेरो परिवारलाई पक्राउ गर्नासाथ सुरुमा प्रहरीतर्फका डीआईजीको अध्यक्षतामा छानबिन टोली...

यसरी बिताए कारागार
म र मेरो परिवारलाई पक्राउ गर्नासाथ सुरुमा प्रहरीतर्फका डीआईजीको अध्यक्षतामा छानबिन टोली गठन भई अनुसन्धान प्रारम्भ गरियो । सायद पछि प्रहरी/विशेष प्रहरीले मात्रै अनुसन्धान गर्दा विश्वास नभएकाले सेनासमेतको संयुक्त अनुसन्धान टोली गठन गरी सिंहदरबारस्थित बरफबागको सैनिक हिरासतमा राखी छानबिन गरिएको हुनुपर्छ । यसरी म र मेरा परिवारविरुद्ध संयुक्त रूपमा अनुसन्धान गरिए पनि पछि विभिन्न कपोलकल्पित प्रमाणहरू जुटाई प्रहरी/विशेष प्रहरीमार्फत २०४४ असोज ९ गते बरफबागको सैनिक हिरासतबाट निकालेर कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित मध्यक्षेत्रीय विशेष अदालतको जिम्मा लगाइयो । यसरी गठित विशेष अदालतमा पेस गरिएपछि अदालतको आदेशद्वारा मलाई बरफबागबाट डिल्लीबजारको चारखाल खोरमा सारियो ।
त्यसै दिन वसुन्धरालाई डिल्लीबजार खोरको महिला राख्ने बन्दीगृह खण्डमा राखेछन् भने सावित्रीलाई चाहिँ वागमती अञ्चल एसपी कार्यालय हनुमानढोकामा लगेर राखेका रहेछन् । मलाई लगाइएका विभिन्न संगीन आरोपमा म लगायत मेरो परिवारसमेतले यसरी यातना र बन्दी जीवन बिताउनुपरेको घटना मेरो हकमा बाहेक सायदै अरु नेपालीले भोग्नुपरेको होला । जे होस्, ९६ दिनसम्म चारैतिरको झ्याल बन्द र चौबीसै घन्टा बत्ती बाल्नुपर्ने अँधेरो चिसो कोठामा धेरै सास्तीसँग बसेको म एकैचोटी बाहिर निस्कँदा दुब्लाएर सेतो मुर्कट्टाजस्तै देखिएको थिएँ । दाह्री-जुँगा, कपाल बढेर म त तर्साउने भूतजस्तै भएको रहेछु । वसुन्धरा र सावित्रीको पनि हालत उस्तै भएको रहेछ ।
बरफबागको एकान्त सैनिक हिरासतमा एक्लै सास्ती खेप्दै बिताएको मान्छे, विशेष अदालतमा म विरुद्धका झुटा मुद्दाहरू पेस गरिएपछि एक्कासी दुई सयभन्दा बढी थुनुवा भएको खोरमा आइपुग्दा मलाई अर्को जन्म भएजत्तिकै राहत र आरामको अनुभूति भयो । त्यो दिन त्यतिकै बित्यो । भोलिपल्ट फेरि बेलैमा सिंहदरबार अगाडि रहेको महान्यायाधिवक्ताको कार्यालय भवनको माथिल्लोपट्ट िरहेको मध्यमाञ्चल विशेष अदालतमा प्रहरीले उपस्थित गराए । त्यहाँ आएपछि बल्ल आफ्ना छोराछोरीहरू दीपक, दिलीप, दिनेश, दिपाञ्जली र दिप्ता अनि चार महिनाकी नातिनी स्नेह र सासू नामडुलसँग भेट भयो । मेरा बालबच्चा र आफन्तहरूमा भाइ शेरबहादुर, दाइका नातिनी मञ्जु, भतिजा कृष्ण, भरत, भतिजिनी सावित्री, सुभद्रा, दुर्गा र ज्वाइँ सुरेन्द्र पनि म र वसुन्धरालाई देखेपछि सबैजना भावविह्वल भई रुनथाले । मारिसकेको छ वा के गरेको छ, केही थाहा नभई बेपत्ता भएका आफ्ना आमाबाबुलाई देख्न पाउँदा उनीहरूले दुःख र सुखको आँसु खसाली आफ्नो पीर हलुका पारेका थिए ।
चारखाल ल्याएको करिब दुई महिनासम्म दिनहुँजसो बिहान नौ बजेतिर मेरालागि माननीय न्यायाधीश कृष्णजंग रायमाझीको विशेष अदालतमा थुनछेक र बयानको लागि बहस हुन्थ्यो, त्यसैको लागि त्यहाँ लैजान्थे र बेलुकी फेरि डिल्लीबजार खोरमा फिर्ता ल्याउँथे । विशेष अदालतले नै मउपर लगाइएका धेरै मुद्दाको फैसला गर्‍यो । तर प्रायः सबै मुद्दामा मेराविरुद्ध फैसला गर्न न्यायाधीशलाई तत्कालीन सैनिक सचिव रथी ऋषिकुमार पाण्डेमार्फत धेरै दबाब आएको थियो भन्ने कुरा यतिखेर बुझिन्छ । तर मलाई लगाइएका मुद्दाहरूको न्यायाधीशले निष्पक्ष रूपमा न्यायपूर्वक फैसला गरी अधिकांश मुद्दामा त मैले त्यही विशेष अदालतबाट सफाइ पाएँ । केही मुद्दामा मात्र बिगो बमोजिमको जरिवाना सुनाइयो । मुद्दा चलाउनेले धेरै बिगो दाबी गरेको हुँदा जरिवाना नतिरे ६ वर्ष कैद बस्नुपर्ने फैसला पनि भएको थियो ।
त्यतिबेला मउपर त्यस्ता काल्पनिक मुद्दाहरू लगाइएको थियो कि सम्झँदा मन भित्रबाट मलाई एकातिर हाँसो उठ्छ भने अर्काेतिर कसैलाई रिसइबी साँधी उसको जीवन नै बर्बाद गर्नका लागि कति हदसम्म तल झरेर राज्यका संयन्त्र र शक्तिहरूलाई निर्लज्ज ढंगले कसरी दुरुपयोग गरी एक व्यक्तिउपर खेल खेल्दारहेछन् । आफ्नो खेमा र पक्षमा नआउने निर्दोष व्यक्तिहरूलाई समेत कतिको दुःख दिँदारहेछन् भन्ने छर्लंग देखिन्छ । उदाहरणका लागि मेरो घरमा खानतलासी गर्दा प्रहरीद्वारा रु. १० भारतीय रुपैयाँसमेत बरामद गरी त्यसैलाई आधार लिई अवैध रूपले विदेशी मुद्रा राख्यो भन्नेसम्मको मुद्दा लगाइयो । जुन कुरा पाठक वर्गलाई विदितै छ कि नेपाल-भारत खुला सिमाना भएको हुँदा यतिखेर पनि भारतीय मुद्रा नेपालका विभिन्न भाग र काठमाडौं बजारका हरेक क्षेत्रमा खुला रूपले कारोबार भइरहेको छ ।
त्यसैगरी म विरुद्ध लगाइएको अर्को मुद्दाको बारेमा पनि छोटकरीमा उल्लेख गर्न चाहन्छु । जस्तै- मेरो ठमेलस्थित घरको छानामा राखिएको पुराना काठका टुँडालहरू (त्यस्ता टुँडालहरू प्रायः उपत्यकाका सबै पुराना घरहरूमा राखिन्छन्, कालिगडबाट बनाउन लगाइन्छन्, जुन वसन्तपुरको बजारमा खुलेआम किनबेच हुने गर्छ) लाई समेत आधार लिई पुराना बहुमूल्य काठ टुँडाल राखिएको भनी पुरातात्त्विक मुद्दा लगाइयो । यसरी दुःख दिनका लागिमात्र कपोलकल्पित आधारहरू खोजी मविरुद्ध चलाइएका अधिकांश औचित्यहीन मुद्दाहरूमा विशेष अदालतबाट नै सफाइ दिइयो ।
तर जे भए पनि विशेष अदालतको फैसलाले भने जरिवाना र सोबापत जेथा धरौटी राखेर छुट्न सकिने अवस्था सिर्जना गरेको थियो । तर मेरा अगाडि दुइटा कारणले गर्दा कैद भुक्तानी गर्नुबाहेक अर्को उपाय थिएन । एक त मसँग अदालतले मागे बमोजिमको धरौटी राख्न सम्पत्ति (नगद, गरगहना, घरजग्गा सबै) जफत गरी रोक्का राखेको हुँदा केही पनि थिएन । मोटर, मोटरसाइकल, बन्दुकहरू सबै प्रहरी कब्जामा थियो । यतिसम्म कि बिहे भएर गएकी छोरी दिपाञ्जली मोक्तान र सासू नामडुल केसीका गरगहनासमेत लगेर मलाई कंगालै पारेका थिए । तैपनि मेरा केही सहयोगीले जेथाजमानी दिई छुटाउने पहल भइरहेका बेला सम्भवतः म जेलबाट छुट्न सक्ने अवस्था देखेर फेरि मविरुद्ध (एक सिभिलियन नागरिकउपर) अर्को मुद्दा खडा गर्ने परिपञ्च रची विशेष अदालतको कारबाही सकिनासाथ कान्छा राजकुमार धीरेन्द्रका अंगरक्षक कर्णेल भरत गुरुङको मुद्दासँग संलग्नता देखाई जनरल सैनिक अदालततर्फ लगियो ।
विशेष अदालतको कारबाही सकिएको केही दिनपछि नै पुनः मलाई प्रहरीको भ्यानमा राखी बानेश्वरस्थित जनरल सैनिक अदालत -हाल वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रहेको ठाउँ) मा लगियो । सैनिक अदालतमा मेजर जनरल -पछि प्रधानसेनापति) गडुलशमशेर जबरा लगायतका अधिकृतहरू त्यहाँ सैनिक पोसाकमा ठाँटिएर मलाई पर्खेर बसेका रहेछन् । जनरल गडुलशमशेरले मलाई देख्ने बित्तिकै भने, 'डीबी, तिमीलाई यो पापचाहिँ बागलुङको हाम्रो सेनाको मेजरलाई ठेकेदार मारेको भनी लगाएको आरोपको फल हो ।' म त त्यसबेला छक्क परेँ, ममाथि फेरि यहाँ अर्काे नयाँ दोष थपिने भयो । यस बागलुङ घटनाको बारेमा पनि के भएको रहेछ त भन्ने जिज्ञासा पाठक वर्गमा हुनसक्छ । त्यसैले यस सम्बन्धमा मेरो स्मरणमा रहेसम्म उक्त घटनाको बारेमा छोटकरी चर्चा
गर्न चाहन्छु ।
मेरो आईजीपीको कार्यकालमा बागलुङमा एउटा सनसनीपूर्ण घटना हुनपुगेको थियो । बागलुङमा शाही नेपाली सेनाको एउटा पल्टन रहेको छ । त्यहाँको सेनालाई रासन पुर्‍याउने ठेकेदार र त्यहाँ कार्यरत तत्कालीन शाही नेपाली सेना प्रमुखबीच आपसी सम्बन्ध एकदमै राम्रो रहेछ । दुवैजना प्रायः रातको अबेरसम्म बस्ने, पिउने, खाने र तास खेल्ने गर्दारहेछन् । एक दिन रासन आपूर्ति गरेको चेकको रकम बैंकबाट भुक्तानी लिई ठेकेदार ब्यारेकभित्र गएको रहेछ । साँझपख ठेकेदार त्यहाँ गएको भन्ने कुरा नजिकै पसल गरिबसेका सबैले देखेका रहेछन् । तर भोलिपल्ट पनि श्रीमान घर नफर्किएपछि ठेकेदारकी श्रीमतीले प्रहरीमा उजुर गरी खोजतलास गर्दा निज ठेकेदारको लास भीरमा फेला परेको थियो । ठेकेदार स्थानीय वासिन्दा भएको हुँदा बागलुङवासीले विशेष
चासो राखी ठूलै बबन्डर मच्चाएका थिए । यस घटनामा सेनाका जिम्मेवार अधिकृत मुछिने अवस्था परेको हुँदा राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकामा तत्सम्बन्धी समाचार आउनुका साथै व्यापक जनदबाब र चर्चा चलेको थियो ।
त्यसैले पश्चिम क्षेत्र पोखराका तत्कालीन डीआईजी नरेन्द्रबहादुर अधिकारीबाट छानबिन गरी प्राप्त भएको यथार्थ प्रतिवेदन सैनिक सचिवालयमा जाहेर गरेपश्चात 'यसमा पुनः बुझ्ने' भन्ने किसिमको आदेश राजा वीरेन्द्रबाट समेत भएको हुँदा त्यसबेला सुदूर पश्चिममा कार्यरत तत्कालीन डीआईजीपी हेमबहादुर सिंहलाई झिकाई निजको संयोजकत्वमा केन्द्रबाटै फेरि अर्काे छानबिन टोली गठन गरी बागलुङ पठाइएको थियो । त्यही टोलीले घटनाको विवरण, प्रकृति र भू-बनोट आदि सबै व्यापक अनुसन्धान गरी
पेस गरेको रिपोर्टअनुसार त्यहाँ कार्यरत सैनिक प्रमुखमाथि नै कारबाही गरिनुपर्ने भन्ने व्यहोराको राय पुनः मैले सैनिक सचिवालयमा जाहेर गरेको थिएँ ।
वास्तवमा घटनास्थलको प्रकृति हेर्दा ब्यारेकभित्र बाहिरको व्यक्ति गएर त्यहाँ घटना गराउन सक्ने अवस्थै रहेनछ । किनकि सेनाको गण बसेको ठाउँ तीनतिर एकदमै डरलाग्दो भीर छ र ब्यारेक प्रवेश गर्ने एउटै मूलबाटो बाहेक अरु छैन । गेटमा सशस्त्र सैनिकहरूको चौबिसै घन्टा पहरा हुनेहुँदा बाहिरको मानिस ब्यारेकभित्र गएर ठेकेदार वा कुनै व्यक्तिलाई मारी फाल्ने सम्भावना थिएन । त्यसैले उक्त घटनामा सेनाकै संलग्नता रहेको कुरो प्रतिवेदनमा उल्लेख गरिएको थियो । मूलभूत कुरा त प्रहरीले घटनाको अनुसन्धान गरी विवरणसहितको प्रतिवेदन सरकारी वकिलमार्फत अदालतमा बुझाउनेसम्म मात्र हो । सो बाहेक त्यस विषयमा के भयो मलाई थाहा थिएन । तैपनि त्यसबेला जनरल सैनिक अदालतका प्रमुख गडुलशमशेरले बागलुङ घटनाको सन्दर्भ जोडी यतिखेर मजस्तो सैनिक हिरासतमा रही कष्टपूर्ण जीवन बिताउने व्यक्तिले जनरलको भनाइप्रति चकित हुनुबाहेक के पो गर्न सकिन्थ्यो र !
म सेनासँग सरोकारै नभएको पूर्व प्रहरीलाई चाहिँ कर्णेल भरत गुरुङलाई भ्रष्टाचार गर्न प्रोत्साहित गरेको भनी सैनिक अदालतले गरेको १० वर्ष कैदको फैसला एक हास्यास्पद विषयबाहेक के हुनसक्छ ?
पूर्व प्रहरी प्रमुख डी.बी.लामाको किताब 'संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू'बाट सम्पादित अंश


प्रकाशित : चैत्र १५, २०७० ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?