विराटनगरको अतीत, वर्तमान र भविष्य

पुरञ्जन आचार्य

काठमाडौ — कहावत छ, रोम एक दिनमा बनेको होइन, विराटनगर पनि आजको दिनमा आइपुग्न एक सय वर्ष लाग्यो ।

राणाशासकको उर्दीले न्वारन भएको विराटनगर गणतान्त्रिक नेपालमा एक सय वर्ष मनाउँदैछ । सहरको विकासमा एक सय वर्ष बित्नु सामान्य कुरा होइन, विराटनगर सहर र यहाँका नागरिकका लागि पनि यो क्षणले पक्कै पनि गौरवान्वित गर्नेछ ।
एक सय वर्षअघि विराटनगरले पहिचान स्थापित गरे पनि यो ठाउँको अस्तित्व भने ऐतिहासिक छ, धेरै पुरानो छ । विराटनगरको ऐतिहासिक क्रमदेखि आजसम्मको विकासक्रम बुझ्न शत्वाषिर्की समारोह मनाइरहेका जिम्मेवार पदाधिकारी र कर्मचारीले मिहेनत गर्नेछन् र सहरको विगत, वर्तमान र भविष्यको लेखाजोखा देशवासीलाई जानकारी गराउनेछन् ।
यो लेखको उद्देश्य विराटनगरको समग्र विकासक्रमलाई समेट्ने छैन, स्थानाभाव र क्षमताको कमीले पनि त्यसो गर्न सम्भव नहोला ।
विराटनगरको विकासक्रमको प्रथम खण्ड यसको पहिचानबाट उठाउन सकिन्छ । अर्थात विसं १९४० देखि १९७६ सम्म विराटनगर गर्भाधानको समय हो । त्यस्तै दोस्रो कालखण्ड भनेको विसं १९७७ देखि ००७ साल सम्मलाई मानिन्छ । विभिन्न औद्योगिक र राजनीतिक आन्दोलनको यो समय नेपाल र अन्तर्राष्ट्रिय जगतमा विराटनगरलाई चिनाउने काल हो । अनी तेस्रो खण्ड २००८ देखि ०४८ सम्मलाई मान्नुपर्ने हुन्छ । यही कालमा वीपी विराटनगरबाट निर्वाचनमा उठे, प्रधानमन्त्री भए र थुनामा परे । थुनाबाट छुटे, विराटनगरबाट आन्दोलनको फेरि श्रीगणेश गरे । यही कालमा विराटनगरले प्रजातन्त्रको दीयो निरंकुशताको अगाडि झुक्न दिएन । र अन्त्यमा २०४८ देखि ०६५ सम्म हुन आउँछ । यो काल विराटनगर सत्तामा सर्वशक्तिमान भएको थियो, काठमाडौंको शासनमा विराटनगरको एकक्षत्र थियो भन्दा हुन्छ ।
माथिका सबै घटना र विवरणहरू यो लेखको उद्देश्य होइन, त्यसको जिम्मा शत्वाषिर्की समारोहका पदाधिकारीहरूलाई दिएर फगत विराटनगरको परिचय स्थापनाकालमा यो लेख सीमित गर्छु ।
फर्केर हेर्दा विराटनगर (विसं १९३१ देखि १९७६)
केशरशमशेर जंगबहादुर राणा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका पि्रय पुत्र थिए । पढ्न, लेख्न र पुस्तक थुपार्ने यिनको शौख थियो । सिकारको पनि यिनी राम्रै शौखिन थिए । यिनै केशरशमशेर विक्रम सम्वत् १९७६ को जाडो छल्न र सिकार खेल्न भनी नेपाल अर्थात काठमाडौंबाट पूर्वी तराईको गोग्राहा र्झछन् । गोग्राहामा तिनताका फाट्टफुट्ट फुसका घरबाहेक केही थिएन, सर्वत्र घना जंगलमात्र थियो । त्यही समय गोग्राहाको पूर्वबाट बग्ने सिंघिया नदी पारिबाट रंगेली हुँदै तोपगाछी हालको भद्रपुर जोड्न बाटो खन्ने काम भैरहेको थियो । त्यही बाटो खन्दा मजदुरहरूले अढाई मनको ताल्चा भेटे ।
सडक खन्दा भेटिएको ताल्चाबारे पिता चन्द्रशमशेर समक्ष विद्वान कहलिएका छोरा केशरशमशेरले जानकारी गराए । श्री ३ प्रधानमन्त्री चन्द्रशमशेर समक्ष धर्मशास्त्रमा वणिर्त केही प्रसंगलाई उद्धृत गर्दै छोराले ताल्चा विराट राजाको दरबारसँग जोडे । विद्वान छोराको तर्क श्री ३ चन्द्रलाई मनपर्‍यो । महाभारत कालमा पाँच पाण्डव र द्रौपती यतै कतै विराट राजाको दरबारमा लुकी बसेको छोराको अनुमानको आधारमा उर्दी जारी भयो, 'अब उप्रान्त त्यो ठाउँलाई गोग्राहा नभनी विराटनगर भन्नु ।' चन्द्रशमशेरको उर्दीबाट न्वारन भएको त्यही विराटनगरले आफ्नो शत्वाषिर्की यसै हप्ताबाट सालभरि धुमधामसँग मनाउन कम्मर कसेको छ ।
गणितको सामान्य ज्ञानअनुसार पनि विराटनगर न्वारन भएको पाँच वर्षअघि नै शत्वाषिर्की मनाइरहेको देखिन आउँछ । जसरी नेपाल एकीकरण अघिको तराईको शासन र प्रशासन बुझ्न गाह्रो र झञ्झटिलो छ, विराटनगर पनि त्यस्तै छ । अर्थात विराटनगरको इतिहास केही घुमाउरो छ । श्री ३ चन्द्रको उर्दीबाट गोग्राहा विराटनगर बन्नुभन्दा  पाँच वर्षअघि अर्थात विक्रम सम्वत् १९७१ गुञ्जमान मल्ल र कर्णेल जितबहादुर खत्रीले रंगेलीलाई उठिवास गराएर नेपालगन्ज बसाए, हालको विराटनगर । श्री ३ को डर तत्कालीन सुब्बा, डिट्टा, खरिदार, बहिदारमा कायमै थियो । तसर्थ शासक र प्रशासकले चाकडी गर्न यो सहरलाई केही काल चन्द्रजंग पनि भनेको पाइन्छ । चन्द्रजंग अर्थात श्री ३ चन्द्रशमशेरको सहर ।
नेपालगन्ज, गोग्राहा, चन्द्रजंग हुँदै विराटनगर अब स्थापित नाम भएको छ । यही नामसँग जोडिएर कैयन नेता बने, कैयन परिवारहरू शासक र प्रशासक भए । विक्रमको १९४० देखि १९७६ सम्मको समयलाई विराटनगर गर्भाधानको प्रसव वेदना भन्न सकिन्छ । अनि विराटनगर बनाउने क्रममा दिलोज्यानले १९४० देखि १९७६ सम्म खटेका केही नेवार र केही बाहुन परिवारको स्मरण पनि गर्नुपर्ने हुन्छ ।  
को थिए त विराटनगरलाई राजनीतिक र औद्योगिक सहरका साथै सभ्य र सुसंस्कृत सहरको जग बसाउनेहरू ? मकवानपुरका सेनवंशी राजाहरूको एउटा हाँगाले विजयपुरबाट विराटनगर समेतमा शासन गर्थे, नेपाल एकीकरण अघि । गोरखाली सेनाले अभिमानसिंह बस्नेतको नेतृत्वमा विक्रम सम्वत् १८३१ मा मोरङलाई नेपालमा गाभे, विराटनगर पनि अखण्ड नेपालको सीमाभित्र यही बेलादेखि पर्‍यो, अन्यथा एकीकरणअघि अहिलेको विराटनगर मिथिला, बज्जी, बंगालका पाल र सेनवंशी राजाहरूको अधीनमा रहेको अनुमान गरिन्छ । एकीकरणपछि धेरै वर्षसम्म धनकुटा र विजयपुरबाट सम्पूर्ण मोरङको प्रशासन चल्थ्यो । मोरङलाई कालावञ्जर अर्थात कालापानी ठानिएकोले यहाँको स्थानीय प्रशासन परम्परागत चौधरी र जमिनदारी प्रथाबाट चलिरहेको थियो । जुन कुरा श्री ३ वीरशमशेरलाई उचित लागेन । त्यही वीरशमशेरको दरबारमा अत्यन्त प्रभावशाली सुब्बा थिए, कालिदास कोइराला, जो पछि सरदार कालिदास कोइराला भए ।
सरदार कालिदास कोइरालासँग विश्वासिलो पारिवारिक टिम थियो, अनि त्यस्तै विश्वासिला मित्रहरू पनि थिए । मोरङ बन्दोबस्त अड्डा खडा भयो, विसं १९४८ मा । कालिदास कोइरालासँग सुब्बा गुञ्जमान मल्ल, सुब्बा नारायणप्रसाद कोइराला, रामप्रसाद कोइराला र डिट्टा कृष्णराज श्रेष्ठ थिए । यिनैका सन्तान र आफन्तले पछि आधुनिक विराटनगरको जग बसाले । जसमा कृष्णप्रसाद कोइराला, माईप्रसाद मल्ल र हनुमानदास श्रेष्ठ अग्रपंक्तिमा रहे, अरु ज्ञात-अज्ञात थुप्रैले विराटनगरको जगमा इँटा हाल्ने काम गरे । यही क्रममा यहाँ चन्द्रशेखर ढकालको परिवारलाई  बिर्सन सकिन्न ।
 विचरा चन्द्रशेखर ढकाल राणाको दौडाहा टिमका सदस्य थिए, विसं १९६० तिर । रोगी भएर र्फकन नसकेका ढकाल छाप्रो बनाई सामान्य ढुंगालाई भगवान मानी अहिलेको काली मन्दिर भएको ठाउँमा बसे । ढकालको ढुंगा माथिको आस्थालाई प्राणप्रतिष्ठा गरी काली मन्दिर स्थापना गर्ने काम पिताजी कृष्णप्रसाद कोइरालाले निकै वर्षपछि मात्र गरेका हुन् । विराटनगरलाई व्यवस्थित र राजधानीसँंग जोड्ने काम पनि यही बेला भयो । सुब्बा कालिदास कोइरालाको नेतृत्वमा पहिलोपल्ट जग्गाको नापी भयो, मोरङको । त्यही जग्गा नापी टिमका सदस्य थिए, ढकाल । विराटनगरमा प्रसिद्धि कमाएको र बेला-बेला विवादमा परेको काली मन्दिरको अहिलेका पुजारी पनि तिनै चन्द्र ढकालका चौथो पुस्ता हुन् ।
केही दसक अघिसम्म विराटनगरका बूढापाकाहरू ६० सालको नापीबाट पाएको जग्गा लालपुर्जा भनी दम्भ कस्थे । यही नापीबाट विराटनगरको भूस्वामित्व विभिन्न ठालु र तिनका आफन्त परिवारमा वितरण भयो, खासगरी दरबारमा पहुँच र सम्पर्क भएका सुब्बा, खरिदार, बहिदार जस्ताहरूले मोरङको जग्गा आफ्नो र परिवारको नाममा नापी गरे । यही क्रम पछिसम्म पनि निरन्तर जारी रह्यो ।  भूस्वामित्वमात्र होइन, भूमि आधारित सामाजिक बनोटको यही जगमा विराटनगर अगाडि बढ्यो र जसले अन्ततः राजनीतिक रूप लियो, निकै पछि ।   
वास्तवमा कालिदास कोइरालाको यही भ्रमणमा विराटनगरको परिकल्पना भयो, जसलाई सुब्बा गुञ्जमान मल्लले नेतृत्व दिए । प्रश्न उठ्नु स्वाभाविक छ, किन विराटनगर सर्‍यो, किन रंगेलीलाई निरन्तरता दिन चाहेनन् । यसको उत्तर लिखित रूपमा कतै स्पष्ट छैन । तर अनुमान र श्रुतिमा भरपर्दा काठमाडौंबाट तराई झर्ने शासक र प्रशासक सबै पूर्वी पहाडका बाहुन र राजधानीका नेवार थिए । तिनलाई रंगेली विश्वासिलो र उचित ठाउँ लागेन । रंगेली पुग्नै तिनले थुप्रै हन्डर र कष्ठ भोग्नुपर्ने थियो । प्रशासकहरूले पाएको त्यस्तै दुःख र हन्डरबाट विराटनगरको परिकल्पना भएको मानिन्छ । अहिलेको झापा, मोरङ र सुनसरीको प्रशासनिक केन्द्र रंगेली थियो, तिनताका । रंगेली आफ्नो अस्तित्व जोगाउन सकिरहेको थिएन भने विराटनगर जबर्जस्त किसिमले उदाइरहेको थियो ।  
रंगेली भारतको गलगलिया र फारविसगन्ज रेलवे स्टेसनबाट झन्डै ५० किमिजति टाढामा पथ्र्यो । यी दुवै ठाउँबाट रंगेली पुग्न रेलको यात्रापछि जंगलको लामो बाटो भएर मात्र सम्भव थियो । घना जंगल र थुप्रै नदीनालाका कारण प्रशस्त दुःख उठाउनुपथ्र्यो, रंगेली पुग्नलाई । जंगली जनावरको पनि त्यतिकै डर थियो । राजधानीबाट दौडाहामा आउने शासक र प्रशासकलाईर् सुगम पहँुच जरुरी ठानिन्छ, सदरमुकामका लागि । यही मानसिकताले पहाडमा अधिकांश सदरमुकामलाई हवाइजहाज अवतरण गर्ने नगिच नदीको बगरमा राखियो, पछि पनि । तराईमा पनि भारतीय रेल्वे स्टेसनबाट सदरमुकामहरू टाढा नहोस् भन्ने चिन्तन हावी भयो । आज पनि राजधानीबाट देशको टाढा कुना कुनै शासक र प्रशासक पुग्न चाहँदैनन् । काठमाडौंको मानसिकतामा केही फरक आएको छैन ।
विराटनगरले अहिले एक सय वर्षको उत्सव मनाइरहँदा रंगेलीवासी भने कालो दिवस मनाउँदैछन् । तर रंगेलीवासीले बुझ्नुपर्ने कुरा के छ भने सदरमुकाम सार्दैमा कुनै पनि ठाउँ विकसित र अविकसित हुने होइन । राजविराज र सिरहा माडर सदरमुकाम भएर पनि खासै आकर्षक हुन नसकेको ठाउँ भए । खासमा मानिसको सोच र मिहेनतले सहरको विकासमा सहयोग पुर्‍याउँछ । विराटनगर नै पहिचानको सय वर्ष मनाइरहँदा आफ्नो अतितसँग गर्व गर्न सक्छ । तर वर्तमानमा भने विराटनगरको स्थिति पतोन्मुख देखिन्छ । गौरव गर्नसक्ने केही कुरा छैन ।
विराटनगरमा कुनै प्रतिष्ठित विश्वविद्यालय छैन । कुनै राष्ट्रिय स्तरको अस्पताल छैन । सहर हुनलायक सडक छैनन् । पार्क, स्टेडियम, खुला चौर, फुटपाथ, ढल, बिजुली केही छैन । सर्वत्र फोहोरको डंगुर थुपारिएका छन्, अनि खुला नालामा सडेका जीव गन्हाइरहेका छन्, चौबिसै घन्टा । मच्छरको स्वर्गस्थल छ, विराटनगरका नालाहरू । सुविधाका कुरामात्र होइन, राजनीतिक बहस, चिन्तन र छलफल पनि विगतको जस्तो कतै छैन । राजनीतिज्ञहरू पनि राजधानीमुखी भए, जो स्थानीय स्तरमा छन्, ती पैसा र सुविधामुखी भए भन्ने आरोप जनस्तरमा उठेको छ । विराटनगरको सांस्कृतिकमात्र होइन, राजनीतिक पतन पनि भएको छ । विराटनगरवासीलाई दुःख लाग्न सक्छ, तर यथार्थ त्यही हो ।
शत्वाषिर्की समारोह भव्य हुनसक्छ, हुनुपर्छ । तर पञ्चायती शैलीको गेट र स्तम्भ बनाउने सोचले के अर्थ राख्ला र ? केही नयाँ सोच्नैपर्छ, अन्यथा नागरिक सहभागिताको अभावमा  कर्मचारी र व्यापारी मात्रले कर्मकाण्डी रूपमा मनाउने शत्वाषिर्की समारोहले पतोन्मुख विराटनगरलाई माथि उठाउन किमार्थ सम्भव छैन । विराटनगरवासीलाई शत्वाषिर्की समारोहको खुसियालीमा तीन दिन विराटनगरको बिजुली नजाने घोषणा मात्रले चित्त बुझाउनुपर्ने हुन्छ ।



 
 

प्रकाशित : चैत्र २७, २०७० ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुनकोसी पुलबारे शंका

कुम्भराज राई

ओखलढुंगा — सुनकोसी पुल सोमबार राति अचानक भत्किएपछि अनेक शंका गर्न थालिएको छ । वर्षौंदेखि नेताहरूको भोट माग्ने विषय र 'कमिसनको खेलो' को आरोप

लागेको पुल एक्कासि भत्किएपछि आशंका थपिएका हुन् ।
'जति भत्किए, भाँचिए पनि राज्यले बजेट दिइरहने भएकाले लापार्बाही निरन्तर छ', पूर्वसभासद एवं एमाओवादी नेता केशव राईले भने, 'बनाउनेले नै भत्काएका हुन् । तर डाडुपन्यु भएकैको संलग्नता भएकाले सर्वसाधारण बोल्न नसकेका मात्रै हुन् ।' हर्कपुर र घुर्मीवासीले पक्की पुल बनेपछि आफ्नो बजार घट्ने भएकाले यसमा केही सहयोग गरेको हुन सक्ने अर्कोतर्फीको आरोप छ । हर्कपुर-ओखलढुंगा सडक आयोजनाका प्रमुख अर्जुन अर्यालले पुलको बिमा भएकाले बिहीबारसम्ममा बिमा कम्पनीका प्रतिनिधि आइपुग्ने बताए । 'नेसनल इन्स्योरेन्स कम्पनी' मा बिमा गरिएको पुलको क्षति मूल्यांकन गरिएपछि मात्रै लडेको भाग खोल्ने काम सुरु हुने अर्यालले बताए । केही राजनीतिक दलकै नेताले समेत ठेकेदार उकास्ने उद्देश्यले जानाजान कमजोर जडान गरेर पुल भत्काएको भनाइ छ ।
'डुबिरहेका ठेकेदारलाई उकास्न नियोजित किसिमले पुल भत्काइएको हो', एकजना कांग्रेस नेताले नाम नखोल्ने सर्तमा भने, 'भत्किएपछि बिमा रकम आउँछ र त्यसले केही सहयोग हुन्छ त्यसमै पनि स्पष्ट छ ।' यसको उचित छानबिन गरी कारण पत्ता लगाएर दोषीमाथि कारबाही गर्नुपर्ने भन्दै मानेभन्ज्याङवासीले बुधबार डेढ घन्टा सिद्धिचरण राजमार्ग अवरुद्ध पारे । १ सय ४ जनाले हस्ताक्षर गरी प्रहरीमार्फत प्रशासनलाई ध्यानाकर्षणसमेत गराएका छन् । राजधानीमा सोलुखुम्बु, ओखलढुंगा र खोटाङका सभासदले भौतिक योजना मन्त्री विमलेन्द्र निधिलाई औपचारिक रूपमै घटना छानबिन गर्न अनुरोध गरेका छन् । तत्काल एक समिति गठन गरी छानबिन हुनुपर्ने बताए पनि हालसम्म घटनास्थलमा हुलास स्टिल र वाइबा कन्स्ट्रक्सनका प्रतिनिधिबाहेक कोही आइपुगेका छैनन् । यही ठाउँमा गत कात्तिकमा नदीले 'फेरी' बगाउनु, उद्घाटनको अघिल्लो दिन 'बेलिबि्रज' भाँचिनु र तीन महिनामा सम्पन्न हुने भनिएको 'पक्की पुल' अचानक भत्किएकाले शंका बढेको हो ।
सडकका प्राविधिक र ठेकेदारबीच बेलाबेलामा हुने आन्तरिक द्वन्द्व अर्को कारण हुन सक्ने स्रोतको दाबी छ । अझ अर्को संयोग त के छ भने रामशरण महत अर्थमन्त्री भएकै बेला १३ वर्षअघि ठेक्का लागेको पुल पुनः उनकै पालामा भत्किएको छ । सोलुखुम्बु, ओखलढुंगा र खोटाङ तीनै जिल्लावासी अहिले दुर्भाग्य भन्दै यसलाई दुर्घटनाका रूपमा लिई आश्चर्यचकित बनेका छन् । सडकदेखि सदनसम्म यस विषयमा कुरा उठ्नुपर्ने सर्वसाधारणको भनाइ छ ।

प्रकाशित : चैत्र २७, २०७० ०९:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT