कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

परोपकारी परदेशी

सुमन खरेल

काठमाडौ — बेलायतमा रहेका अधिकांश नेपालीहरू सहयोग जुटाउन तत्पर हुने गर्छन् ।

परोपकारी परदेशी
नेपालको कुनै गाउँमा आगलागी होस् वा बाढीपहिरोको मार परोस्, चाहे क्रिकेट कप्तान पारस खड्का आउन् वा समाजसेवी दीक्षा चापागाई, चाहे जिल्लामा एम्बुलेन्स प्रदान गर्न होस् वा विद्यालय बनाउन होस्, परदेशी नेपालीका हातहरू अघि बढिहाल्छन् । कहीं कोही मर्दा होस् वा कहीं केही पर्दा होस्, विभिन्न कारण्ाले परदेशमा रहेका नेपालीहरू सहयोग पुर्‍याउन पछि परेका छैनन् ।
बेलायतमात्र होइन, खाडी राष्ट्रहरूदेखि लिएर युरोप, अमेरिका, इजरेल र अष्ट्रेलियासम्म दर्जनौं देशमा छरिएका नेपालीहरूमा प्रचुर मात्रामा परोपकारी भाव भेट्न सकिन्छ । तर आफू धेरै वर्षदेखि बेलायतमा बस्दै आएकोले बेलायतमा विद्यमान त्यही भावनालाई नियाल्न खोज्दैछु ।
बोल्न सक्नेले त पढेर, अन्तर्वार्ता दिएर जागिर खाला, हातगोडा चल्नेले पाखुराको भरमा जीवन अघि बढाउला । तर जो बोल्न सक्दैन, हिंँडडुल गर्न सक्दैन, जसलाई हेर्न राष्ट्र अघि बढ्दैन, त्यस्ता सुस्त मनस्थितिका बालबालिकाहरूको भविष्य कस्तो होला ? ती बालबालिकाका आमाबाबुका जीवनभरिका कठिनाइहरू कसले बुझ्ने ? त्यस्ता अनेक बालबालिकालाई आफ्नै घर, समाज, देश र विदेशमा देख्दा यस्तो लाग्छ, कतै भगवानले पनि कुनै पाप गरेका त होइनन् ? तर पीडामात्र बोकेर मानिसको जीवन चल्न गाह्रो हुन्छ । पीडालाई पुण्यमा परिण्ात गर्नसके जीवन बाँच्न अलि सजिलो हुनसक्छ । नेपालका त्यस्तै केही बालबालिकाहरूलाई सानो सहयोग जुटाउनसके, उनीहरूको अनुहारमा अलिकति भए पनि खुशी थप्नसके आत्मसन्तुष्टि मिल्ने थियो भन्ने हेतुले यी कार्यक्रमहरू आयोजना हुनलागेका हुन् ।
परोपकारी संघ-संस्था
बेलायतमा अध्ययन गर्न आएका केही विद्यार्थीहरूले सन् १९६० मा पशुपतिशमशेर राण्ााको अध्यक्षतामा स्थापना गरेको यती नेपाली एसोसिएसन यु.के. नै यहाँको सबभन्दा जेठो नेपाली संस्था हो । सन् २००० अघि बेलायतमा नेपालीहरूको संख्या त्यति ठूलो थिएन । संघ-संस्थाहरू पनि कमै थिए र परोपकारी कामहरू पनि कमै
हुने गर्थे ।
गैरआवासीय नेपालीहरूको संगठन एनआरएनएको परिकल्पना रूसमा भए पनि त्यसलाई जन्म दिएर न्वारन गर्ने काम सन् २००३ मा बेलायतमै भएको थियो । केही जोसिला युवाहरूले सन् १९९९ मा लन्डनमा स्थापना गरेको हेल्प नेपाल नेटवर्क पनि अहिले देशमा अनेकौं परोपकारी कार्यहरूमा सक्रिय रूपमा लागिरहेको छ । परोपकारी राष्ट्र बेलायतमा यसरी अनेकौं नेपाली परोपकारी संघ-संस्थाहरूको जन्म भएको छ ।
 भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारको बेलायत आगमनपछि नेपाली संघसंस्थाहरूको संख्यामा उल्लेख्य वृद्धि हुनपुग्यो । गाउँको, जिल्लाको, पल्टनको, जातिको, धर्मको, पेसाको, कलासाहित्यको, राजनीतिक आस्थाको, महिलाको, बेलायतका विभिन्न क्षेत्रको अनि यदाकदा विशुद्ध सामाजिक उद्देश्य बोकेका संघसंस्थाहरू एकपछि अर्को खुल्दै गए । यस्तो लाग्छ, यो एउटा अभियानकै रूपमा अघि बढिरहेको छ, एउटा होड नै चलिरहेको छ । अहिले बेलायतमा ३०० भन्दा बढी नेपाली संघसंस्थाहरू रहेको अनुमान छ ।
नेपालमा राजनीतिक दलहरू फुटे र जुटेझैं यहाँका संघ-संस्था र समाजहरू पनि बेलाबखतमा फुट्ने र जुट्ने गर्छन् । कुनै संस्थाको अध्यक्ष हुन मान्छे नै पाइन्न, कुनै संस्थाको अध्यक्ष बन्न टाउको फोडाफोड गर्नुपर्ने जस्तो अवस्था पनि आएकै छ । गैरआवासीय नेपाली संघ एनआरएन युके नै अहिले दुई समूहमा विभाजित भई सत्तारुढ दल र प्रतिपक्षी दलको जस्तो व्यवहारमा दोहोरी खेलिरहेको छ । तैपनि जब समाज सेवाको कुरा आउँछ, भिन्नाभिन्नै कार्यक्रमहरूमा भए पनि यी संघसंस्थाहरू भेला हुन्छन् र त्यहाँ संकलित रकमको लाभ नेपालकै गाउँ समाज, दीनदुःखी र पीडितहरूले पाउने गर्छन् ।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत तेजबहादुर क्षत्री भन्छन्, 'बेलायतमा बस्ने नेपालीहरूको पहिलो पुस्ता भएकाले उनीहरू आफ्नो भाषा, साहित्य, कला, संस्कृति भेषभूषा जोगाउनुपर्छ भन्ने भावना राख्छन् । लन्डन दूतावासमा हरेक सप्ताह अन्त्यमा त्यस्तै उद्देश्यका पाँच र सातवटा कार्यक्रमका लागि निमन्त्रण्ाा प्राप्त हुन्छ । प्रायः नेपालमै हुर्केर बढेर आएको यो पुस्तामा संगठित भएर मातृभूमिको लागि केही गरौं भन्ने सोच प्रशस्त मात्रामा भेटिन्छ ।'
अक्सफोर्ड विश्वविद्यालयमा कार्यरत समाजशास्त्री डा.कृष्ण्ा अधिकारीको भनाइमा देशबाट टाढा भएपछि मानिसहरूमा सामूहिक भावनाको अभिवृद्धि हुनपुग्छ, शारीरिक रूपमा पर भए पनि मानसिक रूपमा देशको नजिक हुन पुगिन्छ । कास्की जिल्लाको आफ्नो गाउँको विद्यालयमा सँंगै बाल्यकाल बिताएको र अहिले बेलायतमै रहेका एक मित्रको उदाहरण्ा दिंदै डा.अधिकारी भन्छन्, 'उसले एसएलसी पनि पास गर्न सकेन । पोखरामा गलत केटाहरूसित हिंँड्थ्यो । परिवारसँंगै बेलायत पसेपछि राम्रै उन्नति गरिराखेको छ । छोराछोरी पनि राम्ररी पढिराखेका छन् । हालै उसले आफूले त पढ्न सकिन, पढ्न चाहनेहरूलाई अलि सजिलो होस् भनेर आफ्नो विद्यालयलाई व्यक्तिगत रूपमा दुई लाख ६५ हजार रुपैयाँ प्रदान गर्‍यो ।'
लामो समयदेखि समाजसेवामा संलग्न सूर्य गुरुङ फुर्सदको समयमा पबमा बसेर रक्सी खानुको सट्टा आफू जन्मेको देश र समाजका लागि केही गर्न अघि बढ्दा सन्तोष प्राप्त हुने विचार राख्छन् । उनी भन्छन्, 'सन् २००४ मा ४१५ रोपनी क्षेत्रफल भएको पोखरा रंगशालामा पर्खाल निर्माण गर्न रकम जुटाउने कामको जिम्मेवारी मलाई दिइयो । जम्मा एक करोड रुपैयाँ आवश्यक थियो । मलाई २० लाखजति उठाइदिन सक्छु कि भन्ने लागेको थियो । तर सहृदयी साथीभाइ र खासगरी पोखरेलीहरूसित सहयोग माग्दै जाँदा ५० लाख रुपैयाँ उठाउन सफल भएँ । त्यसपछि नेपालमा र अन्य राष्ट्रहरूमा रहेका साथीहरू यति उत्साहित भएर सहयोग गर्नथाले कि हाम्रो योजना चाँडै नै पुरा भयो ।' गुरुङकै पहलमा गतवर्ष हेल्प नेपालका लागि करिब एक करोड रुपैयाँ सहयोग संकलन गरिएको थियो ।
गुल्मी जिल्ला समाजले आफ्नो जिल्लामा तीनवटा एम्बुलेन्स हस्तान्तरण्ा गरिसक्यो र अब चौथो एम्बुलेन्स प्रदान गर्ने तयारीमा जुटेको छ । तम्घासस्थित आशा अपांग केन्द्रलाई समाजले हरेक वर्ष २० लाख रुपैयाँ जतिको सहयोग जुटाउने गर्छ । त्यसैगरी म्याग्दी, चितवन, पर्वत र अन्य जिल्लाका समाजहरू पनि आफ्नो क्षेत्रको विकासका लागि सक्दो सहयोग जुटाउन तत्पर देखिन्छन् ।
आपतविपत्मा सहयोग
यसै साता तमुधी यु.के.ले वार्षिक नेपाली मेलाको आयोजना गर्‍यो । नेपालका विभिन्न क्षेत्र र जातजातिको कलासंस्कृति र भेषभूषाको यो बेजोडको प्रदर्शनमा ६ हजारभन्दा बढी मानिसको सहभागिता रहेको बताइन्छ । त्यसैगरी गोर्खा कप, यती कप र अन्य चार-पाँचवटा फुटबल प्रतियोगिताहरूमा पनि नेपालीहरूको ओइरो लाग्ने गर्छ । यस्ता सबै कार्यक्रममा नेपालकै कुनै गाउँठाउँ र आपतवपत्मा परेकाहरूका लागि सहयोग संकलन भइराखेको हुन्छ ।
सहारा युकेका अध्यक्ष नवीन गुरुङको भनाइमा पोखरास्थित सहारा एकेडेमीका लागि उनीहरूले दुई करोड रुपैयाँभन्दा बढी रकम लगानी गरिसकेका छन् र त्यसमध्ये करिब एक करोड ६० लाख बेलायतमै उठाइएको थियो । उनको भनाइमा जीवनमा विभिन्न कठिनाइ भोगिरहेका केटाकेटीको लालनपालन र शिक्षा त छँदै छ, फुटबल खेलप्रति उनीहरूलाई आकर्षर्ित गरेर एउटा योग्य खेलाडीको रूपमा समाजमा स्थापित गराउनु पनि एकेडेमीको उद्देश्य रहेको छ ।
परोपकारी मन राख्ने अर्का समाजसेवी कुल आचार्यले पर्वत जिल्लाको आफ्नो गाउँमा पिताले स्थापना गरेको विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउन सहयोग गरिदिनुपर्‍यो भनी अनुरोध आउँदा दस लाख रुपैयाँ प्रदान गरँे', आचार्य भन्छन्, 'महिनामा सरदर दुई र तीन लाख रुपैयाँ यस्तै उपकारी कार्यहरूमा दिने गरेको छु ।'
देश र समाजप्रति यस्तो सकारात्मक भाव राख्ने धेरै नेपालीहरू बेलायतमा भेटिन्छन् । जागिर र व्यवसायबाट अलि सम्पन्न भएका मानिसहरूमात्र होइनन्, दिनरात सामान्य परिश्रम गरेर र्फकनेहरू र विद्यार्थीहरू पनि यसरी आयोजना हुने कार्यक्रमहरूमा फुर्सद मिलेसम्म पुगेर १० र २० पाउन्ड खर्च गर्न प्रायः पछि पर्दैनन् ।
तर आजभोलि एउटा गुनासो पनि धेरै सुन्नमा आउने गर्छ, यति धेरै च्यारिटी र अन्य कार्यक्रमहरू हुनथालेका छन् कि धान्न नसक्ने अवस्था आउन लागिसक्यो । देशमा प्राकृतिक प्रकोपको मार परेपछि एउटै उद्देश्यका लागि विभिन्न संघ-संस्थाहरूको एकपछि अर्को अपिल आउन थाल्छ । बरु एउटै संस्थामार्फत सहयोग जुटाउने व्यवस्था भए सबैलाई सजिलो हुन्थ्यो र सहयोग पनि धेरै गएको देखिन्थ्यो ।
नेपाली गीत संगीतको बढावा र नेपाली कलाकारहरूको उन्नतिमा अहिले विदेशमा बस्ने नेपालीहरूकै प्रमुख योगदान रहेको कुरा स्वयं कलाकारहरू स्वीकार गर्छन् । नेपालबाट महिनामा तीन-चार वटासम्म कलाकारहरूको टोली आआफ्ना कार्यक्रमहरू प्रस्तुत गर्न बेलायत आइराखेका हुन्छन् । आफ्नो गीतसंगीत र कलाकारहरूलाई माया गर्न र हौसला दिन पनि परदेशी नेपालीहरू कहिल्यै पछि परेका छैनन् । त्यसैले उनीहरूमध्ये केही भन्छन्, देशले हाम्रो नागरिकतालाई निरन्तरता दिए पनि नदिए पनि हामी निरन्तर आफ्नो देशलाई धेरथोर जति सक्छौं, दिंदै जानेछौं ।
किनभने गीतकार किरण खरेलले लेख्नुभएको यो गीत उनीहरूको जीवनमा पनि उत्तिकै लागू हुन्छ :
नेपालकै गीत गाउँछु बिहान उठेपछि
ढुकढुकीमा बोल्छ नेपाल मुटु चलेपछि¬
लेखक लन्डनस्थित बीबीसीमा कार्यरत सञ्चारकर्मी हुन् ।

प्रकाशित : भाद्र २३, २०७१ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?