पुरानो चाड इन्द्रजात्रा

प्रा. वीणा पौड्याल

इन्द्रदेवको उल्लेख वेदमा धेरैपल्ट छ । त्यसैले इन्द्र वैदिक देवता हुन् ।

पुरानो चाड इन्द्रजात्रा
कट्टर हिन्दुहरू वेदलाई ब्रहमाको सृष्टि अर्थात अपौरुषेय भन्न रुचाउँछन् । उनीहरूको विचारमा सामान्य मानिसले वेदमा उल्लेख गरिएका माथिल्लो स्तरको दर्शन मनन गरेर व्यक्त गर्नै सक्तैनन् । महत्त्वपूर्ण सूक्त र मन्त्रहरूले भरिपूर्ण वेदको रचना मानिसद्वारा सम्भव छैन । त्यसैले वेदको रचनालाई ब्रहमाको सृष्टिसँग जोडियो । दर्शन र धर्ममा पनि तर्क गर्न रुचाउने हिन्दुहरू भने वेद विशिष्ट गुण भएका मानिसहरूले देखेको अनुभव गरेका विचारहरूकोे संकलन मान्छन् । वेद अद्वितीय ग्रन्थ हो । यसमा इन्द्र देवको आहान, स्तुति, पूजन र उनीसँग मागिएको सहयोगको विषय समावेश भएका सूक्तहरू थुप्रै छन् । वेदको समय देखि आजसम्म इन्द्रको आव्हृानद्वारा सम्पन्न गरिने यज्ञ, हवन, पूजन, रथारोहण रथयात्रा, रक्षा सूत्र वन्धन र इन्द्रध्वज उत्सव समारोह अविरल चलिरहेकै छ । प्राचीन कालमा इन्द्रको उत्सवलाई इन्द्रमह भनेर वर्णन गरिएको छ ।
सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् । भदौ महिनाको शुक्लपक्षको द्वादशीमा प्रारम्भ हुने यो जात्रा आठ दिनसम्म मनाइन्छ । औपचारिक रूपमा द्वादशी अर्थात् बामन द्वादशीको दिनमा रथयात्रा गरेर यस जात्रालाई ठूलो जनसमूह, राष्ट्रप्रमुख र विदेशी कूटनीतिज्ञहरूको उपस्थितिमा भब्य रूपमा परिचालन गरिन्छ । इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।
इन्त्रजात्रा -इन्द्रमह) को प्रमुख कार्य नै लिंगो -ध्वजा) स्थापना हो । पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्यो ।
ज्योतिषशास्त्रका ज्ञाता वराहमिहिरको ग्रन्थ 'बृहत्संहिता'मा इन्द्रध्वजा स्थापनाको नियम, पूजा विधि र फल प्राप्तिको विस्तृत वर्णन छ । इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा विभिन्न स्थानमा देवराज इन्द्रको प्रतिमा प्रदर्शन गरिन्छ । अस्थायी रूपले बनाइएको मचान, खम्बा पाटीमा समेत इन्द्रका प्रतिमाहरू पूजा दर्शनको लागि व्यवस्थापन गरिएको हुन्छ । अष्ट दिक्पालमध्ये इन्द्र पनि एक हुन् । प्रतिमा विज्ञानका पुस्तकमा इन्द्रको प्रतिमा लक्षण बताइएको छ ।
इन्द्रले पूर्व, यमले दक्षिण, निऋतिले दक्षिण पश्चिम, वरुणले पश्चिम, वायुले उत्तर पश्चिम, कुवेरले उत्तर, इशानले उत्तर पूर्व र अग्निले दक्षिण पूर्व दिशाको रेखदेख गर्छन् । अन्तरिक्षका देवता इन्द्रलाई वषर्ा, उर्वरा शक्ति र युद्धको देवताको रूपमा वेद र पुराणमा वर्णन गरिएको छ । इन्द्रलाई वृष्टि र वृतलाई अनावृष्टिको प्रतीक मानेर रचित शुक्तहरू वेदमा छन् । बृहत्संहितामा इन्द्रको मूर्ति बनाउँदा हातमा बज्र लिएको, हात्तीमा चढेको बनाउनुपर्छ । विष्णु धर्मोत्तर पुराणमा भने नीलो लुुगा लगाएको स्वर्णजस्तो अनुहार, निधारमा तेस्रो आँखा, देब्रेतिर गहना लगाएकी शक्तिसहित चार दाँत भएका सेतो रङ्गको हात्तीमा -ऐरावत) बसेको देखाउनुपर्ने विधानको उल्लेख छ । इन्द्रको प्रतिमा बनाउँदा हात्तीमा चढेको, चौडा छाती, लामो हात, हज्जारौं आँखा, हातमा कमलको फूल र बज्र लिएको, हात्तीमा चढेको बनाउने प्रावधानको वर्णन मत्स्यपुराणमा छ ।
रूप मण्डनमा अष्ट दिक्पालको मूर्ति बनाउँदा चारवटा हातहरू निर्माण गर्ने प्रावधान छ । तर द्विभुजको लोकपाल प्रतिमा बनाउन विधान प्राचीन नै हो । मानसोल्लासमा सबै लोकपालहरू द्विभुज हुने वर्णन छ । बौद्ध र जैन मूर्ति विधानमा पनि दिक्पालको महत्त्व प्रस्ट पारिएको छ । अंशुमदभेदागममा इन्द्रको दुई आँखा र दुई हातमा शक्ति र अंकुश देखाउनुपर्छ भन्ने उल्लेख छ ।
विभिन्न ग्रन्थमा निर्देशन भएअनुरुप नै इन्द्रका मूर्तिहरू नेपालमा निर्मित भएका छन् । शैव परिवारका देव -देवीका निधारमा तेस्ा्रो आँखा ठाडोे गरेर र देवराज इन्द्रको तेर्साे गरेर बनाइन्छ । इन्द्रलाई सहस्रलोचन पनि भनिन्छ । हज्जारौं आँखा हुनुको कारण पुराणहरूमा प्रस्ट पारिएको छ । सप्तऋषिहरूमध्ये एक गौतमको आश्रमको व्यवस्था, सरसफाइ र आध्यात्मिक चिन्तन मनन, ध्यान र योग बारेको चर्चा देवलोकमा बेलाबेला हुने गथ्र्याे । स्वर्गलोकबाट देवताहरू ऋषि गौतमको आश्रममा बेलाबेला आउँथे, एकपल्ट देवराजले ऋषि गौतमको भेषमा आश्रममा आएर अहल्यासँग समागम गरे । नक्कली गौतमलाई गौतम ऋषिले देख्दा आश्चर्य मानेको र योनिमा लुब्ध भएकोले शरीरभर नै हजार योनि उत्पन्न हुने श्राप दिएको उल्लेख छ । ऋषि गौतमले पत्नी अहल्यालाई पनि ढुङ्गामा परिणत हुने अर्थात कष्टकर जीवन आश्रममै लुकेर बसेर आफ्ना दिनहरू बिताउनुपरोस् भन्ने श्राप दिएका थिए । रङ्गनाथ रामायणअनुसार गौतम ऋषिको तपस्या भङ्ग गरेर, इन्द्रको आसन बचाउन इन्द्रले नै ऋषि पत्नी अहल्याको सतित्व नष्ट गरेका थिए । गौतमको श्रापमोचन गर्न इन्द्रले गौतमी नदीमा डुबुल्की लगाएको र देवीको वरदानपछि इन्द्रको शरीरमा भएका योनि आँखामा परिवर्तित भएको वर्णन पद्मपुराणमा छ ।
बनेपा, पनौतीमा निर्मित इन्द्रेश्वर महादेव मन्दिरको परिशरमा अहल्या मन्दिरको अवशेष पत्थर अझै छ । इन्द्रले आफूले गरेको कुकर्मको प्रायश्चित गर्न पुण्यमति, रोशी र लीलावतीको संगममा स्नान गरेर आफ्ना आराध्यदेव शिवको लिङ्ग स्थापना गरेर इन्दे्रश्वर मन्दिर बनाएको किंवदन्ती प्रचलनमा छ ।
इन्द्रको शरीरभर नै आँखा भएकोले सहस्रलोचन भनिन्छ । महाभारतको आदिपर्वमा भने शिवको चार मुख र इन्द्रको हज्जार आँखाको उत्पत्तिबारे रोचक वर्णन छ । दैत्य दाज्युभाइ सुन्द र उपसुन्दको उपद्रोले गर्दा देवगणहरू हैरान भएका थिए । अप्सरा तिलोत्तमाको सहयोगले दुवै भाइलाई दमन गर्ने निर्णय देवताहरूले लिए । तिलोत्तमा अति नै सुन्दरी थिइन् । पृथ्वीमा भएका सम्पूर्ण उत्तम वस्तुको ससाना टुक्रा अर्थात् तिलांश जम्मा पारेर निर्माण गरिएको हुनाले उनको नाम तिलोत्तमा भयो । देवलोकमा देवताहरूलाई पूजा गरेर आफ्नो काममा जाने तयारी तिलोत्तमाले गरिन् । तिलोत्तमाले देवताहरूलाई वरिपरि घुमेर आराधना स्तुति र पूजा गरिन् । तिलोत्तमालाई बारम्बार आँखै नझिम्काएर हेर्दा शिवको चारै दिशामा शिरहरू उत्पन्न भए, देवराज इन्द्रको पनि शरीरमा आँखैआँखा निस्किए । यसरी शिवको चार मुख र इन्द्रको हज्जारौं आँखाको उत्पत्तिबारे पुराणहरूमा रोचक वर्णन पाइन्छ । इन्द्र, देवताहरूका राजा भएकाले सधैं चनाखो, कूटनीतिपूर्ण र सबैतिर दृष्टि पुर्‍याउनुपर्ने हुन्छ, त्यसैले हज्जारौं आँखा भनेको सबैतिर विचार पुर्‍याउने अर्थमा पनि लिन सकिन्छ । पेय पदार्थ सोमरसको उल्लेख वेदको धेरै ठाउँमा छ । इन्द्रलाई सोमरस पान गर्ने र त्यसको प्रशंसक र पारखीको रूपमा वर्णन गरिएको छ । इन्द्र र सोमरसको सम्बन्धको कारणले गर्दा उनलाई 'सोमपा' पनि भनिन्छ । सोमरसलाई अमृतसँग तुलना गरिएको छ । सोमरस पिएर अमरत्व प्राप्त गर्न सकिने वर्णन ऋग्वेदमा छ । स्वर्गमा मात्रै उपलब्ध हुने सोमलता, मानिसलाई स्वस्थ निरोगी बनाउन पृथ्वीमा ल्याइएको थियो । सोमरस पिएर आरोग्य, आनन्द, आयु, वीर्य, प्रतिभा, मेधा, प्राप्त गर्न सकिने उल्लेख शास्त्रहरूमा छ । सोमरसलाई दूध, दही, घिउ, मह, पानी र जौंको सातुसँग मिसाउने तरिकाको वर्णन वेदमा छ । वैदिक समयमा सोम पवित्र र सबैले ग्रहण गर्नसक्ने पेय पदार्थ थियो । तर सुराको अवगुणले गर्दा त्यसलाई हेय दृष्टिले हेरिन्थ्यो । असुरहरूको पतनको एउटा प्रमुख कारण नै अत्यधिक सुरापानलाई मानिएको छ । त्यागी र दानी ऋषि दधिचिको हड्डीबाट बनाइएको बज्रद्वारा देवराज इन्द्रले वृत्रसहित आठ सयभन्दा बढी दैत्यहरूलाई मारेको वर्णन वेदमा छ ।
देवराज इन्द्रको बेग्लै सम्प्रदाय नभए पनि हिन्दुहरूका अति चर्चित र पुजित देवतामा यिनी पर्छन् । वषर्ा, उर्वरा र युद्धको देवताको रूपमा इन्द्रको पूजा वैदिक समयदेखि आजसम्म चलिरहेकै छ । पौराणिक समयका श्रीकृष्णको प्रभुत्व बढेको समयमा इन्द्रको पूजा कम गरिएको प्रमाण पुराणहरूमा छ । श्रीकृष्ण र इन्द्रको संवादबाट वैदिक देवताको पतन र पौराणिक देवताको उत्थानबारे धेरै तथ्य प्रस्ट हुन्छ । इन्द्रलाई सौर देवताको रूपमा पूजा गरिन्छ ।
बाह्र महिनाका बाह्र आदित्यमध्ये भदौ महिना इन्द्रको विशेष महिना मानिन्छ । त्यसैले उनको उत्सव पूजा, जात्रा भदौ महिनामै सम्पन्न गरिन्छ । इन्द्र ध्वजोत्थानको ८ दिनभित्र सम्पन्न गरिने कुमारी र भैरवको विशेष रथयात्रा काठमाडौं उपत्यकावासीको महत्त्वपूर्ण ठूलो चाड हो । इन्द्रजात्रामा प्रदर्शन गरिने इन्द्रका काष्ठ र धातु मूर्तिमा दुवै हात डोरीले बाँधेको देखाइन्छ । यस प्रकारको मूर्ति प्रदर्शनबाट देवताका राजा भए पनि आफूले गरेको कर्मको सजाय, दण्ड सबैले पाउनैपर्छ भन्ने शिक्षाद्वारा जनसमुदायलाई सचेत बनाउन खोजिएको हो । उपत्यकामा प्रचलित किंवदन्तीअनुसार इन्द्रले आमाको लागि पारिजात फूल र कर्कलो एउटा कृषकको बारीबाट अनुमति नलिएरै टिपे । नसोधेर फूल टिपेको आरोपमा कृषकले इन्द्रलाई समातेर, बाँधेर सहर परिक्रमा गराएर दण्ड दिए । हरेक वर्ष त्यही घटनाको स्मरणमा काठमाडांै उपत्यकामा इन्द्रजात्राको दिन इन्द्रको हात बाँधेको मूर्ति प्रदर्शन गरिन्छ ।

प्रकाशित : भाद्र २३, २०७१ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?