घर छाडी जानेहरु

काठमाडौ — असमको कोक्राझार र सोनितपुर जिल्लामा भडकिएको हिंसाका माझ द इन्डियन एक्सप्रेस पत्रिकामा एउटा रिपोर्टिङ छापिएको छ, पूर्वोत्तर भारतमा कायम हिंसाको ट्रेन्डबारे ।

घर छाडी जानेहरु
कोक्राझारको बेतबारी गाउँका दिलीप मुर्मु सन् १९९६ को एउटा घटना सम्झिरहेका छन् । जुन बेला उनी १० वर्षका मात्रै थिए । त्यसबेला पनि गाउँमा अहिलेजस्तै विद्रोही धरपकड मच्चिएको थियो, हिंसाका कारण गाउँ रित्तो भएको थियो । अहिले गाउँबाट भागेर पश्चिम बंगालको चेङमारी शिविरमा आएर बसेका दिलीपका साथमा उनका ८ वर्षीय छोरा पनि छन् । अचम्म के छ भने अनाहकको भागदौड र घर छाड्नु पर्दाको बाबुछोराको 'नियति' भने उस्तै छ । दिलीपजस्तै ७५ हजार गाउँले एक साताको अन्तरमा गाउँ छाडेर आसपासका सुरक्षित शिविरमा पुगिसकेका छन्, गाउँ छाड्ने क्रम अझै रोकिएको छैन ।
स्वतन्त्र बोडो राज्यको माग गर्दै आएका विद्रोही समूह नेसनल डेमोक्रेटिक फ्रन्ट अफ बोडोलेन्डका सशस्त्र कार्यकर्ताले जिल्लाका फूलबारी, उल्टापानी, ढेकियाजुली, सेरफानगुरी लगायतका गाउँमा आक्रमण गरेपछि पूर्वोत्तर भारतमा रहिआएको 'सधैंको सुरक्षा सन्त्रास' फेरि बल्भिmएको छ । बोडो विद्रोहीहरू असम सीमावर्ती भुटान वा म्यानमारतर्फ गएको हुनसक्ने आशंकामा तिनको पक्राउका निम्ति छिमेकी देशलाई पनि भारत सरकारले अनुरोध गरिसकेको अवस्था त्यति 'सामान्य र सहज' भने पक्कै होइन ।
नेपालीभाषीको बाक्लो बसोबास रहेको पूर्वोत्तर जिल्लामा यस्ता हिंसा वा विद्रोहका कुनै घटना आउनासाथ भिन्न दृष्टिमा चासो जाने गरेको छ । बसोबास, नाता सम्बन्ध वा आवत-जावतका दृष्टिमा नेपालसँग निकटतम साइनो रहेको असम/मेघालय राज्यमा रहेका नेपालीभाषी (भारतीय) स्वाभाविक रूपमा ध्यानाकर्षणमा आउने गरेका छन् । त्यसमाथि पछिल्लो समय पहिचानको भेद राखेर नेपाली वा भारतीय नेपालीको आधार खोजिंदै गरेको यथार्थका सामु अहिलेसम्म नेपालीभाषी समुदाय कहीं कतै 'लक्षित' भएर आक्रमणमा नपरेको सुखद खबर बाहिर आएको छ । अल असम गोर्खा स्टुडेन्टका कोक्राझार जिल्ला अध्यक्ष विष्णु खरेलका अनुसार अहिलेसम्म नेपालीभाषी र समुदाय लक्षित आक्रमण वा हिंसा कतै देखिएको छैन, स्थिति सामान्य हुने क्रममा छ ।
तत्कालका लागि स्थिति 'सामान्य' भनिए पनि नेपालीभाषीका हकमा अडचन र कठिनाइ हटेको देखिन्न । असममा फैलिएको हिंसामा पनि कहीं कतै अप्ठ्यारो पर्ने हो कि अथवा राज्य संयन्त्र वा अरु निकायले 'मार्क' गर्ने हुन् कि भनेर सकेसम्म कुरा मिलाएर बोल्न थालिएको अवस्था छ । सहज र स्वाभाविक रूपमा पाउन सकिने सेवासुविधाका निम्ति पनि कहिले पहिचान लुकाएर अथवा कहिले द्धैअर्थी परिचयमा जीवन निर्वाह गर्दै रहेको स्थिति सबैतिर देखिन थालेको छ । उदाहरण दिएर भन्नुपर्दा हिमाञ्चलको मनालीमा गत डिसेम्बर १४ मा एक नेपाली युवतीको शव भेटिएपछि सुरु भएको छानविन र अनुसन्धान अझै प्रभावकारी देखिएको छैन । १४ वर्षे सिमरन (पार्वती) लाई एक भारतीय परिवारले ४ वर्षे उमेरमै धर्मपुत्री बनाएर ल्याएको भए पनि अहिले हत्याको घटना र अनुसन्धानमा भने नेपालीभाषी भनेर तदारुकता नदेखाइएको स्थानीय नेपाली समाजका प्रतिनिधि पेशल बुढाथोकीले जानकारी दिए । अखिल भारत नेपाली एकता समाज, मूल प्रवाह सम्बद्ध बुढाथोकी सहितका नेपालीले मनालीमा युवती हत्याको छानविनका लागि धर्नाजुलुस र दबाब कार्यक्रम अघि सारे पनि अझै पनि सुनवाइ नभैरहेको उनले बताए । यसको एउटै लुकेको कारण छ, मृतक नेपालीभाषी वा नेपाली मूलकी हुनु ।
भारतको असममा रहने नेपालीभाषी एवं 'बसाइँ' उपन्यासका लेखक लीलबहादुर क्षत्री नेपाली जातिको नियतिलाई 'चौबाटामा उभिएको बटुवा' भनी चिनाउन चाहन्छन् । आफूहरू विशुद्ध अर्थमा भारतीय नेपाली भए पनि कहिले भाषा त कहिले साहित्य/संस्कृतिको नाममा 'लक्ष्मणरेखा' कोरिने गरेको कटु यथार्थसँग पनि क्षत्री जानकार छन्, अभ्यस्त छन् । 'हामी बाहिर बसेका नेपालीको मनोकामना भनेको नेपाल देश सुदृढ र सक्षम भैदेओस् । कसैले हामीमाथि, हाम्रो जातिमाथि प्रश्न उठाउन नपाओस् । हामी त चौबाटामा उभिएका बटुवा न हौं । गन्तव्य अझै पनि के होला, हामीमध्ये धेरैलाई थाहा छैन,' क्षत्रीले सधैं भन्दै आएको कटु सत्य वचन हो यो । उनका अनुभवमा असममा नेपालीको स्थिति तिहुनमा आलुको गेडाजस्तो छ । आलु जेमा पनि मिल्न सक्ने, जे पनि बन्न सक्ने । तर जेजसरी मिलेर बाँचे पनि नेपाली जाति सदैव सन्त्रस्त रहिआएको उनको बुझाइ छ, भोगाइ छ ।
हिमाञ्चलको सिमलामा ५० वर्षयता बसोबास गर्दै आएका प्रखर साहित्यिक जगदीश शमशेरको बुझाइमा भने अब कहीं पनि हेपिएर वा लखेटिएर नेपाली जातिले जीउज्यान जोगाउनुपर्ने अवस्था छैन । खाइपाइ आएको हक-अधिकारका बारे बोल्न नसकेर वा नचाहेर मात्रै माहोल खुम्चिएको जस्तो देखिएको हो । तर तरुलको जराझैं फैलिएका नेपालीको तागतबारे देशदुनियाँले पत्तो पाइसकेको र भारतमा समेत 'नेपालीभाषी भएकै कारण हेपिन नपर्ने' आफ्नै बुझाइ/भोगाइमा जगदीश ढुक्क छन् ।
जति सुरक्षित र ढुक्कको अवस्था रहेको भनिए पनि असमको कोक्राझार र सोनितपुर जिल्ला केन्दि्रत हिंसाले गुवाहटी सहितका क्षेत्रमा बस्ने नेपालीभाषी पनि पहिलेजस्तो खुकुलो जीवनयापन गरिरहेका छैनन् । 'केही गन्जागोल बढेको छ,' गुवाहटीबाट उपन्यासकार लीलबहादुर क्षत्रीले भने, 'राज्यभित्रका जिल्लाहरूबाट झन्डै १ लाख स्थानीय वासिन्दा शरणार्थी बनेर बाहिरी शिविरमा पुगेका छन्, सुरक्षा स्थितिमा कडिकडाउ छ । यतातिर आसपासमा घर र्फकनेभन्दा घर छाड्नेको लर्को बढेको छ ।'

प्रकाशित : पुस १६, २०७१ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?