कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खै एमालेको मध्यमार्ग ?

बसन्त बस्नेत

काठमाडौ — विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आउँदा नेकपा एमाले एकैसाथ खुसी र दुःखी थियो ।

खै एमालेको मध्यमार्ग ?
खुसी किनभन- 'कांग्रेस खोजीखोजी, एमाले रोजीरोजी' नीतिका सिकार नेता-कार्यकर्ता शान्तिपूर्वक बहुदलीय वर्ग संघर्ष गर्न पाइने उल्लासमा थिए । दुःखी किनभने- एमालेले दाबी गर्ने गरेको वामपन्थी स्पेसमा माओवादीले झण्डा गाड्ने लक्षण देखिन थालिसकेका थिए ।
तत्कालीन राजाबाट हरियो बत्ती बालिएमा आफ्नो महासचिवलाई प्रधानमन्त्री बनाउँदै सर्वदलीय सरकार गठन गर्न प्रतिबद्ध कांग्रेसले अन्तिममा धोका दिएको ठहराउँदै उसलाई 'देखाइदिने नीति' लिएको थियो एमालेले । कहिलेकाहीँ साना गल्तीहरूलाई माफ गर्न नसक्दा ठूला क्षति निम्तिने गर्छन् । प्रतिगमन ५० प्रतिशत सच्चिएको उपलक्ष्यमा एमालेले प्रधानमन्त्री त पाएन, तर भर्खरै फुटेको माउ कांग्रेसको सेखी झार्न ऊ देउवा मन्त्रिपरिषदमा साझेदार बन्न गयो । कांग्रेसको नुर गिराउने हुँदा आफ्नो वामपन्थ कति बदनाम भयो, एमाले पंक्तिलाई इतिहास सम्झाइरहनु पर्दैन ।
त्यो दुर्घटनाका खाटाहरू पुरिन पाएका थिएनन् । माओवादी शस्त्र उज्याउँदै, माक्र्सदेखि माओसम्मका बुझिने/नबुझिने शास्त्रसूत्रले लगार्दै आक्रामक प्रचारबाजीमा ओर्लेको थियो । एकातिर भर्खरै जुटेको शक्तिशाली कांग्रेस छ, अर्कातिर सुरिएर आएको माओवादी छ । यस बीचमा मेरो स्थान के ? एमाले विचारधाराको संकटमा थियो ।
'मध्यमार्ग !' माधवकुमार नेपाल यस शब्दावलीका लागि धन्यवादका भागिदार छन् । मदन भण्डारीको जनताको बहुदलीय जनवाद शान्तिपूर्ण वर्ग संघर्ष गर्ने, सत्तामा गएर प्रगतिशील सुधार गर्दै समाजवादमा फडो हान्ने कुरो गथ्र्यो । महासचिव नेपालले माओवादीलाई उग्रवामपन्थी र कांग्रेसलाई दक्षिणपन्थी करार गर्दै फेरि पनि एमाले नै ठीक भएको निष्कर्षमात्रै दिएनन्, ती दुवैलाई मिलाएर शान्ति प्रक्रियामा सन्तुलित योगदान गर्ने मनसाय पनि राखे । शब्दावलीमै सही, एमाले यही मध्यमार्गी विचारको बैसाखीले नीतिगत संकटको खाडलमा पर्नबाट जोगिएको अनुभूतिमा रमायो ।
यसरी नेपाल नेतृत्वको एमालेले 'उग्रवामपन्थी' माओवादी र 'यथास्थितिवादी' कांग्रेसको बीच 'मध्यमार्ग' अपनाउने कार्यनीति अख्तियार गर्‍यो । आइन्दा दिनमा बहुदलीय जनवादले समेत यसै भन्ने तर्क गरियो । विचार र राजनीतिको लडाइँमा माओवादीले नयाँ-नयाँ एजेन्डा फाल्दै गयो । प्रतिरक्षात्मक कांग्रेस त्यसको विरोध गर्नुमा आफ्नो राजनीतिक पहिचान खोज्न थाल्यो । संकटमा थियो एमाले । कहिले यसलाई सघाउने, कहिले त्यसको विरोध गर्नेमै यो पुरानो वामपन्थी पार्टीको ऊर्जा खर्च भइरहेको थियो । सरकार माओवादी सम्झौताको पृष्ठभागमा 'नोट अफ डिसेन्ट' टिपाएर भए पनि एमाले आफ्नो राजनीतिक औचित्य सावित गर्न खोजिरहेको थियो ।
पहिलो संविधानसभा चुनाव परिणाममार्फत जनताले 'उग्रवामपन्थी'लाई सर्वाधिक ठूलो पार्टी बनाइदिए । 'यथास्थितिवादी' लाई त्यसपछिको स्थान दिए । 'प्रगतिशील वामपन्थी' एमाले पछिल्लो बेन्चमा बस्नुपर्ने भयो । आफू तेस्रो भइसक्दा पनि उपग्रहले ग्रहहरूलाई आकषिर्त गर्न खोजिरहेझैं एमालेले असफल मध्यमार्गी प्रयास छाडेन । प्रयास त के सफल हुन्थ्यो ! तेस्रो दलका दुई नेता भने क्रमशः प्रधानमन्त्री भए । सुरुमा माधव नेपाल जे भन्थे, उनीपछि क्रमशः महासचिव र अध्यक्ष भएका झलनाथ खनाल पछि त्यही 'मध्यमार्ग'को नीति लिएकामा गौरव गर्न थाले ।
दुवैलाई मिलाउने प्रयासमा लागेको एमाले मुख्य मुद्दाहरूमा भने 'यथास्थितिवादी' सँगसँगै लागेर 'उग्रपन्थ'बाट मुलुकको रक्षा गरिरहेको हुन्थ्यो । त्यसो गर्ने हुँदा आफूचाहिँ के भइयो भन्नेमा एमालेले कहिल्यै वास्ता गरेन । किनभने उग्रवामपन्थसँग लडा एकैपल्ट दुई कुरा मिल्थे । एक, सरकारमा सानो ठूलो हिस्सा । दुई, सेना समायोजन र शान्ति प्रक्रियाका अरू विषयमार्फत ठूलो दल माओवादीलाई साइजमा ल्याइदिने योजना । त्यसबेला तेस्रो वरियतामा रहेका नेता केपी ओली भन्ने गर्थे, 'यो माओवादीको साइजले अलि बाधा गरिरहेको छ ।'
तर समय बलवान हुन्छ । माओवादीको साइज ओलीले नापनक्सा बनाउन खोजेकै आकारमा आयो । एमाले झन्डै पहिलो भयो । यता आफ्ना कमरेडहरू नेपाल र खनाल पनि नवौं महाधिवेशनबाट साइजमा आइसकेका थिए । ठीक यही बेला अध्यक्ष भएका ओलीले जबजको नवीन आविष्कार 'मध्यमार्ग' हो भन्ने कुरो बिर्सिए । आलोचक मध्यमार्गको राजनीतिक दर्शन कस्तो हुन्छ भनी प्रश्न गर्ने गर्थे । एमालेले त्यसलाई विस्तारमा व्याख्या त कहिल्यै गरेन, तर जबजले समेत यसै भन्ने गरेको भन्दै बहसलाई ठीक-ठेगान लगाइदियो ।
हिजोआज एमालेलाई मध्यमार्गी हुने नाममा पेन्डुलम भएको बात लाग्दैन । ओलीले वामपन्थी हुने सर्तमा मध्यमार्ग त्यागेका होइनन् । सत्ताको झगडामा कांग्रेससँग लड्नु, सैद्धान्तिक मुद्दामा ऊभन्दा कट्टरपन्थी देखिनु एमालेको पहिचान भएको छ । हिजो माधव नेपाललाई आफ्नो वामपन्थी पहिचान गुम्ला कि भन्ने कम्तीमा पीर थियो, ओलीमा त्यो पनि छैन । हिजो महासचिव माधव नेपाल जुन निर्णयहरूमा ग्लानि महसुस गर्थे, आज ओली तिनै निर्णयहरूमा गौरव गर्छन् ।
समयले जुन आयतनमा चढाए वा झारे पनि शान्ति प्रक्रियाको आधा हिस्सा माओवादी अस्तित्वमा छ । एउटा माओवादी राजनीतिक जमिन खोज्ने हिजोको एमाले नियतिबाट ग्रस्त छ । अर्को माओवादी एमाओवादी र विप्लव माओवादी कुन अर्थमा भिन्न देखिने ध्याउन्नमा छ । विप्लव माओवादीको बारेमा अहिल्यै धारणा बनाउनु हतारो हुनसक्छ । भन्न सकिन्छ, त्यो पुरानो माओवादीको टुटेको विरासत फर्काउने महत्त्वाकांक्षामा छ । एमाओवादीका अध्यक्ष प्रचण्ड जनवादी क्रान्ति गर्ने कि लोकतान्त्रिक गणतन्त्रमा चित्त बुझाउने भन्ने अलमलमा छैनन् । प्राप्त गणतन्त्रको अग्रगामी हुन नसके पनि प्रगतिशील हिस्सा बनेर चित्त बुझाउने ध्याउन्नमा एमाओवादी देखिन्छ । यसरी एमाओवादीको साइज आफूले भनेअनुसार आएपछि एमाले रहस्यमय ढंगले मध्यमार्गको कुरा गर्न छाडेको छ । अहो, यो मध्यमार्गी माक्र्सवादको कस्तो मौसमी व्याख्या !
हिजोआज तिखा वचनवाणका सहारामा ओली प्रचण्डको इख जागृत गर्न प्रवृत्त छन् । प्रचण्डसमेत संयमको भाषा स्थगित गर्दै ओली शैलीमै प्रतिवादमा ओर्लेका छन् । सम्भावित सानो-ठूलो स्केलको लडाइँको रिहर्सल भइरहेको आभास हुन्छ ।
हिजोआज चर्चा हुनथालेको छ- एमाले कांग्रेसजस्तो भयो । एमाओवादी हिजोको एमालेजस्तो ! वैद्यको पार्टी एमाओवादीजस्तो ! विप्लवको उदीयमान पार्टी वैद्य माओवादीजस्तो ! सुन्दा रमाइलो लाग्ने तर तीतो यथार्थ प्रतिविम्बित गर्छ, यो नवीन कित्ताकाटले । अरू पार्टीमाथि उचित समयमा टिप्पणी हुँदै जाला । हिजोको मध्यमार्गी एमाले भने कांग्रेसजस्तो हुँदै गएको सन्दर्भ यहाँ विचारणीय छ । मध्यमार्गी एमालेको पथविचलन हेर्नलायक छ ।

प्रकाशित : पुस १६, २०७१ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?