१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इजरायलमा कार्यरत महिलाबारे भ्रम

मुना ढकाल बस्नेत

काठमाडौ — 'घरले हेला गरे माइती जानु, माइतीले पनि हेला गरे मुग्लान जानु ।'

इजरायलमा कार्यरत महिलाबारे भ्रम
आजकल यो उक्ति नेपाली महिलाहरूमा धेरै लागु हुँदैछ । रहरले भन्दा पनि बाध्यताले परदेशिने धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू छन् । तर पछिल्ला वर्षहरूमा प्रवासमा रहेका नेपालीका बारेमा राम्रा-नराम्रा लेख र विचारहरू अनलाइन खबर र सामाजिक सञ्जालमा बाक्लै देखिन थालेका छन् । मुलुकको झन्डै एक तिहाइ जनसंख्या त्यसमा पनि काम गर्ने उमेरका युवाहरू विदेशमा रहेको सन्दर्भमा यस्ता कुराले आम सञ्चारमाध्यममा स्थान पाउनु नौलो होइन । तर महिला सशक्तीकरण र समावेशीकरणको चर्को आवाज मुलुकभित्र उठिरहेका बेला आज पनि नगन्यझंै रहेका विदेशको भूमिमा रहेर काम गरिरहेका महिला कामदारको बारेमा आइरहेका टिकाटिप्पणीको जवाफमा यो लेख लेख्ने प्रयास गरेकी छु ।
झन्डै ३० लाख नेपाली विदेशी भूमिमा काम गरिरहेको सन्दर्भमा करिव ५ हजार नेपाली महिलाहरू इजरायलमा कार्यरत छन् । इजरायलमा नेपाली महिलाहरूको मुख्य काम यहाँको अति व्यस्त जीवन पद्धतिमा अशक्त र वृद्धवृद्धाहरूको स्याहारसुसार गर्न यहाँका वयस्क र काम गर्ने उमेरकाहरूले नभ्याएका कारण उनीहरूको घरमा रहेका अशक्त र वृद्धवृद्धाहरूको रेखदेख र लालनपालन गरिदिने हो । त्यसका लागि उनीहरूले कामदारलाई बस्नका लागि व्यवस्थासहित भएको छुट्टै एपार्टमेन्ट र विविध आवश्यक सुविधाहरूको व्यवस्था गरेर मात्र कामदार मगाउने गरेका छन् । कामदारको हितमा यथेष्ट कानुनहरू भएका कारण हप्तामा ८ घन्टा भने पनि बढी काम गरेमा ओभरटाइम पाइने, हप्तामा एक दिन विदा मनाउन पाइने इत्यादि व्यवस्था छ । तुलनात्मक रूपमा राम्रै पारिश्रमिक र माथि भनिएका सुविधाको ग्यारेन्टीका कारण नेपालबाट इजरायल आएकामध्ये अधिकांश महिलाले परिवार र साथीभाइसंँग परदेशमै रहेर पनि विभिन्न माध्यमबाट सम्पर्कमा रहनसकेका छन् । यहाँ कम्प्युटर लगायत प्रविधिमा कमजोर नै भए पनि यहाँको जीवन पद्धति, बच्ने समय र कमाउने पैसा सैका कारण उनीहरू सामाजिक सञ्जाल लगायतमा चाहिंँ अलि अगाडि नै देखिन्छन् ।
तर नेपाल र इजरायल बाहेक अन्यत्र विदेशमा रहने नेपालीले चाहिँ यी माथिका कुरा नबुझी इजरायलमा भएका महिला कामदारका बारेमा गरेका टिप्पणीले यहाँ रहेका नेपाली विशेषगरी महिलाहरूको मन दुःखेको छ । कसरी सधैं अनलाइनमा बसेर पनि राम्रो पैसा कमाइरहेका छन्, रातभरि कसरी अनलाइन च्याटमा बस्न भ्याउँछन्, किन इजरायलमा जाने महिलाको परिवारमा बढी खटपट र पारपाचुकेको संख्या बढी छ लगायतका प्रश्न इजरायलमा रहेका नेपाली महिलाको अगाडि तेस्र्याइने गरिएको छ । यी यस्ता प्रश्नका पछाडि निम्न कारण हुनसक्छन् । प्रथमतः प्रश्न उठाउने महानुभावहरूले इजरायलमा महिलाले गर्ने कामको प्रकृतिलाई नबुझी अरुसँंग तुलना गर्न खोजेको देखिन्छ । यहाँ केयर गिभरमा काम गर्ने महिला र अरब लगायतमा हाउसमेडको काममा आकास-जमिनको फरक छ । हाउसमेड रोजगार दाताको पुरा घर र परिवारकोे लागि काम गर्छिन्, त्यसैले उनीसँंग आफ्नै घरपरिवार र साथीभाइसँंग सुखदुःख साट्ने समय पनि पर्याप्त हँुदैन । तर इजरायलमा माथि भनिएझंै एउटा सानो फ्ल्याटमा रहेका एकजना अशक्त वा वृद्धवृद्धाको सेवा गर्ने र त्यो सानो परिसरलाई सफा राख्ने मात्र हो । नेपालमा करिव १७ घन्टा काम गरेर पुरा परिवार र घरको रेखदेख गर्ने महिलाले त्यति काम गरेर मनग्य समय निकाल्छन् र उक्त समयलाई कम्प्युटर लगायतका आधुनिक प्रविधि सिक्ने, फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत साथीभाइ तथा परिवारसंँग नियमित सम्पर्कमा रहने आदि काम गरेकै हुन्छन् । रातभर च्याटमा समय बिताउने भन्ने आरोपका बारेमा के भन्न सकिन्छ भने एक त नेपालमा भन्दा कामको लोड कम भएका कारण इजरायलका महिलालाई ५ देखि ६ घन्टाको आरामले पुग्ने र अर्को नेपाल र इजरायल बीचको ३ घन्टा ४५ मिनेटको समयको फरकका कारण नेपालमा रहनेका लागि त्यस्तो लाग्न गएको हुनसक्छ । जहाँसम्म पारपाचुके गर्नेको संख्या बढी भएको भन्ने आरोप छ, एक सबल महिलाले परिवारका नाममा आफ्नो सम्पूर्ण जीवन बर्बाद नपारी अन्य उपाय खोज्ने सामान्य परिपाटीका सन्दर्भमा इजरायल आएर, आफ्नो पौरखले कमाइ गरी आत्मनिर्भर भएका कारण यस्तो गरेका हुन् भने पनि आलोचनाका पात्र हुन नपर्ने हो । तर जसरी पारपाचुकेको तथ्यांक पेस गर्न खोजिएको हो, त्यो तथ्यांक पनि परिवारको सहमतिमा परिवारका सदस्यलाई इजरायल बोलाएर त्यहीँ नै परिवारसँग बस्ने लोभका कारण कागजी पारपाचुके गरेकाहरूको तथ्यांकमा आधारित छ । श्रीमान या श्रीमती इजरायलमा भएकाको हकमा भिसा लयागतमा कडाइ हुने आशंकामा नेपालमा रहेका श्रीमान या श्रीमतीले सम्बन्धविच्छेदको कागज बनाएर भिसा आवेदन दिने चलनलाई यसरी व्याख्या गर्नाले यथार्थमा फरकपन आएको भन्न सकिन्छ ।
नेपाली चेलीहरू घरबाहिर गएर काम गर्ने चलन नेपाली संस्कृतिका लागि नौलो हो र विदेशी भूमिमा एक्लै महिलाले गएर काम गरेर बस्ने कुरा त झनै नितान्त नयाँ हो । तर नेपाली महिलाहरूले यो परिस्थितिलाई नयाँ चुनौतीका रूपमा स्वीकार गरेर आफ्नोभन्दा नितान्त भिन्न संस्कार र संस्कृति भएको मुलुकमा गएर पनि आफ्नो र समाजको शिर निहुरिन नदिने र परिवारको समस्यामा पनि सघाउने काम गरिरहेका छन् । उनीहरूको यो प्रयासलाई देशविदेशमा रहेका सबै नेपाली खासगरी पुरुषहरूले गम्भीर रूपमा बुझेर प्रतिक्रिया गरिदिउन्, अनिमात्र हामी चेलीहरूको हौसला अझ बढ्ने र त्यसले देश र समाजको पहिचानमा सकारात्मक सन्देश फैलाउने देखिन्छ । तर फरक परिदृश्य र यथार्थलाई नबुझी कमेन्टका लागि कमेन्ट गरिदिँदा उसै त घरपरिवार र सन्तानबाट एक्लिएर वर्षौ अर्काको देशमा अर्काको सेवा गर्नपरेकोमा कमजोर मानसिकता बनाएर बसेका हामी महिलाहरूलाई पीडा महसुस हुने कुरा सबैले सोच्न जरुरी छ ।
ढकाल बस्नेत इजरायलमा कार्यरत छिन् ।



प्रकाशित : पुस १६, २०७१ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?