कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पृथ्वीनारायण शाह र अन्तर्राष्ट्रिय सन्दर्भ

त्यो युगमा कर्णालीकाे जस्तो विकट राज्य एकीकरण गर्नु लरतरो काम थिएन ।

पृथ्वीनारायण शाह र अन्तर्राष्ट्रिय सन्दर्भ
भारतमा मुगल साम्राज्य अस्ताउँदै गएको र बेलायती शासन सुरु भएको दबदबाबीच यताका पहाडी राज्यहरूमा नौलो जागरणको लहर आयो, पृथक अस्तित्व, एकीकरण र शक्ति आर्जनको । कतिपय इतिहासकारहरूका अनुसार तत्कालीन बेलायत विरोधी फ्रेन्चहरूले पादरीमार्फत पहाडी राज्यहरूको एकीकरणका लागि काठमाडौं उपत्यकाका मल्ल राजाहरूलाई सल्लाह दिँदै आवश्यक सहयोग पनि उपलब्ध गराउने वचन दिएका थिए, तर उनीहरू साहित्य, संगीत, भजन-कीर्तन, मठमन्दिर निर्माण, संस्कृति र परम्परा चलाउने काममा केन्द्रित भए, एकीकरणतिर वास्ता गरेनन् । जसरी सम्राट चिनसिह हाङतीले चीनको, बिस्मार्कले जर्मन राष्ट्रको, इभान द टेरिबल (जार) ले रूसको, काबुर, ग्यारिवाल्दी र मेज्जिनीहरूले इटलीको राष्ट्रनिर्माण गरे, त्यही कोटीमा पृथ्वीनारायण शाहलाई राख्नु न्यायोचित हुन्छ ।
२५० वर्षअघि ससाना राज्यरजौटामा विभाजित यो हिमाली र पहाडी भेगका राजाहरू आपसमा झैझगडा गरिरहन्थे । वास्तवमा कर्णालीकाे जस्तो विकटता सर्वत्र रहेको र मान्छे हिँड्ने बाटो पनि खासै नभएको त्यो युगमा राज्य एकीकरण गर्नु लरतरो काम थिएन । तुलनात्मक रूपमा विपन्न गोर्खाका राजा पृथ्वीनारायणका पिता नरभूपाल शाह, बाइसी-चौबिसी राज्य मिलाउने र गोर्खा राज्य फराकिलो बनाउने त भन्ने गर्थे, तर आफ्नो महात्त्वाकांक्षा पुरा गर्न नसकी उनी बिते । २० वर्षको उमेरमा पृथ्वीनारायण शाह गोर्खाको राजगद्दीमा बसेपछि आमाहरूले उनलाई बाबुको अधुरो इच्छा पुरा गर्न सल्लाह दिए । त्यसपछि मात्र व्यूहरचना, हतियारको जोहो र योजनाबद्ध तयारीका साथ एकीकरणको अभियान सुरु भएको हो । १८३१ सालमा पृथ्वीनारायणको निधनपछि पनि सुगौलीको सन्धि (१८७३ साल) नहुन्जेलसम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो । यो अवधि स्वाधीन, सशक्त र एकीकृत राष्ट्रको रूपमा नेपाल जन्मिनका लागि लामो प्रसव वेदना र कष्टका रूपमा बितेको थियो ।
कर्णाली र भेरी नदीको सेरोफेरोका राज्यरजौटाहरू जसलाई 'बाइसे राज्य' भनिन्थ्यो । यसमा जुम्ला, डोटी, जाजरकोट, बाजुरा, गजुर, बिसकोट, माल्नेटा, थलहरा, दैलेख, दुल्लु, डुर्याल, तुल्सीपुर दाङ, सल्यान, चिल्ली, फलाबाघ, जहारी, दर्नार, आठबीस, गोताम, मजाल, गुर्णकोट र रुकुम नाम गरेका २२ राज्य थिए । त्यस्तै गण्डकी नदीको सेरोफेरोका २४ राज्यरजौटा वा 'रियासत'हरूमा गोरखा, लम्जुङ, तनहुँ, कास्की, नुवाकोट, ढोर, सतहुँ, गराहुँ, रिसिङ, घिरिङ, पैयुँ, पर्वत, गल्कोट, पाल्पा, गुल्मी, अर्घा, खाँची, मुसीकोट, इस्मा, धुर्कोट, बझाङ, भीरकोट, पिउठाना र बुटवल थिए ।
काठमाडौं, पाटन, भक्तपुर, मकवानपुर, विजयपुर र भारतमा परेका 'सुखिम' -सिक्किम), कुमाउँ, गढवालजस्ता अन्य राज्यहरू पनि थिए । शून्य अवस्था, अभावै-अभाव र भीषण कठिनाइबीच पृथ्वीनारायण शाहले ७० भन्दा बढी साना-ठूला राज्यरजौटाहरूलाई एकीकरण गरेर सिङ्गो राष्ट्र बनाउन सुरू गरे । राज्य-राष्ट्र निर्माणको श्रीगणेश १८०१ सालमा नुवाकोटबाट भयो । उत्तरतिरको एकीकरण विस्तारको खाका र जीवनको अन्त्यमा उनले दिएको 'दिव्य उपदेश' -तत्कालीन राज्यका निर्देशक सिद्धान्त) नुवाकोटमै लिपिबद्ध गरिएको हो । राष्ट्र एकीकरणको वीरताले नेपालीलाई हिन्दुस्तान र विश्वभरि 'गोर्खाली' पहिचानका साथ सुपरिचित गरायो, जुन पहिचानको साख र भरोसा आजतक यथावत छ । उनले एकीकृत राष्ट्रको नामकरण 'गोरखा' भनेर गरेनन् । छोराहरूले काठमाडौं उपत्यकाका राज्यहरू भाग लगाएर शासन गर्न माग्दा उनले राज्य बाँड्ने होइन, जोड्ने हो भनी इन्कार गरे । एकीकरणका लागि उनले हतियारमात्र उठाएनन्, धेरै राजारजौटाहरूसँग नयाँ राज्यव्यवस्था अन्तर्गत चल्न सम्झौता र साइनो सम्बन्ध पनि बनाए ।
स्थापित राष्ट्रहरूको एकीकरण, राजामहाराजा वा कुनै महत्त्वाकांक्षी व्यक्तित्वको यस्तै साहस, संकल्प र दूरदर्शितापूर्ण पहलबाट सार्थक भएको इतिहास छ । सोह्रौं शताब्दी -१५३०) तिर मस्कोका 'महाराजकुमार' 'इभान द टेरिबल' आफ्नो मृत्युसम्ममा सम्पूर्ण रसियालीहरूका 'जार' -सम्राट) बनिसकेका थिए । उनको दीर्घ शासनका बेलामा नै साइबेरिया, कजान, अस्त्राकान आदि ठूलठूला भूभाग रूसी साम्राज्यमा समेटियो । इभानले नै रसियालाई मध्ययुगिन राज्यबाट बहुजातीय र विभिन्नतापूर्ण साम्राज्यमा परिणत गराए । अनेकौं अग्रगति र परिवर्तन सम्पन्न गरे । यद्यपि उनलाई छोरो मारेको दोष लागेको किन नहोस् । उनैलाई रूसी साम्राज्यका प्रथम जार मानिन्छ । दोस्रो विश्वयुद्धमा जर्मनीले रूस -सोभियत संघ) माथि हमला गर्न थाल्दा कम्युनिष्ट तानाशाह स्तालिनले समेत राष्ट्रनिर्माता यी जारको अभूतपूर्व प्रशंसा गर्दै 'जारहरूले एकीकरण गरी खडा भएको रूसी राष्ट्र जोगाउन सम्पूर्ण रसियालीहरू उठ्नुपर्ने' भाषणहरू गरे । त्यस्तै आशयका सडक नाटक पनि गराए ।
जर्मनीका कन्जर्भेटिभ राजनेता ओटो फन बिस्मार्कले सन् १८६० देखि १८९० को अवधिमा युद्ध शृङ्खलाको खाका नै बनाए र धेरै राज्यहरू गाभेर आजको जर्मनी बनाउने अभियानको नेतृत्व लिए । शक्ति सन्तुलनको कूटनीति चलाएर उनले जर्मनी र युरोपकै मामिलामा ठूलो दख्खल र प्रभाव राखेका थिए । उनले आधुनिक विश्वमा जर्मनीलाई पहिलो कल्याणकारी राज्यको रूपमा सिर्जना गरे, श्रमिक वर्गको समर्थन पाउने ध्येयका साथ । जर्मनहरू बिस्मार्कलाई राष्ट्र रचनाको साथै जर्मनीको आधारशिला तयार गर्ने १९ औं शताब्दीका विश्व प्रतिष्ठित राजनेता मान्छन् ।
इटलीका जनरल तथा राजनीतिज्ञ जिउसेप्पी ग्यारिवाल्दी -सन् १८०७-१८८२) लाई, क्यामिलो काबुर, भिक्टर इम्मानुएल द्वितीय, जिसेप्पी मेज्जिनीसँगै 'पितृभूमिका जनक' मानिन्छ । उनी इटालीका केन्द्रीय व्यक्तित्व मानिन्थे, जसले सैन्य अभियानद्वारा इटलीको एकीकरण र रक्षार्थ धेरैवटा युद्धहरूको नेतृत्व सम्हाले । क्याथोलिक पादरीहरूसँग यिनको विवाद थियो । त्यसैले उनी 'पादरीहरू मिथ्याका अवतार हुन्' भन्थे । इटालीमा उनको ठूलो सम्मान छ ।
इसापूर्व तेस्रो शताब्दीतिरका चीनका सम्राट 'चिनशिह हाङती' 'छिनवंश'का पहिलो सम्राट मानिन्छन् ।
कन्फ्युसियसका शिक्षा विरोधी, सिद्धान्तहीन, हिंसावादी, अन्धविश्वासी शासकका साथै कन्फ्युसियसपन्थी विद्वानहरूलाई जिउँदै पुरेको दोष लगाइए पनि त्यो युगमा अलग-अलग रूपमा रहेका ७ मुख्य राज्यहरूलाई युद्धद्वारा एकीकरण गरेको, चीनको विशाल पर्खाल निर्माणको सुरुआत, नापतौल र सिक्काको मापन निर्धारण र लिखित भाषाको प्रारम्भ गरेको श्रेय उनैलाई दिइन्छ । उनैको नामबाट आधुनिक चीनको नामकरण भयो, तर कम्युनिष्ट शासनले त्यो नाम परिवर्तन गर्नतिर कहिल्यै लागेन । हामीकहाँ भने हाम्रा धर्म संस्कार र संस्कृति तोड्दै राष्ट्रिय विभूतिहरूको शालिक फोड्दै 'नयाँ नेपाल बनाउने' प्रोपोगन्डा मच्चाइयो । १९७४ मा चीनका किसानहरूले सम्राट 'चिन' बारेका पुरातात्त्विक सामग्री फेला पार्दाको सन्दर्भमा माओत्सेतुङले भनेका थिए, 'सम्राट चिनशिह हाङती विरुद्ध शेखी गरेर के हुन्छ ? उनले जम्मा ४६० जना कन्फ्युसियसपन्थी विद्वानहरूलाई मारेका थिए, तर हामीले ४६ हजार बुद्धिजीवीलाई मार्‍यौं । प्रतिक्रान्तिकारीलाई दबाउँदा हामीले प्रतिक्रान्तिकारी बुद्धिजीवीलाई पनि मारेका होइनौं र ?' यसरी माओले चीन राष्ट्रका एकीकरणकर्ता, शान्ति र स्थिरताका कारक मानिएका सम्राट 'चिन'को पक्षमा कृतज्ञतापूर्वक वकालत गरेका थिए । सन् २००८ मा भएको बेइजिङ ओलम्पिकको उद्घाटन समारोहको सांस्कृतिक कार्यक्रममा चीनले उनै सम्राट 'चिन' र उत्तराधिकारीले स्थापना गरेका सांस्कृतिक धरोहरलाई चिनियाँ सभ्यताको झाँकी विश्वलाई नै मुग्ध पार्नेगरी भव्यताका साथ प्रदर्शन गर्‍यो, तर माओको नामोनिसान देखाएन । यो संस्कार र संस्कृति यहाँका कम्युनिष्टहरूले आत्मसात गर्नु जरुरी छ ।
नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायणबारे कतिपय कम्युनिष्ट पक्षबाट निन्दा गरेको सुनिन्छ । सो एकीकरणमा ८ हजार मान्छे मरेको संख्या देखाउँदै उनलाई आज निन्दा गर्नेहरूले माओको उपरोक्त भनाइलाई ध्यान दिउन् र 'जनयुद्ध'का नाममा १० वर्षसम्मको नरसंहारलाई सम्भिmउन् । नुवाकोट, सिंहदरबार अगाडि लगायत देशका विभिन्न स्थानमा राखिएका उनका सालिकहरू पछिल्लो जनआन्दोलन लगत्तै तोडफोड गर्ने हर्कत हुँदा मैले त्यसको जोडदार विरोध गरेको म यस सन्दर्भमा स्मरण गर्न चाहन्छु । आफ्नो अन्तरात्माले ठहराएको सत्यको पक्ष लिँदा कसले के भन्ला भनेर मैले वास्ता गरिन । त्यस्ता गतिविधिले कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालले पृथ्वीनारायणबारे लेखेका विचारलाई पनि लत्याएको देखियो, '....इलाकीय साँध मासी केन्द्रीय सामन्ती राज्यसत्ता कायम हुँदा लाभान्वित हुने विभिन्न वर्ग तथा जनसमुदायहरूको बीचमा संघर्ष थियो । यस्ता संघर्षहरू अन्य देशको इतिहासमा पनि पाइन्छन् । जस्तो बेलायतको इतिहासमा 'वार अफ द एजेज' । त्यस युद्धमा जसरी हेनरीलाई त्यस समयका सबै प्रगतिशील वर्गले समर्थन गरे, त्यसरी नै नेपालमा पृथ्वीनारायण शाहलाई नेपालका प्रगतिशील तत्त्वहरूले समर्थन गरे ।' -'पुष्पलाल ः छानिएका रचनाहरू, भाग ९' पृ. १५६-१५९) ।
महात्मा गान्धीले पृथ्वीनारायण शाहभन्दा डेढ सय वर्षपछि बि्रटिस औपनिवेशिक शासन विरुद्ध लडेर स्वतन्त्रता हासिल गरी करिब ६ सय राज्यलाई एकीकृत हिन्दुस्तान बनाउने अभियानको नेतृत्व गरे । भारतका 'राष्ट्रपिता' गान्धीले 'भारत छोडो' आन्दोलनको नेतृत्व गरेपछि बि्रटिसहरू भारतबाट विदा हुँदा तिनै ६ सय राज्यहरूलाई स्वनिर्णयको स्वतन्त्रता दिएर गएका हुन् । अखण्ड,
एकीकृत र विशाल भारत बनाएर जिम्मा लगाउने नीति बि्रटिस औपनिवेशिक शासकको थिएन । त्यसैले पाकिस्तान पैदा भयो ।
१८३२ मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परे । स्वास्थ्य झन्-झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही पुस २७ गते बिहान सात बजे उनको निधन भयो । घाटमै राखिएको बेला उनले दिएको 'दिव्य उपदेश' चारजना भारदारहरूले टिपेका थिए । हाल प्राप्त एकमात्र 'दिव्य उपदेश' शिवरामसिंह बस्नेतका छोरा अभिमानसिंहले टिपेका र उनैका सन्तान बखतमानसिंह बस्नेतले सुरक्षित राखेको पाण्डुलिपि हो ।
२०६२-६३ को जनआन्दोलनपछि सरकारले साविकमा मनाउँदै आएको पुस २७ को पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई खारेज गर्ने अत्यन्त गलत कदम चलायो । कृतज्ञ राष्ट्रले यसो गर्नु हुँदैन/गर्दैन भन्ने तथ्य माथिका उदाहरणबाट पुष्टि हुन्छ । राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई यथावत सम्मान गर्दै उनको निधन भएको दिनलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने काम सुचारु होस् भनी सरकारको ध्यानाकर्षण गराउन मसहित मोदनाथ 'प्रश्रति', डा. रमेश ढुङ्गेल, प्रा.डा. सुरेन्द्र केसी, भरत बस्नेत, धर्मराज बराल, खगेन्द्र सिटौला, सोमप्रसाद पाण्डे, पेशल निरौला, नुवोकोटको 'पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष गोविन्द चित्रकार र नागरिक समाजका अन्य अगुवाहरूले हालै प्रधानमन्त्रीलाई भेटेर सम्बन्धित विषयमा ज्ञापनपत्र दियौं । भेटका अवसरमा प्रधानमन्त्रीले सकारात्मक कुरा गर्नुभए पनि आजसम्म ठोस निर्णय गर्न नसक्नु खेदजनक कुरा हो । सरकारले पुस २७ लाई पूर्ववत् राष्ट्रिय दिवसको रूपमा घोषणा गरी देशब्यापी रूपमा मनाउनुपर्ने विषय राष्ट्रको आवश्यकता हो ।
केसी नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सभासद हुन् ।

प्रकाशित : पुस २५, २०७१ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?