कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जल, जमिन र भूकम्प

मधुकर उपाध्या

भू–स्वरूपलाई नै परिवर्तन गर्ने प्रकृतिको त्यो शक्तिको झलक हामी आफै अनुभव गर्दैछाैं ।

 जल, जमिन र भूकम्प
पहाड, खोला, झरना, उपत्यकाजस्ता भू–स्वरूपका उत्पत्तिबारे भूगोलको प्रारम्भिक पाठमै दिइने जानकारीको मर्म त्यतिखेरसम्म स्पष्ट हुँदो रहेनछ, जबसम्म आफ्नो वरिपरिको भू–स्वरूपलाई नै परिवर्तन गर्ने प्रकृतिको त्यो शक्तिको झलक हामी आफै अनुभव गर्दैनौं । लामो अन्तरालमा आउने र सायद धेरैले प्रत्यक्ष अनुभव गर्न नपाउने बैसाख १२ को जस्तो ठूला भूकम्पको कारण हामीले भोग गर्दै आएका र सधैं यथावत रहिरहने ठानेका कैयौं प्राकृतिक संरचनाहरूमा एकाएक भएको परिवर्तनको साक्षी हुँदा भूगोलका प्रारम्भिक पाठहरूको अर्थ खुल्दो रहेछ । हिमालयको निर्माणको क्रममा सम्भवत: हजारौंपटक घटेको तिनै मध्येको एउटा नमुना घटना हामीले पनि भोग्यौं, बैसाख १२ गते ।
बैसाख १२ गतेको ठूलो भूकम्पले काठमाडौ उपत्यका १० फिट दक्षिण सरेको र उचाइमा झन्डै १ मिटर माथि उठेकोदेखि पहाडका केही भाग होचो भएको सुरुवाती जानकारी बाहिर आएका छन् । यस्ता परिवर्तनले भूकम्प प्रभावित क्षेत्रका हाम्रा प्राकृतिक स्रोतहरूमा के कस्ता दीर्घकालीन असर गर्ला र तिनमा आश्रित हाम्रा जनजीविकामा के प्रभाव पर्ला भन्ने स्पष्ट छैन । तर बैसाख १२ को भूकम्पको ठूलो धक्का र त्यसपछिका हजाराैं सानाठूला पराकम्पनहरूले भूकम्प प्रभावित क्षेत्रका जमिन र पानीका स्रोतलाई भने सधैंका लागि परिवर्तन गरेको र अझ गर्दै लाने संकेत देखिँदैछ, जुन हाम्रो ग्रामीण अर्थतन्त्र र जनजीविकाका लागि ठूलो चुनौतीका रूपमा देखिन सक्छ ।
पहाडी क्षेत्रमा रहेका जल, जमिन र जंगल तथा वनस्पति बीचको जटिल अन्तरसम्बन्ध (जसको बारेमा हाम्रो बुझाइ धेरै गहन भैसकेको जस्तो लागे पनि अझै गहिरिनसकेका छैनन्) र तिनमा आश्र्रित हाम्रा जनजीविकाका आर्थिक पक्षलाई भूकम्पले कुन हदसम्म क्षति पुर्‍याएको छ भनी अहिलेलाई आंकलन गर्न सकिने अवस्था नभए पनि जनजीविकाको आधारशिला— जमिन र पानीका स्रोतमा पुगेको क्षति र त्यसबाट उत्पन्न हुनसक्ने समस्याका बारेमा भने मोटामोटी अनुमान लगाउन सकिन्छ । भनिरहनु परोइन कि पानीको आधार जमिन हो, तसर्थ जमिनको स्वरूप र संरचनामा आएको फेरबदलले दुवै स्रोत प्रभावित हुन्छन् । हालको भूकम्पले सतही रूपमा जमिनमा पुगेको क्षति सर्वत्र देखियो । त्यसैले पहिले जमिनमा पुगेको क्षतिकै चर्चा गरौं ।
भूकम्प गए लगत्तै पहाड चर्केर गएको सुख्खा पहिरो र जमिनमा देखिएका धाँजाहरू र कतिपय ठाउँमा ती धाँजाहरू क्रमश: फाट्दै गएको आधारमा, २०७२ सालमा बाढीपहिरोको समस्या पनि विकराल हुनसक्छ भनी जोकोहीले पनि आंकलन गरेको विषय हो । स्वदेशी तथा विदेशी विज्ञसमेत संलग्न टोलीले गरेको प्रारम्भिक अध्ययनअनुसार भूकम्पबाट ३ हजारभन्दा बढी सुख्खा पहिरो गएको छ भने अर्को एक अध्ययनले पनि भूकम्प प्रभावित प्राय: सबैजसो क्षेत्रमा वर्षा लागेपछि पहिरो जान ठिक्क परी बसेका थुप्रै धाँजाहरू रहेको भनाइले जनमानसमा रहेको ठूलो बाढीपहिरो आउन सक्ने आशंकालाई थप पुष्टि गर्छ ।
पहिरोको सम्भावना
भूकम्पले जमिनलाई पुर्‍याएको क्षतिको चर्चा गर्दा अब हामीले खास ३ अवस्थाको पहिरो र भूक्षयको समस्यासंँग जुध्नुपर्ने अवस्थाको सिर्जना भएको स्पष्ट देखिन्छ । पहिलो, भूकम्पकै समयमा गएका थुप्रै ठूलठूला सुख्खा पहिरो जुन खासगरी ठूला र भिराला चट्टानी भीरहरूमा देखियो । मध्यपहाड र सोभन्दा उत्तरका पहाडमा गएका यस्ता पहिराले रसुवाको लाङटाङ गाउँको नामोनिसान नै मेट्यो भने सिन्धुपाल्चोकको बार्‍हबिसेदेखि तातोपानी क्षेत्रसम्मको बाटो ठाउँ—ठाउँमा अवरोध भएको छ । कुनै—कुनै ठाउँमा पुरा डाँडा नै कतिबेला खस्ने हो भन्ने त्रास छ । सुख्खा पहिरोकै कारण तातोपानी क्षेत्र केही समय मानवविहीन भएको समेत समाचार आयो । क्षति भएको सबै ठाउँको फेहरिस्त लामो हुनसक्छ । समाचारमा नआएका त कति होलान् । सडक अवरुद्ध गर्ने, नदी थुन्ने र गाउँ—बस्तीलाई क्षति पुर्‍याउने त्यस्ता पहिरो जाने क्रम अझै चलिरहेको देखिन्छ । महाभूकम्प गएको ३० सौं दिनका दिन कालीगण्डकी थुन्नेगरी म्याग्दीको रामचेमा आएको पहिरो, जुन निरन्तर खसिरहेको छ, यसैको कडी हुनसक्छ । हालका सुख्खा पहिरा वर्षा लागेपछि अझै चलायमान हुनसक्छन् ।
दोस्रो, वर्षा सुरु भएपछि जान सक्ने पहिरोहरू । भूकम्प प्रभावित जिल्लाका गाउँबस्ती, खेतबारी र चरन क्षेत्रका जमिनमा थुप्रै धाँजाहरू फाटेका छन्, जमिन धसिएका छन् । कुनै स्थानमा धाँजाहरू सामान्यजस्ता देखिएका छन् भने कतै—कतै जमिन धुजाधुजा भएर चिरिएको पनि देखिएको छ । यस्ता धाँजाहरू जंगल क्षेत्रमा समेत होलान्, जसको बारेमा अहिले सूचना उपलव्ध छैन । देखिएका थुप्रै चिरा र धाँजाहरू वर्षा लागेपछि पहिरो, गल्छीको रूपमा बग्न थाल्नेछन् र तिनले गाउँ र खेतबारी बगाउने प्रबल सम्भावना छ । भीषण वर्षा भएमा कतिपय ठाउँमा जंगलसमेत सोहोरिएर आउन सक्छ । वर्षाको बेला आउने यस्ता गल्छी, पहिरोहरू डाँडाको टुप्पादेखि बेँसीसम्म क्षति गर्दै जाने खालका हुन्छन्, जुन नियन्त्रण गर्न ज्यादै नै कठिन हुनसक्छ ।
तेस्रो— पहिरो, गल्छी र भूक्षयबाट निस्केका गेग्रानहरू नदी, खोलामा आइ थुप्रिँदा भूकम्पले क्षति नपुर्‍याएको बेँसीका राम्रा जमिन जग्गासमेत यात गेग्रान थुप्रेर बगरमा परिणत हुनेछन् या गेग्रानले नदीको प्रवाहलाई प्रभावित गर्दै जाने क्रममा किनार कटानजस्ता थप भू–क्षय गर्नेछन्, जसले भूकम्प प्रभावित क्षेत्रभन्दा धेरै टाढाको क्षेत्रमा पनि क्षति पुग्छ । हुन त हामीकहाँ जलउत्पन्न प्रकोपको रूपमा आउने बाढीपहिरोको समस्या हरेक वर्ष नै आउने गर्छ । यस्ता समस्यासँग सालिन्दा जुध्दै आएको भए तापनि भूकम्पले सिर्जना गरेको पहिरो र अब वर्षामा देखिने थप बाढीपहिरोले ठूलो क्षेत्र ओगट्ने र केही वर्षसम्म निरन्तर असर पुर्‍याउने प्रकृतिका हुनेछन् । बाढीपहिरोसँग जुध्ने हाम्रो विद्यमान संस्थागत संरचनाले एकैसाथ धेरै ठूलो क्षेत्रमा काम गर्ने क्षमता राख्दैन । बाढीपहिरो नियन्त्रणमा प्रयोग गरिने प्रविधि महङ्गो हुनुका साथै कार्यान्यनमा समय लाग्ने खाले छ । तसर्थ भूकम्प प्रभावित क्षत्रमा यो वर्ष आउने समस्याको दाँजोमा त्यससँग जुध्ने हाम्रो क्षमता अत्यन्त न्युन देखिन्छ ।
पानीमा पुगेको क्षति
भूकम्पले ठूलो क्षति पुर्‍याएको अर्को स्रोत हो, पहाडी क्षेत्रको पानी जुन क्षतिको अनुमान लगाउन झनै कठिन छ । किनभने पहाडको पानी विज्ञानबारे हाम्रो बुझाइ मजबुत छैन । कहाँ के क्षति पुग्यो होला भन्न नसकिए पनि क्षतिका केही संकेत भने स्पष्ट देखिए । पाठकहरूलाई यादै होला, भूकम्प गए लगत्तै पहाडका तल्लो क्षेत्र र बेँसीतिरका पानीका मूलहरूमा एक्कासी पानीको बहाव बढेको अनुभव धेरैतिर धेरैले गरे । रामेछाप जस्तो केही वर्षदेखि खडेरीको चपेटामा पर्दै आएका स्थानमा समेत सुकेका मूलहरूमा एकाएक पानी बग्न थाल्यो । काठमाडौ उपत्यकाका केही स्थानमा इनारको पानीको सतह बढ्यो भने सुकेका ढुङ्गेधाराहरूमा पनि एकाएक पानी आयो । खोलामा कतै—कतै २/३ गुणा नै बढ्यो । झन्डै १० वर्षदेखि खडेरी खेप्दै आएको पाँचखाल क्षेत्रमा पनि सुक्दै गएका मूलहरूमा पानीको बहाव बढ्यो । पानी बढ्नाले यसका उपभोक्ताहरूमा केही समय त खुसी पनि ल्यायो, तर पानीको यो आकस्मिक र सम्भवत: क्षणिक वृद्धि अर्को एउटा अनिष्टको संकेत हो भन्ने बुझ्नु जरुरी छ ।
मूलहरूमा बढेको पानी माथिल्लो भेगमा रहेको अन्यत्रको भूमिगत भण्डारको पानी भूकम्पको धक्काले अचानक चुहिएर आएको हो । खटाइ—खटाइ धेरै समयसम्म पानी आपूर्ति गर्नुपर्ने भूमिगत भण्डारहरू अचानक चुहिँदा केही क्षण तल्लो भेगमा पानी आपूर्ति बढ्नु स्वाभाविकै हो । तर माथिको भण्डार निख्रेपछि पानीको हाहाकार झनै बढ्छ । सबैभन्दा पहिले माथिल्लो भेगमा भएका मूलहरू छिट्टै सुक्छन् । नुवाकोट जिल्लामा यसरी माथिल्लो भेगमा पानीको हाहाकार भएको र तल्लो भेगमा पानीको छेलोखेलो भएको कुरा डा. रामशरण महतले त आफ्नो ट्विटमै लेखे । जलभण्डारहरूमा पुगेका क्षतिले जलाधार क्षेत्रको पानी नियमन गर्ने क्षमतामा परिवर्तन आउँछ । भूकम्पका कारण पानी खटनपटनको प्राकृतिक प्रणालीमा एक्कासी आएको परिवर्तनले आउँदा दिनको लागि स्थानीय तहमा पानीको उपलव्धतालाई निकै प्रमावित गर्ने संकेत हो, यो ।
यसो किन भएको हुनसक्छ भने भूकम्पले दिएको तारनतारको धक्का र त्यसले जमिनको भित्री तहसम्मै खलबलाएकोले जमिनको पानी सञ्चय गर्ने भौतिक अवस्थामा उल्लेखनीय फेरबदल भएको छ । फलस्वरूप अब पानीको उपलव्धता— पानी उपलव्ध हुने समय र उपलव्ध हुने मात्रामा आउने परिवर्तनले जल र जमिनको तालमेलमा फरक पर्न सक्छ । अर्थात् सुख्खा हुने ठाउँमा थप पानी उपलव्घ हुन सक्नेछ भने पानी भैराखेको ठाउँमा पानी अभाव हुन सक्नेछ । पहाडको भित्रैसम्म चिरा परेको वा भएका चिरा टालिएका स्थानमा पानी प्रवाहका मार्गहरू फरक हुनजाने हुँदा मूलहरूको स्थान परिवर्तन हुनेछन् । सन् २००५ मा पाकिस्तानको मुज्जफरबाद क्षेत्रमा भूकम्प जाँदा त्यहाँको पहाडी क्षेत्रहरूमा पनि यस्ता परिवर्तन देखिएका थिए । यसको सिधा असर भनेको हाल प्रयोगमा रहेका खानेपानीका प्रणालीहरू एकातिर भूकम्पले क्षतिग्रस्त त छन् नै, अर्काेतिर तिनको स्रोतसमेत परिवर्तन हुने हुँदा नवनिर्माण नै गर्नुपर्ने हुनसक्छ । उसै त विगत केही समयदेखि पहाडको उपल्लो क्षेत्रमा पानीका मूलहरू सुक्दै गएका थिए र मानिसहरू बसाइ सर्न बाध्य भएका थिए भने नुवाकोटमा देखिएजस्तै मूलहरू सुक्नाले पानीको कारण विस्थापित हुनेको संख्या अब झन् बढ्न सक्ने छ ।
तत्काल के गर्न सकिन्छ ?
अहिलेको समय ज्यादै अप्ठेरो समय हो । राहत वितरण कार्यका साथै जीविकोपार्जनका आधार— क्षति पुगेको जमिन र पानीका स्रोत पनि कसरी पुन:स्थापन गर्न सकिन्छ भनेर हेर्नु आवश्यक छ । तर समस्या खुट्याएर समाधानका उपाय अवलम्बन गरौंला भन्न समय थोरै छ । केही हप्तामा वर्षा सुरु हुनेछ, त्यसपछि त आवत—जावत गर्नसमेत कठिन हुन्छ । तैपनि प्राथमिकताको आधारमा केही कार्य गरिहाल्नु आवश्यक छ ।
तत्कालका लागि मानिसहरूको जीउज्यानको सुरक्षा नै प्राथमिकताको विषय भएकोले आइराखेका सुख्खा पहिरोबाट जोखिममा परेका वा वर्षासँंगै थपिने पहिरोहरूबाट जोखिममा पर्नसक्ने मानिसहरूलाई सुरक्षित स्थानमा राख्ने नै अहिलेको प्राथमिकता हुनुपर्छ । तर जोखिम क्षेत्रहरू प्रशस्त हुने हुँदा सबैलाई सार्न व्यावहारिक नहुन सक्छ वा सबै ठाउँमा सुरक्षित स्थान उपलव्ध नहुन सक्छ । त्यस्ता अवस्थामा जोखिमको स्तर हेरी अत्यन्त जोखिम भएका ठाउँबाहेक कम जोखिम भएका ठाउँमा भने तत्काल जोखिम घटाउन के गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ । जोखिमको स्तर हेर्न स्थानीय व्यक्तिहरूबाट सूचनाको लागि आह्वान गर्न सकिन्छ र उनीहरूबाट प्राप्त सूचनाकै आधारमा पनि कहाँ के कति जोखिम छ भन्ने यकिन गर्न सकिन्छ । यसो गर्दा प्राथमिकता तय गर्न सघाउ पुग्छ ।
कतिपय स्थानमा वर्षाको भल निश्चित तहसम्म पुगेपछि मात्रै जोखिम बढ्ने हुनसक्छ । त्यस्ता स्थानमा वर्षे पानीलाई कटाएर त्यस्ता चर्केका जमिनमा माथिबाट थपिन आउने भल आउन नदिई तत्काल भत्कनबाट जोगाउन सकिन्छ । दक्षिण ललितपुरका पहाडी क्षेत्रमा वर्षे भल कटाएर चलिरहेका धेरै गल्छी, पहिरो रोकिएका उदाहरण छन् । ललितपुरको उक्त अनुभव अहिलेको अप्ठेरो समयमा भूकम्प प्रभावित क्षेत्रमा काम लाग्न सक्छ । वर्षे भल कटाउने यो साधारण उपायले वर्षा अगावै र वर्षाकै समयमा पनि केही मात्रामा भए पनि जोखिम कम गर्न सकियो भने अहिलेलाई धेरै राहत पुग्नेछ ।
तर वर्षापछि भने जमिन र पानीका स्रोतको पुन:स्थापना नै सबैभन्दा महत्त्वपूर्ण हुनुपर्छ । बैसाख १२ को भूकम्पले हाम्रा पहाड, खोला, उपत्यकाको भू—स्वरूपमा ल्याएको परिवर्तन बुझ्न धेरै समय लाग्ने भए पनि जमिन र पानीमा पुगेको क्षति आगामी हिउँदसम्ममा धेरै मात्रामा स्पष्ट हुनेछ । विगतमा बगर बनेका जग्गा वा मूल सुकेका स्थानबाट मानिसहरू विस्थापित हुँदा चासो राखिएन र राज्यको प्राथमिकतामा परेनन् । तर अब त्यो छुट पाइने छैन, किनकि ठूलो क्षेत्रमा यस्ता समस्या एकैसाथ देखिन सक्छ ।

प्रकाशित : जेष्ठ १३, २०७२ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?