कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नयाँ शक्तिका चार खम्बा

रवीन्द्र मिश्र

पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको खम्बामा नयाँ शक्ति निर्माण भयो भने त्यसले देशको सबै प्रकारका प्रतिकूलता चिर्ने ज्ञान, विवेक र क्षमता राख्नेछ ।

नयाँ शक्तिका चार खम्बा

‘देश यस्तो भैसक्यो, तपाईंहरूको नयाँ शक्ति पनि गफमै सीमित हुने भयो,’ आइतबार बिहान उठेर फेसबुक खोल्दा एकजना अपरिचित शुभेच्छुकले यस्तो सन्देश पठाएका रहेछन् । नयाँ राजनीतिक शक्तिको आवश्यकताबारे बारम्बार लेखिरहेका कारण हुनुपर्छ, मलाई त्यस्ता आशयका सन्देशहरू बेलाबखत आइरहन्छन् ।

अलिकति ढिलो—चाँडोको कुरामात्र हो, नयाँ शक्तिको उदय त हुन्छ–हुन्छ । तर अत्यन्तै जटिल बनेको र हेर्दाखेरि अन्तिम चरणमा पुगेको देखिएको नयाँ संविधान निर्माण कार्य पुरा नहुँदै त्यस्तो शक्तिको घोषणा गर्नु परिस्थितिलाई थप जटिल बनाउनुमात्र हुनेछ । त्यस बाहेक नयाँ शक्तिको घोषणा हतारमा गर्नुको कुनै औचित्य छैन, किनभने सबभन्दा पहिले त्यसको सफलताको सुनिश्चितताका आधारहरू निर्माण गर्नुपर्छ । पर्याप्त गृहकार्य नगरी गरिएको घोषणाबाट पार्टी अस्तित्वमा त आउला, नयाँ नेताहरूले खुब अन्तर्वार्ता र भाषण देलान्, ताली पनि खालान्, तर तिनले शासन गर्नसक्ने छैनन् । आउँदो आमनिर्वाचनमै सामान्य बहुमत ल्याएर एकल सरकार बनाउने आत्मविश्वास, दृढता र तयारी नभएको नयाँ शक्ति जन्मिनुभन्दा नजन्मिएकै वेश, किनभने त्यसले चुनावमा अहिले नै व्यापक रूपमा विभाजित हुने गरेको मतसंख्यालाई थप विभाजितमात्र तुल्याइदिनेछ, जुन अस्थिर र असक्षम राजनीतिका लागि अरू हानिकारक हुनेछ ।

तर के आउँदो आमनिर्वाचनमै सामान्य बहुमत लिएर आउन सक्ने नयाँ शक्तिको उदय सम्भव होला ? कि त्यो धरातलीय यथार्थबोध नभएकाहरूको अति महत्त्वाकांक्षामात्र हुनजाला ? यस्ता प्रश्नहरूको उत्तर खोज्ने र विश्लेषण गर्ने क्रममा यो लेखकले नयाँ शक्तिका चार खम्बा पहिल्याएको छ । ती चार खम्बाको जगमा त्यस्तो शक्तिको निर्माण हुने हो भने त्यो कुनै पनि हालतमा कमजोर र विफल हुने छैन । तल उल्लिखित चार खम्बालाई बढाएर १४ खम्बा पनि बनाउन सकिन्छ । तर नेपालको राजनीति गत ६५ वर्षदेखि किन स्थिर, प्रभावकारी र विकासमुखी हुनसकेन र अब बन्ने शक्तिले विगतको व्यथालाई कसरी सम्बोधन गर्न सक्छ भन्ने परिप्रेक्ष्यमा मैले सबैभन्दा महत्त्वपूर्ण ठानेका चारवटा विषयलाई मात्र समेटेको हुँ ।

पद्धति (सिस्टम)
नेपालका सबै प्रमुख पार्टीहरूले एक या अर्को निहुँमा पद्धतिलाई सदा आफ्नो स्वार्थ अनुकूल तोडमोड गर्दै र लत्याउँदै आएका छन् । उनीहरूले पार्टीको पद्धतिमात्र होइन संसद, संविधानसभा र सरकारका पद्धतिहरूसमेत यसरी कुल्चिदिए कि तिनका आचरण ‘अपवाद’ होइन, ‘नियमितता’ बनिसके । अब त यस्तो विन्दुमा पुगिसकियो कि आफूलाई सबभन्दा लोकतान्त्रिक भन्ने पार्टीले विविध कारण देखाउँदै बारम्बार आफ्नो र भ्रातृ संगठनको अधिवेशनहरू समयमा गर्न नसकेपछि पार्टीको महाधिवेशन सार्न देशको संविधान नै संशोधन गर्ने योजना गर्दैछ । जनता टुलुटुलु हेरेर बस्न बाध्य छन् ।

यदि सुरुदेखि नै पद्धतिलाई प्रधान सम्झी काम गरिएको भए अहिलेसम्म सम्भवत: संविधान लेखिसकिएको हुन्थ्यो होला । मैले २०४६ सालपछिको नेपालका तीन प्रमुख विदुषक मध्येका एक भन्ने गरेको गिरिजाप्रसाद कोइरालाले बढो महान सुनिने नारा लिएर आए– सहमति, सहकार्य र एकताको । राजनीतिमा सहमति, सहकार्य र एकता असम्भव भएका कारणले गर्दा नै ‘खुला प्रतिस्पर्धामा आधारित बहुमत’ लोकतन्त्रको आधारशिला बनेको हो । घरमा श्रीमान र श्रीमती, दाजु र भाइ, बाउ र छोराको कुरा मिल्दैन, कहिलेकाहीं एउटै मान्छेभित्र पनि उसको दाहिने दिमागले भनेको कुरा देब्रेसँग मिल्दैन भने भिन्न–भिन्न सोच र आ–आफ्नै सत्ताको महत्त्वाकांक्षा राख्ने राजनीतिक दलहरूबीच सामूहिक शत्रुसँग लड्न बाहेकका अन्य महत्त्वपूर्ण राजनीतिक मुद्दामा सहयात्रा सम्भव नै थिएन । तर बहस र बहुमतका आधारमा लोकतान्त्रिक पद्धति मुताविक निर्णय लिन जनताले चुनेको संविधानसभालाई ‘रबर स्ट्याम्प’ बनाएर कोइरालाको असम्भव नारालाई जबर्जस्ती लागू गर्ने प्रयास अहिलेसम्म हुँदैछ ।

त्यो अलोकतान्त्रिक अभ्यास, ‘विशिष्ट राजनीतिक संक्रमण’को दुहाइ दिँदै सर्वस्वीकृत बनिसक्यो । पद्धतिबाट बाहिर गएर जब पार्टी, लोकतन्त्र र देश चलाउन खोजिन्छ, त्यसले शान्ति र स्थिरता दिनै सक्दैन । किनभने लोकतन्त्रमा पद्धतिको उल्लंघन अराजकता हो । तर दुर्भाग्यवश लोकतन्त्र बाहिरको ‘सहमतितन्त्र’ हाम्रो असफल नियति बनिसक्यो । एक पटक पद्धति बिगारेपछि त्यसलाई बनाउन हम्मेहम्मे पर्छ । त्यो काम वर्तमान नेताहरूबाट सम्भव नै छैन । नयाँ राजनीतिक शक्ति सुरुदेखि नै पद्धतिको आधारमा चल्नुपर्छ, चाहे त्यो पार्टीका संस्थापक नेताहरूका लागि कुनै विन्दुमा प्रतिकूल नै किन नहोस् ।

पारदर्शिता (ट्रान्सपरेन्सी)
पैतृक सम्पत्ति या वैध आम्दानीका स्रोत भए भिन्नै कुरा, नत्र अधिकांश ठूला नेताहरूको घर खर्च केले चल्छ ? तिनका दर्जनौं पूर्णकालीन सहयोगीहरूको खर्च केले चल्छ ? तिनले मोटर कुन आम्दानीले चढ्छन् ? कसैलाई थाहा छैन । आम्दानीका वैध स्रोत छैन र पूर्णकालीन रोजगारी नै राजनीति हो भने पैसा कहाँबाट आइरहेको छ ? कोही परिवारका अन्य सदस्यले सहयोग गरिरहेको, कोही मन्त्री हुँदा कमाएको पैसा बाँकी रहेको र कोही पार्टीले खर्च बेहोरिरहेको बताउँछन् । सधैं सहयोग गरिदिने परिवारका अन्य सदस्यलाई आशंकायुक्त सलाम ! मन्त्री हुँदा कमाएको पैसा बाँकी छ भन्नेलाई सिधा प्रश्न : तपाईं कति महिना मन्त्री हुनुभयो ? तपाईंको तलब कति थियो ? अहिले मासिक खर्च कति छ ? अनि पार्टीले खर्च बेहोरेको बताउने नेतालाई अर्को सिधा प्रश्न : मैले तपाईंको पार्टीले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण हेरेको छु । त्यसमा त नेताको घर खर्चका लागि भनेर कतै रकम उल्लेख गरिएको छैन । उल्लेख नै नगरेको खर्च तपाईंले कहाँबाट पाउनुभयो ?

यी अत्यन्तै सामान्य प्रश्न हुन् । यीभन्दा धेरै गम्भीर प्रश्नहरू गर्ने ठाउँ छ । अहिलेसम्म अपारदर्शी रहेका नेता र तिनका पार्टी अब पारदर्शी हुनसक्ने कुनै गुञ्जायस नै छैन । जो नेताहरू जिन्दगीभर सार्वजनिक जीवनमा पारदर्शितामा चुकेका छन्, तिनबाट हामी भ्रष्टाचार–न्युन पार्टी र सुशासनको अपेक्षा गरेर बसेका छौं । नेपालको लोकतन्त्रलाई जोगाइराख्ने हो भने नेता र पार्टीको जीवनमा पारदर्शिताबिना त्यो सम्भव नै छैन । कुनै पनि नयाँ शक्तिको दोस्रो खम्बा पारदर्शिता हुनैपर्छ, नत्र त्यसले जनविश्वास आर्जन गर्न सक्दैन ।

इमानदारी (अनेस्टी)

नेपाली समाजले पछिल्ला दशकहरूमा गुमाएको एउटा सुन्दर गहना इमानदारी हो । हामी सहज रूपमा नेताहरूलाई भ्रष्ट भनेर गाली गर्छौं । तर हामीमध्ये कतिले आफ्नो अनुहार ऐनामा हेरेका छौं ? यो देशमा भ्रष्टाचार गाउँका सिधासाधा कृषक र मजदुरले गरेका होइनन् । यो देशमा इमानदारी तिनले गुमाएका होइनन् । मूल रूपमा त्यो हामीजस्ता अलिकति पढेका, लेखेका, बुझेका, देखेका र हरेक दिन देश बनाउने आदर्श छाँट्ने तर हरेक दिन यो देशलाई घात गर्नेहरूले गुमाएका हौं । कानुनको पालना गराउनुपर्ने कानुनकर्मीहरू ‘ल फर्म’ खोलेर कर छल्छन् । किताब लेखेर आदर्श बक्नेहरू किताबको लेखकस्वमा कर तिर्दैनन् । सरकारी अधिकारीहरू टेलिभिजन किन्न जाँदा भ्याट बिनाको बिल माग्छन् । मानव अधिकारका लागि लड्नेहरू त्यसका लागि आएको पैसामा भ्रष्टाचार गर्छन् । डाक्टरहरू कमिसनका लागि गर्नै नपर्ने परीक्षण गराउँछन् र आफूले लगानी गरेको अस्पतालको शौचालय दुर्गन्धित राखेर देशको स्वास्थ्य सफा बनाउने भाषण गर्छन् । यो सूची लेख्दै गए धेरै लामो हुनेछ । यसको अर्थ सबै पेसाकर्मी त्यस्तै छन् भन्ने कदापि होइन । तर धेरै त्यस्ता छन् भन्नेमा शंकै छैन, नत्र यो देश ट्रान्सपरेन्सी इन्टन्यासनलको भ्रष्ट सूचीमा पुछारतिर पर्ने नै थिएन ।

इमानदारीको त्यो पुरानो नेपाली गहनालाई पुन:स्थापित नगर्ने हो भने कुनै पनि नयाँ शक्तिले गर्ने पद्धति र पारदर्शिताका कुरा अहिलेका दलहरूले त्यसबारे गर्ने दाबीभन्दा फरक हुने छैन । व्यक्तिगत इमानदारी नहुने हो भने नेपालजस्तो देशमा कागजमा लेखिएका पद्धति र पारदर्शिताका नियम कानुन छल्ने कैयौं घुमाउरा बाटा हुन्छन् । अहिलेका राजनीतिकर्मीहरूले गरिरहेको त्यही नै हो ।

यो भ्रष्टाचारी भएर बाँच्न सजिलो र सदाचारी भएर बाँच्न गाह्रो समाज हो । तसर्थ इमानदारीलाई आफ्नो पार्टीको प्रमुख खम्बा बनाउन नयाँ शक्तिलाई सहज हुने छैन । तर आम सर्वसाधारणले पनि सबै राजनीतिकर्मी इमानदार भैदिउन् भनेर अपेक्षा गरेका हुँदैनन् । उनीहरू उच्च राजनीतिक नेतृत्वमा इमानदारी भैदिए खुसी हुनेछन् । उदाहरणका लागि, एउटा अति नै भ्रष्ट पार्टीका एकजना नेताको लोकप्रियता अत्यन्त उच्च थियो । उनको लोकप्रियता त्यो पार्टीका सबै नेता–कार्यकर्ता इमानदार भएकोले उच्च भएको होइन । तर विडम्बनाको कुरा, जब उनी प्रधानमन्त्री बने र उनको मौनताबीच आसेपासेहरूको भ्रष्टता उजागर भयो, उनीमाथिको जनविश्वास ह्वात्तै घट्यो ।

कुनै पनि नयाँ शक्तिको उच्च नेतृत्व इमानदारीको कसीमा उत्तीर्ण हुनैपर्छ । त्यसपछि तिनले लिने कदमले बाँकी फोहोर सफा गर्दै लानेछ । अहिले, मूल नै दूषित भएको स्थिति हो ।

उत्कृष्टता (मेरिटोक्रसी)
पद्धति, पारदर्शिता र इमानदारीले लोकतन्त्र र विधिको शासनलाई सुनिश्चित गर्छ । तर देशको द्रुत विकास गर्न, राज्यलाई परोपकारी बनाएर समाजलाई न्यायपूर्ण बनाउन, ती तीन खम्बामात्र पर्याप्त छैनन् । त्यसमा एउटा अर्को खम्बा थपेपछि मात्र नयाँ शक्तिको मन्दिर बलियो र पूर्ण हुनेछ । त्यो हो– उत्कृष्टताको चयन र कदर । सिंगापुरका ‘पिता’हरूले उत्कृष्टताको चयनलाई नै देशको अग्रगामी छलाङको एउटा प्रमुख आधार बनाएका थिए ।

संसारमा कुनै पनि यस्तो देश या यस्तो व्यवसाय छैन, जसले उत्कृष्ट जनशक्तिको चयनबिना देशको विकास या व्यवसायको विस्तार गरेका हुन् । हाम्रो देशमा कतिपय निजी व्यवसायहरू अत्यधिक रूपमा सफल भए, किनभने तिनले सम्बन्धित कामका लागि उत्कृष्ट जनशक्ति चयन गरे । हाम्रै देशमा अधिकांश सरकारी निकायहरू विफल रहे, किनभने राजनीति र विविध नियुक्तिहरूमा उत्कृष्टताको कदर गरिएन । बोल्ने ढंग नभएकाहरू राजदूत भए, कुनै विज्ञता नभएकाहरू प्रधानमन्त्रीका सल्लाहकार भए, क्षमता, ज्ञान, इमानदारी केही पनि नभएकाहरू मन्त्री भए, नेताको चाकडी गरेर जीवन निर्वाह गर्नेहरू महत्त्वपूर्ण निकायका प्रमुख भए । त्यसरी देशको विकास कहिल्यै सम्भव हुँदैन । नयाँ शक्तिले पद्धति, पारदर्शिता र इमानदारीलाई आत्मसात गर्दै उत्कृष्टतालाई सम्मान गर्नुपर्छ । इमानदारी भएको उत्कृष्ट जनशक्तिले बाँकी काम आफैं गर्न जानेको हुन्छ ।

यो लेख पढिसकेपछि कतिपयले ‘लोकतन्त्र, गणतन्त्र, समाजवाद, समावेशिता’जस्ता महत्त्वपूर्ण बुँदाहरूलाई आधार नबनाई कसरी नयाँ शक्ति बन्छ ? भनी प्रश्न गर्न सक्छन् । तर ती विषयहरू त अब नेपालका हकमा लगभग स्वीकृत भैसके । जे नभएर ती मान्यताहरू धरापमा परेका हुन्, जे नभएर पार्टी, राजनीति र देश बिग्रिएको हो र जुन आदर्शलाई सफल देशहरूले अवलम्बन गरेका छन्, तिनलाई चाहिंँ नयाँ शक्तिको खम्बा बनाउन खोजिएको हो । पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको खम्बामा नयाँ शक्ति निर्माण भयो भने त्यसले प्राप्त उपलब्धिको संरक्षण गर्ने र देशको सबै प्रकारका प्रतिकूलता चिर्ने ज्ञान, विवेक र क्षमता राख्नेछ । ती चार खम्बाको अनुपस्थितिमा देशको विकासको त कुरै छोडिदिउँ, स्थिरताको पनि सम्भावना रहने छैन र परिवर्तन हाम्रै जीवनकालमा कुनै हालतमा सम्भव हुने छैन ।

प्रकाशित : भाद्र २२, २०७२ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?