पुनर्निर्माणमा खट्किएको पक्ष

डा. दण्डपाणि अधिकारी

अधिकारी नेपाल भौगर्भिक समाजका अध्यक्ष हुन् ।भूकम्पबाट प्रभावित क्षेत्रका सबै भाग असुरक्षित छन् भन्ने होइन, सुरक्षित ठाउँहरू पनि छन् र तिनको पहिचान गरी पुनर्निर्माण गर्नुपर्छ ।

भौगर्भिक हिसाबले नेपाल भूकम्पीय उच्च जोखिम क्षेत्रमा रहेको भनिँदै आएको र २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.८ म्याग्नेच्युडको भूकम्प र त्यसपश्चात वैशाख २९ गते दोलखा केन्द्रविन्दु भएको ७.३ म्याग्नेच्युडको सहित आजको मितिसम्मका ४ सय ४५ वटा ४ म्याग्नेच्युडभन्दा ठूला परकम्पहरूले उक्त भनाइको पुष्टि गरेका छन् । वैशाख १२ को भूकम्पका धेरै आयामहरू छन् र यस लेखमा भौगर्भिक आयामको चर्चा गरिएको छ ।

वैशाख १२ को भूकम्प
वैशाख १२ गतेको भूकम्प जाँदा बारपाक क्षेत्रको सतहबाट १५ किलोमिटर मुनि चिरा पर्न सुरु भई पूर्वतर्फ विस्तार भयो र वैशाख २९ गतेको दोलखा केन्द्रविन्दु भएको ७.३ म्याग्नेच्युड (बारपाक केन्द्रविन्दु भएको ७.८ म्याग्नेच्युडको भूकम्पभन्दा ३.१६२ गुना सानो र ५.६२३ गुना कम शक्तिशाली) को परकम्पबाट सिर्जित चिरा पश्चिमतर्फ फैलँदा दुई चिराहरू जोडिएर बारपाकदेखि दोलखासम्मको पूर्व–पश्चिम फैलिएको १५० किमि लामो चिरा बन्नुका साथै यस खण्डमा उत्तर–दक्षिण करिब ६० किमि भाग पनि चिरिन पुग्यो । उक्त १५० किमिदेखि ६० किमिको चिराबाट घेरिएको भागमा जमिन ७ मिटरसम्म सरेको र १ मिटरभन्दा बढी उठेको वा धस्सिएको उल्लेख भएको पाइन्छ, वैज्ञानिक लेखहरूमा ।

Yamaha

उत्तरबाट दक्षिण चिरिने क्रम दक्षिणमा महाभारत शृङ्खला नजिक पुगेर रोकियो अर्थात् लक भयो । सञ्चित सबै शक्ति सकिनका लागि उक्त मुख्य चिराले चुरेसम्म छिचल्नुपर्ने थियो, त्यो हुन सकेन । यस्तो अवस्थामा कहिलेकाहीँं थाहा नपाउने गरी विस्तारसँग जमिन सर्ने ‘क्रिपिङ्ग’ को माध्यमबाट ठूलो भूकम्प बिनानै सञ्चित शक्ति क्षय हुने पनि गर्दछ । तर, विभिन्न अनुसन्धानबाट प्राप्त जानकारीको आधारमा यो भूकम्पपश्चात ठूलो शक्ति क्षय हुने किसिमले जमिन नसरेको बुझिएको छ । त्यसकारण एकैचोटी शक्ति क्षय हुने अवस्थामा वैज्ञानिकहरू पुन: ७ म्याग्नेच्युडभन्दा ठूलो भूकम्प जान सक्ने तर्क पनि गर्दछन् । तर ज्ञातव्य छ, हालसम्म भूकम्पको साइज र तिथि–मिति पूर्वानुमान गर्न विज्ञान सफल भइसकेको छैन । त्यसो त पहिले सन् १८०३, १८३३, १९०५ र १९४७ का भूकम्पहरूले पनि चुरेसम्म चिरा विकसित गरेका थिएनन् र नगरेको भए तापनि तत्काल उक्त क्षेत्रमा ठूला भूकम्प गएका पनि थिएनन् भन्ने भौगर्भिक प्रमाणहरू पनि प्रस्तुत गरिन्छन् । तर नब्बे सालको भूकम्प भनेर चिनिने सन् १९३४ को भूकम्पको मुख्य चिराले भने दक्षिणसम्मै छिचलेको थियो ।

त्यस्तै, यस भूकम्पले जुन ठाउँमा केन्द्रविन्दु बनाएर पूर्वतिर चिरा विस्तार गर्‍यो बैज्ञानिक जगतमा त्यस्तो हुने कुनै अनुमान नै थिएन । बरु, गोरखा र देहरादुनको बीचमा कतै केन्द्रविन्दु बनाएर ८ म्याग्नेच्युडभन्दा ठूलो भूकम्प जान ढिला भइसकेको भूकम्पविद्हरूको जिकिर थियो र वैशाख १२ गतेको भूकम्पले त्यो सम्भावना नटरेको तर्क पनि यथावत् नै छ भन्ने अनुमान छ । भूकम्पको पूर्वानुमान गर्न सक्ने अवस्था नभएकाले भविष्यका कुरा किटानसाथ भन्न सकिन्न । तर भन्न सकिने कुरा के हो भने भूकम्प रोक्न नसकिने, हिँजो भएको, आज भएको र भोलि, पृथ्वी रहँदासम्म हुने भौगर्भिक प्रक्रिया हो । विगत दुई हप्तामा मात्र ल्याटिन अमेरिकी देश इक्वेडरमा ७.८ र जापानको कुमामोतो सहरमा ७ म्याग्नेच्युडका भूकम्पहरू गई धनजनको क्षति भएका समाचार हामीसामु ताजा छन् ।

२०७२ साल वैशाख १२ गतेदेखि २०७३ साल वैशाख ७ गतेसम्मको करिब एक वर्षको अवधिमा पृथ्वीको विभिन्न भागमा रेकर्ड गरिएका भूकम्पहरूको तथ्यांक हेर्दा ८ म्याग्नेच्युडभन्दा ठूलो एक, ७.१ देखि ८ सम्मका १७ वटा, ६.१ देखि ७ सम्मका १०५ वटा, ५.१ देखि ६ सम्मका ११४५ वटा, ४.१ देखि ५ सम्मका १२४७५ वटा देखिन्छन् र यो संख्या अझ धेरै हुने सम्भावना रहन्छ । किनकि, विकट सामुद्रिक तथा स्थलीय भागका थुप्रै भूकम्पहरू रेकर्ड नभएका हुन सक्छन् । एक वर्षमा ४ म्याग्नेच्युडभन्दा साना भूकम्पहरू लाखौं हुन्छन् तर तिनको असर कम हुने हुँदा लेखाजोखा गरिन्न ।

तसर्थ, भूकम्प रोक्न र पूर्वानुमान गर्न नसकिने अनिवार्य भौगर्भिक प्रक्रिया भएकाले हामीले भूकम्पबाट बंच्ने विधि अवलम्बन गर्नु सर्वोत्तम उपाय हो । यस सन्दर्भमा जापानको प्रसङ्ग उपयुक्त हुन्छ किनकि जापान संसारको सबैभन्दा बढी भूकम्पीय जोखिममध्येको देश हुनुको वाबजुद पनि विश्वकै विकसित देशको रूपमा स्थापित छ । यो कसरी सम्भव भयो त ? नेपालले सिक्नुपर्ने कुरा र ठाउँ यहीँ छ, जमिनको पहिचान गरी सुरक्षित आवास र संरचना बनाउनुका साथै भौगर्भिक प्रक्रियालाई राम्रोसँग बुझ्ने र भौगर्भिक ज्ञानको सदुपयोग गर्ने ।

भूकम्पको भौगर्भिक प्रभाव
माथि उल्लेखित १५० किमिदेखि ६० किमिको चिरा र जमिन सरेको, माथि उठेको, धस्सिएको आदि आँखाले नदेखिने जमिनमुनिका भूकम्पका प्रभाव हुन् । त्यसको अलवा भूकम्पको कारणले करिब ५,००० को हाराहारीमा पहिरा गएका विवरणहरू जानकारीमा छन्, त्यो अझ बढी हुनसक्छ । ती पहिराहरूबाट गाउ‘–बस्ती, बाटाघाटा, सडक तथा अन्य पूर्वाधार क्षेत्र अत्यन्त प्रभावित भए र अझै प्रभावित छन् । भूकम्पपछिको वर्षात्को समयमा ती पहिराहरूले अझै भयानक रूप लिने र थप क्षति बेहोर्नपर्ने डर भए तापनि भाग्यवस त्यस्तो अवस्था भने आएन । तर त्यसको अर्थ अब ती पहिराहरू सदाका लागि रोकिए भन्ने किमार्थ होइन । आउँदा वर्षहरूमा ती पहिराहरू थप संहारका कारण बन्न सक्छन् । २०७२ को वर्षात्मा धेरै पानी नपरेकाले पनि पहिराको अवस्था सुसुप्त रहेको हुनसक्छ । यी यथार्थलाई बुझी बेलैमा पहिराहरूको पहिचान गर्नुमा नै सबैको कल्याण हुनेछ ।

पहिराका साथसाथै भूकम्प प्रभावित क्षेत्रका जमिनमा, विशेष गरेर डॉडा र डिलहरूमा, लामा–लामा चिराहरू विकसित भएका छन् (यी चिराहरू भनेका माथि उल्लेखित सतहबाट १५ किलोमिटर मुनिको मुख्य चिरा नभई कम गहिराइका चिरा हुन्) । बारपाकको मान्द्रेदेखि लाप्राकसम्म करिब निरन्तरजस्तो चिरा देखिन्थ्यो । गोरखा जिल्लाका अधिकांश माथिल्ला भागमा यो स्थिति छ । यस्ता प्रभावहरू केन्द्रविन्दु भएको बारपाकको पूर्व मात्र छ भन्ने बुझिएको हुनसक्छ तर पश्चिम भागमा रहेका मुच्चोक, घ्याच्चोक, खरीबोट र हंसपुर गाविसहरूमा पनि बारपाकको पूर्वपट्टिजस्तै छ, यो प्रभाव । गोरखा जिल्लाका अधिकांश माथिल्लो भागका साथै सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, धादिङ जिल्लाहरूको स्थिति पनि फरक छैन । गोरखाको गुम्दा–लप्सीबोट र सिन्धुपाल्चोकको दुगुनागडीमा जमिन चौटा–चौटा भएको देख्दा जो–कोही भावविह्वल हुन्छ । यस्ता ठाउँहरूमा कहाँ घर बनाउने कहाँ नबनाउने भन्ने कुरा स्थानीय जनताले भौगर्भिक अध्ययनबिना निर्णय लिन सक्ने कुरा होइन । यसरी विवरण दिनुको आसय भूकम्पबाट प्रभावित क्षेत्रका सबै भाग असुरक्षित छन् भन्ने होइन, सुरक्षित ठाउँहरू पनि छन् र तिनको पहिचान गरी पुनर्निर्माण गर्नुपर्दछ भन्ने हो ।

अर्को जटिल पक्ष वर्षात्पछि पुन: चिरा परेका ठाउ‘हरूमा पुग्दा वर्षात्को पानीका कारण चिराहरूमा माटो भरिएर चिन्नै नसक्ने अवस्था देखियो । त्यसको अर्थ अब ती चिराहरूको असर सकियो भन्ने होइन । चिराहरूको गहिराइ तथा अन्य बिवरणको कुनै लेखाजोखा नगरिएकाले भविष्यमा त्यसले कस्तो रूप लिने हो भन्ने कुरा अज्ञात नै छ । कतिपय चिराहरू दरार (फल्ट) को रूपमा विकसित अवस्थामा पनि छन्, जहाँ पछि लामो समयसम्म हलचल हुनसक्छ । यदि त्यस्तो ठाउ‘मा बिनापहिचान पुनर्निर्माण गर्दा के होला स्थिति ? यदि चिराहरूको बाटो भएर पहिरो जाने हो भने सयौं गाउ‘हरूले भविष्यमा थप दुर्दशा बेहोर्नुपर्ने हुनसक्छ । विषय गम्भीर भए पनि भूकम्पपछिको एक वर्ष बित्दा हामीले गाम्भीर्यता बुझ्न चाहेनौं कि जस्तो लाग्छ ।

पुनर्निर्माणको प्रसंग
भूकम्पलगत्तै द्रुत भौगर्भिक अध्ययनमा संलग्न भूगर्भशास्त्रीहरू देश र जनताको सेवामा जुट्न तयार देखिन्थे तर जुटाउने इच्छाको अभाव खड्कियो । भूकम्प पुनर्निर्माण प्राधिकरणले पूर्ण क्षति भएका घरहरूको जग निर्माणका लागि अनुदान सहयोग उपलब्ध गराउन थालेको वर्तमान अवस्थामा जग लगाउने जमिनको भौगर्भिक अध्ययनमा ढिलाइ हुनु पुनर्निर्माणको खट्किएको पक्ष देखिन्छ । ठूलो भूकम्पपछि नेपालजस्तो पछौटे मुलकमा स्थिति अस्तव्यस्त हुन्छ नै, नाकाबन्दीले पनि थप पिरल्यो तर समय भने एक वर्ष घर्किसकेको छ । यो वा त्यो बहानाको सुविधा लिने समय अब छैन । भूकम्पपीडितले वर्षात्को पानी झेले, हिउ‘दको जाडो झेले र अर्को वर्षात्ले ताउरमाउर गर्ने बेला भइसक्यो । पुनर्निर्माणको पुराण लाग्न थालेको लामो समय भइसक्यो तर अब यसमा जुट्न कुनै हालतमा पनि ढिला गर्न हुँदैन ।
अधिकारी नेपाल भौगर्भिक समाजका अध्यक्ष हुन् ।

प्रकाशित : वैशाख ११, २०७३ ०८:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कालो सूचीबाट हटाउन ‘पाटा’ले सघाउने

कान्तिपुर संवाददाता

काठमाडौं — प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पर्यटन बजार उठाउन ५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

बिहीबार लाजिम्पाटमा सम्पन्न ४० औं वार्षिक साधरणसभामा पाटा च्याप्टरले भूकम्प र नाकाबन्दीपश्चात शिथिल बनेको पर्यटन उद्योग पुनरोत्थानका लागि छिमेकी मुलुक भारत र चीनमा बजार प्रवद्र्धन कार्यक्रम गर्ने भएको छ ।
अध्यक्ष सुमन पाण्डेका अनुसार पाटाले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम सुदृढीकरण तथा नागरिक उड्डयनतर्फ कालो सूची हटाउने र विमानस्थलको सेवा सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने विषयलाई प्रतिबद्धतामा समेटेको छ ।
ट्राभल र टुरसँग जोडिएका व्यवसायीहरू पाटाको कार्यक्रममा पुगेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा पर्यटन रहेको बताउँदै प्रवद्र्धनका लागि ल्याइएको विशेष कार्यक्रमको प्रशंसा गर्दै राजनीतिक स्तरबाट सघाउने बताए ।
उनले आर्थिक विकासबिना देश सफल नहुने भन्दै राजनीति अब आर्थिक क्रान्तिमा मोडिनुपर्ने बताए । ‘पर्यटन मूल आधार मात्र हैन, यो मुलुकको ड्राइभिङ इन्जिन हो,’ उनले भने, ‘कृषिपछि पर्यटनले नै देशलाई उकास्न सक्छ ।’ कार्यक्रममा पर्यटन व्यवसायी मेघ आलेलाई यस वर्षको पाटा पर्सनालिटी अफ दि इयर २०१६ अवार्ड प्रदान गर्दै नेता नेपालले नेपाललाई हिन्दु र बुद्धिस्टको मक्का मदिना बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने भनाइ राखेका थिए ।
कार्यक्रममा संसदको अर्थ समितिका सभापति प्रकाश ज्वालाले अहिले बजेट निर्माण चलिरहेकाले पर्यटन पुनरोत्थानका लागि आगामी आर्थिक वर्षको बजेट पर्यटनमैत्री बनाउन सुझाए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धनका लागि बोर्डले योजनाबद्ध कार्यक्रम ल्याउने बताए । कार्यक्रममा अध्यक्ष पाण्डेले पर्यटन पुनरोत्थानका लागि अन्तर्राष्ट्रिय संस्थाहरूको साझेदारीमा पाटाले विशेष प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको जानकारी गराए ।
पाटाका पर्यटनविज्ञ क्यानेडियन ओलिभर मार्टिनले प्यासिफिक एसिया क्षेत्रमा पर्यटन प्रवद्र्धनको आगामी रणनीतिक कार्ययोजना प्रस्तुत गर्दै वार्षिक ९ प्रतिशतका दरले वृद्धि भइरहेको पर्यटन बजारबाट छिमेकमा रहेका चीन र भारतबाट केही हिस्सा नेपालले लिन सक्ने सम्भावना रहेको प्रस्तुति गरेका थिए ।

प्रकाशित : वैशाख ११, २०७३ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT