डाक्टर साब

अखण्ड भण्डारी

काठमाडौं — टाउको हल्का दुख्यो भने पनि अचेल डाक्टर चाहिन्छ । पेट गडबड गर्नु हुँदैन, दौडाएर अस्पताल पुर्‍याउनुपर्छ । घरैपिच्छेजस्तो अस्पताल छन्, ऐय्या–आत्थु गर्दै बस्ने कुरा पनि भएन । त्यसमाथि हाम्रो शरीर जन्मिएदेखि नै खानाजत्तिकै औषधीमय भइसकेको छ, त्यही नलिई अब रुघासम्म निको हुँदैन ।

डाक्टर साब

त्यसैले हरेकलाई पलपलमा नभई नहुने साथी हुन् डाक्टर साब । आउनुहोस्, तिनै डाक्टर साबका प्रकारमाथि एकछिन् चर्चा गरौं ।

१. लोकप्रिय डाक्टर साब– हामीकहाँ नभएका होइनन्, धेरै गतिला डाक्टर छन् । लोकप्रिय छन् । क्षमतावान् छन् । कुनै विशेष परिस्थितिमा ती अपरिहार्य छन् । त्यस्ता डाक्टर साबहरू क्रमश: व्यावसायिक पनि बनेका छन् । तीमध्ये अधिकांशका आफ्नै महँगा अस्पताल छन् । त्यहाँ जस्तातस्ताले आँट्न सक्दैनन् । मूल कुरो राज्यले तिनलाई सरकारी अस्पतालमा रोक्न सकेन । उनीहरूको जीवनस्तर सुहाउँदो सेवा/सुविधा, भूमिका र इज्जत दिन सकेन । फलत: उनीहरू आफ्नै संसारमा रमाउन थाले । त्यसैका लागि आफूलाई महँगा बनाए । ती सर्वसाधारणको पहुँचभन्दा टाढा छन् ।

२. एजेन्ट डाक्टर साब– केही यस्ता डाक्टर छन्, जो सरकारीमा काम गर्छन्, निजी पनि चलाउँछन् । सरकारीमा आएका बिरामीलाई कुनै न कुनै बहानामा उता धकेल्छन् । शल्यक्रियाको मितिसमेत सरकारीमा एक वर्षपछि तोक्छन् । निजीमा जान बाध्य पार्छन् । तिनै डाक्टरले उता पुर्‍याएर एक साताभित्र शल्यक्रिया गरिदिन्छन् । बिरामी बटुल्न सरकारी जागिर दुरुपयोग गर्छन् । पैसा बटुल्न निजी व्यवसाय । सस्तो र नि:शुल्क भनिएका अस्पतालबाट सर्वसाधारणले त्यो सेवा लिन नपाउने कारण नै त्यस्ता डाक्टर साब हुन् ।
३. कमिसन डाक्टर साब– कतिपय डाक्टरको ध्यानै ‘कमिसन’ मा हुन्छ । औषधी सिफारिस गरेको, ल्याबमा लेखिदिएको सबैतिरबाट निश्चित मात्रा आउँछ । जति धेरै परीक्षण गरायो वा जति महँगा औषधी चलायो, उति कमाइ बढी हुन्छ । त्यहीबाट लोभिन्छन् डाक्टर साबहरू । फलत: बिरामीले अनावश्यक परीक्षण गर्नुपर्ने, नचाहिँदा औषधी खानुपर्ने, सस्तोले हुनेमा महँगो तिर्न बाध्य हुनुपर्ने स्थिति छ ।

४. टापटिपे डाक्टर साब– केही डाक्टर यस्ता
हुन्छन्, जसको ध्यान सरसामान टिपटापमा हुन्छ । सरकारी सुविधाका औषधी/वस्तुहरू बाहिर पसलमा पुर्‍याउँछन् । यहाँसम्म कि शल्यक्रियामा यति धेरै सामान मागिन्छ, जुन अधिकांश अस्पतालले आधाउधी मात्र प्रयोग गर्छन् भनेर त्यहीं कार्यरतहरू सुनाउँछन् । ती पुन: पसलमै पुग्छन् ।

५. नेम प्लेटधारी डाक्टर साब– कतिपय क्लिनिक, औषधी पसल वा निजी अस्पतालमा हेर्नुभयो भने डाक्टरका नामसँग दर्जनभन्दा बढी विशेषण जोडिएका हुन्छन् । त्यही देखेर बिरामी लोभिइन्छन् । राख्नुको लक्ष्य पनि त्यही हो । त्यस्तै आफूलाई ‘अब्बल’ देखाउनेमध्ये कतिपय नक्कली फेला परेका उदाहरणसमेत छन् ।

६. व्यस्त डाक्टर साब– केही डाक्टर राम्रा छन्, इमान्दार छन् । कुनै लोभ–लालचमा पर्दैनन् । सरकारी पदको भने ती भोका छन् । पद पाएपछि पेसाभन्दा प्रशासनले अल्झाउँछ । कोही आन्दोलन गरेर अधिकांश समय सक्छन् । बिरामी हेर्न भ्याउँदैनन् । तिनको विज्ञताको फरक उपयोगिता मात्र भइरहेको छ । उपचारमा अति कम छ ।

७. इमानदार डाक्टर साब– क्षमता, दक्षता, अनुभव सबै भएका इमानदार डाक्टर देशमा नभएका होइनन् । तिनको छुट्टै क्लिनिक छैन । आफ्नै अस्पताल छैन । सरकारले खटाएको ठाउँमा जान्छन्, बिरामीको सेवामा रमाउँछन् । तिनको राजनीतिक पहुँच हुँदैन, शक्तिको नजिक हुँदैनन् । परिणाम ती पाखा लगाइन्छन् । धेरैभन्दा धेरै बिरामीको सेवा गर्ने ठाउँ नै पाउँदैनन् । कसरी लाभ लिऊन् सर्वसाधारणले ?

८. होइनन् डाक्टर साब– कतिपयलाई सबैले डाक्टर साब भन्छन् । वास्तवमा ती डाक्टर होइनन् । आफैं ‘होइन’ भन्दैनन् । डाक्टरसरह काम गर्छन् । सबैले पत्याउँछन् । अहेब, नर्सदेखि जिल्लाका अस्पतालका पियनसम्म यो वर्गमा पर्छन् । तिनको डाक्टरी पनि निकै बिकेको छ ।

...

विकृतिको मूल कारण रहेछ– नेपालको मेडिकल शिक्षा । यो महँगो छ । देख्दा मेडिकल कलेजका कोटा घटिरहेका छन्, शुल्क झरिरहेको छ । भित्रभित्र पहिलाभन्दा धेरै उठाउने गरी लेनदेन भइरहेको छ । जसको भार अभिभावकको काँधमा छ । हल्ला गरौं, छोरा/छोरीको डाक्टर पढ्ने अवसर गुम्ने । शुल्कको लिलाम बढाबढ चलिरहेको छ । सरकारचाहिँ जनतालाई मूर्ख बनाएर भन्छ– डा. गोबिन्द केसीको आन्दोलनले स्वास्थ्यमा गतिलो थिति बसिसकेको छ । अनि, ‘बुद्धिजीवीहरू’ थप्छन्– अब एकदुई वटा अनसन बसिदिए भने यो क्षेत्र पूरापूर विकृतिरहित हुनेछ ।

महाखर्च गरेर बन्ने डाक्टरको सरकारी तलब भने अति कम छ । लप्पनछप्पन नगरे जिन्दगीभरि पढाइ खर्च उठाउनै हम्मे पर्छ । विकृतिका जड पढाइमा प्रतिस्पर्धाभन्दा नियतवश ‘कार्टेलिङ’ गराइनु, जनशक्तिको आर्थिक मूल्यांकन नहुनु, सेवा क्षेत्रलाई नाफामूलक व्यवसायभन्दा छुट दिइनु, नीति/नियम/अनुगमन फितलो हुनु मुख्य हुन् । घर–घरमा चलाइएका अस्पतालतिर कसैको नजर परेको छैन । तिनले गुणस्तरको ‘ग’ सम्म पालना गरे/नगरेको कसैले हेरेको छैन । कोठा–कोठामा राखिएका क्लिनिकमा सरकार पुगेकै छैन । मेडिकल कलेजलाई नियमन गर्नेतर्फ सुगा रटाइ कुरा हुन्छ, अन्य स्वास्थ्य संस्था चटक्कै बिर्सिइन्छ । त्यही भएर धेरैथरि डाक्टर साब थपिइरहेका हुन् । खोज्दै जानुभयो भने जँचाउने कोही पाउनुहुन्न । किनकि, राम्रा डाक्टर हाम्रा (सर्वसाधारणका) छैनन्, हाम्रा डाक्टर राम्रा छैनन् ।

प्रकाशित : जेष्ठ १०, २०७३ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?