व्याकरणीय अपराध : मूलै सुक्छ कि ?

प्रा. विद्यानाथ कोइराला

काठमाडौं — लिपि हुन्छन् । बन्छन् । बनाइन्छन् । देवनागरी स्वार्जित लिपि हो । रोमन बनेको लिपि हो । थाई बनाइएको लिपि हो । देवनागरी लिपि नादबाट जन्मियो । नाद धुन हो । नाद ब्रह्म भनेको पनि त्यही हो । अर्थात् आफ्नो शरीरको धुन आफैंले सुन्नु । त्यसैमा रमाउनु नाद ब्रह्म हो । नादबाट शब्द बन्छ । नटेश्वर शिवले त्यसै गरे । शिव नादबाट १४ कोटी (थरी) का शब्द निस्किए– अ, इ, उ, ण, ऋ, लृ क आदि ।

यी निस्किएका शब्द नै शब्द ब्रह्म हुन् । ध्यानस्थले सुन्ने शब्द तिनै हुन् । यी नाद र शब्दहरूलाई एकसाथ झंकारित गर्ने अक्षर ॐ हो । त्यसैले ॐ आफैंमा नाद ब्रह्म हो । शब्द ब्रह्म हो । मान्त्रिक एवं तान्त्रिकहरूको चिन्तनमा नाद र शब्दले गति दिन्छ । ॐले गतिलाई झंकरित गर्ने तागत दिन्छ । यस अर्थमा ॐ ब्रह्म ऊर्जा तान्ने एकल नाद हो । शब्द हो । ऋग्वेदको पहिलो मण्डल त्यसै भन्छ । शिवले निकालेका १४ कोटीका शब्दमा क्रमबद्धता छ । फोनिक्स छ । संकेत (नोटेसन) छ । संगीत छ । 

धड्कन (दभवत) छ । अनि नाचको ताल छ । अर्थात् शब्द, गीत, संगीत, संकेत, धुन, धड्कन, नाच, ताल आदि सबै १४ कोटीकै अक्षरमा गुम्फित छन् । त्यसैबाट बन्छन् । त्यही नमिले ताल भंग हुन्छ । शब्द भंग हुन्छ । लय भंग हुन्छ । क्रम भंग हुन्छ । यी कुरालाई हृदयंगम गरी पाणिनीले शिव प्रदत्त शब्द ब्रह्मलाई लयबद्ध गरे । चारवटा संयुक्त स्वर पनि राखे । अनि १८ कोटीका स्वर अक्षर पारी लयबद्ध गरिएका अक्षरहरूका नाम हो, बाह्रखरी । अर्थात् शब्दहरूको ध्वनिको प्रस्तुति बैखरी हो । बैखरी ऋग्वेद (१०–२५) को शब्दमा वाक शक्तिकै अभिव्यक्ति हो । बोलीचालीमा बाह्रखरी भयो । शास्त्रीय शब्द बैखरी हो । त्यही नाद मासिए अर्थ लाग्छ त ? नाद ब्रह्मवाला भन्छन्– लाग्दैन । लाग्यो भने देवनागरीको मूल जरो टुट्छ । उनीहरूको विचारमा अर्थ गर्नेले त भाव ब्रह्मका कुरा गर्छन् । मानसिक कुरा । काल्पनिक कुरा । त्यसैमा मक्ख पर्छन् । सापेक्ष अर्थ लगाउँछन् । यसो हुँदा देवनागरीको मूल सुक्छ । अर्थको अनर्थ लाग्छ । देवनागरी लिपिको प्रयोग भएका वैदिक वाङ्मय बचाउन पुर्खाले षट्कोण (सरस्वती कोण) को एउटा कोणमा शिक्षा राखे । पुख्र्यौली शब्दमा शिक्षा नै व्याकरण हो । वैदिक वाङ्मयको अर्थान्तर हुन नदिन ।

तान्त्रिक र मान्त्रिकहरूले यो चिन्तनको विस्तार गरे । उनीहरूले भने– मानव शरीरमा ७२ हजार ऊर्जावाहक नाडी छन् । तिनका सन्धि हुन्छन् । मर्मस्थान हुन्छन् । चक्र हुन्छन् । दुई नाडीका ऊर्जा जोडिएको ठाउँ सन्धि हो । तीन नाडीको ऊर्जा जोडिएको ठाउँ मर्मस्थान हो । तीनभन्दा बढी नाडीहरूको ऊर्जा मिल्ने ६ वटा ठाउँको नाम चक्र हो । चक्र भनेको ऊर्जा सञ्चालन केन्द्र हो । योनि क्षेत्रमा मूलाधार चक्र हुन्छ । पेट क्षेत्रमा स्वाधिष्ठान चक्र । छाती क्षेत्रमा मणिपुर चक्र । घाँटी क्षेत्रमा अनाहत चक्र । आँखीभांै क्षेत्रमा आज्ञा चक्र । तालु क्षेत्रमा सहश्र चक्र । प्रत्येक चक्रको आआफ्नै मूल ध्वनि हुन्छ । त्यहाँ भएका अरू नाडीले त्यही ध्वनि पछ्याउँछन् । मूलाधारको ध्वनिमा चिपचिप गर्ने नाद हुन्छ । स्वाधिपठानमा चञ्च गर्ने । मणिपुरमा घन्ट ध्वनि हुन्छ । अनाहतमा बाँसुरी नाद वा ध्वनि हुन्छ । आज्ञा चक्रमा हं अं, क्षं, ॐ नाद हुन्छ । सहश्र चक्रमा ज्ञानको स्फुरण हुन्छ । नाद हराउंँछ । देवनागरीको मूल जरो नै हराउँछ । 

जरो जोडिएको बाह्रखरी 
मान्त्रिकमा कुण्डलिनी जगाउने मान्त्रिक क्षमता छ । तान्त्रिकमा पनि त्यही क्षमता छ । लौकिक अर्थमा सन्धि, मर्मस्थान र चक्रमा भएका नाडीहरूको ऊर्जा क्रियाशील बनाउने विधिको नाम जगाउनु हो । स्वर र व्यञ्जन दुवै खाले अक्षरबाट ती ऊर्जाहरू जगाइन्छन् । त्यसैले तान्त्रिक एवं मान्त्रिकको ज्ञानमा स्वर एवं व्यञ्जनवर्णले कुन–कुन ऊर्जा कहाँबाट जगाउने ठाउँहरू उल्लेख गरिएका छन् । निधारको ऊर्जा ‘अ’ अक्षरले चलाउँछ । ‘आ’ अक्षरले अनुहारको । ‘क’ अक्षरले दायाँ काँधको सन्धिको ऊर्जा चलाउँछ । ‘ख’ले दाहिने कुहुनाको । यसरी बैखरीका सबै अक्षरको तान्त्रिक र मान्त्रिक हुन् । ऊर्जा प्रवाहित गर्ने कडी हुन् (अनुसूची हेर्नुहोस्) । यसको अर्थ हो– एउटा नाद छुट्ता नाडीको एउटा विन्दुमा ऊर्जा पुग्दैन । बढी हुन्छ । निष्क्रिय हुन्छ । 

बढी सक्रिय हुन्छ । मन्त्र लाग्दैन । थोते व्यक्तिले मन्त्र गर्दा लाग्दैन भन्ने कुराको गुत्थी यही बुझिन्छ । मन्त्र नहुने अक्षर हुन्न भन्ने कुराको झड्को मिल्छ । ध्यान गर्नेले किन मन्त्र जप्दो रहेछ भन्ने थाहा हुन्छ । मन्त्र नजपे नाद सुन्न खोज्दो रहेछ भन्ने बुझिन्छ । शब्द सुन्न किन जाग्रत बन्दो रहेछ भन्ने कुराको भेउ पाइन्छ । अनि नाद र शब्द ब्रह्मभन्दा पर पुग्दा स्थितप्रज्ञ भइसकिन्छ भन्ने कुराको रहस्य थाहा हुन्छ । 

अक्षर चलाउनेको अपराध 
तालव्य ‘श’ किन चाहियो ? मूर्धन्य ‘ष’ किन चाहियो ? शहीद सहीद बनाए भैगयो नि ? शर्मा सर्मा लेखे बुझियो नि । विज्ञहरूले तर्क गर्‍यौं । तर्क कुतर्क बन्यो । वितर्क बन्यो । अब वितण्डा बोक्तै छौं । ताना सर्माले स्वीकार्नुभयो । शर्मा आराध्य हुने रहेछ । सर्मा कुकुर हुने रहेछ । राज नबुझ्दा भाषाविज्ञ हुनुहुन्थ्यो । बुझ्दा अज्ञ हुनुभएको हो त ? मान्त्रिक एवं तान्त्रिक ज्ञाताको शब्दमा तालव्य ‘श’ले मुटुदेखि दाहिने हातसम्मका नाडी, सन्धि, मर्मस्थान र चक्र झंकरित हुन्छ । दन्त्य ‘स’ले चाहिंँ मुटुदेखि दाहिने खुट्टाको बुढीऔंलासम्मको भाग झंकरित हुन्छ । मूर्धन्य ‘ष’ झिक्ता मुटुदेखि बायाँ हातसम्मको क्षेत्रमा ऊर्जा प्रवाह घट्छ । मान्त्रिक हिसाबमा त्यस क्षेत्रमा मन्त्रको असर पर्दैन । तन्त्रको असर पर्दैन । 

ध्वनिमा पनि देवनागरी अक्षरले त्यही सन्देश बोकेको हुन्छ । इन्द्रोशत्रु विवर्धस्व:, इन्द्रशत्रु विवर्धस्व: । पहिलोले इन्द्रको शत्रु नाश गर्ने प्रार्थना गर्छ । दोस्रोले इन्द्र नै शत्रु भन्ने बुझाउँछ । फूल र फुलले त्यही ध्वनिको सन्देश दिएको थियो । अहिलेका भाषाविदहरूले एउटै बनायौं । कति राम्रो अपराध गर्‍यौं, ध्वनिभेद बुझेको देवनागरी लिपिलाई । 

आपराधिक वितण्डा
तर्कका आधारहरू सहज छन् । जनजिब्रोले मान्दैन । प्रश्न त्यहीं आयो– कसको जनजिब्रो ? मै घर झानु (म घर जान्छु) । यो बैतडीको नेपाली हो । तिनको बोलीमा मानक जनजिब्रो कुन हो ? सायद उत्तर छैन, भाषाविज्ञसँग । भए कुतर्क होला । वितर्क होला । वितण्डा होला । अर्को तर्क छ, उहाँहरूको विश्वविद्यालय छुट्टै हो । विश्वविद्यालय र विश्व विद्यालयको अर्थ एउटै हो र ? हुन्छ र ? बुद्ध सही लेखाइ हो र ? बुर्दध झनै शुद्ध हो र ? बुद्ध र बुद्धि अशुद्ध हुन् र ? विद्यालय शुद्ध हो र ? विद्यालय अशुद्ध हो र ? कसले भनिदिने ती भाषाविज्ञलाई ‘द्’ र ‘ध’ जोडेर ‘द्ध’ बनेको हो भनेर । ‘द’ र ‘य’ जोडेर ‘द्य’ बनेको भनेर । पुख्र्यौली शब्दमा नाडीहरू सन्धि बनिसकेको अवस्था हो यो । सन्धिहरू मर्मस्थान बनिसकेको अवस्था हो यो । मर्मस्थानहरू चक्र बनिसकेको अवस्था हो यो । 

जुन भाषामा पनि शब्द र ध्वनिहरू परिवर्तित हुन्छन् नि । बनेका भाषामा ठीक होला । बनाइएका भाषामा ठीक होला । तर देवनागरी त बने–बनाइएको लिपि हैन नि । त्यो त भएको लिपि हो । नाद–शब्द र ब्रह्रमलिपि । विज्ञहरूको तर्क पनि ठीक होला । पश्चिमा भााषाविदका सिद्धान्त पढ्दा । युनिकोडबाट देवनागरी लिपि टाइप गर्दा । तर हामी अर्कै हौं भन्ने बुझ्ने र बुझाउने कसले हो ? नाद ब्रह्मबाट शब्द ब्रह्म जानेका हामीले हैन र ? शब्द ब्रह्मबाट अक्षर ब्रह्म बुझेका हामीले हैन र ? अविनाशी ब्रह्म बुझेका हामीले हैन र ? क्षर (नाशवान) ब्रह्म बुझेका पश्चिमी भाषाविदको बुद्धि बोकेर देवनागरी लिपिमा खेल्दा के होला ? युनिकोडबाट देवनागरी लेख्ता रोमन लिपिको भजन त हुन्छ । भियतनामीलाई बाध्य पारेजस्तो । गुरुङको खेमा लिपिमा रोमन लिपिवालाले धावा बोलेजस्तो । रोमन लिपिमा देवनागरी पढ्न त सकिएला, तर आफ्ना पुर्खाको तत्त्वज्ञान बुझ्न चाहने भोलिका सन्ततिले के भन्लान् ? समकालीनहरूकै कुरा के होला ? यस मानेमा व्याकरणीय अपराध भएन र ? 

स्रोतहीन मतियारा 
जरो काटिएको पाठ्यपुस्तक र शब्दकोश छापी देशभर पुर्‍याउने प्राज्ञ, भाषाविद, राजनीतिज्ञ र कर्मचारी एकसाथ देवनागरी लिपिमा खेलाँची गर्ने स्रोतहीन मतियारा बन्न पुग्यौं । निहित स्वार्थले । बाध्यताले । अज्ञानताले । दबाबले । कसैको इसाराले । मूल जरोमा पुग्ने क्षमताको अभावले । मन्त्र र तन्त्र भनेको हावा कुरा हुन् भन्ने मानसिकताले । ब्रह्म, ब्रह्माण्ड र लिंग (शरीर) एउटै तत्त्वले बनेको छ भन्ने पुख्र्यौली गुढज्ञानमा नपुगेकाले । पश्चिमी भाषिक सिद्धान्तमा अभ्यस्त भएकाले । उनैको ढंग नै ठीक ढंग हो भन्ने ‘कम्प्राइडोर बुर्जुवा’को दिमागी बनौटले । अभ्यस्त पश्चिमा बन्ने रहरले । अथवा अन्य कारणले ? जे भए पनि हामी देवनागरी लिपिको गहिराइमा पुगेनौं । परिणामत: व्याकरणीय अपराधी बन्यौं । अथवा त्यही अपराधको मतियारा बन्यौं । 

झर्रोवाद, खुट्टाकाट जस्ता अभियानहरू आए । गए । ती व्यक्तिगत भुल्का बने । समूहगत भुल्का बने । अहिले चाहिँं संस्थागत व्याकरणीय अपराधको थालनी भयो । 

अर्थात् झर्रोवादमा पाठ्यपुस्तक बनेनन् । प्रामाणिक शब्दकोश निकालिएनन् । अहिले स्कुल र कलेजमा संस्थागत रूपले देवनागरी लिपिमा प्रहार भयो । त्यसका मतियारा सबै बन्ने भयौं । 

संस्कृत वाङ्मयको आँखाबाट अर्को अपराध भयो । किनकि अबको एक दशकमा बुर्दध पढ्नेले संस्कृत शब्द कसरी खुट्याउने ? यस अर्थमा भुटानी सरकारले नेपाली भाषा हटाउन गरेको अहिलेको तरिकाजस्तो भयो । बुढा भुटानी अक्सर नेपाली बोल्थे । नयाँ भुटानी जोङ्खा जान्ने बने । अंग्रेजीका रक्षक नै बने । कतै हाम्रो अहिलेको व्याकरणीय अपराध तथा मतियारीले त्यतै पो लग्यौं कि ? संस्कृत वाङ्मयमा प्रवेशै नदिने साजिस पो गर्‍यौं कि ? भारोपेली परिवारले लेख्ने तिरहुती र कैंथी लिपिमा पनि असर पार्‍यौं कि ? भोट–बर्मेली भाषा समूहको ब्राह्मी र रञ्जना लिपि लेख्ने नेवार समुदायलाई पनि बिथोल्ने प्रयास पो गर्‍यौं कि ? 

सम्भावनाको खोजी 
ताना सर्मा तारानाथ शर्मा भएझैं फर्कने एउटा सम्भावना हो । अर्थात् भुल्के बनिदिने सम्भावना । अर्को शब्दमा भन्दा देवनागरी लिपि खेलाउने प्राज्ञ, भाषाविद, राजनीतिज्ञ र कर्मचारीले गल्ती स्वीकार्नु । मौनी सम्भावना । दोस्रो सम्भावना हो– परिवर्तित 
पाठ्यपुस्तक र शब्दकोशको भाषा र व्याकरणलाई शिक्षणमा सीमित राख्ने । शिक्षक तालिममा जोड्ने । त्यसको अर्थ लगाउने बुद् + धि मिलेर बुद्धि हुन्छ । द्+य जोडेर द्य बन्छ । विश्व+विद्यालय मिलेर विश्वविद्यालय बन्छ । छुट्टै विश्व विद्यालय लेखे विश्व नै विद्यालय भन्ने बुझिन्छ । विश्वविद्यालय लेखे उच्चशिक्षाको शिक्षण थलो भन्ने थाहा हुन्छ ।

यसको अर्थ हो– अहिले बदलिएका पाठ्यपुस्तक र शब्दकोशहरूलाई शिक्षण सामग्री मात्रै मान्ने । शिक्षाको सामग्री नठान्ने । तेस्रो सम्भावना हो– अंग्रेजको तरिका पछ्याउने । देवनागरीको मर्म मार्ने । अनि भन्ने रामको सन्तति ज्याक्सन हुँ । सीताकी छोरी डायना हुँ । यसरी पुख्र्यौली पहिचान फेर्ने । अनि भन्न थाल्ने वेद त अप्रामाणिक हो ।

संस्कृत वाङ्मय त भाषिक सिद्धान्तका आधारमा लेखिएकै छैनन् । चौथो सम्भावना हो– व्याकरणीय अपराध गर्नेहरूलाई उन्मुक्तिको बाटो दिने– म ‘आधुनिक’ देवनागरीमा लेख्छु । नयाँ व्याकरण नै प्रयोग गर्छु । अमेरिकी व्याकरणमा लेखेको नि ! बेलायती व्याकरणमा लेखेको नि ! त्यही बुद्धि नेपालमा पनि लागु गर्ने । अनि भनौं देवनागरीलाई जननागरी बनायौं । संस्कृत वाङ्मय पढ्न रोमन लिपि भित्र्याऔं । तन्त्र र मन्त्रका पूर्वीय बुद्धिलाई बेकम्मा सावित गरौं । त्यसैमा बनेका सनातनी संस्कारहरूलाई तिलाञ्जली दिने ।

पाँचौं सम्भावना हो– भाषिक प्रयोगशालामा नजाँची, पुख्र्यौली मूलमा नपुगी, शब्द र व्याकरण बदल्नेहरूलाई सजाय दिने । अथवा अरूलाई व्याकरणीय अपराध गर्‍यौ भन्ने म जस्ता रुढपन्थीहरूलाई सजाय दिने । निर्णय गर्ने अधिकार समयमा छाडें । संस्कृत वाङ्मयका ज्ञानका वकालतकर्ताहरूमा छाडेंँ । संस्कार र सनातनमा गर्व गर्नेहरूमा छाडेंँ । देवनागरी लिपिका प्रयोगकर्तामा छाडेंँ । 

प्रकाशित : भाद्र १४, २०७३ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

माओवादीको चीन–सन्तुलन

गंगा बीसी

काठमाडौं — नेपालका कम्युनिस्ट घटकहरूको एकतापछि पार्टीको नाम ‘माओवादी’ राख्ने निर्णय आफैंमा चीनबाट प्रभावित थियो । माओवादलाई मान्ने घटकहरूबीच सहमति भएपछि पार्टीको नाम चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओत्सेतुङको नामबाट राखिएको थियो । त्यसरी जन्मिएको पार्टी– माओवादी केन्द्रले अहिले सत्ता चलाउने तेस्रो मौका पाएको छ ।

उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक प्रधानमन्त्री बनेका छन् । अघिल्लो ओली सरकारको बहिर्गमन चीनका लागि सायद सन्तोषजनक थिएन, भलै प्रचण्ड सरकारप्रति पनि उसको प्रतिक्रिया नकारात्मक आएन । 

२०५८–५९ मा सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला नेपालका माओवादीले अध्यक्ष माओको बदनाम गरेको एक चिनियाँ अधिकारीले सार्वजनिक रूपमा बताएका थिए । उसबेला माओवादीले युद्धका लागि अवैध रूपमा तातोपानी नाकाबाट हतियारसमेत भित्र्याएका थिए । हतियार भित्र्याउने क्रममा पक्राउ परेका सिन्धुपाल्चोकका एक नेतालाई पक्राउ गरी चीनले मृत्युदण्डको सजाय दिए पनि शान्ति प्रक्रियामा आएपछि माओवादीको विशेष आग्रहमा चीनले आममाफी दिई नेपाल फर्काएको थियो । 

२०६५ मा माओवादी नेपालको सबभन्दा ठूलो पार्टी बनेपछि चीनसँग उसको सम्बन्धमा तात्त्विक अन्तर आयो । कतिसम्म भने प्रचण्ड प्रधानमन्त्री बन्नासाथ बेइजिङ ओलम्पिकको समापन समारोहमा भाग लिन गए, त्यसबेला उनले भारत जाने परम्परा तोडेको भए पनि त्यो उनलाई महंँगो सावित भयो । अन्तत: तत्कालीन प्रधानसेनापति रुक्मांगद कट्वाललाई पदमुक्त गर्ने निर्णयसँगै प्रचण्डले सत्ता छोड्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भयो । प्रत्यक्ष/परोक्ष रूपमा त्यसबेलाको समीकरण फेरबदलमा भारतको भूमिका थियो । 

समयक्रममा माओवादी नेता एवं हालका अर्थमन्त्री कृष्णबहादुर महराले कांग्रेस नेता रामचन्द्र पौडेलसँगको प्रतिस्पर्धामा प्रचण्डलाई प्रधानमन्त्री पदमा जिताउन कुनै चिनियाँसँग ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भयो, जुन काठमाडौंस्थित भारतीय दूतावासबाट बिभिन्न मिडियालाई बाँडिएको थियो । यो आफंैमा नेपालमा चिनियाँ गतिविधिलाई चुनौती दिने घटना थियो । यसमा माओवादीलाई कमजोर बनाउने र चिनियाँ गतिविधि उदांगो पार्ने उद्देश्य निहित थियो । पार्टीको निर्णयअनुसार महराले चिनियाँसँग रकम मागे पनि त्यसले पार्टी र उनी स्वयंको छविलाई निकै क्षति पुर्‍यायो । भारतले माओवादीको चीन कनेक्सनलाई पर्दाफास गर्ने उद्देश्य निरन्तर राखेको देखिन्छ । केही हदसम्म यसमा ऊ सफल पनि भएको छ । 

कतिपय चिनियाँ उच्च अधिकारीहरू नेपाल आउँदा प्रचण्डको भान्सा, सुत्ने कोठा, बगैंचा, पढ्ने कोठा अवलोकन गर्ने गरेको सुनिन्छ । चिनियाँहरूले आत्मियता देखाउन त्यसो गरेको तर्क पनि गरिन्छ, भलै अरू नेताको निवासमा उनीहरूले त्यसो गरेको पाइन्न । यसबाट मख्ख पर्दै प्रचण्डले चिनियासँग निकै घनिष्ठ सम्बन्ध राख्दै आएका छन् । २०६५ देखि हालसम्म उनले तीनपटक चीनको भ्रमण गरिसकेका छन्, चीनले पनि माओवादीलाई महत्त्व दिएको देखिन्छ ।

२०६५ मा पहिलोपटक सरकारबाट हटेपछि माओवादीको भारतसँग नराम्ररी सम्बन्ध बिग्रियो, त्यसपछि चीनको सहयोग लिएर अघि बढ्ने रणनीति उसले अपनायो । बाहिर खुलेर नआउने चिनियाँ नीतिका कारण चीन र माओवादीको सम्बन्ध देखिनेगरी प्रकट भएन । खासगरी तिब्बतको सुरक्षामा जोड दिँदै आएको चीनले नेपालको आन्तरिक मामिलामा देखिनेगरी गतिविधि गर्ने खुला नीति लिएको छैन । माओवादीले सरकार सञ्चालन गर्दा काम गर्न केही सहज हुने बुझाइ भने उसको छ । चीनले प्रधानमन्त्री प्रचण्डलाई सजिलो र केही अस्थिर नेताका रूपमा चिन्छ । तर प्रचण्डलाई विश्वासमा लिएर जाने उसको नीति बद्लिएको छैन । 

आर्थिक क्रान्तिलाई अघि बढाउने चिनियाँ नीतिलाई माओवादीले आत्मसात गरेपछि चीन सन्तुष्ट देखिन्छ । सरकारबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमनबाट चिनियाँहरू त्यति सन्तुष्ट देखिएनन् । तर देखिनेगरी असन्तुष्टि सार्वजनिक गरेनन् । फेरि भने, ‘हामी नेपालमा स्थायित्व होस् भन्ने चाहन्छौं ।’ यो उसको कूटनीतिक जवाफ थियो । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले हालै भएको चीन भ्रमणमा ओली सरकार परिवर्तन गर्नुको चित्तबुझ्दो जवाफ उच्च अधिकारीलाई दिन सकेनन् । बरु उनले चीनसँग भएका सहमतिलाई यो सरकारले निरन्तरता दिने प्रतिबद्धता जनाएर स्वदेश फर्के ।

प्रधानमन्त्री प्रचण्डले गतसाता आफ्ना उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधिलाई भारत र महरालाई चीनको भ्रमणमा पठाएर दुई छिमेकीलाई सन्तुलनमा राख्ने पहिलो प्रयास गरेका थिए । यी दुई भ्रमणमा दुई भनाइ आए– चीनले स्थायित्वमा जोड दियो भने भारतले मधेसी दललाई सहभागी गराउन संविधान संशोधनमा सघाउने जनायो । चीन भ्रमणमा उपप्रधानमन्त्री महराले पारवहन सन्धि, केरुङ–काठमाडौं रेलसेवा विस्तार, नेपालका परियोजनाहरूमा चिनियाँ लगानी र महत्त्वका साथ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषय राखे । चीनका तिब्बत लगायत चासोका विषयलाई यो सरकारले ख्याल गर्ने प्रतिबद्धतासमेत गरेका थिए । उनको प्रतिबद्धताबाट चीन कति सन्तुष्ट भयो, आगामी व्यवहारले प्रस्ट पार्ला । 

अर्का उपप्रधानमन्त्री निधि प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवा समेतको सन्देश लिएर दिल्ली गएका थिए । भारतको प्रमुख चासोचाहिँ मधेसी लगायत असन्तुष्ट दललाई विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा थियो । निधिले मधेसी दललाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धतामात्र जनाएनन्, संविधान संशोधनमा भारतको सुझावसमेत लिए । यद्यपि संविधान संशोधनको विषय नेपालको आफ्नै आन्तरिक मामिला भए पनि यसलाई भारतसँगको सम्बन्धको एउटा अंग बनाउनु के–कति उचित हो, यसबारे बहस हुँदै जानेछ ।

संविधान जारी हुने बेला शुभकामना नदिई ‘नोट’मा गरी असन्तुष्ट जनाएको भारत भने ‘आफ्नो अनुकूल’ संविधान संशोधन तत्कालै होस् भन्ने चाहन्छ । नेपालको प्रमुख राजनीति परिवर्तनमा चीनको भन्दा आफ्नो हात माथि होस् भन्ने उसको चाहना पनि लुकेको छैन । संविधान जारी हुने बेला उसको चाहना पुरा भएको थिएन । भारतको भूमिकामा प्रचण्ड सरकार बने पनि आप््mनो अनुकूल काम हुनेमा ऊ अझै विश्वस्त हुनसकेको छैन । नेपाल टेलिभिजनबाट केही दिनअघि प्रसारण हुने सर्वसाधारणसँग प्रत्यक्ष कुराकानीमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं तराई दु्रतमार्ग आफैंले बनाउने बताए, यसमा भारतको चासो रहँदै आएको थियो । उनको यो अभिव्यक्ति भारतका लागि अप्रिय हुनसक्छ । 

कूटनीतिक हिसाबले प्रचण्डका लागि दुई देशबीच सन्तुलन कायम गर्न निकै कठिन हुने देखिन्छ । पहिलो औपचारिक भारत भ्रमणमा सहमति गर्दा चीनको चासोलाई ख्याल गर्छन्/गर्दैनन्, महत्त्वपूर्ण कुरा हो । किनभने भारत वा चीनसँग हुने सम्झौताले नेपालका साथै दुबै छिमेकीसँगको सम्बन्धमा माने राख्छ । 

यस पटक प्रधानमन्त्री प्रचण्डलाई भारतसँग बिग्रिएको सम्बन्ध सुधार गर्न खासै गाह्रो नहुन सक्छ । जति चीनसँग भएको पारवहन, यातायात लगायत अन्य सम्झौता अघि बढाउन जटिल छ । विगतदेखि रहँदै आएको चीन कनेक्सनलाई जोडिइराख्ने चुनौती पनि प्रचण्डसामु छ । भारतसँग बढी निकट हुँदा वा त्यही अनुसार निर्णय गर्दा चीन असन्तुष्ट हुने, चीनसँग नजिकिँंदा भारत रिसाउने जोखिम उत्तिकै छ । चीन र भारतबीच ठूलो व्यापारमात्र हुँदैन, तीव्र प्रतिस्पर्धा पनि देखिन्छ । यस्तो बेलामा बीचमा रहेर प्रचण्डलाई सन्तुलित सम्बन्ध कायम राख्नु भाषण गरेजस्तो सजिलो पक्कै छैन । अझै केही महिना उनी तरवारको धारमै हिँडिरहनु पर्नेछ ।

प्रकाशित : भाद्र १४, २०७३ ०९:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT