कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बंगलादेश पढ्न आउनुअघि यथार्थ बुझौं

धनबहादुर वली

एकजना विदेशी कूटनीतिज्ञले ‘नेपालका बारेमा कुरा गर्दा मान्छेहरू कित गरिबीको वा जलस्रोतको सम्भावनाको मात्र धेरै कुरा गर्छन्

बंगलादेश पढ्न आउनुअघि यथार्थ बुझौं

, लाग्छ उनीहरू नेपालीहरूले आफ्ना सन्तानको शिक्षाका लागि गरेको लगानीबारे कम जानकार छन्, जसले नेपाललाई दीर्घकालमा सक्षम मुलुक बन्नमा ठूलो योगदान गर्ने छ’ भनी व्यक्त गरेको भनाइले नेपालको शिक्षा क्षेत्रमा भएको लगानीको अवस्थालाई केही हदसम्म देखाउँछ । नेपालभित्र पनि कमजोर आर्थिक अवस्थाका परिवारले समेत आफ्ना सन्तानको शिक्षाका लागि गरेको लगानी हेर्दा शिक्षा क्षेत्र आसलाग्दो नै देखिन्छ । नेपालले उच्चशिक्षाका लागि विदेशमा खर्च गर्ने धनराशि तथा नेपालबाट उच्चशिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या उल्लेखनीय नै छ । उच्च शिक्षाका लागि नेपालीको पहिलो रोजाइमा छिमेकी मुलुकहरू समेत परेको देखिन्छ । प्राविधिक शिक्षाका लागि नेपाली विद्यार्थीको रोजाइमा पर्ने मुलुकमध्ये छिमेकी मुलुक बंगलादेश पनि एक गन्तब्यका रूपमा रहेको छ । यसका कारणमा मूलत: यहाँका पुराना शिक्षण संस्थाहरूको गुणस्तरीय शिक्षा, यहाँ अध्ययन गरेर नेपाल फर्केका खासगरी चिकित्सकहरूको पेसागत सफलता, तुलनात्मक रूपमा सहज भर्ना र सस्तो लागत, भौगोलिक तथा सांस्कृतिक सामिप्यता रहेका छन् । 

बंगलादेशको मात्रै तथ्यांक हेर्दा हाल नेपालबाट चिकित्साशास्त्रमा मात्र अध्ययन गर्ने विद्यार्थीको संख्या करिब ३५ सयको हाराहारीमा भएको देखिन्छ । यी विद्यार्थीहरूमध्ये करिब ७४ वटा मेडिकल कलेज र विश्वविद्यालयमा अध्ययनरत छन् । यीमध्ये सानो संख्यामा मात्र सरकारी (सार्वजनिक) संस्थानमा छन् भने अधिकांश निजी स्तरमा सञ्चालित संस्थाहरूमा अध्ययनरत रहेका छन् । केही निजी स्तरका मेडिकल कलेजहरू त पुरै नेपाली विद्यार्थीहरूका लागिमात्रै सञ्चालनमा आएका जस्ता देखिन्छन् । एउटै कलेजमा नेपाली विद्यार्थीको संख्या ५ सयभन्दा बढी रहेको समेत तथ्यांकले देखाउँछ । विगतमा जस्तो बंगलादेशमा पढ्न आउने विद्यार्थीहरूलाई नामकै पछिमात्र लागेर आउने अवस्था अब छैन । विदेशी विद्यार्थीको बढ्दो चापसँगै बंगलादेशमा निजीस्तरमा खुल्ने मेडिकल कलेजहरूको संख्या तीव्र रूपमा बढेको छ । नेपाली विद्यार्थीहरू मात्र करिब ७४ वटा कलेजहरूमा हुनुबाट नै यो तथ्य स्पष्ट हुन्छ । कतिपय कलेजहरू सरकारी नियामक निकायहरूको नियमन र निर्देशन बाहिर गई अदालतको आदेशबाट समेत सञ्चालनमा रहिरहन सफल भएका छन् । सरकारले त्यस्ता संस्थाहरूलाई नियमनको दायरामा ल्याउने प्रयासमा जरिवाना गर्ने, नयाँ भर्ना बन्द गर्ने गरेको देखिन्छ, तर यो तथ्य विद्यार्थी तथा अभिभावकसमक्ष पुग्न कठिन छ । अनेकौं कानुनी सहारा लिई सञ्चालानमा रहिरहेका तिनै संस्थाहरू नेपालबाट विद्यार्थी ल्याउन बढी सक्रिय छन् । 

नयाँ शैक्षिक सत्रका लागि चिकित्साशास्त्रको एमबीबीएसमा भर्नाको समय सुरु हुने बेला भएको छ । केही समयमा नै बंगलादेशमा भर्नाका लागि टेष्ट परीक्षा सञ्चालन गरिँदैछ । आउँदो सत्र (२०१६–०१७) देखि विश्वविद्यालय अनुदान आयोगले बंगलादेशमा भर्नाका लागि चाहिने ‘जीपीएस’ बढाएर ५ बाट ८ बनाएको छ । यस वर्षमात्र आवश्यक योग्यता पुरा नगरेका करिब १५० जना विद्यार्थीहरू भर्ना गरेका कारण यहाँका १० चिकित्सा शिक्षण संस्थाहरूलाई सरोकारवाला निकायले जरिवानासमेत गरेको छ । तीमध्ये कतिमा त नेपाली विद्यार्थी पनि रहेका छन् । त्यसैगरी ४ मेडिकल कलेज तथा विश्वविद्यालयहरूलाई तोकिएको मापदण्ड पुरा नगरेको हुँदा शैक्षिक सत्र २०१६/०१७ का लागि नयाँ भर्नामा प्रतिबन्ध लगाएको छ । ती शिक्षण संस्थाहरूमा नेपालका मात्र ७५ जना विद्यार्थीहरू अध्ययनरत छन् । त्यसैगरी थप ५ वटा चिकित्सा अध्ययन संस्थान सरकारको प्रतिबन्धका बाबजुद अदालतको ‘स्टे अर्डर’बाट सञ्चालनमा रहेका छन् । यसरी उल्लेख्य मात्रामा बंगलादेशमा कलेज तथा विश्वविद्यालयहरू कानुनी रूपमा सञ्चालनयोग्य नरहे पनि अन्य विभिन्न तरिका अपनाई आफ्ना कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । यिनै संस्थाहरूले नेपालबाट थप विद्यार्थीहरू ल्याउन आकर्षक आर्थिक प्रलोभनका साथ एजेन्सीहरू परिचालन गर्ने, सकेसम्म जिम्मेवार पदाधिकारीहरूलाई प्रलोभनमा पार्ने तथा बंगलादेश भ्रमणमा बोलाउने कार्यमा सक्रिय रहेको देखिएको छ । नेपालबाट बंगलादेशमा विद्यार्थीहरू पठाउने कतिपय कन्सल्टेन्सी संस्थाहरूले कलेजहरूको वास्तविक अवस्थाको जानकारी नपाउने वा जानकारी पाए पनि आर्थिक प्रलोभनका कारण ती संस्थाहरूमा विद्यार्थीहरू ल्याउने कार्यमा संलग्न रहने गरेको समेत देखिन्छ ।

नेपालबाट बंगलादेश पढ्न आउने विद्यार्थी तथा अभिभावकहरूले कमसेकम निम्न विषयहरूको सोधखोज गर्नु अत्यन्त आवश्यक छ । १) शैक्षिक संस्थाको कानुनी हैसियत (जुन बंगलादेशको विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयको वेबसाइटमा पनि हेर्न सकिन्छ), २) उक्त संस्थाको स्वीकृत सिट संख्या ३) विदेशी विद्यार्थीको लागि छुट्याइएको सिट संख्या (कानुनत: एक ब्याच स्वदेशी विद्यार्थी पास गरिसकेपछि मात्र विदेशी विद्यार्थी भर्ना गर्न पाउने व्यवस्था छ), ४) उक्त संस्थाको भौतिक सुविधा र ५) हाल त्यहाँ अध्ययनरत विदेशी (नेपाली विद्यार्थी) हरूको अवस्था । त्यसैगरी विद्यार्थीहरूले बंगलादेश पढ्न आउँदा अध्ययन भिसा लिएर आउनुपर्छ । ढाका विमानस्थलमा पाइने ‘अन एराइभल’ भिसामा आउनु हुँदैन । अन्यथा त्यस्तो अवस्थाका विद्यार्थीहरूलाई नेपाली राजदूतावासको सम्पर्कमा समेत आउन नदिने, भिसा लगाइदिने नाममा कलेजका केही व्यक्ति र बिचौलियाबाट समेत शोषणमा पर्ने गरेको पाइएको छ । 

केही विद्यार्थीहरू त नेपालमा शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालयबाट जारी हुने ‘नो अब्जेक्स लेटर’समेत एजेन्सीबाट नै बनाएको यथार्थता अन्तिम अवस्थामा दूतावासको सम्पर्कमा आउँदा थाहा पाउँछन् । ढाका आउने विमान चढ्दैमा छोराछोरी डाक्टर बन्दैनन् । त्यसैगरी इच्छा र क्षमता नभई डाक्टर पढन सक्दैनन् भन्ने यथार्थता आमाबाबुले बुझ्न जरुरी छ । साथै बिचौलियाकै भरमा केही नबुझी छोराछोरीलाई बंगलादेशका बिभिन्न मेडिकल कलेजहरूमा पठाउँदा ठगिएका तथा यौनशोषणमा समेत परेका विगतका दुर्घटनाहरूबाट शिक्षा लिन आवश्यक छ । त्यतिकै रूपमा नेपालका सम्बन्धित निकायहरू पनि यथार्थता बुझेर मात्र ‘नो अब्जेक्सन लेटर’ र ‘एलिजिबिलिटी सर्टिफिकेट’ जारी गर्नेतर्फ सजग र सचेत हुन जरुरी छ । विद्यार्थीहरू पनि बंगलादेश आएपछि राजदूतावासको सम्पर्कमा आउन र ‘अनलाइन रजिष्ट्रेसन’ गर्न जरुरी छ । तर विडम्बना समस्या नपरी दूतावासमा सम्पर्क नगर्ने नेपाली विद्यार्थीहरूको अवस्थामा खासै परिवर्तन आएको छैन ।
वली बंगलादेशका लागि कार्यवाहक राजदूत हुन् । 

प्रकाशित : आश्विन १७, २०७३ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?