कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

क्यान्सर अस्पताललाई ‘क्यान्सर’

सम्पादकीय

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका महत्त्वपूर्ण उपकरणहरू लामो समयदेखि बिग्रिएका छन् ।

क्यान्सर अस्पताललाई ‘क्यान्सर’

समयमा मर्मत नगर्दा जीवन–मरणसँग जोडिएका सेवाहरू बन्द भएका छन् । दैनिक पाँच सयको हाराहारीमा बिरामी आउने देशको एक मात्र सरकारी क्यान्सर अस्पतालको यो हालतप्रति सरकारको ध्यान पुग्न सकेको छैन । यहाँ आउनेमध्ये ७५ देखि सय जनासम्म क्यान्सरका नयाँ बिरामी हुन्छन् । तिनको रोग पहिचान गर्ने अधिकांश उपकरण थन्क्याइएका छन् । उपचाररत एवं दोहोर्‍याएर आउनेहरूका अवस्था पत्ता लगाउन र उपचार गर्न प्रयोग हुने अधिकांश उपकरणसमेत प्रयोगविहीन छन् । पाँच सय ५७ जनशक्ति रहेको यो अस्पताल आफैं ‘क्यान्सरपीडित’ को अवस्थामा छ । 

बिग्रिएका मेसिनमा तीन महिनाअघि चीनको सहयोगमा प्राप्त आधुनिक ‘सिटिस्क्यान’ समेत छ । तीन महिनामै मेसिन बिग्रिने हालतमा पुग्नु र तत्काल मर्मत गर्न पहल नगर्नु चरम लापरबाहीको उदाहरण हो । अन्यत्र सितिमिति यस्तो हुँदैन । यो यति महत्त्वपूर्ण मेसिन हो जसले दैनिक करिब २५ बिरामीको सिटिस्क्यान गर्दै आएको थियो । बिग्रिएपछि अस्पतालको यो सेवा नै बन्द भएको छ । अस्पताल प्रशासनले मेसिनमा खराबी आएको, चीनबाट मर्मत टोली आइरहेको र बन्न केही समय लाग्ने जवाफ दिएको थियो । जबकि कान्तिपुरमा समाचार आएलगत्तै बिहीबारै यसलाई सुचारु गरेको छ । चाहनु हो भने सकिँदोरहेछ भन्ने यसबाट प्रस्ट हुन्छ । अन्य उपकरण पनि यसरी नै सकेसम्म छिटो सञ्चालनमा ल्याउनु जरुरी छ । 

त्यस्तै, शरीरका सबै अंगको स्क्यान गरी रोग पत्ता लगाउने न्युक्लियर मेडिसिन सेवा तीन महिनादेखि ठप्प छ । अर्को यति संवेदनशील मेसिन तीन महिनादेखि बिग्रिएको बिग्रियै छ, त्यो हो– गामा क्यामेरा । इन्टरनेसनल अटोमेटिक इनर्जी (आईईए) एजेन्सीले १० वर्षअघि नि:शुल्क दिएको ८ करोड रुपैयाँभन्दा बढी पर्ने यो मेसिन रोग पहिचानमा अत्यन्त जरुरी पर्छ । अस्पतालले ‘केमिकल अभावमा मेसिन नचलाएको’ जवाफ दिएको छ । केमिकल ल्याएर सेवा सुचारु गर्नु दायित्व हो । त्यो ठूलो कुरा होइन, त्यसमा अस्पताल चुकेको छ । रेडियो थेरापी मेसिन ४ वटामध्ये २ वटा बिग्रिएको ८ महिना भएको छ । तत्काल थेरापी गर्नुपर्ने बिरामीले ३ महिनासम्म पालो कुर्नुपर्ने अवस्था छ । कतिपय भक्तपुर क्यान्सर अस्पताल जान बाध्य छन् । त्यहाँ पनि सजिलै पालो पाउन उस्तै हम्मे छ । त्यति मात्र होइन, यहाँ सीए १२५, सीए १९९, सीए १९३, पीएसए, बीएचईजी, एएफपी, ट्युमर मार्कर टेस्ट सीडी १ देखि ४५ सम्मका सबै सेवा बन्द छन् । 
उपकरण बिग्रनेभन्दा ‘बिगार्ने’ रोग अधिकांश सरकारी अस्पतालमा व्याप्त छ । यो अस्पताल पनि त्यसको अपवाद होइन । समयमा मर्मत गर्न टेन्डर नगर्नु, गरेका पनि रद्द गरिरहनु, अस्पतालमै परीक्षण गराउनुभन्दा बाहिर बिरामी पठाउन अधिकांश चिकित्सक उत्साही देखिनु, तिनको निजी अस्पताल/क्लिनिक र ल्याबमा सहभागिता/कारोबार हुनुले यसलाई पुष्टि गर्छ । फलत: अस्पतालका सस्ता सेवा नपाएर बिरामीहरू बाहिर महँगो शुल्क तिर्न बाध्य हुन्छन् । अस्पताल नेतृत्वले त्यसको वास्तै गरेको छैन ।
 
नेपालका सरकारी निकायहरूमा प्रशासनिक दक्षताभन्दा राजनीतिक पहुँचका आधारमा नेतृत्व चयन हुने गर्छन् । यस अस्पतालका अध्यक्ष डा. प्रकाशराज न्यौपाने भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टरसमेत हुन् । उनी राजधानीका अन्य अस्पतालमा पनि संलग्न छन् । एउटै व्यक्तिको धेरैतिर जिम्मेवारी हुँदा भूमिका निर्वाह प्रभावकारी नहुनु स्वाभाविक हो । अभिभावकत्व निर्वाह गर्नुपर्ने व्यक्तिको आधा ध्यान राजधानी र आधा चितवन बाँडिनुपरेको छ । कि उनले अन्यत्र त्यागेर यो अस्पताललाई गहन किसिमले सम्हाल्नुपर्छ, नत्र यहाँ विकल्प खोजिनुपर्छ । अस्पताल लथालिंग बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले अध्यक्ष न्यौपाने र कार्यकारी निर्देशक डा. चीनबहादुर पुनलाई स्पष्टीकरण सोधेको थियो । त्यसअघि मन्त्रालयले छानबिन समिति बनाएर अनुगमनसमेत गरेको थियो । समितिले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यालय समयमै अन्यत्र काम गरेको, ३० करोड बेरुजु रहेको, सेवा प्रभावकारी नभएको लगायत कमजोरी देखाउँदै प्रतिवेदन बुझाएको थियो । स्पष्टीकरण बुझाएका दुवै जना शक्ति केन्द्र गुहार्न राजधानीमै अलमलिएका छन् । सरकारले तिनलाई ‘च्याप्ने’ होइन, अस्पताल सुधार्ने कठोर निर्णय लिन सक्नुपर्छ ताकि बिग्रिएका उपकरण तत्काल सुचारु हुन् र अस्पतालको रोग सदाका लागि निको होस् । 

प्रकाशित : पुस १५, २०७३ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?