कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मार्क्सका विचारहरूको बहुआयामिक प्रभाव

प्रदीप ज्ञवाली

समाजवाद रक्षात्मक अवस्थामा छ । तर माक्र्सले अगाडि सारेका एजेन्डालाई अस्वीकार गर्न भने स्वयं पुँजीवादलाई पनि सहज छैन । माक्र्सका विचारहरूको हस्तक्षेपसँगै पुँजीवादले कृत्रिम रूपमा भए पनि मानवीय चेहरा भिर्न बाध्य भएको छ ।

मार्क्सका विचारहरूको बहुआयामिक प्रभाव

बीबीसीले सन् २००० मा गरेको विश्वव्यापी जनमत सर्वेक्षणमा कार्लमार्क्सको नाम दोस्रो सहस्राव्दीमा विश्वलाई सर्वाधिक प्रभाव पार्ने दार्शनिकका रूपमा घोषित भयो । ‘सहस्राब्दी नायक’को रूपमा मार्क्सको चयन एकदमै स्वाभाविक र अपेक्षित थियो, किनभने समकालीन विश्व र मानव जीवनमा मार्क्सका विचारहरूको जत्तिको गहिरो प्रभाव अरू कसैको छैन । मार्क्स एउटा यस्तो सीमास्तम्भ हुन्, जहाँबाट नयाँ युगको सुरुवात हुन्छ ।

मार्क्स अद्वितीय दार्शनिक, अर्थशास्त्री र राजनीतिक सिद्धान्तकार थिए । प्रकृति, समाज र मानवीय चेतनाका चालक नियमहरूको अन्वेषण र संश्लेषण गरेर उनले प्रतिपादन गरेको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद, पुँजीवादी शोषणको सूक्ष्म र मिहीन विश्लेषण गर्दै उनले आविष्कार गरेको अतिरिक्त मूल्यको सिद्धान्त तथा श्रमजीवी वर्गको सङ्घर्षको लक्ष्य एवं अनिवार्य भविष्यका रूपमा रेखाङ्कित गरेको वैज्ञानिक समाजवादको सिद्धान्त यस युगका सर्वाधिक मूल्यवान बौद्धिक सम्पदाहरू हुन् । प्रयोगका ढाँचामा भएका कमी र अनुयायीहरूका गल्तीहरू आफ्ना ठाउँमा होलान्, तर मार्क्सका विचारहरूको वैज्ञानिकता र सहीपना भने उत्तिकै सान्दर्भिक छ । दर्शन, अर्थशास्त्र र राजनीतिलाई मार्क्सवादका मुख्य सङ्घटक अङ्ग मानिन्छ, तर मानव जीवनमा मार्क्सको प्रभाव भने निकै विस्तृत, बहुआयामिक र गहन छ । मार्क्सवादबाट कुनै न कुनै रूपमा प्रभावित नभएको सम्भवत: जीवनको कुनै पाटो या कोण छैन ।

मार्क्सको सबैभन्दा ठूलो योगदान हो– उनले संसारभरका श्रमजीवीहरूलाई बाँच्ने आशा जगाए र विभेदकारी समाजका ठाउँमा अर्को न्यायपूर्ण, समान र समृद्ध संसार निर्माण गर्नु सम्भव छ भन्ने विश्वास दिलाए । मार्क्सले देखाएको समाजवादी सपना पूर्ववर्ती सन्त–चिन्तकहरू, समाज–सुधारक या विद्रोहीहरूले सोचेको आदर्श समाजभन्दा के मानेमा भिन्न थियो भने यो कुनै स्वैरकल्पना थिएन । यो समाज विज्ञानका वस्तुनिष्ठ नियमहरूको सघन अध्ययनमाथि आधारित वैज्ञानिक र व्यावहारिक निष्कर्ष थियो । उनले न्यायका लागि सङ्घर्षरत करोडौं श्रमजीवीहरूलाई मुक्ति र समानताको वैचारिक अश्त्र प्रदान गरे । यो वैज्ञानिक मार्गदर्शन प्राप्त नगरुन्जेल श्रमजीवी वर्गको आन्दोलन मेसिन–भञ्जन या ज्ञापनपत्र बुझाउने जस्ता दायरामा सीमित थियो ।

मार्क्स यताको अवधिमा श्रमजीवी वर्गले के पायो ? निष्कर्षमा एकरूपता नहुन सक्छ । तर पनि ‘वर्ग स्वयं’बाट ‘वर्ग आफ्ना निम्ति’मा रूपान्तरण, अधिकार र समानताका लागि सचेत र बलिदानी सङ्घर्षहरूको संयोजन, श्रमजीवी वर्गका मुद्दाहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता, सुधारका लागि पुँजीवादमाथि दबाब र कतिपय मुलुकमा समाजवादी सत्ताहरूको स्थापना यस बीचका उल्लेखनीय उपलब्धि हुन् । चीन लगायत केही मुलुक प्रतिकूलतालाई चिर्दै समाजवादको दिशामा अग्रसर भए पनि कुनै बेला संसारको एक तिहाइभन्दा बढी भूभाग ओगटेजस्तो समाजवादी विश्व शिविर भने अहिले विद्यमान छैन । समाजवाद रक्षात्मक अवस्थामा छ । तर मार्क्सले अगाडि सारेका एजेन्डालाई अस्वीकार गर्न भने स्वयं पुँजीवादलाई पनि सहज छैन । मार्क्सका विचारहरूको हस्तक्षेपसँगै पुँजीवादले कृत्रिम रूपमा भए पनि मानवीय चेहरा भिर्न बाध्य भएको छ ।

पुँजीको अत्यधिक केन्द्रीकरण पुँजीवादको विशेषता र असाध्य अन्तरविरोध पनि हो । आज सबैभन्दा धनी १ प्रतिशतका हातमा बाँकी सबै मान्छेको भन्दा बढी सम्पत्तिको केन्द्रीकरण भएको अक्सफामबाट उद्घाटित यथार्थ, आर्थिक विषमताको गहिरिँदो खाडल, बेरोजगारी, गरिबी, अभाव र द्वन्द्व, आतङ्कवादको बढ्दो चुनौती र पर्यावरणीय विनाशका कारण आज विश्व वित्तीय पुँजीवाद गहिरो सङ्कटमा छ । तर ऊ आफ्नो सङ्कटको व्ययभार आम जनताको शिरमाथि थोपरेर मितव्ययिता र खर्च कटौतीका नाममा जनताका सुविधाहरू हटाउँदैछ र करार श्रम, ‘आउट सोर्सिङ’ र अनौपचारिक क्षेत्रको विस्तारजस्ता नयाँ शोषणहरूद्वारा श्रमिक वर्गलाई आक्रान्त गर्दैछ । यसले समाजमा आक्रोश पैदा गरिरहेको छ । ९० को दशकमा चर्को स्वरमा घोषणा गरिएको ‘नवउदारवादको अन्तिम विजय’ र ‘समाजवादको मृत्यु’का घोषणाहरू खोक्रो भएका छन् । समाजवादको खोजी व्यग्रतापूर्वक हुनथालेको छ ।

तर समाजवादको पुनर्परिभाषा र त्यसलाई प्राप्त गर्ने बाटोको नयाँ अन्वेषण नगरी समाजवादको विजय सम्भव छैन । विगतमा सर्वहारा अधिनायकत्व नामको एकदलीय प्रणाली, लोकतन्त्रको अवमूल्यन, कम्युन अर्थतन्त्र र समाजवाद प्राप्तिको हिंसात्मक बाटो अब असान्दर्भिक भएका छन् । रूसी नेता गेन्नादी जुगानेभले भनेजस्तो अब समाजवादतिर ‘फर्किने’ होइन, समाजवादतिर ‘अगाडि बढ्नु’पर्छ ।

मार्क्सले द्वन्द्व र गतिका नियमहरूको अन्वेषण गर्दै संसारलाई हेर्ने र बुझ्ने नयाँ विश्व दृष्टिकोण विकास गरे । त्यसपछि नै आकस्मिकता र व्यक्तिको शौर्यमाथि आधारित जस्ता लाग्ने समाजका गति व्यवस्थित, शृङ्खलाबद्ध र वस्तुवादी देखिन थाल्यो । विगत डेढ सय वर्षमा भएका क्वान्टम भौतिकी, क्वार्क र हिग्स बोसनको खोजी, अन्तरिक्ष विज्ञान, जेनेटिक इञ्जिनियरिङ र अन्य धेरै वैज्ञानिक अन्वेषणहरूले मार्क्सले भनेजस्तै संसार ज्ञेय छ, पदार्थ र मानव चेतनाभित्र द्वन्द्वात्मक गति छ, यी नित्य परिवर्तनशील छन् तथा जीवन र जगतमा पुराना समाप्त हुँदै जानु र नित्य नयाँ सिर्जना हुँदै जानु शाश्वत नियम हो भन्ने मान्यताहरू पुनर्पुष्टि हुँदै गएका छन् । नियतिवाद, भाग्यवाद र पराभौतिक चिन्तनहरू खण्डित हुँदै गएका छन् ।

मार्क्सको स्वतन्त्रताको उद्घोषले संसारका उत्पीडित राष्ट्रहरूलाई स्वाधीनता र राष्ट्रिय मुक्तिको आन्दोलनमा उत्रिन अभिप्रेरित गर्यो् । आज उपनिवेशवाद विधिवत् अन्त्य भएको छ । निसन्देह, नवऔपनिवेशिक शोषणहरू विद्यमान छन् र साना राष्ट्रहरूको स्वाधीनता तथा स्वतन्त्रताको लडाइँ टुङ्गिएको छैन । तर शक्तिशाली राष्ट्रहरूले हिजोजस्तै एकलौटी गर्नसक्ने अवस्था भने अब विद्यमान छैन । संयुक्त राष्ट्र सङ्घजस्ता मञ्चहरू खडा भएका छन्, जसले समस्त सीमाहरूका बाबजुद उत्पीडित राष्ट्रहरूलाई स्थान दिने र उनीहरूका पक्षमा प्रस्तावहरू पारित गर्ने गरिरहेका छन् ।

मार्क्सका विचारहरूले अत्यधिक ठूलो प्रभाव पारेको क्षेत्र हो– साहित्य, कला र संस्कृति । कुनै बेला शासक वर्गको सेवामा प्रयोग भइरहेको संस्कृति र सिर्जना आज धेरै ठाउँमा विद्रोहको औजार बनिरहेको छ । साहित्यमा श्रमजीवी वर्ग, महिला, दलित र सीमान्तकृतहरूको आवाजहरू मुखर बनिरहेका छन् । तिनीहरूमा मुक्ति र स्वतन्त्रताका, सुखद भविष्य र समृद्धिका सपनाहरू प्रतिविम्बित भइरहेका छन् । निश्चय नै प्रतिधु्रव्रीय संस्कृति पनि उत्तिकै क्रियाशील छ र सांस्कृतिक साम्राज्यवादका रूपमा यसले उपभोक्तावाद, व्यक्तिवाद र नैतिक पतनका मूल्यहरूलाई आक्रामक ढङ्गले पस्किइरहेको छ । तर यस विरुद्धको आवाज सशक्त प्रतिरोधसहित उपस्थित छ ।

मार्क्स नै ती अग्रणी चिन्तक हुन्, जसले महिलाहरूलाई चुलोचौकोबाट बाहिर निकालेर सामाजिक जीवनमा आबद्ध गर्नुपर्ने र महिलाहरूको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने दिशाबोध गरे । त्यसयता विश्वव्यापी रूपमै महिलाहरूमा अभूतपूर्व जागरण र चेतना निर्माण भएको छ र महिला अधिकार स्थापित भएका छन् । हजारौं वर्ष अगाडिदेखि सुरु पितृसत्ताका बहुआयामिक बर्चस्व अन्त्य गर्ने लडाइँ सजिलै टुङ्गिनेछैन । तर मार्क्सका विचारहरूबाट प्रेरित नारीवादको उभार र प्राप्त अधिकार भने चानेचुने छैन ।

मानव अधिकारको विषयलाई आज विश्वव्यापी रूपमा मान्यताप्राप्त छ । विशेषगरी आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई मौलिक अधिकारका रूपमा स्वीकार्न बाध्य पार्ने पक्ष भनेको मार्क्स–अभिप्रेरित आन्दोलन नै हो । प्रयोगका कतिपय गल्तीले मार्क्सवादको स्वतन्त्रता र लोकतान्त्रिक मूल्यलाई ओझेलमा पार्ने काम भएको छ । तर व्यक्तिको स्वतन्त्रता नै समाजको स्वतन्त्रताको पूर्वसर्त हो भन्ने उनको उद्घोष र व्यक्तिको महत्ता र गरिमाप्रति उनको उच्च प्राथमिकता यसका प्रेरणा स्रोतका रूपमा रहेका छन् । महिला अधिकार, युवा सरोकार, आदिवासी मुद्दा, किसान आन्दोलन, ट्र्ेड युनियन अभियान र अरू धेरै आन्दोलन यसकै प्रेरणाबाट अगाडि बढिरहेका छन् ।

वातावरणीय विनाश गम्भीर सङ्कटका रूपमा खडा छ । भोलिको पुस्तालाई सुरक्षित पृथ्वी हस्तान्तरण गर्न सकिन्छ कि सकिँदैन भन्ने चिन्ता सर्वत्र व्याप्त छ । वातावरणीय विनाशको मुख्य कारक पुँजीवाद हो, जसका लागि मुनाफा दिने कुनै पनि काम अनैतिक, अपवित्र र अस्पृश्य छैन । मार्क्सले यसको सङ्केत डेढ सय वर्ष अगाडि नै गरिसकेका थिए । उनले उत्पादनका साधनहरू लगायत प्राकृतिक साधनस्रोतमा श्रमजीवी वर्गको अधिकार र उत्पादनमा न्यायोचित वितरणको आवश्यकतामाथि पटक–पटक जोड दिएका थिए । मानव जीवनका प्राय: सबै आयाममा मार्क्सका विचारहरूको प्रभाव छ । मण्डेला, नेहरू, बीपी कोइराला, आइन्स्टाइन, सुकार्नोजस्ता गैर– कम्युनिष्ट नेता, वैज्ञानिक र अभियन्ताहरूमा परेको उनको गहिरो प्रभाव आफैमा अर्थपूर्ण छ ।

तर प्रभावका तुलनामा परिणाम भने अपेक्षाकृत सशक्त हुनसकेका छैनन् । प्राप्त उपलब्धिसमेत गुमेका छन् । यसका पछाडि धेरै कारणहरू हुनसक्छन् । तर मार्क्सका विचारहरूलाई समाजलाई अध्ययन, विश्लेषण र रूपान्तरण गर्ने पद्धतिका रूपमा होइन, सूत्रका रूपमा अनुशरण गरिनु, निश्चित मुलुकका विशिष्ट प्रयोगलाई सार्वभौम सत्य मानेर पछ्याइनु र बदलिंँदो परिस्थिति अनुरूप यसलाई सिर्जनात्मक विकास गर्दै विज्ञानका रूपमा अवलम्बन गर्न नसकिनुलाई मुख्य कारणका रूपमा औंल्याउन सकिन्छ । बुद्धले आजीवन रुढी र मूर्तिपूजाको विरोध गरे, तर मृत्योपरान्त उनकै नाममा धेरै पन्थ बने र धेरै मूर्ति निर्माण भए । मार्क्सले पनि त्यही नियति भोग्नुपर्यो्– उनले अध्ययन पद्धतिमा जोड दिए, तर कतिपय अनुयायीहरूले चाहिंँ उनको भनाइहरूलाई जडसूत्रका रूपमा अपव्याख्या गरे । यस्तै प्रवृत्तिबाट आजित भएर होला सायद, मार्क्सले एकपटक भनेका थिए– म मार्क्सवादी होइन !

समाजवाद गन्तव्य र यात्राको द्वन्द्वात्मक समष्टि हो । यात्रारत रहँदा गन्तव्य बिर्सने र गन्तव्यका सपनाहरू देखिरहँदा आज गर्नुपर्ने कठिन यात्रालाई बेवास्ता गर्ने गल्ती क्षमायोग्य छैन । समाजवाद कुनै ‘सुन्दर बिहानी’मा अचानक प्रकट हुने उपलब्धि होइन, यो त पाइला–पाइलामा निर्माण गर्दै, हुर्काउँदै अगाडि बढ्ने विषय हो । मार्क्सका विचारलाई विज्ञानका रूपमा ग्रहण गरेर तथा तिनलाई समस्या पर्गेल्ने पद्धतिका रूपमा स्थापित गरेर अगाडि बढ्ने हो भने समाजवादको प्राप्ति अवश्यम्भावी छ ।

समाजवाद रक्षात्मक अवस्थामा छ । तर मार्क्सले अगाडि सारेका एजेन्डालाई अस्वीकार गर्न भने स्वयं पुँजीवादलाई पनि सहज छैन । मार्क्सका विचारहरूको हस्तक्षेपसँगै पुँजीवादले कृत्रिम रूपमा भए पनि मानवीय चेहरा भिर्न बाध्य भएको छ ।

प्रकाशित : पुस १८, २०७३ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?