कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पानी संकट : थपिँदै छन् चुनौती

मधुकर उपाध्या

‘पहिले दाउराको दु:ख थियो, पानीको दु:ख थिएन । तर अहिले ठीक उल्टो भएको छ । दाउराको दु:ख छैन, जंगल सबैतिर राम्रो छ, तर पानी सुक्यो ।

पानी संकट : थपिँदै छन् चुनौती

सल्लाको रूखले सुक्यो भनांै भने हाम्रो क्षेत्रमा सल्लाको रूख छैन, तैपनि विगत २ दशकदेखि क्रमश: घट्दै गएको पानी अहिले ठ्याम्मै सुक्यो । वातावरणको क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूका लागि यो चुनौती हो’ भन्छन् काभ्रे, पाँचखाल नगरपालिका, फलाँटेका ६३ वर्षीय रिटायर्ड शिक्षक बलराम सापकोटा । नभन्दै सुकेका मूलहरूको निरीक्षण क्रममा भेटिएका सापकोटाको यो भनाइले मुलुकका ती सबै क्षेत्रमा सुक्दै गएको पानीको स्रोत र हराएका मूलको विषयमा प्राकृतिक स्रोतका क्षेत्रमा काम गर्ने सबैलाई सीधा प्रश्न गरेको छ, आखिर किन जंगल भएका पहाडी क्षेत्रमा समेत क्रमश: हराए पानीका स्रोतहरू ? 

काभ्रेकै कुरा गर्ने हो भने १२०० मिटरको उचाइमा रहेको खावाको खोल्चीको मूल र अलि मुनि रहेको ढुङ्गेधारोदेखि ८०० मिटर तल बग्ने झिगुखोलासम्मको क्षेत्रमा केही सीमितबाहेक देखिनेजति पानीका स्रोत सुके । यी सबै पानीका स्रोत त्यतिखेर सुक्दै गए, जतिखेर वातावरणको क्षेत्र अत्यधिक लगानी भएको र सर्वाधिक चासोको विषय रह्यो । प्राकृतिक स्रोतको संरक्षण गर्न वातावरणसम्बन्धी चर्चा, बहस र अभियान चले । थप आश्चर्य त के छ भने झन्डै १२ वर्षसम्म जलाधार व्यवस्थापनको काम भएको झिगुखोला जलाधारभित्रकै पानी सुक्न गयो र यसले थप प्रश्न उब्जायो, के हामीले हाम्रा प्राकृतिक सोतको स्थानीय विज्ञानका बारेमा नजानेकै हो वा बुझ्नुपर्ने खास कुरो बुझ्न नसकेको हो ? किनकि यस वर्ष लामो समय वर्षा भयो, तैपनि सुकेका मूलमा पानी पलाएन ।

काभ्रे र पाँचखाल मात्र हैन, मुलुकको पहाडी क्षेत्रका धेरै ठाउँमा वर्षाको केही समयपछि पानीको संकट हुनथालेको लामै समय भैसकेको छ । पूर्वी नेपालमा बढी पानी पर्छ भन्दाभन्दै पाँचथर, धनकुटादेखि अलि कम पानी पर्ने दोलखा, रामेछाप र काभ्रेसम्म मूल सुक्दै गएका घटना र पानीको अभावबारे छापाहरूमा बारम्बार समाचार आएका छन् । हिउँदको केही महिना मूल सुक्ने गाउँका परिवारहरू ६ महिना बेँसीतिर बसाइँ सर्ने र वर्षा लागेपछि पुन: गाउँ फर्कनेगरी निर्वाह गर्न बाध्य भएका छन् भने वर्षाबाहेक अन्य समयमा गाउँमा पर्याप्त पानी पाउन नसक्ने भएपछि सधैंका लागि आफ्नो घरगाउँ छाडेर पानी भएको अन्यत्र स्थानमा बसाइँ सर्ने परिवारको संख्या पनि वर्षेनि थपिदो छ । पाँचथरदेखि अछाम र उदयपुरदेखि म्याग्दीसम्म मूल सुक्न थालेको झन्डै डेढ दशक नाघिसक्यो । 

यसरी पानीका स्रोत सुक्नुका पछाडि धेरै तर्कहरू सुनिन्छन् । वन विनाशको कारण मूलहरू हराएका हुन् भन्ने तर्क गर्नेहरू स्रोत जोगाउन स्रोतको वरिपरि वन जोगाउने सल्लाह दिन्छन् । तर वन राम्रो भएकै स्थानमा समेत पानी सुकेको घटनाले स्थानीय स्तरमै यो तर्कप्रति प्रश्न उठ्नु स्वाभाविकै हो । ०५२/०५३ सालपछि गाउँमा सडक खन्ने लहर चल्यो । धेरैतिर खनिएका यी सडकले भूक्षय र पहिरो बढाएको त धेरै ठाउँमा देखिएको हो । तर सडकले पानीको स्रोत पनि सुकाउँदो रैछ भन्ने विषयमा पनि विगत केही समयदेखि चर्चा हुन थालेको छ । हुन पनि सडक खन्ने क्रममा जमिनभित्रका पानी बग्ने छिद्र र प्वालहरू क्षतिग्रस्त हुनजाने भएकोले वर्षाको पानी पहिले जता जान्थ्यो, त्योभन्दा अन्यत्रै मोडिने र जलभण्डार भरिन नपाउने भएकोले स्रोत सुकेको हो भन्ने तर्कलाई नकारिहाल्न सकिँदैन । तर, यसबारे सडकले नै हो भनेर यकिन हुनसक्ने आधारहरू भने स्थापित भइसकेका छैनन् । 

अर्काे तर्क गर्नेहरू भन्छन्, बढ्दो बस्ती लगायत अन्य भौतिक संरचनाको निर्माणले गर्दा हुन गएको भू–उपयोग परिवर्तनले पानी सुकेको हो । भू–उपयोगमा आएको परिवर्तनले पानी सुकेको तर्क पनि कुनै निश्चित स्थानका लागि केही हदसम्म सही हुनसक्ला, तर यसको पनि विश्वासिलो आधार भेटिएको छैन । जलवायु परिवर्तनको प्रभावको रूपमा यो समस्यालाई लिनेहरू पनि थुप्रै छन् । पछिल्ला वर्षहरूमा तापक्रममा केही वृद्धि हुँदै गएको र बेलाबेलामा देखिन थालेका लामो खडेरीका घटनाहरू, जलवायु परिवर्तनका कारण मूल सुकेको भन्ने तर्कलाई बल पुर्‍याउने खालका भए तापनि वार्षिक वर्षामा भने खासै कमी आइहालेका छैनन् र जेजति कमी आएको छ, त्यसले एक—डेढ दशकभित्रै पानी ठ्याम्मै हराइहाल्नु नपर्ने हो । तथ्यांकलाई नै हेर्ने हो भने विगत २०/२५ वर्षअघिको अनुपातमा वार्षिक वर्षाको परिमाणमा सामान्य गिरावट मात्र आएको देखिन्छ । धेरै वर्षदेखि झरी पर्न भने नसकेको जस्तो देखिन्छ, तर यसलाई पुष्टि गर्ने तथ्याङ्क भने छैन । हाम्रा संयन्त्रले २४ घन्टाभित्र भएको जम्मा वर्षाको रेकर्ड राख्छ, त्यसले झरी हो वा होइन भन्दैन । सम्पूर्ण स्रोत सुक्नुमा वर्षाको यो विचलनलाई मात्र पनि जिम्मेवार मानिहाल्नु वन विनाशले पानी सुकाउँछ भन्नेजस्तै केही समयपछि हैन रैछ भन्नुपर्ने अवस्थामा नपुगिएला भन्न सकिन्न । किनकि, जलवायु परिवर्तनको प्रभावबारे गरिएका केही प्रक्षेपणले कतै–कतै पानी बढ्ने अनुमान गरेको छ जसअनुसार पानी बढेको पनि हुनुपर्ने हो तर त्यस्तो भएको देखिँदैन । 

वातावरण जटिल विषय हो, तसर्थ जसै—जसै सूचनाहरू उपलब्ध हुँदै जान्छन्, वातावरण सम्बन्धी अवधारणाहरू पनि परिमार्जन हुन्छन् । एक समय थियो, जब हिमालयमा थुप्रिएको हिउँले यस क्षेत्रको अर्बौं मानिसका लागि पानी पुर्‍याउँछ भन्ने भनाइले ब्यापकता पायो । समयक्रममा के देखियो भने हाम्रा नदीमा बग्ने पानीको बढीमा २० प्रतिशतमात्र हिउँले योगदान गर्ने पानी रहेछ, जसको मतलव बाँकी ८० प्रतिशत पानी पहाडको भित्रको जलभण्डार रसाएर आएको पानी हो । यसलाई प्रकृतिको सुन्दरता नै मान्नुपर्छ कि एउटा स्रोत (पहाडको पानी) रित्तिएर खोलामा पानी आपूर्ति घट्ने समयमा अर्को स्रोत (हिउँ) पग्लन थाल्छ र खोलामा पानी आपूर्ति हुन्छ । तर हामी अहिले कस्तो चेपोमा पर्दै गएका छौं भने पहाडमा पानी हराउँदै गएको छ र तापक्रम वृद्धिले हिमनदी खुम्चिँदो छ ।

सरसर्ती हेर्दा नदीहरूले हिमालदेखि तराईसम्मको पानीको स्रोतलाई जोडेको देखिन्छ । हाम्रा नदीहरूले खासगरी भावरक्षेत्र पार गर्दा तराई लगायत गंगाको मैदानको भूमिगत पानी भण्डारमा पानी आपूर्ति गर्ने गर्छ । तर पहाडको कुरो भिन्न छ । जसरी काठमाडौं उपत्यकामा रोशीखोला वा लिखुखोलाको पानी आउँदैन, केवल उपत्यकाभित्र पर्ने पानी र यसैको वरिपरिका पहाड र उपत्यकाको जमिनभित्र जम्मा भएर रहने वर्षाको पानीको केही भागमात्र उपत्यकाको पानीको स्रोत हो, त्यसैगरी पहाडी क्षेत्रमा पनि अन्यत्रको पानी मिसिन आउँदैन, स्थानीय पानीमात्र पानीका स्रोत हुन्छन् । अन्यत्रको थपिन्न । जलाधार विज्ञानले यही भन्छ । तसर्थ मूलमा पानी हुनु वा नहुनुको लागि स्थानीय कारण नै जिम्मेवार हुन्छ । 

यस लेखको आशय हाम्रा पहाडका धेरैजसो ठाउँमा पानी किन सुक्यो भन्ने विषयमा प्राज्ञिक छलफल चलाउनु हैन । प्राकृतिक स्रोत र वातावरणीय अनुसन्धानका क्षेत्रमा काम गर्ने विज्ञ र वैज्ञानिकहरूले आगामी धेरै कालसम्म त्यसबारे सोधखोज गर्दै जानेछन् र जानु पनि पर्छ । किनकि पहाडी जीवन लगायत हाम्रो उन्नतिसँग गाँसिएको वातावरणीय ह्रासको यो अत्यन्त गम्भीर पक्ष हो, त्यसैले चासोको विषय बनिरहनेछ । जुनसुकै कारणले भएको भए पनि यथार्थ यही हो कि पहाडमा पानी सुकेको छ । पानी महङ्गिएको छ जसको कारण परिवारको दैनिकी निकै कठिन भइसकेको छ । पानी बोक्न घन्टांै बित्न थालेको छ । सागसब्जी खानबाट बञ्चित हुँदै गएका छन् । विद्यार्थीको पढाइमा बाधा पुगेको छ । पानी नभएर चर्पी प्रयोग गर्न झन् कठिन भएको छ । सन् २०२२ सम्ममा विकासशील राष्ट्र बन्ने लक्ष्य र सन् २०३० सम्म हासिल गर्ने दिगो विकासका लक्ष्यमा यसले बाधा गरेको छ । तसर्थ यो लेखको आशय पानी सुकेको ठाउँमा अब के गर्ने, कसरी ती स्रोतहरूको पुन:स्थापना गर्ने भन्नेतिर एउटा सार्थक बहस चलोस् भन्नेमात्र हो । किनकि हाल अपनाइएका पानी आपूर्तिका वैकल्पिक उपायहरूबारे केही सचेतताको आवश्यकता देखिन्छ । 

भूकम्पको केही समयपछि प्रभावित क्षेत्रमा मूलहरू भटाभट सुके, जुन अनुमान गरिएकै थियो (हेर्नुस् जल, जमिन र भूकम्प, कान्तिपुर जेठ १३, २०७२) । पानीको अत्यन्त अभाव हुनगएपछि ती क्षेत्रहरूमा घर निर्माणभन्दा पनि पानीको प्रबन्ध गर्नु सबैभन्दा पहिलो प्राथमिकता हुनपुगेको छ । पम्पको प्रयोग गरी तल खोलाको पानी माथि गाउँ–गाउँ पुर्‍याउने योजना बन्दै गएका छन् । त्यस्तै दोलखा र रामेछाप जस्ता केही पहिलेदेखि नै पानीको दु:ख भएको जिल्लामा डिप बोरिङ गरेर पानी आपूर्ति गर्ने योजनाहरू लागु हुँदै गएका छन् । काभ्रेको धुलिखेलदेखि पाँचखालभित्रमा मात्रै झन्डै १० वटा डिप बोरिङ बनेका छन् । तत्कालको समस्या सुल्झाउन गरिएका यी प्रयासहरूको विकल्प छैन । तर, स्थानीय पानी विज्ञानको राम्रो हेक्का नराखी गरिएका कतिपय कार्य समस्या सुल्झाउनेभन्दा बल्झाउने नहोउन् भन्नेतर्फ सतर्क हुनैपर्छ । 

माथिल्लो भागमा भएका मूलहरू सुकेका पहाडमा पनि तल्लो भेगमा भएका केही मूलहरूमा भने पानी आइरहेको छ । पानी सुक्दै गएको अहिलेकै अवस्थामा पनि पहाडको तल्लो भागमा केही पानी उपलब्ध छ । खोलामा बग्नेगरी पानी आपूर्ति गर्नसक्ने अवस्थामा नभए पनि रसाएर पानी आउने ती कुवाहरूमा भातभान्छाको लागि पुग्ने र कतै—कतै सानातिना सिंचाइ गर्न पनि पुग्ने पानी आएको देखिन्छ । पहाडका माथिल्ला भेगमा गरिने डिप बोरिङले तान्ने पानी पनि त्यही तल्ला क्षेत्रको कुवामा रसाउने स्रोतकै पानी हो । यस अवस्थामा केही वर्षपछि जसरी माथिका पानी हराए, त्यसैगरी तलका नहराउलान् भन्न सकिन्न । त्यस्तो अवस्थामा त्यसपछि के गर्ने ? 

यस कुरालाई पुन: एकपटक दोहोर्‍याउनु आवश्यक छ कि पानी सुकेका स्थानमा तत्कालको समस्या समाधान गर्ने डिप बोरिङ वा ट्याकटर वा पम्पको विकल्प छैन, किनकि मूलहरू सुख्खा छन् । तर हामो ध्यान केन्दित हुनुपर्ने भनेको के हो भने पहाडको पानी पहाडमै पुन:स्थापना गर्न सकिन्छ कि सकिँदैन, यदि सकिन्छ भने के—के गर्नुपर्छ ? डिप बोरिङ दिगो नहुन सक्छ भने पम्पहरूको व्यवस्थापन चुनौतीपूर्ण हुन्छ । त्यसमाथि ती प्रविधि प्रयोग भएको पानी महङ्गो हुने हुनाले त्यो पानी प्रयोग गरेर डाँडाको गाउँमा खेतीपाती गर्न, तरकारीपात लगाउन र गाईबाख्रा पाल्न नसकिने हुन्छ । त्यसकारण पनि दीर्घकालमा पानीका स्रोत पुन:स्थापना गर्ने उपायहरू नै अवलम्बन गर्नुपर्छ । 

पानी आपूर्ति सम्बन्धी छलफलको क्रममा पंक्तिकारसँग एकजनाले प्रश्न गरे, सुकेको स्रोत पुन:स्थापना गर्न के गर्ने ? उत्तर अनेक हुनसक्लान्, तर हाललाई एउटा सरल उत्तर हो, सुकेको स्रोत पुन:स्थापना गर्न पानीबाहेक पानीसँग जोडिएका अन्य सबै कुरा गर्नुपर्छ । पहाडको खेतीपाती, बस्ती, गोरेटो, बाटोघाटो, पहिरो, गल्छी, वनपाखा सबैलाई जोडेर विकेन्द्रित रूपमा वर्षे पानीको समग्र दोहन गर्नाले सुकेको जलभण्डारलाई पुन:स्थापन गर्न मद्दत पुग्छ । यसका लागि, वर्षेभल थुनौं, बग्न नदिऔं, बढी भएको पानी पोखरीमा हालौं । पुरिएका पोखरी छन् भने पुन: खनौं, बसपार्क वा सार्वजनिक भवन निर्माण वा अन्य प्रयोजनका क्रममा पुराना पोखरी नासिएका छन् भने तिनको सोधभर्नाका लागि सम्भव भएसम्मको स्थानमा नयाँ पोखरीहरू बनाऔं, खेती गरिएका गह्राहरूमा पानी रसाउने तरिका अपनाऔं । यस किसिमको वर्षेपानी दोहनले अन्न उत्पादन बढ्छ, भू–क्षय, पहिरो, गल्छी नियन्त्रण हुन्छ, मूल पुन: रसाउँछ । एक वाक्यमा भन्ने हो भने वर्षेपानीको समग्र दोहनको विषय अब स्थानीय स्तरमा तर्जुमा गरिने विकास योजनाको प्राथकिता बन्नु आवश्यक छ । 

प्रकाशित : पुस १९, २०७३ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?