३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विमानस्थल ‘सेटिङ’ मा छानबिन गर

सम्पादकीय

घटनाहरू केलाउने हो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तस्करीको ‘सेटिङ स्थल’ बन्दै गएको पाइन्छ । विमानस्थलको भन्सार पार गरी मूल गेटसम्म आइसकेर बरामद भएको ३३ किलो सुनको काण्ड यस शृंखलाको पछिल्लो उदाहरण हो ।

विमानस्थल ‘सेटिङ’ मा छानबिन गर

जहाज चढाएर विदेशबाट ल्याइएको यति ठूलो परिमाणको सुन उम्किने क्रममा थियो । ‘सेटिङ’ का केही तार खुकुलिएर मात्र तस्करी गर्नेहरूको प्रयास विफल भएको थियो । यो विमानस्थलको सुरक्षा प्रणालीमै गम्भीर प्रश्न हो । किनकि, यस्ता घटना विगतमा पनि हुँदै आएका छन् । विमानस्थलभित्र २०७१/७२ मा अवैध सुन बरामदका २२ घटनामा १८ किलो ३ सय ९५ ग्राम सुन बरामद भयो, २७ जना पक्राउ परे । पछिल्लो आर्थिक वर्षमा १४ केजी ८ सय ४ ग्राम सुन बरामदसँगै ४८ जना पक्राउ परे । प्रहरीको फन्दामा नपरेका र समातिएर पनि सामसुम पारिएका घटना अझ धेरै रहेका त्यहींका अधिकारीहरूको कथन छ । 

यस्ता घटनामा अझ गम्भीर पक्ष यो छ कि मूल तस्करलाई उम्काएर मझौला र बिचौलियाहरूलाई समात्ने गरिएको पाइन्छ । यो सुरक्षा निकायहरूको असमक्षता मात्र होइन, ‘सेटिङ’ नभत्काउने रणनीतिसमेत हुन सक्छ । जब पक्राउ/बरामदको घटना हुन्छ, अर्को ‘नाटक’ देखिन्छ— एकले अर्कालाई दोष लगाउने । सुरक्षाकर्मीले भन्सारलाई, भन्सारका कर्मचारीले सुरक्षाकर्मीलाई दोषी देखाउँदै आफू चोखिन खोज्छन् । विमानस्थलका अधिकारीहरू चुपचाप रहन्छन् । अध्यागमन चुइँक्क बोल्दैन । यो दूधको साक्षी बिरालो बनिएको मात्र हो । पछिल्लोपल्टकै उदाहरण हेर्ने हो भने घटनामा कुनै एक निकायको सम्लंग्नता मात्र नहुनेबित्तिकै उक्त सुन त्यति बाहिरसम्म आउनै पाउने थिएन । यो हदसम्मको गैरजिम्मेवारी र बदमासीमा अर्कालाई दोष दिनु उन्मुक्तिको उपाय हुँदै होइन । त्यति सजिलै हुने भए विमानस्थलमा ती निकायको उपस्थितिको के अर्थ ? विमानस्थलमा ५४ वटा सुरक्षा पोस्ट छन् । भन्सार र अध्यागमनका छुट्टाछुट्टै चेकजाँच छन् । राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरीको प्रतिआतंकवाद युनिटले रेकी गरिरहेका हुन्छन् । तैपनि तस्करी अनवरत चलिरहेको छ । कुन जिम्मेवारी निर्वाह गरेर बसेका छन् ती निकायहरू ? 

विमानस्थललाई माध्यम बनाएर तस्करीका घटना बढ्नुमा कुनै परिस्थितिमा अन्तरसमन्वयमा कमी हुने गरेको छ भने कुनैमा चाहिनेभन्दा बढी साँठगाँठ । दुवै अवस्था देशका लागि अहितकर हुन् । जुन निकाय सुरक्षा र राजस्व आर्जनका लागि खटिएका छन्, तिनैबाट ठीक उल्टो परिणाम देखिनु लज्जास्पद हो । गैरकानुनी र आपराधिक क्रियाकलाप हो । त्यसमा सम्बन्धित उपल्ला सरकारी तहबाट गहन छानबिन हुनुपर्छ । त्यो अवस्था फेरि आउन नदिन कर्मचारीबाट कानुनको कडा परिपालना गराउन सक्नुपर्छ । यस्ता कार्यमा सम्लग्न कर्मचारीलाई हदैसम्मको सजाय गरिनुपर्छ । तब मात्र देशमा सुव्यवस्था कायम हुनेछ । 

हाम्रो विमानस्थल अवैध सुन भित्र्याउने थलो मात्र होइन, लागूऔषध एवं अवैध मुद्रा ओसारपसारको ‘ट्रान्जिट’ समेत बन्दै आएको छ । २०७१/७२ मा यहाँबाट हङकङ, मलेसिया, थाइल्यान्ड, युरोपेली मुलुक र अफ्रिका पुर्‍याउन खोजिएको ११ किलो कोकिन र २ हजार २ सय ६० किलो चरेस बरामद भएको थियो । त्यस्तै २०७२/७३ मा ७ केजी कोकिन र १ हजार ३ सय २६ केजी चरेस बरामद भएको थियो । यस्ता घटना बढ्दै गएपछि २०७२ मंसिरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको अवस्था सुधार्न बनाएको अध्ययन टोलीले ‘गम्भीर सुरक्षा खतरा निम्तिने’ ध्यानाकर्षण गराएको थियो । त्यस्तो संवेदनशील विषयलाई विमानस्थल प्रशासनले सामान्य रूपमा लिएकामा टोलीले चिन्ता जनाएको थियो । विमानस्थलको सुरक्षा प्रणालीमाथि गहन प्रश्न उठाएको थियो । तर, त्यसलाई सुधार्नतिर होइन, मिलेर अझ लठिभद्र बनाउनतिर सरकारी निकायहरू लालायित हुनु दु:खद् हो । जबसम्म विमानस्थलमा ‘पैसा खुवाएर’ सरुवा हुने र त्यसलाई उठाउन खानैपर्ने प्रचलनलाई निरुत्साहन गरिँदैन, तबसम्म तस्करीको ‘सेटिङ’ हट्ने कल्पना गर्नु नै व्यर्थ हुनेछ । मूल जरो त्यहाँ छ । अब सरकारले त्यसको रमिता हेरेर बस्नु हुँदैन । विमानस्थलमा रहेका सम्पूर्ण निकायमाथि छानबिन गरिनुपर्छ । र, तत्काल ‘सेटिङ’ भत्काइनुपर्छ ।

प्रकाशित : पुस २६, २०७३ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?