भूकम्पबारे पाँच अनुसन्धानको एउटै निष्कर्ष

विनाशकारी भूकम्प गएको भर्खर २० महिना नाघेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि पनि पुरानै ढाँचामा घर तथा बाटो निर्माण, चर्किएका घरलाई टालटुल पारी बस्ने प्रवृत्ति, अव्यवस्थित सहरीकरणको निरन्तरता र पुनर्निर्माणमा देखिएको उदासीनता र चर्को राजनीतीकरणले यथार्थमा यो भूकम्प पनि इतिहासका अन्य भूकम्प र प्राकृतिक प्रकोपजस्तै नेपाली समाज र राजनीतिक वृत्तले विस्तारै बिर्सिंदै गइरहेको अनुभव भैरहेको छ ।

भूकम्पबारे पाँच अनुसन्धानको एउटै निष्कर्ष

हाम्रो सोच र व्यवहारले के देखाउंँछ भने अब अहिलेको जीवित पुस्ताले यस्तै अर्को ठूलो भूकम्पको सामना गर्नुपर्ने छैन । के अब हाम्रो जीवनकालमा अर्को ठूलो भूकम्प नआउला त ? प्रश्नको उत्तर त्यति सहज नभए पनि अनुसन्धानहरूले हामीलाई ढुक्क भएर बस्ने संकेत गर्दैनन् । अन्तर्राष्ट्रिय भूगर्भविद्हरूको समूहले मध्य नेपालमा गोर्खा भूकम्पको प्रकृति, भूकम्पपछिको जमिनको हलचल, ऐतिहासिक भूकम्पीय प्रमाणहरूको उत्खनन जस्ता विविध कोणबाट गोर्खा भूकम्पपछि भूकम्पीय जोखिमको अवस्थाको अनुसन्धानलाई निरन्तरता दिएका छन् । गएको २० महिनामा दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख अन्तर्राष्ट्रिय जर्नलहरूहमा प्रकाशित भैसकेका छन् । यस लेखमा वैशाख १२ पछि भएका भूकम्प सम्बन्धी महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अनुसन्धान र तिनले दिएका महत्त्वपूर्ण निष्कर्ष बारेमा चर्चा गरिएको छ । 

अनुसन्धान— १
हिमालय बन्ने प्रक्रियामा पन्ध्र सयदेखि दुई हजार किमि पूर्व–पश्चिम फैलिएका र लगभग ६ देखि २५ किमिसम्म गहिराइ भएका तीनवटा ठूला दरारहरू बनेका छन् । यी मध्ये एउटा तराई र चुरे पहाडको सिमाना, एउटा चुरे पहाड र महाभारत लेकको सिमाना र अर्को निम्न र उच्च पहाडी भागको सिमानामा अवस्थित छन् । यी दरारहरू गहिराइमा पुगेर अर्को लगभग १० डिग्रीको कोणमा उत्तरतिर ढल्केको दरारमा मिल्छन्, जसलाई मेन हिमालयन थ्रस्ट (एमएचटी) भनिन्छ । इन्डियन प्लेटको तल्लो भाग अहिले पनि एमएचटीभन्दा तलबाट उत्तरतर्फ धस्सिरहेको छ र यसले हिमालय शृङखलालाई ठूलो बलले उत्तरतर्फ धकेलिरहेको छ । उक्त बललाई थेग्न नसकी बेला—बेला हिमालयमा रहेका दरारहरूमा चट्टान चिप्लिन्छन् र ठूला भूकम्पहरू उत्पन्न हुन्छन् । दुई प्लेटहरू जुधेको क्षेत्रमा जमिनको सापेक्षिक चाल भूउपग्रहको सहायताले आधुनिक ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) उपकरणको सहायताले नाप्न सकिन्छ । आधुनिक जीपीएस उपकरणहरूले मिलिमिटरभन्दा कमको परिशुद्धतामा जमिनको चाल मापन गर्न सक्छन् । गोर्खा भूकम्प जांँदा लगभग १५० पूर्व—पश्चिम, ६० किमि उत्तर—दक्षिण र १५ किमि गहिराइ भएको गोर्खाको बार्पाकदेखि दोलखाको सुनखानीसम्मको भाग एमएचटीको सतहमा लगभग ३.५ मिटर दक्षिणतर्फ चिप्लिएको थियो । 

यसरी जमिन दक्षिणतर्फ चिप्लिने प्रक्रिया भूकम्पपछि पनि यथावत छ वा अड्किएर बसेको छ भन्ने जान्न अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका डा. आद्रिनो ग्वालादीको नेतत्वमा अमेरिका, चीन, बेलायत, नेपाल लगायतका वैज्ञानिकहरूले भूकम्प जानुभन्दा लगभग २ वर्ष अगाडिदेखि नै विभिन्न ठाउँमा राखिएका ३३ वटा जीपीएस स्टेसनहरू र भूकम्प लगत्तै राखिएका थप जीपीएस स्टेसनहरूले रेकर्ड गरेका तथ्याङ्कलाई विश्लेषण गरे । उनीहरूको अनुसन्धान लेख विश्व प्रसिद्ध भौगर्भिक जर्नल टेक्टोनोफिजिक्समा सन् २०१६ को जूनमा प्रकाशन भएको छ । उनीहरूका अनुसार गोर्खा भूकम्पपछि काठमाडौंको दक्षिणी भागमा जमिनभन्दा लगभग १० किमिमुनि एमएचटीमा जमिन अड्किएको छ र हाल यही क्षेत्रमा शक्ति सञ्चय भैरहेको छ । यसले मध्य नेपालमा भूकम्पीय खतरा झनै बढाएको छ । 

अनुसन्धान— २
जापानको हिरोसिमा विश्वविद्यालयका प्राध्यापक यासुहिरो कुमाहाराले नेपाली भूगर्भशास्त्रीसँगै गरेको अनुसन्धान निष्कर्ष ‘अर्थ प्लानेट एन्ड साइन्स’ भन्ने जर्नलमा प्रकाशित भएको छ । वैज्ञनिकहरूका अनुसार जमिनको सतहबाट धेरै नजिक केन्द्रविन्दु भएर नेपालको जत्रो महाभूकम्प जाँदा प्राय: जमिनमुनि फाटेको चिरा जमिनको सतहसम्म आइपुग्छ । यसो भयो भनेमात्र इन्डियन प्लेट र युरोसियन प्लेट जुध्दा सञ्चित भएको भनिएको पुरै शक्ति स्खलित हुने सम्भावना रहन्छ ।

गोर्खा भूकम्प लगत्तै भूगर्भविद्हरूको समूहले काठमाडांै वरिपरि र महाभारत क्षेत्रको झिकु खोला, चित्लाङ, कुलेखानी, मालागिरि तथा कोल्पु खोला भएर जाने पांँचवटा सक्रिय फल्ट (एक्टिभ फल्ट) हरूको स्थलगत भ्रमण तथा एरियल फोटोको माध्यमबाट अध्ययन गर्‍यो । आफ्नो अध्ययन तथा स्थानीयहरूले दिएको सूचनाको आधारमा पनि उपरोक्त सक्रिय फल्टहरूमा गोर्खा भूकम्प जांँदा वा त्यसपछि पनि जमिनमा कुनै किसिमको ‘मुभमेन्ट’ भएको प्रमाण भेटिएन । तसर्थ उनीहरूको निष्कर्ष छ, काठमाडौं वरिपरि उपरोक्त सक्रिय फल्टहरूमा हुनसक्ने मुभमेन्टका कारण भविष्यमा ठूला भूकम्प जानसक्ने खतरा यथावत छ । 

अनुसन्धान— ३
अमेरिकाको नेभडा विश्वविद्यालयका स्टेफेन आङस्टर लगायत जापान र नेपालका भूगर्भविद्हरूको अर्को अनुसन्धानात्मक लेख ‘सेस्मोलोजिकल रिसर्च लेटर्स’ भन्ने जर्नलको भोलुम ८६ अङ्क ६, नोभेम्बर/डिसेम्बर, २०१५ मा प्रकाशित भएको छ । उनीहरूको अनुसन्धान भूकम्प लगत्तै तयार गरिएको इन्टरफेरोमेट्रिक सिन्थेटिक एपारेचर राडार (इन्सार) नक्सा र मे ४ देखि १५ तारिख, २०१५ मा गरिएको काठमाडांै वरिपरि र काठमाडौंभन्दा दक्षिण चुरे र तराई सिमाना क्षेत्रमा गरिएको स्थलगत अध्ययनमा आधारित छ । यी दुवैको अध्ययनबाट गोर्खा भूकम्प सम्बन्धित दरार जमिनसम्म आइपुगेको प्रमाण कहीं कतै पनि भेटिएन । अध्ययनबाट काठमाडौंको कौशलटारमा भेटिएका धांँजा वास्तवमा कुनै फल्टसंँग सम्बन्धित नभएर जमिनको माथिल्लो तहमा मात्र सीमित भएको पाइयो । उनीहरूको निष्कर्ष छ, गोर्खा भूकम्पले जमिनको सतहसम्म जमिन फटाउन नसकेकाले काठमाडांै वरिपरि ठूलो भूकम्पको खतरा कायमै छ । 

अनुसन्धान— ४
अक्स्फोर्ड विश्वविद्यालय बेलायतका भूगर्भविद् जोन इलियट र उनको टिमले गार्खा भूकम्पपछि नेपालमा गरेको अनुसन्धान नेचर जियोसाइन्सको जनवरी २०१६ को अंकमा प्रकाशित भएको छ । उनीहरूले पनि भूकम्प लगत्तै पछिको इन्टरफेरोमेट्रिक सिन्थेटिक एपारेचर राडार (इन्सार) नक्सा र जीपीएस स्टेसनहरूले रेकर्ड गरेको जमिनको चालसम्बन्धी तथ्याङ्कहरूलाई नै विश्लेषण गरेका छन् । उनीहरूका अनुसार पनि काठमाडौं आसपासमा ठूलो भूकम्पको खतरा अझै टरेको छैन । गोर्खा भूकम्पका कारण लगभग १५ किलोमिटर तल सुरु भएको धाँंजा (रपचर) काठमाडांै आसपासमा ११ किमि तल, चुरे र तराईको सिमानबाट लगभग ५० किमि उत्तरमा आएर अड्किएको छ र यसका कारण यहाँ लगातार शक्ति सञ्चय भैरहेको छ । सञ्चित शक्ति कुनै पनि समयमा भूकम्पका रूपमा स्खलित हुनसक्छ । 

अनुसन्धान— ५
भूगर्भविद्हरूका अनुसार हिमालयमा भूकम्प जांँदा यदि फल्ट प्लेनको मुभमेन्ट सतहसम्म जमिनसम्म आइपुग्यो भने यसले जमिनमा देखिनेगरी दरार उत्पन्न गर्छ र यस्तो दरारलाई पहिचान गर्न चुरे पहाड र तराईको सिमानामा रहेको भावर जोनमा नदीले थुपारेको सेडिमेन्ट (रिभर टेरास) मा दरार (जमिन चिरा परी एक भाग अर्को भागमुनि धस्सिएको अवस्था) देखापर्छ । यिनै दरारहरू ठूला भुइंँचालोले छाड्ने अवशेष हुन् र भूगर्भविद्हरूले यिनै दरारहरूको अध्ययन गरेर ऐतिहासिक महाभूकम्पहरूको कथा उधिन्छन् । यिनै दरारहरूको खोजी गर्न अमेरिकाको नेभाडा विश्वविद्यालयका स्टेभेन विश्नोउस्की लगायत जापान र नेपालका भूगर्भविद्हरूले काठमाडौंको दक्षिण चुरे र तराईको सिमानामा वागमती नदी नजिक बर्दिबास र नवलपरासीको त्रिवेणी नजिक दुई ठाउंँमा एक्स्काभेटरको सहायताले गहिरा ट्रेन्च (खाडल) खनी भावर जोनमा भएका रिभर टेरासको अध्ययन गरी अनुसन्धान नतिजा भर्खरै मात्र (नोभेम्बर ३, २०१६) ‘अर्थ एन्ड प्लानेटरी साइन्स लेटर्स’को अङ्क ४५७ मा प्रकाशित गरेका छन् । 

वागमती साइट गोर्खा भूकम्प गएको ठाउंँको ठिक दक्षिणमा पर्छ भने त्रिवेणी साइट गोर्खा भूकम्पले असर पारेको क्षेत्रभन्दा बाहिर लगभग २०० किमि पश्चिममा पर्छ । खनिएका खाडलमा भेटिएका भौगर्भिक प्रमाणहरू र कोइलाको रेडियोमेट्रिक डेटिङले के संकेत गर्छ भने यस क्षेत्रमा सम्भवत: सन् १२५५ मा ठूलो भूकम्प गएको थियो । यो भूकम्प जांँदा वागमतीदेखि त्रिवेणीसम्मको लगभग २०० किमि दूरीभित्र ७ देखि १० मिटरसम्म जमिन माथि उठ्नेगरी जमिनसम्म नै दरार उत्पन्न गरेको थियो । यसपछि वागमतीदेखि त्रिवेणीसम्मको क्षेत्रमा केन्द्रविन्दु पर्नेगरी ठूला भूकम्प गएका छैनन् । अहिले इन्डियन प्लेट प्रतिवर्ष २० मिमिका दरले उत्तरतर्फ सरिरहेको छ भन्ने जियोडेटिक अवलोकनले देखाइरहेको सन्दर्भमा सन् १२५५ को भूकम्पपछि कम्तीमा हालसम्ममा औसत १५ मिटर तराईको भाग उत्तरतर्फ चुरे पहाडमुनि धस्सिनुपर्नेमा यो अन्तरालमा जमिन धस्सिएको वा अर्को शब्दमा भन्ने हो भने ठूलो भूकम्प गई फल्ट मुभमेन्ट जमिनसम्म आइपुगेको भेटिएको छैन । ७.८ म्याग्नेच्युडको गोर्खा भूकम्प जांँदासमेत फल्ट मुभमेन्ट जमिनसम्म आएको कुनै प्रमाण नभेटिएकोले हाल पनि यस क्षेत्रमा भूकम्पीय जोखिम घटेको छैन र गोर्खा भूकम्पभन्दा ठूलो म्याग्नेच्युडको भूकम्प जाने खतरा यथावत रहेको छ । 

माथिका पांँचवटै अनुसन्धानले देखाएको एउटै निष्कर्ष के हो भने गोर्खा भूकम्पपछि मध्य तथा पश्चिम नेपालमा भूकम्पीय जोखिम झनै बढेको छ । अझ यसो भन्न सकिन्छ, उत्तरी क्षेत्रमा रहेको शक्ति सञ्चय स्थल गोर्खा भूकम्पपछि काठमाडौंको झनै नजिक सरेको छ र यदि यो धांँजा फाटेर जमिनसम्म आइपुग्यो र एकै पटकमा सञ्चित शक्ति स्खलन भयो भने यसले गोर्खा भूकम्पभन्दा पनि विनाशकारी भूकम्प ल्याउनेछ र यसको असर काठमाडौंमा गोर्खा भूकम्पको भन्दा धेरै गुण बढी हुनेछ । उता काठमाडौंदेखि भारतको कुमाउसम्मको हिमालय खण्डमा विगत ५०० वर्षयता ठूला भूकम्पहरू गएका छैनन् र यस क्षेत्रमा लगातार शक्ति सञ्चय भैरहेको छ । यस्तो अवस्थालाई ‘सेस्मिक ग्याप’ भनिन्छ र यसो हुनु भनेको भूकम्पीय दृष्टिले खतरापूर्ण अवस्था हो । सेस्मिक ग्याप भएको क्षेत्रमा कुनै पनि बेला महाभूकम्प जाने सम्भावना रहन्छ । 

समग्रमा भन्नुपर्दा नेपालको लगभग सबै क्षेत्रमा भूकम्पीय जोखिम उत्तिकै छ र सबै क्षेत्रका बासिन्दाले उत्तिकै पूर्वसावधानी अपनाउनुपर्ने जरुरी छ । विज्ञानको एउट सिद्धान्त छ, ‘सर्भाइभल अफ द फिटेस्ट’ जो प्रकृतिसँंगै मिलेर बस्छ ऊमात्र जिउन सक्छ । प्रकृतिको विरुद्धमा गयो भने जोकोहीको पनि विनाश अवस्यंभावी छ । पृथ्वीको इतिहासमा कुनै पृथ्वीको सबै भाग कब्जा गरेर बसेको जीवहरू कालान्तरमा नष्ट भएका थुप्रै प्रमाणहरू छन् । भूकम्प पनि प्राकृतिक नियम हो, न टार्न सकिन्छ न भाग्न सकिन्छ । जसले यसका नियमहरू बुझ्छ र त्यसैअनुसार चल्न कोसिस गर्छ, ऊमात्र जिउन सक्छ, जसले भूकम्पका नियम बुझ्न सक्दैन वा यसका विरुद्धमा आफूलाई उभ्याउन खोज्छ, उसको विनाश पक्का छ । तसर्थ अब हामीले भूकम्पको नियम बुझ्नु, हाम्रा संरचनाहरूलाई भूकम्पमैत्री बनाउनु र अर्को महाभूकम्पको सामना गर्न तयारी अवस्थामा राख्नु बाहेक अर्को विकल्प छैन । यसका लागि नेपालको विस्तृत भौगर्भिक नक्साङ्कन, भूकम्पीय प्रक्रिया बारेमा गहिरो अध्ययन तथा अनुसन्धान, जमिनअनुसार भूकम्पीय असरको फरक बारेमा अनुसन्धान, अध्ययन अनुसन्धानबाट आएको ज्ञानलाई भौतिक संरचनाहरू निर्माणमा प्रयोग, भूकम्पमैत्री संरचना निर्माण गर्ने परिपाटीको थालनी, भूकम्पीय जोखिमको आधारमा सम्पूर्ण नेपाललाई विभिन्न क्षेत्र (जोन) मा वर्गीकरण गरी सोहीअनुसार नेसनल बिल्डिङ कोड लागु गरिनु तथा औपचारिक तथा अनौपचारिक शिक्षाको माध्यमबाट जनतामा भूकम्पीय चेतनाको अभिवृद्धि आदि गरिनु आवश्यक छ । तर दु:खको कुरा नेपालको पुनर्निर्माण प्रक्रियामा न नयाँ अनुसन्धानले स्थान पाएको छ, नत पूर्व अनुसन्धानका निष्कर्षहरूलाई ख्याल गरिएको छ । 

प्रकाशित : माघ १, २०७३ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?