कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बदलौँ विद्यार्थी आन्दोलनको एजेन्डा

सुनिता बराल

राजनीतिले नै समाजलाई डोर्‍याउँछ । त्यसैले राजनीतिलाई सामाज सुहाउँदो परिवर्तन गर्ने, रूपान्तरण गर्ने र नेपाली समाजअनुसार विकास गर्ने अभिभारा नेपाली युवा विद्यार्थीको काँधमा छ । यो बुझेर युवा विद्यार्थीले त्यही अनुरूप काम गर्नुपर्छ ।

बदलौँ विद्यार्थी आन्दोलनको एजेन्डा

२०६८ को जनगणना अनुसार कुल युवा जनसंख्याको १४ प्रतिशत अर्थात १४ लाख ७६ हजार नेपाली युवा अध्ययन वा श्रमको नाममा वैदेशिक भूमिमा छन् ।

समाजलाई अर्धऔपनिवेशिक तथा सामन्तवादी शैलीको नेतृत्वबाट मुक्त गराई जनपक्षीय नेतृत्व स्थापित गराउन ००७ सालदेखि विभिन्न समयका राजनीतिक क्रान्ति हुँदै २०६२/६३ को जनआन्दोलनसम्म ल्याउन विद्यार्थीको भूमिका अतुलनीय रहेको छ । अखिल भारतीय विद्यार्थी मञ्चको गठनदेखि नेपाली राजनीतिक परिवर्तनका लागि भएका विद्यार्थी आन्दोलनलाई एकपल्ट समीक्षा गर्नुपर्ने अवस्था आइपुगेको छ । २०२२ सालमा स्थापना भएको अनेरास्ववियुले अहिलेसम्मका विद्यार्थी आन्दोलन र सत्ता परिवर्तनका लागि भएका आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्‍यो । अब विद्यार्थी राजनीति परिवर्तन हुन आवश्यक छ । विद्यार्थी राजनीतिको लक्ष्य फरक हुनुपर्छ । पहिले माउ पार्टीले लिने नीतिलाई नै अँगाल्दै आएका विद्यार्थी संगठनहरूले अब आफ्नो भूमिकालाई फरक ढंगले प्रस्तुत गर्न नसके विद्यार्थी राजनीति नै संकटमा पर्ने अवस्था छ । व्यवस्था परिवर्तनका लागि विद्यार्थीले राजनीति गर्ने अवस्था छैन । किनकि नेपाली समाज लोकतन्त्रमा प्रवेश गरिसकेको छ । 

अनेरास्ववियु र वैचारिक माउ पार्टी नेकपा एमालेको राजनीतिक सिद्धान्त र विचारअनुसार पनि मौलिक पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको छ । क्रान्तिपछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै समृद्धिको बाटोबाट द्रुतगतिमा समाजवाद हुँदै साम्यवाद उन्मुख लक्ष्यतर्फ अघि बढ्न जरुरी छ । क्रान्ति सम्पन्न गर्नासाथ त्यही अनुसार कार्यक्रम ल्याउन नसक्दा सोभियत संघ विघटन भएजस्तै हाम्रो मुलुकमा पनि जनताले अनुभूत गर्नेगरी दैनिक जीविकासँग जोडिने अभियानमा राजनीतिक आबद्धता नहुने हो भने यो परिवर्तनलाई पनि जोगाउन सकिन्छ भन्ने अवस्था छैन । यसैले संविधान अनुरूप समृद्धिको बाटोमा जान राजनीतिक दल र भ्रातृ/भगिनी संगठनहरू लाग्न जरुरी छ । 

आम नागरिकले हेर्दा राजनीतिक अभियानमा लागेकाहरूप्रतिको आक्रोश र वितृष्णालाई मेटाउन राजनीति गर्ने व्यक्तिले समाजमा उदाहरणीय, आत्मनिर्भर र जनताप्रति उत्तरदायी तथा जिम्मेवार व्यवहार गर्नुपर्छ । त्यो कामको अगुवाइ हाम्रो पुस्ता, हाम्रो संगठनले गर्नुपर्छ । नयाँ पुस्तालाई दिने शिक्षा कस्तो हुनुपर्छ त ? हाम्रो माग अनुसारको प्राविधिक शिक्षा कस्तो हो ? हामीले अहिलेसम्म उत्पादन गरिरहेको प्राविधिक जनशक्ति घरेलु उपयोगमा छ कि छैन ? घरेलु उपभोगका लागि चाहिने श्रमशक्तिको निर्माण गर्ने शिक्षाको योजना कसरी बनाउने ? हाम्रो संगठनको ध्यान यस्ता विषयमा केन्द्रित हुनुपर्छ । हिजो राजनीतिक अभियानमा जसरी रोडम्याप अघि सारेर त्यसलाई टुंगो लगाइएको थियो, अब रोडम्याप बनाएर प्रस्तुत गर्ने र त्यही अनुरूपको कार्यान्वयन योजना बनाउन सक्नुपर्छ ।

खर्बौंको व्यापार घाटा न्युनीकरण गराउन हाम्रो शिक्षा पद्धतिले योगदान गर्न सकेन भने कुनै पनि प्राविधिक शिक्षा युग सुहाउँदो हुने छैन । हाम्रो लागि तत्काल अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने शिक्षा नै सबैभन्दा उत्तम प्राविधिक शिक्षा हो । दैनिक उपभोग्य वस्तुमा भएको परनिर्भरतालाई हटाउन कमसेकम अन्तरनिर्भरताको सम्बन्धमात्रै विकास गर्नु पनि हाम्रो तात्कालिक कार्यनीति बन्नुपर्छ । अर्थतन्त्रको परनिर्भरताले गएको वर्ष नाकाबन्दीका कारण भएको अस्तव्यस्तताबाट पाठ सिक्नुपर्छ । परनिर्भरताबाट अन्तरनिर्भरता हुँदै स्वाधीन अर्थतन्त्र बनाउन विद्यार्थीहरूको नेतृत्वमा राष्ट्रिय अभियान सञ्चालन हुनुपर्छ । 

प्राविधिक शिक्षा प्रदान गर्न स्थापना भएका विश्वविद्यालयहरूले सही ढंगले शिक्षा दिन नसक्दा विद्यार्थीको आशा निराशामा बदलिन लागिसकेको छ । प्राविधिक शिक्षा प्राप्त गरेका विद्यार्थीले काम पाउन नसक्दा पलायन हुनुपर्ने अवस्था छ । प्राविधिक शिक्षाको सर्वसुलभ पहुँच र कम शुल्कको अपेक्षासमेत पर पुगेको छ ।

अध्ययन गर्दै काम गर्दै गर्नसक्ने सम्भावना पनि टाढिएको छ । जुन यी सबै सम्भावना विदेशमा देख्न थालिसकेका विद्यार्थीलाई नेपालमा रोक्न नसकिने अवस्था छ । त्यसैले विश्वविद्यालयहरूले विद्यार्थीलाई नेपालमै अड्याउन सक्नेगरी कार्यक्रमको परिमार्जन गराउन जरुरी छ । राज्यले बजेटमार्फत विश्वविद्यालयलाई समयानुकूल बलियो र सबल बनाउन कमी हुनु पनि समस्याको विषय बनेको छ । प्राविधिक शिक्षा भन्नासाथ विद्यार्थीले स्वास्थ्य र इन्जिनियरिङलाई सबैभन्दा बढी चयन गर्ने गरेको देखिएको छ र समाजको मनोविज्ञान पनि यी क्षेत्रका कम प्राविधिक ज्ञान हासिल गरेकालाई बढी सम्मान गर्ने र अरू क्षेत्रको बढी प्राविधिक ज्ञान हासिल गरेकालाई कम सम्मान गर्ने परिपाटी छ । अझ कृषिमा आधारित प्राविधिक जनशक्ति, पर्यटन लगायत क्षेत्रका प्राविधिक जनशक्तिलाई सामाजिक उत्प्रेरणाकै अवस्था पनि छैन ।

आवश्यक जनशक्तिहरू नेपालमै उत्पादन गर्नसक्ने हो भने बेरोजगार हुनुपर्दैन । पछिल्ला दिन क्याम्पसहरूले टुरिजम र होटल म्यानेजमेन्टलाई आकर्षणको रूपमा अगाडि सारेका छन् र विद्यार्थीहरू पनि यो पढाइप्रति आकर्षित छन् । यो सकारात्मक हो । यस बाहेक पर्यटनसँग सम्बन्धित विभिन्न पढाइलाई व्यवस्थित गर्न राज्यले नै पर्यटन विश्वविद्यालयको स्थापनाको अवधारणा ल्याउन जरुरी छ । जबकि नेपालको समृद्धिको लागि पर्यटन धेरै सम्भावना भएको क्षेत्र हो । 

यस्तै आयुर्वेदमा आधारित स्वास्थ्य प्रणालीको अन्तर्राष्ट्रिय बजारीकरण गरेर पतञ्जलीले विश्व हल्लाइसकेको अवस्था छ । यस्तो अवस्थामा हामी नेपालीले बिहान ध्यान योग सिकेका छौं, ग्लोबल ब्रान्डिङमा उभिएको पतञ्जलीका उत्पादन सेवन गरिरहेका छौं । तर हाम्रोमा खेर गइरहेका जडिबुटीलाई कौडीको मूल्यमा बेचेका छौं अथवा सित्तैमा उठाउन दिइरहेका छौं । जडिबुटीको खेती र प्रशोधनमा आधारित शिक्षा दिने हो भने यो क्षेत्रबाट अर्बौंको कच्चा जडिबुटी निर्यात गर्न सक्छौं । प्रशोधन गरेर औषधिको रूपमा खर्बौंको औषधि निर्यात गर्न सक्छौं । हामीकहाँ भएको वन विश्वविद्यालयको ध्यान यसमा छैन । नेतृत्वको कार्यकुशलताको अभाव वा प्राथमिकता निर्धारणमा परेको भागबन्डाको कारण वनक्षेत्रमा भएका यी सम्भावनामा हाम्रो प्राविधिक शिक्षा जानसकेको छैन । बहुमूल्य जडिबुटी यार्सागुम्बादेखि, रक्तचन्दन, श्रीखण्ड लगायत हजारौं प्रजातिका जडिबुटी जो नेपालमा मात्रै छन्, तिनको विकासमा हाम्रो ध्यान जाने हो भने मुलुक सम्पन्न नबन्ने कुरै छैन । 

हामीले राजनीतिक सांगठनिक अभियान छोडेर अन्यत्र लाग्दा राजनीतिक परिवर्तन जोगिन्न होला । तर हामीले राजनीतिक अभियानमात्रै भन्यौं भने समाजले आर्थिक सशक्तीकरणको बाटो नदेखेर राजनीतिक नेतृत्वप्रतिको आशंका र प्रतिगामीहरूको अगुवाइमा भएको भड्कावमा विश्वास गर्दै प्रतिक्रान्तिलाई साथ दिने खतरा हुन्छ । 
बराल अनेरास्ववियु उपाध्यक्ष हुन् । 

प्रकाशित : माघ ५, २०७३ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?