कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाठ्यपुस्तक छपाइमा ढिलाइ नगर

सम्पादकीय

आगामी फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पा गरी पाँच जिल्लामा यतिखेर पाठ्यपुस्तक पुर्‍याउनुपर्ने हो तर अहिलेसम्म छपाइ कार्यसमेत सुरु नहुनु दु:खद विषय हो ।

पाठ्यपुस्तक छपाइमा ढिलाइ नगर

यीबाहेकका अन्य ७० जिल्लामा पनि चैतको अन्तिमदेखि शैक्षिक सत्र सुरु हुने हो तर पाठ्यपुस्तक छपाइ गर्ने जनक शिक्षा सामग्री केन्द्रको तयारी हेर्ने हो भने त्यो अवधिमा पुस्तक पुर्‍याउन त परै जाओस्, छपाइ पनि सकिने सुरसार छैन । त्यसैले यो वर्ष पनि समयमा पाठ्यपुस्तक नपुग्ने अवस्था देखिँदै छ, जसले गर्दा कक्षा १ देखि १० सम्मका झन्डै ५८ लाखभन्दा बढी विद्यार्थी प्रभावित हुने देखिन्छ । त्यसैले यसप्रति शिक्षा मन्त्रालयदेखि जनक शिक्षा सामग्री केन्द्रलगायतका अन्य सरोकारवाला पक्षले बेलैमा ध्यान दिन जरुरी छ । 

आउँदो शैक्षिक सत्रमा कक्षा १ देखि १० सम्मका ५७ लाख ५७ हजार ७ सय ४४ जना विद्यार्थी हुनेछन् जसका लागि ३ करोड ७२ लाख ५१ हजार ९ सय ५५ थान पाठ्यपुस्तक आवश्यक पर्छ । यसमध्ये २ करोड ९३ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी छ । यसमा जनकले मात्रै १ करोड २१ लाख थान छाप्न बाँकी छ । अहिलेको अवस्थामा शैक्षिक सत्र सुरु हुनुअघि बाँकी सबै पुस्तक तयार गर्न जनकले दैनिक १ लाख ३९ हजारका दरले छाप्नुपर्ने हुन्छ । तर, पाठ्यपुस्तक छपाइ गर्ने जनक शिक्षा सामग्री केन्द्रले सोमबार शिक्षा विभागलाई बुझाएको कार्ययोजनाअनुसार दैनिक छपाइ क्षमता ८२ हजार मात्रै छ । यस हिसाबले केन्द्रले झन्डै ५० लाख थान पुस्तक शैक्षिक सत्रअगावै छाप्न नसक्ने देखिन्छ । त्यसैले पनि समयमै पाठ्यपुस्तक पुर्‍याउनका लागि अन्य वैकल्पिक व्यवस्था गर्नुपर्ने देखिएको छ । 

जनक शिक्षा सामग्री केन्द्र स्वयंले नै ५० लाख थान पाठ्यपुस्तक उत्पादनको वैकल्पिक व्यवस्था खोज्नुपर्ने कार्ययोजना बुझाएको छ । त्यसका लागि केन्द्रले चारवटा विकल्पसमेत अघि सारेको छ, जसअनुसार यूसेप र साझाबाट ३ लाख, केन्द्रको प्रेस २४ सै घण्टा सञ्चालन गरेर २७ लाख, गत वर्ष विशेष व्यवस्था गरेर सञ्चालन गरेको प्रेसबाट २० लाख छाप्न सकिने उल्लेख छ । त्यसो त कक्षा १ देखि ५ सम्मका ३४ लाख ५० हजार २३ विद्यार्थीलाई आवश्यक पर्ने १ करोड ७२ लाख थान पुस्तक छाप्ने जिम्मेवारी निजीलाई दिइएको छ । कक्षा ६ देखि १० को २३ लाख ७ हजार विद्यार्थीका लागि आवश्यक २ करोड १ हजार ८ सय ४० थान पाठ्यपुस्तक छाप्ने जिम्मेवारी मात्रै केन्द्रले पाएको हो । केन्द्रले विभागलाई दिएको जानकारीअनुसार अहिलेसम्म ७९ लाख थान मात्रै छापिएको छ, जसमध्ये ६६ लाखको मात्रै ‘फिनिसिङ’ भएको छ । यस वर्षदेखि कक्षा १ र २ को पुस्तक रंगीन हुँदै छ, जसको छपाइ जिम्मेवारी निजी प्रेसलाई दिइएको छ । तर, निजीले पनि छपाइ सुरु गरेकै छैन । यसले गर्दा समयमै विद्यालयमा पाठ्यपुस्तक पुग्ने कुरामा आशंका छ । 

यही फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने पाँच जिल्लाको हकमा केन्द्रले त्यहाँ समयमै पाठ्यपुस्तक नपुर्‍याउने निश्चित नै भएको छ । यता कक्षा १ देखि ५ सम्मको छपाइ जिम्मेवारी पाएको निजीले पनि ती जिल्लामा पाठ्यपुस्तक कहिले पुर्‍याउने हो भन्ने कुराको कुनै निश्चितता छैन । यस हिसाबले ती जिल्लाका सम्बन्धित विद्यालयसम्म पाठ्यपुस्तक पुग्दा कम्तीमा शैक्षिक सत्र सुरु भएको एक महिनाभन्दा बढी समय गुज्रिने निश्चित नै छ । पाठ्यपुस्तक छपाइमा भएको ढिलासुस्तीलाई लिएर संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पुर्‍याउन शिक्षामन्त्री र अन्य सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । यो अवस्थामा संसदीय समितिले ध्यानाकर्षण गराएर मात्र हुँदैन, यसको निरन्तर अनुगमन गरी समयमै पाठ्यपुस्तक पुर्‍याउने व्यवस्था गर्न आवश्यक छ । त्यसमाथि शैक्षिक सत्रअगावै पाठ्यपुस्तक नपुग्ने हरेक वर्षको समस्या भएकाले यस किसिमको वातावरण आउनै नदिनेतर्फ ध्यान दिन जरुरी छ । अहिले तत्कालका लागि भने सुरुमा फागुनदेखि नै शैक्षिक सत्र थालनी हुने पाँच जिल्लालाई प्राथमिकता दिन जरुरी छ । यसका साथै जनक शिक्षा सामग्रीले छाप्न नसक्ने यो अवस्थामा यसको विकल्पस्वरूप साझा प्रकाशन वा निजी क्षेत्रका छापाखानाहरूलाई समेत छपाइको जिम्मेवारी दिँदै शैक्षिक सत्रअगावै पाठ्यपुस्तक पुर्‍याउन जरुरी छ जसका लागि शिक्षा मन्त्रालय र मातहतका निकायको ध्यान जाओस् । 

प्रकाशित : माघ ६, २०७३ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?