२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

राष्ट्रपति भनेको ‘कुल’ होइन

बहालवाला राष्ट्रपतिले आफ्नो कौटुम्बिक विस्तार निवर्तमान राष्ट्रपतिको परिवारसँग गरिराख्दा त्यहाँ साक्षीमा पूर्वराजा नै किन खोजियो ?
चन्द्रकिशोर

वर्तमान संविधान अनुसार राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुन् । उक्त पदमा पुग्न एउटा निर्वाचन प्रक्रियाको व्यवस्थासमेत संविधानमा गरिएको छ, अर्थात् राष्ट्रपति हुनका लागि केही योग्यताहरूको अभिरेखांकन संविधानले गरेको छ ।

राष्ट्रपति भनेको ‘कुल’ होइन

राष्ट्रपति भनेको एउटा संस्था पनि हो । यो गणतन्त्रको सूचक पनि हो र नेपाली जनताको बद्लावको प्रतीक पनि ।

 राष्ट्रपति पद आफैंमा कुनै कुलविशेषबाट उत्तराधिकारमा प्राप्त हुन आउँदैन । राष्ट्रपति पदमा जुनसुकै पात्र पुुगे पनि तिनका कोही पारिवारिक सदस्यको हैसियत संविधानले तोकेको छैन । अर्थात राष्ट्रपति स्वयंमा व्यक्ति, संस्था र स्मृति गाँसिएको हुन्छ । राजा–महाराजाको हैसियत कुल आरोहणबाट प्राप्त हुन्छ । तिनका सन्ततिले यिनै आधारमा अवसर पाउँछन् । लोकतान्त्रिक गणतन्त्रमा त्यसो हुँदैन । अर्थात राष्ट्रपतिको हैसियत उनी मात्रमा अन्तरनिहित हुन्छ । 

प्रश्नको ओइरो 
राष्ट्रपतिको पदीय कारणले तिनका गतिविधि आम राष्ट्रिय चासोको विषय हुन्छ, कतिपय सन्दर्भमा तिनका निजी एवं पारिवारिक प्रसंगहरू पनि । यी सामान्य कुराहरू उठाउनुपर्ने सन्दर्भ यतिखेर किन हुनपुग्यो भने यसै साता सम्पन्न राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहको आमन्त्रण र तिनको उपस्थितिले हो । विवाहमा आफन्त, इष्टमित्र र सहकर्मीहरू निम्त्याउनु स्वाभाविक हो । तर शाहसँग भण्डारीको साइनो के हो ? कतिपय वामपन्थी तप्काका लागि निर्मल निवास परमधाम मानिएकोले तिनको अधिपतिसँग साइनो जोडिन पुुगेको हो कि ? प्रश्नको ओइरो छ । 
विवाह समारोह राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको थियो । निश्चित रूपमा राष्ट्रपति पनि कोही व्यक्ति हुन्छन्, तिनको पनि परिवार र पृष्ठभूमि हुन्छ, नातागोता र इष्टमित्र हुन्छन् । पदमा रहेका राष्ट्रपतिले आफ्नो पारिवारिक दायित्वलाई पुरा गर्नुपर्ने तिनको वैयक्तिक अधिकारभित्रको कुरा हो । तर जब त्यो विवाह सरकारी भवनमा आयोजित हुनपुग्छ र त्यहाँ सम्पूर्ण राजकीय संशाधनको प्रयोग हुन्छ, त्यतिखेर त्यो नागरिक विद्यादेवी भण्डारीकी छोरी नभएर राष्ट्रपतिकी छोरीको विवाह भएको देखिन्छ । सँगै जब सांस्कृतिक समारोहमा एउटा विस्थापित पात्रलाई निम्त्याइन्छ, त्यो पारिवारिक सरोकारको विषयमात्र मानिँदैन । आम चासो यसै दिशामा केन्द्रित छ । 
यो अहिले जनताको निम्ति कौतुहलको विषय भएको छ । सामान्य मानिसहरू पनि यस विषयमा जान्न चाहन्छन् । शीतल निवासले अहिलेसम्म यस विषयमा जवाफ दिएको छैन । उसो त राष्ट्रपतिको स्वकीय सचिवालयको तर्फबाट एउटा विज्ञप्ति आएको छ, जसमा विवाह समारोहमा को–को विशिष्ट व्यक्तिहरू सहभागी थिए, त्यसको सूचना दिँंदै ज्ञानेन्द्र शाहको बारेमा समेत उल्लेख गरिएको छ । त्यहाँ तिनका बारेमा ‘पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह’ भनिएको छ । आम जनताले बुझ्न चाहेको के हो भने नितान्त पारिवारिक समारोहमा पूर्वराजालाई निम्त्याउने आधार के थियो ? विद्यादेवी भण्डारी उक्त समारोहको एउटा आयोजक अभिभावकमात्र होइन, राष्ट्रपति पनि हुन् । राष्ट्रपतिले ज्ञानेन्द्र शाहलाई निम्त्याउनुपर्ने कारण के पर्‍यो ? एउटा बहालवाला राष्ट्रपतिले आफ्नो कौटुम्बिक विस्तार अर्का निवर्तमान राष्ट्रपतिको परिवारसँग गरिराख्दा त्यहाँ साक्षीमा पूर्वराजा नै किन खोजियो ? के यो गणतन्त्रमा नयाँ कुनै राजकीय गोत्रको विकास गर्ने सोपान यत्न त होइन ? शीतल निवासले ज्ञानेन्द्र शाहको बारेमा बनाएको दृष्टिकोण के राज्यले तिनीप्रति बनाएको दृष्टिकोणको रूपमा जनसामान्यले अब लिने ? विज्ञप्तिमा यी प्रश्नहरूबारे मौनता छ ।
विवाह समारोहमा प्रचलित नियम–कानुनको पालना भयो कि भएन ? त्यस अनुरूप जन्ती, भोज, दाइजो, खर्च आदि भए–भएनन् ? त्यसको चियोचर्चा हुँदै गरेको छ । तर त्यसभन्दा पनि महत्त्वपूर्ण हो, एउटा विस्थापित शक्तिका बारेमा वर्तमान राष्ट्रपतिले आत्मसात गरेको दृष्टिकोण । विवाह पक्कै पनि राजनीतिक विषय होइन, राष्ट्रपतिको पनि पारिवारिक समारोहको निजत्वको सम्मान हुनैपर्छ । तर उठिरहेका सवालहरू र सरोकारहरू यसभन्दा टाढाका छन् । केही पहिलामात्र ज्ञानेन्द्र शाहको टिप्पणीप्रति मन्त्रीमण्डलमा चर्को बहस भएको थियो । ज्ञानेन्द्र शाहले राजनीतिक तथा धार्मिक संकीर्णताको आयतनलाई तन्काउन खोजेको आक्षेप छ । तिनको साहचर्यले श्वेत वस्त्रधारी राष्ट्रवादीहरू उत्साहित हुने गरेका छन् । हुन त नौ वर्ष पहिला नै जनमतलाई कदर गर्दै उनी सत्ता छाड्न बाध्य भएका थिए र राज्यले उपलब्ध गराएको सुविधा र संरक्षणमा जीवनयापन नेपालभित्रै गर्दैछन् । यस अवधिभित्र कहिले मुखर त कहिले चुप रणनीति अन्तर्गत उनले आफ्नो सांस्कृतिक स्वीकार्यता बढाउन अनेक उपक्रम गर्दै आएका छन्, जसका निम्ति छरछिमेकका शक्तिकेन्द्रहरूको परिक्रमा गर्ने गरेको समेत उजागर हुँदै आएको छ । 
कता डोर्‍याउने शीतल निवासलाई
भनिन्छ, पुजारी र सैनिक हावी रहेको संस्था संकीर्णतावादी राजनीतिका निम्ति उर्वरभूमि हो । अहिलेको सन्दर्भ राष्ट्रपतिको निरीहता हो कि उदारमना प्रस्टिनुपर्छ । संरचना, प्रक्रिया र मान्यतासँग जोडिएका कुराहरू केवल संविधानमा कोरिँदैमा सबै राम्रो भइहाल्ने होइन, नत गणतन्त्र नै सही लिकमा हिँडेको मान्न सकिन्छ । राष्ट्रपति र राष्ट्रपति कार्यालयको समेत प्रतिबद्धता अनुुकूल आचरण र व्यक्ति राष्ट्रपतिको समग्र राजनीतिक संस्कार पनि उत्तिकै निर्णायक तत्त्वहरू हुन् । संविधानको ‘रहनुमा र रहबर’ अर्थात रक्षक र पथप्रदर्शक मानिएको राष्ट्रपति स्वयं विराउन लागे भने त्यो चिन्ता र चासो विषय बन्नु स्वाभाविक हो । 
अहिलेको राष्ट्रपति भवन कुनै दलविशेष र त्यस दलका नेता–कार्यकर्ताहरूको मात्र सम्पत्ति नभएर सबै नेपालीहरूको साझा धरोहर भइसकेकोले त्यसबारे व्यापक सार्वजनिक बहस भने चलिरहनु उपयुक्त हुनेछ । राष्ट्रपति भवन एउटा आवासमात्र होइन, यो हाम्रो स्वातन्त्रय चेतना, हाम्रो अस्मिता र मुलुकको जनसंघर्ष निर्माणका लागि प्राण न्यौछावर गर्नेहरूको भावनाको प्रतीक हो । गणतन्त्रलाई बयलगाडामा राखेर चन्द्रमामा पुग्नेजस्तो दिवास्वप्न हेर्नेहरूले आखिर छोटो समयमै त्यो साकार भएको हेरे । जनताले चाहे भने कुनै पनि मुकुटधारीहरूलाई भुइँ सतहमा ल्याइपुर्‍याउन सक्छन् । अर्को कुरा शीतल निवासमा मूलढोकादेखि नै सलामी ठोक्ने, सवारी चलाउने जस्ता प्रत्येक कामका लागि खटिएका कर्मचारीहरू जनताले तिरेको करबाट पालित छन् । तिनीहरू त्यो समारोहमा जो राष्ट्रपतिको छोरीको हुँदै थियो, त्यसमा खटिएका थिए । संरचनागत परिवर्तन बारेको चासो, उत्सुकता एवं आत्मतत्परता निकै सामयिक र यथार्थवादी लाग्छ । राष्ट्रपतिको स्वकीय सचिवालयको विज्ञप्तिले अहिलेको बहससँग जोडिएर आएका सवालहरूको जवाफ समेट्न नसक्नु मुख्य चासोको विषय हो । 
राजतन्त्रमा अधिपतिको आदेश सर्वोच्च हुन्छ । लोकतान्त्रिक गणतन्त्रमा विधिको सर्वोच्चता स्वीकार गरेर चल्छ । राष्ट्रपतीय संस्था नवीन भएको हुनाले यसले आफ्ना परम्पराहरूको लिक आफैंले कोर्दै जानुपर्ने हुन्छ । राष्ट्रपति र राष्ट्रपतीय संस्थाको अहंकार्य भनेको विधि, प्रक्रिया र मान्यताको पालना गर्नु र गराउनु हो । झट्ट सुन्दा यो कुरा सामान्य लाग्छ, तर व्यवहारमा उतार्न निकै चुनौतीपूर्ण छ । राजनीतिक दल र तिनका नेताहरू आफ्नो स्वार्थ पुरा गर्न हरदम विधि, प्रक्रिया र मान्यताको उल्लंघन गर्न उद्यत रहन्छन् । राष्ट्रसेवक नाम दिइएका कर्मचारीहरूको प्रवृत्ति पनि आत्मकेन्द्रित हुनसक्छ । उनीहरूको ध्यान हरदम आफ्नो सुविधा र लाभमा हुनसक्छ । बाह्य र आन्तरिक स्थायी सत्ताका अंगहरू आफ्नो अनुकूल राष्ट्रपतीय संस्थालाई रबर स्ट्याम्प बनाउने चेष्टा गर्न सक्छन् । यसरी कतिपय सन्दर्भ यस्तो आइपुग्छन्, जतिखेर राष्ट्रपति भवनमा बृहत्तर राष्ट्रिय स्वार्थको दृष्टिकोणको नितान्त अभाव भेटिन सक्छ । मूर्त र अमूर्त स्वार्थका कुहिरोले शीतल निवासलाई छेक्न सक्छ । त्यस्तो बेला यसरी राजनीतिक र कर्मचारी वृत्तको चेपबाट राष्ट्रिय स्वार्थलाई सकुशल अघि बढाउन राष्ट्रपतिलाई सघाउने काम उनका निजी सल्लाहकार तथा सहयोगीहरूले गर्नुपर्ने हुन्छ । त्यसभन्दा पनि बढी राष्ट्रपतिको निजी योग्यता, इमानदारी र खुबी प्रकट हुने पनि यस्तै बेलामा नै हो ।

लाक्षणिक असर
गणतन्त्र साध्य होइन, साधन हो । २००७ सालको क्रान्तिका अगुवाहरूले गद्दी त्याग गरेर विदेश पलायन गरिसकेका राजा त्रिभुवनलाई स–सम्मान फिर्ता ल्याए । त्यसपछिका तीन पुस्ताका चार शाह राजाहरूले आफ्नो धार्मिक, सामाजिक, सांस्कृतिक एवं राज्यशक्ति लगाएर पनि जनपक्षीय उभारलाई निस्तेज गर्न सकेनन् । सक्रिय शाहीकालमा राष्ट्र भनेकै राजाको विस्तारित शरीर थियो । राज्यको परिचयसँग जोडिएको साम्प्रदायिक एवं संकीर्ण परिभाषालाई परिवर्तन गर्न देखाएको अरुचिले गर्दा मधेस विद्रोहको विजारोपण भयो र वैकल्पिक राष्ट्रियताका आधारहरू पहिल्याउने प्रयत्न भयो । सहिष्णुु लोकतन्त्रले नै समावेशी लोकतन्त्र स्थापित गर्न सक्छ भन्ने मान्यता राख्दै संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रबद्र्धकको रूपमा स्वीकार्‍यो । राजतन्त्रले यदाकदा जातीय विविधतालाई फगत भाषिक र सांस्कृतिक विविधताका रूपमा मानेको जस्तो देखाउँथ्यो । तर गणतन्त्र भनेको आम नेपालवासीका लागि विपन्न एवं विविधतायुक्त देशमा समानता, सम्मान, समृद्धि र सत्ताको खोजी हो । राष्ट्रपति भवनको ‘स्ट्याबिलिटी र एकाउन्ट्याबिलिटी’ अर्थात स्थिरता र जवाफदेहिता भनेको नै यी प्रश्नहरूबारे घोत्लिनुु हो । 
कतिपय कोणबाट व्याख्या गरिएको छ, ज्ञानेन्द्र शाहलाई शीतल निवास बोलाएर राष्ट्रपतीय संस्थाले एउटा निषेध र प्रतिशोधको परिपाटीलाई समाप्त पारेको छ । समयले कोल्टो फेरेको छ, तर पनि अहिले कतिपय कोणबाट विविधतालाई अन्तिम कवचको रूपमा लिंँदै त्यसलाई देखाएर आतंकित पार्ने र कृत्रिम राष्ट्रियता निर्माण गर्ने तानाबाना बुुनिँदैछ । मधेसको घुर बैठकीहरूमा सबैभन्दा बढी सोधिने निरीह प्रश्न हुन्छ, अब के हुुन्छ त ? के शीतल निवासले अबका दिनमा संवाद र समझदारीको लागि बोलाइने राजनीतिक बैठकीमा ज्ञानेन्द्र शाहलाई पनि निम्त्याउनेछ ? आफू पुर्ने खाडल आफैंले खन्नलागेको पत्तो इतिहासमा कैयौंले बेलैमा पाउँदैनन् । 
यहींनेर मलाई एउटा उर्दुको शेर सम्झना हुन आउँछ : 
‘तकदिर ऐसी होती हैं कि सर्द रात में, मुझे सोने नहीं देती/ओढु, विछाउ क्या ! वात किस्मत की रोने नहीं देती ’ ।

प्रकाशित : माघ ६, २०७३ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?