कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रसिया, सिरिया र ओबामा लिगेसी

दिनेशजंग शाह

सन् २०१० को जुलाईमा प्रसिद्व अमेरिकी पत्रकार बब उडवर्डसँगको अन्तर्वार्तामा बाराक ओबामाले भनेका थिए, ‘युद्ध नरक हो । युद्धका लागि लालायित कुकुरहरू, जब एकपटक साङलोबाट फुत्किए भने कसैलाई थाहा हुँदैन् कि ती कहाँ पुगेर थामिन्छन् ।’

रसिया, सिरिया र ओबामा लिगेसी

४४ औं अमेरिकी राष्ट्रपतिको रूपमा ओबामाका माथि उल्लेखनीय अभिव्यक्तिले उनको ‘ह्वाइट हाउस’को आठवर्षे कार्यकाललाई परिभाषित गर्छ । सर्सती भन्दा परम्परागत अमेरिकी नीतिभन्दा पृथक ओबामाको कार्यकाल, अन्तर्राष्ट्रिय समन्वय र सद्भावमा बढता केन्द्रित रह्यो । मुस्लिम अतिवाद केन्द्रित अमेरिकी विदेश नीतिको पृष्ठभूमिमा ओबामाले धेरै खाले सम्भावित अन्तर्राष्ट्रिय तिक्ततालाई न्युनीकरण गरे भन्दा अन्यथा नहोला । भियतनाम युद्धपछिका सबैभन्दा नरुचाइएका दुई ‘इराक’ र ‘अफगानिस्तान’ युद्धलाई समापन गर्नु, ओबामाको लागि ठूलै चुनौती थियो । किनकि दोस्रो विश्वयुद्धको अन्त्यपछि अमेरिकी राष्ट्रपति पदमा आसिन १२ अमेरिकी राष्ट्रपतिमध्ये बिल क्लिन्टनपछि बाराक ओबामामात्र त्यस्ता पात्र थिए, जोसँग कुनै खाले सैनिक सेवाको अनुभव थिएन । तैपनि ओबामाले, घरेलु संकटलाई पार लाउन जोखिम मोले, दुवै युद्धबाट उम्किए । जसले अमेरिकी अर्थतन्त्रलाई त उकास्यो, तर विदेश नीति थप संकटग्रस्त पार्दै दिएको दृष्टान्त छ ।

सबैभन्दा उल्लेखनीय पक्ष, ओबामाका नीति नै विश्वमञ्चमा रसियाको पुनर्गमनको कारकको रूपमा विश्लेषण गरिनु अमेरिकी सर्वाेच्चताका लागि दुर्भाग्य हो । सिरियाली गृहयुद्धमा चलिरहेको नरसंहारलाई रोक्न असमर्थ हुनु, नोबेल शान्ति पुरस्कार विजेता ओबामाको सबैभन्दा ठूलो विफलता हो । यसले सन् १९९४ मा रुवान्डाको नरसंहारलाई रोक्न असफल, बिल क्लिन्टन कार्यकालको कालो इतिहासलाई ब्युँताएको विश्लेषकहरूको ठम्याइ छ । परम्परागत विदेश नीतिको घेराबाट बाहिरिँदै केही पृथक प्रस्तुति दिएका ओबामाका लागि ती विदेश नीतिहरू कहाँ र कसरी प्रत्युत्पादक बने भन्ने यो लेखको चर्चा हो ।

परम्परागत मान्यता छ, विदेश नीतिका लागि अनुदारवादी रिपब्लिकन पार्टी अब्बल हो । र डेमोक्र्याटिक पार्टी घरेलु नीतिका लागि माहिर छ । यो मान्यताले ओबामाको कार्यकालमा धेरै हदसम्म मेल खाएको देखिन्छ । सन् १९३० पछिको सबैभन्दा ठूलो आर्थिक संकटलाई पार लाउनु ओबामाको नम्बर एक उपलब्धि हो । एक करोड १५ लाखको रोजगारी सिर्जना एवं बेरोजगारी दरलाई चार प्रतिशतमा झार्ने तथ्याङ्कले ओबामा प्रशासनको उत्कृष्टतालाई झल्काउँछ । झन्डै शताब्दीदेखि हरेक अमेरिकीलाई आधारभूत स्वास्थ्य सुविधाको ग्यारेन्टीका लागि संर्घषरत उदारवादी पार्टीको सपना एवं सात पूर्व राष्ट्रपतिहरूको विफल प्रयासलाई ओमाबाले मूर्तरूप दिए । घरेलु नीतिमा अब्बल देखिएका ओबामा रसिया र सिरिया नीतिमा चुके ।

ओबामा नीति कसरी असफल भयो भनेर बुझ्न सन् २०१२ को डिसेम्बरमा फ्लोरिडामा आयोजित तेस्रो राष्ट्रपतीय बहसलाई हेर्न सकिन्छ । बहसमा ओबामाले रिपब्लिकन प्रत्यासी मिट रोमनीको रसिया नीति एवं इराक युद्धप्रतिको दृष्टिकोणमा तिखो व्यंग्य गरेका थिए । रोमनीको अडान थियो, रसियाबाट नै अमेरिकालाई सबैभन्दा ज्यादा भूराजनीतिक खतरा छ । र इराकमा कम्तीमा बीस हजार अमेरिकी सैनिक तैनाथ गरिनुपर्छ । तर ओबामाले शीतयुद्ध अन्त्य भएको बीस वर्ष भइसकेको टिप्पणी गर्दै भने, ‘अलकायदाबाट खतरा छ, रसियाबाट होइन । इराकबाट सबै सेना फिर्ता हुन्छ । सन् १९८० ताकाको विदेशी नीतिको अब काम छैन ।’

तर घटनाक्रमले ओबामाको दुबै दाबीलाई गलत सावित गरिदियो । रसियाले आफ्नो पुरानो हैसियत प्राप्तिका लागि आक्रामक विदेश नीति अख्तियारमात्र गरेनन्, युक्रेनमाथि हस्तक्षेप गर्दै अमेरिका र पश्चिमी युरोपलाई सशंकित बनायो । रिपब्लिकन पार्टी नियन्त्रित अमेरिकी कंग्रेसले सैन्य कारबाहीको तर्क गरे पनि ओबामा प्रशासन व्यापार प्रतिबन्धमै केन्द्रित बन्यो । तर रसियाली आक्रामक नीतिमा कमी आएन । उसले सिरिया, युक्रेन र साइबर आक्रमणमा आफ्नो उपस्थितिलाई झनै बलियो बनायो । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको साइबार आक्रमणको घटना यसैको प्रमाण हो । उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई कमजोर पार्ने त नीति नै भयो, युरोपेली युनियनभित्रको असन्तुष्टिले रसिया नीतिलाई बलियो पार्दैछ ।

इराक युद्धको समापनसँगै सन् २०११ मा अमेरिकी सेनाको फिर्ती भयो । त्यसको दुई वर्षपछि नै इस्लामिक अतिवादी आईएसआईएसले इराक र सिरियाका धेरै सहरमा कब्जा जमायो । अलकायदा नेतृत्व ओसामा बिन लादेनको मृत्यपछि पनि इस्लामिक अतिवादसँगको अमेरिकी युद्धले झनै डरलाग्दो मोड लिँदैछ । यसको मारबाट युरोप सबैभन्दा नराम्रोसँंग प्रभावित बनेको छ । आतंकवादी आक्रमणदेखि शरणार्थीको चापले अस्तव्यस्त बनेको युरोपेली अर्थतन्त्रको दुर्दशालाई समेत ओबामा नीतिको नतिजाको रूपमा व्याख्या गर्नेहरूको संख्या उल्लेखनीय छ ।

अर्काे परिदृश्य जहाँ ओबामाको विदेश नीति फितलो सावित बन्यो । सन् २०१३ को अगस्तमा संयुक्त राष्ट्र संघले एक प्रतिवेदन सार्वजनिक गर्दै भन्यो, ‘बसार असद नेतृत्वको सिरियाली सरकारले आफ्ना नागरिकमाथि रासायनिक हतियार र ग्यास प्रयोगमाफर्त नरसंहार मच्चायो ।’ जुन सन् १९८८ मा आफ्नै कुर्दिस नागरिकमाथि तत्कालीन इराकी शासक सद्दाम हुसेनले रासायनिक ग्यास प्रयोग गरेको घटनापछिको पहिलो थियो । ओबामा प्रशासन सिरियाली सेनामाथि मिसाइल आक्रमण गर्न तम्तयार बन्यो । यो पृष्ठभूमिमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको न्युयोर्क टाइम्समा छापिएको एक लेखले अमेरिकी आक्रमणको नीति रोकियो । पुटिनले अमेरिकी सर्वाेच्चतामाथि प्रहारमात्र गरेनन्, सिरियामा आक्रमण गरे अमेरिका पछुताउने दाबी गरे । उनले रसिया, अमेरिका एवं अन्य शक्तिराष्ट्रहरूले सिरियाली सरकारको रासायनिक हतियारलाई सुरक्षित स्थलमा राख्ने चाहनालाई सम्मान गर्नुपर्ने भन्दै योजना अघि सारे । ओबामा राजी भए । एउटा आक्रमण नीति रोकियो । उसो त दोस्रो कार्यकालको सुरुवातदेखि नै ओबामाले सिरियामा कुनै खाले अमेरिकी हस्तक्षेपको विपक्षमा थिए । सिरियामा संलग्नताले झनै स्थिति खराब बनाउने, आतंकवादी बढाउने र मानवीय संकट उत्पन्न गर्ने तर्क ओबामाको थियो । तर नरम नीतिले पनि स्थिति सुधारेन ।

तर पुटिनले त्यही गरे, जो ओबामा गर्न चाहँदैनथे । रसियाको सीमित फोर्स प्रयोग गरे सिरियामा, जसले त्यहाँ संकटको कोर्स बदलियो । रसियाको उम्दा प्रभाव र सिरिया संकटको प्रभावले शरणार्थीदेखि आतंकवादलाई गांँज्दैछ । अमेरिकी नीति संकटमा फँस्दैछ । विस्तारै सिरियाली राष्ट्रपति असदविरुद्ध होइन, आतंकवाद विरुद्ध लडौं भन्ने पुटिनको योजनामा अमेरिका आइपुगेको भान मिल्न थालेको विश्लेषकहरूको दाबी छ ।

ओबामाको युद्ध विरोधी नीतिले धेरै खाले सम्भावित विश्व अशान्तिलाई निस्तेज पारेकोमा दुईमत छैन । युद्धलाई न्युनीकरणको नीतिका पक्षपाती ओबामालाई सन् २०११ मा अफगानिस्तान युद्धमा ३० हजार अमेरिकी सेना थप्ने निर्णय लिन झन्डै डेढ वर्षको समय लागेको थियो । पछाडि फर्केर हेर्दा सैनिक पृष्ठभूमि नभएका बिल क्लिन्टनको कार्यकालमा अमेरिका ‘बोस्निया युद्ध’मा होमियो, युगोस्लाभिया टुक्रियो र अमेरिकी स्वार्थले सार्थक रूप लियो, जुन क्लिन्टन राष्ट्रपतीय कार्यकालको उल्लेखनीय विदेश नीति मानिन्छ । तर ओबामाले धेरै हदसम्म युद्ध केन्द्रित नीतिलाई न्युनीकरण गरे ।

तत्कालीन राष्ट्रपति जोन अफ केनेडीपछिका क्लिन्टन बाहेक दुवै डेमोक्र्याट अमेरिकी राष्ट्रपति लेन्डोन जोहन्सन र जिमी कार्टरलाई युद्ध केन्द्रित विदेश नीतिले डुबाएको घटना स्मरणीय छ । घरेलु नीतिमा अब्बल भए पनि भियतनाम युद्धमा अमेरिकी सेना पठाउने निर्णय जोहन्सनका लागि अलोकप्रिय बन्यो । सन् १९७९ मा इरानमा अमेरिकी सैनिक हस्तक्षेपका नीतिकार कार्टरलाई सो घटना दोस्रो कार्यकालका लागि विजय बाधक बन्यो । सम्भवत: ती परिदृश्यहरू ओबामा नीतिका सूत्र थिए ।

प्रकाशित : माघ ६, २०७३ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?