कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मानसिक बिरामी र हाम्रो समाज

मानसिक रोग निको हुँदैन भन्ने समाजको ठहर अर्को ठूलो भ्रम हो । सुरुमै औषधि गर्‍यो भने मानसिक रोग निको हुन सक्छ ।

मानसिक बिरामी र हाम्रो समाज

करिब ३५ वर्ष अगाडि म अध्ययन सकेर भर्खर नेपाल फर्केको थिएँ । मेरो एकजना आफन्तसँग भेट भयो । उहाँले स्नेहपूर्वक भन्नुभयो, ‘बाबु, तिमी डाक्टरी पढेर त आयौ, तर एउटा कुरा कताकता खल्लो लाग्यो ।’ ‘के होला त्यस्तो जसले तपाईंलाई खल्लो गरायो ?’ मैले सोधेँ । ‘तिमी किन मानसिक रोगसम्बन्धी विषय पढेर आयौ ? यो मैले बुझ्नै सकिन । यो यस्तो विषय हो, जुन हामी नेपालीलाई त्यति आवश्यक नै पर्दैन । तिमीलाई त यस्तो विषय र व्यवसायबाट जीवन धान्न पनि धौधौ पर्ला है !’ समय बित्दै गयो, म मानसिक अस्पतालमा काम गर्न थालेँ । मेरा ती आफन्त बेला–बेला मलाई भेट्न आइरहन्थे । एक दिन उनी मलाई भेट्न आएका बेला म बहिरंग विभागमा व्यस्त थिएँ, बिरामीको निकै घुईचो लागेको थियो । तीमध्ये कति त शान्त मुद्रामा पत्रपत्रिका पढिरहेका थिए । मेरा आफन्तलाई अनौठो लागेछ ।

‘होइन, यहाँ पनि यस्तो भिड ! फेरि बिरामीजस्ता त कोही पनि देखिदैन नि !’ उनले मुख खोले । बाहिरबाट झट्ट हेर्दा व्यवहार, बोली–चाली र उठ–बस सबै कुरा सामान्य देखिएपनि प्राय: सबै बिरामी ठूलै समस्याले पीडित थिए । यही कुरा मैले ती आफन्तलाई बताएँ । मानसिक रोग भनेको कस्तो हुन्छ, उनलाई अझै स्पष्ट भएको थिएन । संयोगले केही समयपछि तिनै आफन्तको परिवारको एक सदस्य अर्थात् मैले काकी साइनो लगाउनुपर्ने महिलालाई अनौठो रोग लागेछ । सुरुमा उनीहरूलाई बिरामीको अवस्था सामान्य नै लागेको रहेछ । मसँग सम्पर्क गर्नुपर्ने आवश्यकता पनि कसैले ठानेनछन् । यहाँ उपलब्ध सबै परीक्षण रगत, दिसा, पिसाब, एक्सरे, इन्डोस्कोपी आदि धेरैपल्ट भइसक्दा पनि केही पत्ता नलागेपछि सम्पूर्ण परिवार नै चिन्ताले ग्रस्त भएछ । सबै क्षेत्रका विशेषज्ञलाई देखाउदा पनि केही लागेनछ । धेरै पटक परीक्षण गरेका चिकित्सकले घुमाउरो पाराले ‘मानसिक’ भन्न खोज्दा उनीहरूले ठाडै कुरा सुन्न इन्कार गरेका रहेछन् ।
दीर्घरोग भएपछि मानिसहरूबीच अनेक किसिमका कुरा हुन्छन् । यहाँ पनि मानिसैपिच्छे फरक–फरक विचार व्यक्त हुन थालेछन् । सबै किसिमका प्रतिक्रियाको सारांश एउटै हुन्थ्यो, ‘नेपालका डाक्टर रोग नै चिन्दैनन्, अन्दाजको भरमा उपचार गर्छन् । थोरै कडा रोग लाग्यो भने त नेपाल बाहिर नगई रोग नै पत्ता लाग्दैन ।’ मेरा आफन्तहरूले पनि यही निष्कर्ष निकालेर औकातअनुसार बिरामीलाई भारतको भेलोर पुर्‍याउने निर्णय लिएछन् । उनीहरूले काठमाडौँका एक वरिष्ठ चिकित्सकलाई भेटेर भेलोरका लागि रिपोर्ट लेखिदिन अनुरोध गरेछन् । डाक्टरले बिरामीको फाइल हेरेपछि अलि हिच्किचाउँदै भनेछन्, ‘तपाईंहरूले सबै विशेषज्ञलाई देखाए पनि एउटा विषयचाहिँ बाँकी नै रहेछ । भेलोर नै लाने भए पनि एकपटक मानसिक, माफ गर्नुहोस्, नसाको डाक्टरलाई पनि देखाउनुहोस् ।’

नसाको डाक्टर भन्नासाथ मेरा आफन्तलाई पहिलोपटक मेरो सम्झना आएछ । म मानसिक रोग विशेषज्ञ भए पनि दुई कारणले आफूलाई मानसिक तथा नसारोग विशेषज्ञ भनेर चिनाउने गर्छु । एक त धेरै रोगीले आफूलाई नसाको रोगी भन्ने ठान्छन् र असजिलो अनुभव नगरी सहजै जचाउन मान्छन् । दोस्रो कुरा, नसा रोगका डाक्टरकहाँ जाँदा बिरामीले असहज अनुभव गर्दैन र जचाउन मान्छ । ती डाक्टरको सल्लाह सुनेपछि मेरा आफन्तले मेरो नाम लिदै भनेछन्, ‘मेरा नातेदार नसाका डाक्टर छन् । तर उनी त दिमाग बिग्रेकाको पो उपचार गर्छन् ।’ ती डाक्टरको सल्लाहपछि अन्तत: मेरा आफन्त त्यही दिन बिरामी लिएरै मेरो घरमा आइपुगे । उनले मनको असजिलो लुकाउन खोज्दै भने, ‘तिमी मानसिक रोगमात्रै हेर्दैनौ हैन त ? नसा रोगको पनि उपचार गर्छौ होइन ? तर बिरामीको दिमाग त ठिकै छ जस्तो लाग्छ !’

बिरामीको अनुहार मलिन र उदासीन थियो । उनमा रोगका लक्षण नै अनगिन्ती थिए । शिरदेखि पाउसम्मै रोगबाट प्रभावित नभएको अंग थिएनभन्दा पनि हुन्छ । टाउको दुख्ने, रिङटा लाग्ने, चक्कर लाग्ने, आँखा तिर्मिराउने, मुख सुक्ने, घाँटीमा केही अड्केजस्तो हुने, बेला–बेला मुटु बढी धड्केको अनुभव हुने, सास फेर्न गाह्रोजस्तो हुने, लामो सास लिन मनलाग्ने, पेटमा गोला, कोखा दुख्ने, पेट पोल्ने, खान मन नहुने, कब्जियत हुने, पेट कहिल्यै सफा नहुने, हातखुट्टा झम्झमाउने, पोल्ने र चिसो–तातो हुने, छाला लाटो हुने, निद्रा राम्रो नलाग्ने, निदाउन खोज्दा एकैचोटी झस्केर ब्यँुझने र त्यसपछि ठ्याप्पै निद्रा नपर्ने, महिनावारी ठिक समयमा नहुने, ढाड दुख्ने आदि समस्या उनमा देखिए ।

मैले सोधपुछ गरेपछि अरू पनि थप समस्या थपिए– झर्को लाग्ने, रिस उठ्ने, केही गर्न मन नलाग्ने, झस्कने, डराउने, मनमा धेरै कुरा खेल्ने, बिहानीपख बढी नै दिक्क लाग्ने, दिन नै कसरी बिताउने होला जस्तो हुने, आधा दिनपछि चाहिँ केही हल्का हुने आदि । यति कुरा भनिसकेपछि मैले बिरामीलाई सोधेँ, ‘मन पनि कमजोर र चिन्तित छ, हो ?’ बिरामीले तुरुन्तै प्रतिवाद गर्दै भनिन्, ‘हैन, मेरो मनलाई केही भएको छैन । भेलोर जानका लागि रिपोर्ट लिन ठूलो डाक्टर भनेर गएको झन् उल्टो मलाई पागल ठानेर तिमीलाई भेट्न पो पठाइदियो ।’ मैले कुनै विरोध नजनाई सोधेँ, ‘चिन्ता लाग्ने, डर लाग्ने, केही गर्न मन नलाग्ने, झर्को लाग्ने पनि हुन्छ, हैन ?’ बिरामीले तुरुन्तै जवाफ दिइन्, ‘मलाई यस्तो रोग लागेर पो मेरो मन उदासीन र खिन्न भएको । यो रोग ठिक भयो भने मेरो मन पहिलेजस्तै भइहाल्छ नि !’

मैले बिरामीलाई ढुक्क पार्ने उद्देश्यले भनेँ, ‘नआत्तिनुहोस्, यो दिमाग बिग्रने रोग हैन र तपाईंलाई डाक्टर साहेबले पागल भनेर मकहाँ पठाएको पनि हैन । म नसासम्बन्धी रोगको पनि उपचार गर्छु । अहिलेसम्म तपाईंले नसाको डाक्टरलाई देखाउनुभएको रहेनछ । तपाईं आफैँ भन्नोस् त, जे–जे कष्ट तपाईंलाई भएको छ, त्यस्तो सम्पूर्ण शरीर नै छुने रोग नसारोग बाहेक अरू कुनै हुन्छ ? हाम्रा शरीरभरि नसा छरिएका हुन्छन् । नसा कमजोर भएपछि त्यसको असर जताततै पर्छ ।’ मैले जानी–जानी अलिकति झुटो पनि बोलेँ । उपचार गर्नका लागि मसँग अर्को विकल्प पनि थिएन । उनलाई नसाको रोग नै लागेको हो भन्ने अर्धसत्य कुराबाट बिरामीको मनमा प्रभाव पर्‍यो, ‘नसैले पो हो कि मलाई यस्तो भाको, मलाई तिम्रो कुरा ठिकै लाग्यो’, उनले अन्त्यमा भनिन् । अब उनी मेरो सल्लाह मान्ने मनस्थितिमा पुगिन् । त्यही दिनदेखि मैले औषधि दिन सुरु गरेँ । हप्ता दिनपछि मैले भेट्दा देख्ने बित्तिकै उनमा परिवर्तन आएको थाहा पाएँ । उनको ओठमा हल्का मुस्कान पनि थियो । आँखामा पनि चमक थियो । रोग निको हुँदै गएको मलाई विश्वास भयो र तीन हप्तापछि भेट्न सल्लाह दिएँ । तीन हप्तापछि काकी पूर्ण स्वस्थ भइसकेकी रहिछन् । त्यसपछि बल्ल मैले स्पष्ट शब्दमा भनें, ‘तपाईंलाई एक प्रकारको मानसिक रोग लागेको थियो । मैले तपाईंलाई त्यही रोगको औषधि दिएको थिएँ । तपाईंलाई मबाट औषधि गराउन मात्र मैले नसाको रोग भनेको थिएँ ।’

मानसिक रोग कस्तो रूपमा देखापर्छ र यस्ता रोगका के कस्ता लक्षण हुन्छन् भन्नेबारे अधिकांश व्यक्ति अनभिज्ञ हुन्छन् । यही अज्ञानताले गर्दा ठूलो आर्थिक अपव्यय, अनावश्यक दौडधुप, चिन्ता र अन्योलको वातावरण सिर्जना हुन्छ । मानसिक रोग तपाईं—हामीले सोचेजस्तै कतै–कतैमात्र देखा पर्दैन र यस्ता रोगीको संख्या नगन्य पनि हुँदैन । विभिन्न देश र समाजमा बेला—बेलामा लिइएका सर्वेक्षणले आम जनसमुदायमध्ये विभिन्नखाले मानसिक रोगबाट झन्डै १५ प्रतिशत जनसंख्या पीडित छ । त्यस्तै कडा खालको (पागलपन) मानसिक रोगबाट २ प्रतिशत जनसंख्या पीडित छ । यो तथ्यांक नेपालमा पनि लागु हुन्छ । यसबाट के अर्थ लाग्छ भने हाम्रो देशमा ७ लाखजति मानिस कडा खालका मानसिक रोगबाट पीडित भई विक्षिप्त अवस्थामा छन् र करिब ४० लाख नेपाली हल्का र सामान्य कुनै न कुनै मानसिक रोगबाट पीडित छन् । यो विश्व स्वास्थ्य संगठन लगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाको आंकडा हो । मानसिक रोग निको हुँदैन भन्ने समाजको ठहर अर्को ठूलो भ्रम हो । सुरुमै औषधि गर्‍यो भने मानसिक रोग निको हुनसक्छ । अर्कोतिर प्रारम्भिक अवस्थामा मानसिक रोगको उपचार सरल र सहज छ । बहुसंख्यक बिरामीलाई घरमै राखेर पनि औषधि गर्न सकिन्छ ।

छालामा दाद आएको एउटा रोगीलाई ‘यो कुष्ठरोग हैन, सामान्य छालाको रोगमात्र हो’ भन्दा उसले सहजै स्वीकार गर्छ । तर मानसिक रोगीलाई ‘तपाईंलाई पागलपन हैन, सामान्य मानसिक रोग लागेको रहेछ’ भन्दा उसले स्वीकार गर्न नचाहनु पनि मानवीय स्वभावको अनौठो रूप हो । ‘सामान्य रोग हो, पागलपन हैन’ भनेपछि ‘मेरो मनलाई सामान्य असर परेको रहेछ’ भनेर स्वीकार्न किन सकिदैन ? अर्को कुरा रोग, उपचार र परीक्षण भनेपछि हामी शरीरका अंगहरूलाई मात्र विचार गर्छौं । तर सम्पूर्ण शरीरलाई परिचालन गर्ने जटिल र महत्त्वपूर्ण अंग मनलाई हामी बिर्सन्छौँ । पेटमा त अनेकौँ रोग लाग्छन् भने मनजस्तो जटिल अंग त्यत्तिकै रूपले प्रभावित हुनु अस्वाभाविक पनि त होइन । तर, मनमा रोग लाग्नुलाई कुनै अभिशापको रूपमा लिएर होला, हामी स्वीकार गर्न चाहदैनौँ । यसरी साधारण रोग लागेको व्यक्तिले पनि अज्ञान र भ्रमपूर्ण विश्वासले गर्दा अनावश्यक दु:ख पाउँछ र उसको समयमै उपचार हुन पाउँदैन । नेपालमा अहिले मानसिक रोगको स्थिति र उपलब्ध सेवाको तुलना गर्दा स्थिति चिन्ताजनक छ । यसप्रति जनचासो र सरकारी प्राथमिकता निकै कम छ । यो अवस्था त्यसबेला मात्र फेरिएला, जब जनमानसमा मानसिक रोगप्रतिको अज्ञान र भ्रम निवारण हुन्छ र मानसिक रोग लाग्नु पनि अरू रोगजस्तै हो भन्ने पर्छ । त्यो बेला यिनको पनि उपचार हुन्छ भन्ने विश्वास सिर्जना हुन्छ । सचेत हुनुस्, ‘मुलुकभरिका ३७ लाख मानसिक रोगीमध्ये कतै तपाईं वा तपाईंको घरका सदस्य पनि त हुनुहुन्न ?
शर्मा मानसिक रोग विशेषज्ञ हुन् ।

प्रकाशित : माघ ७, २०७३ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?