१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आदिवासी जनजातिसम्बन्धी भ्रमपूर्ण अनुसूची !

अनुसूचीमा उल्लेख भएका आदिवासी जनजातिको विवरण कहालीलाग्दो छ । त्यसको नालीबेली खोतल्दै जाँदा अनुसूचीमा समावेश ५९ आदिवासी जनजातिसम्बन्धी तथ्यांक नै गलत छ भन्ने बुझिन्छ । किनभने, जनगणनाको तथ्यांकमा अनुसूचीमा भएका ११ आदिवासी जनजाति नेपालभर कतै फेला परेकै देखिँ
कमल मादेन

नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशन यही पुसको पहिलो साता चितवनमा सम्पन्न भयो । महाधिवेशनमा नेपाल बराम संघको तर्फबाट जगत बराम अध्यक्षमा निर्वाचित भए । सचिवका उम्मेदवार श्रुति कुमालले सबैभन्दा बढी ३९ मत पाइन् ।

आदिवासी जनजातिसम्बन्धी भ्रमपूर्ण अनुसूची !

निर्वाचनमा बरामको समूहलाई गैरएमाले पार्टीहरूले समर्थन गरेका थिए । एमालेले समर्थित उम्मेदवार कुनै पनि पदमा विजयी बन्न सकेनन् । महासंघ निर्वाचनमा एक आदिवासी जनजाति संस्था बराबर १ भोट मान्यता पाउने व्यवस्था छ । नेपाल सरकारको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनको अनुसूचीमा ५९ आदिवासी जनजाति छन् । अनुसूचीका ५९ आदिवासी जनजातिमध्ये महासंघमा वनकरिया, छैरोतन र फ्री बाहेकका ५६ जातीय संस्था आबद्ध छन् । मगर र कुसुण्डा देशभर क्रमश: करिब १९ लाख र २ सय ७३ संख्यामा छन् । महासंघ मतदानमा ती दुवै जातीय संस्थाको मत १/१ गणना हुन्छ । महासंघ समानुपातिक चुनावी पद्धतिको हिमायती तर उसैको निर्वाचन पद्धति भने समयसापेक्ष छैन । 

तथ्यांक नै गलत !
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ पुस २५ गते प्रकाशित भई गणतन्त्र सुदृढीकरण तथा केही नेपाल ऐन संशोधन गर्ने ऐनअन्तर्गत २०६६ पुस ७ गते दोस्रो पटक संशोधन भएको हो । ऐनमा उल्लेख भए अनुसार ‘आदिवासी जनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदायलाई सम्झनुपर्छ । तर, अनुसूचीमा उल्लेख भएका आदिवासी जनजातिको विवरण कहालीलाग्दो छ । त्यसको नालीबेली खोतल्दै जाँदा अनुसूचीमा समावेश ५९ आदिवासी जनजातिसम्बन्धी तथ्यांक नै गलत छ भन्ने बुझिन्छ । किनभने जनगणनाको तथ्यांकमा अनुसूचीमा भएका ११ आदिवासी जनजाति नेपालभर कतै फेला परेकै देखिँदैन । 

अनुसूची अनुसार थकाली, तीनगाउँले थकाली र मार्फाली थकाली छुट्टाछुट्टै आदिवासी जनजाति हुन् । उहिलेदेखि सबैले जानेबुझेको थकाली भनेको थकाली मात्रै हो । जनगणनाको तथ्यांकमा थकालीको जनसंख्या मात्र उल्लेख छ । तर, उल्लेखित समुदायसँग सम्बद्ध जातीय संस्था थकाली सेवा समिति, तीनगाउँले थकाली सेवा समिति, मार्फा थकाली सेवा सदन क्रियाशील छन् । जानकारहरूका अनुसार अनुसूचीमा उक्त समुदायहरू परेपछि मात्र तिनीहरू बनेका हुन् । अचम्म, जनगणनामा चाहिँ एकैजना नभेटिने तर जातीय संस्था भने क्रियाशील हुने कस्तो रहस्य ? त्यसो भए ऐनमा परिभाषित गरिए अनुसार उल्लेखित थकालीहरूका आफ्नै मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहासचाहिँ छ कि भन्ने प्रश्न उब्जिन्छ । नेपाल आदिवासी जनजाति महासंघ उपाध्यक्ष गणेश थकाली (तीनगाउँले थकालीका तर्फबाट निर्वाचित) ले बताए अनुसार थकाली, मार्फाली थकाली र तीनगाउँले थकालीको भाषा, संस्कृति र वेशभूषा उस्ताउस्तै छ । थकालीसम्बन्धी बृहत् अध्ययन अनुसन्धान गरेका माइकेल विन्डिङले ‘द थकाली’ शीर्षक पुस्तकमा मार्फाली समुदायले थकाली भाषा अन्तर्गतको एक भाषिका (डाइलेक्ट) बोल्छन् भन्ने लेखेका छन् (सन् १९९८, पृष्ठ : १९) । अर्का एस आइजिमाले पुन्नेल (मार्फा), ठिन्नेल (ठिनी), स्याङतानी (स्याङ), चिम्तानी (चिमाङ) का थकालीहरू थकालीकै उपसमूहहरू हुन् भनेर जापानिज जर्नल अफ इथ्नोलोजीको वर्ष २४ अंक ३ मा लेखेका छन् (सन् १९६५ ) । तर, अनुसूचीमा ठिनी, स्याङ र चिमाङ गाउँमा बस्ने थकालीलाई तीनगाउँले थकाली र मार्फामा बस्ने जति थकालीलाई मार्फाली थकाली (हिराचन, ज्वारचन, लालचन र पन्नाचन) का रूपमा दर्ज गरिएको छ । ऐनमा उल्लेख भएअनुसार तिनीहरू सबैमा छुट्टाछुट्टै आदिवासी जनजाति हुने आधार देखिँदैन । अनुसूचीमा थकालीसम्बन्धी तथ्यांक विन्डिङ र आइजिमाका अध्ययन अनुसन्धानभन्दा पृथक छ । 

थकालीलाई पहिले थाक्से भनिन्थ्यो । कालान्तरमा थाक खोलाको आसपासमा बस्ने समुदायलाई थकाली भनिएको हो । थकाली अनुसन्धान केन्द्रको विधानमा उल्लेख भएअनुसार थकालीहरूको आदिभूमि थाकखोला अर्थात् थासाङ हो । हिजोआज मूलत: शेरचन, गौचन, तुलाचन र भट्टचनलाई थकाली भन्ने गरिएको पाइन्छ । तिनीहरू गोत्र (क्यहु) का आधारमा विभाजित गरिएका हुन् । अनुसूचीमा परेको बाह्र गाउँलेलाई पनि थकाली नै भन्ने गरेको पाइन्छ । प्राध्यापक रामबहादुर क्षत्रीले बताए अनुसार बाह्र गाउँले मुक्तिनाथ क्षेत्रको बाह्र गाउँहरूमा बसोबास गर्छन् । तिनको भाषाचाहिँ गुरुङ वा भोटे समुदायसँग मिल्ने महासंघ उपाध्यक्ष गणेश थकालीको बुझाइ छ । सरकारी मानवीय विकास सूचाकांक २०५८ मा थकाली उन्नत समूह र तीनगाउँले थकाली, मार्फाली थकाली र बाह्र गाउँले सुविधा वञ्चित समूहमा समूहीकृत छ । 

पहुँच हुने जातिलाई थकाली र त्यसमा पनि उन्नत आदिवासी जनजाति समूह र अन्यलाई सुविधाबाट वञ्चित भन्दै तीनगाउँले थकाली, मार्फाली थकालीे नाम जुराइदिएको रोष प्रकट गर्ने थकालीहरू पनि भेटिन्छन् । उनीहरूको भनाइ छ, उनीहरू सबै थकाली नै हुन् । त्यसैले जनगणनामा सबैले थकाली नै लेखाउँछन् । ठाउँविशेषमा केही भिन्नपन त हुन्छ नै । जस्तो काठमाडांै उपत्यकामा असन, पाटन, भक्तपुरका नेवारका भाषा, संस्कृतिमा केही विविधता भएझैं । थकाली जति एकै हांै भन्ने थकालीहरूको भनाइ यस्तो छ, ‘जातीय राजनीति गर्नेहरू स्वार्थका लागि कहिलेकाहीं मार्फाली, तीनगाउँले भइटोपल्ने गर्छन् ।’ उनीहरूको बुझाइ छ, अगुवा थकालीले थकालीलाई नै विभेद गर्नेगरी व्यहार गरे । गाउँ फरक हुनेबित्तिकै कोही उन्नत थकाली र कोही गैरउन्नत थकाली हुँदैन । 

अनुसूचीमा परेको कसैले नचिनेको, नजानेको समुदाय छैरोतन हो । नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अहिलेसम्म एकैजना पनि छैरोतन हौं भन्ने भेटेको पुष्टि गर्न सकेको छैन । सन्तबहादुर गुरुङ र अरूहरूको एक प्रतिवेदनमा छैरोतनको भाषा थकालीसँग मिल्ने तर अन्य केही पहिचान फरक भएको उल्लेख छ । मधुसूदन पाण्डेयले ‘नेपालका जनजातिहरू’ (छैटौं संस्करण) शीर्षक पुस्तकमा छैरोतनहरू थकाली र मार्फाली थकालीसँग मिल्दोजुल्दो हुन्छन् भन्ने लेखेका छन् । सम्भवत: मुस्ताङको टुकुचेभन्दा उत्तरतिरको छैरोतिर बस्ने थकालीलाई नै छैरोतन भनेर लेखिएको हो । वैकल्पिक ऊर्जा प्रवर्धन र विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले तयार पारेको एक मस्यौदा अभिलेखमा छैरोतनलाई तामाङ, थकाली र पाँच गाउँलेमध्ये कुनै एक हुनुपर्छ भन्ने अनुमान गरेर लेखेको छ । उक्त मस्यौदामा छैरोतनको संख्या २०० जति होला भन्ने अनुमान छ । 

अनुसूचीमा उल्लेख भएको ताङ्वे समुदायको कथा अलि भिन्न छ । मुस्ताङ जिल्लाको छुक्साङ गाविसमा ताङ्वे भनिने एक गाउँ छ । त्यस गाउँमा बसोबास गर्ने समुदायलाई अनुसूचीमा ताङ्वे भनिएको छ । ताङ्वे समाज सेवा संघका अध्यक्ष सुशील ताङ्वेले जनाए अनुसार नागरिकतामा अहिलेसम्म कसैले पनि ताङ्वे लेखेका छैनन् । उनको भनाइ अनुसार अधिकांशले गुरुङ वा लामा लेखाउँदै आएका छन् । मधुसूदन पाण्डेयले जनाएअनुसार तिब्बती भाषामा ‘ताङ’ को अर्थ लखेटिएका र ‘वे’ को अर्थ जाति भन्ने हुन्छ । पाण्डेयको कथनलाई मान्ने हो भने ताङ्वे तिब्बततिरबाट लखेटिएको एक भोटे समुदाय हो । ताङ्वे समुदाय र त्यसको भाषा अहिलेसम्म जनगणनामा सूचीकृत छैन । 

अनुसूचीमा एक अर्को लार्के भनिने समूह पनि छ । लार्केको संख्या र भाषासम्बन्धी जानकारी जनगणनासम्बन्धी तथ्यांकमा छैन । गोर्खाको उत्तरी भेगमा लार्के भन्ने एक गाउँ छ । त्यहाँ बसोबास गर्ने समुदायलाई लार्के भनी अुनसूचीमा लेखिएको हो । नेपाल आदिवासी जनजाति महासंघमा ‘लार्के समाज कल्याण केन्द्र’ सदस्य छ । भाषासम्बन्धी जानकारी दिने विद्युतीय सञ्जाल ‘इथ्नोलग’ मा उल्लेख भए अनुसार भोट बर्मेली परिवारअन्तर्गत पर्ने एक नुब्री भाषालाई लार्के, भोटे, भोटिया, कुटाङ भोटिया आदि उपनामले पनि जानिन्छ । त्यस अनुसार लार्के नुब्री भाषी हुन् । त्यो भाषा डोल्पो, वालुङ, ल्होमी भाषासँग दुई तिहाई जति मिल्छ । त्यसरी नै गोर्खाकै उत्तरी भेकको सियारखोला आसपासमा बसोबास गर्ने एक समुदायलाई अनुसूचीमा सियार लेखिएको छ । सियारलाई धादिङको एक समुदाय हो भन्ने सन्तबहादुर र अरूहरूको एक अनुसन्धान प्रतिवदेनमा उल्लेख छ । सियार पनि जनगणनामा परेको छैन । तर, जनजाति महासंघमा ‘सियार समाज कल्याण केन्द्र’ सदस्य छ । सियारलाई चुम्बा पनि बताइन्छ । 

संखुवासभाको एक उत्तरपूर्वी गाविस चेपुवाको एक गाउँको नाम थुदाम हो । त्यहाँ अक्सर भोटे समुदायको बसोबास छ । त्यहाँ बस्ने भोटे समुदाय र ताप्लेजुङका भोटे समुदायहरू करिबकरिब उस्तै हुन् भन्ने बताइन्छ । तर, अनुसूचीमा त्यही ठाउँको नामका आधारमा त्यहाँ बसोबास गर्ने भोटे समुदायलाई छुट्टै थुदाम भन्ने लेखिएको छ । तर, उनीहरूको छुट्टै भाषा अभिलेख भएको छैन । बरु थुदामकै उत्तरी भेगमा बस्ने एक भोटे समुदायको भाषाचाहिँ सिङसाबा (ल्होमी) भन्ने २०५८ को जनगणनाबाटै सूचीकृत छ । एक पुस्तकमा भाषा अंकित नेपालको नक्सामा सिङसाबा र वालुङ भाषीको क्लस्टर एकै ठाउँ देखाइएको छ । त्यो क्लस्टरको संखुवासभातर्फ सिङसाबा र ताप्लेजुङतर्फ वालुङ भाषीको बसोबास छ भन्ने संकेत गरिएको छ । ती छुट्टै भाषा नभएर भोटे भाषाकै भाषिका हुन सक्छन् । 

थुदामेहरूमध्ये केही संखुवासभाकै गुफापोखरी, तेह्रथुम वसन्तपुरमास्तिरको टुटेदेउराली र काठमाडौंस्थित बौद्धमा बसोबास छ । टुटेदेउरालीका छिरिङ लामा थुदामे भोटे हुन् । उनको नागरिकतामा नाम छिरिङ लामा र बाबुको नाम कामी भोटे र बाजेको नोर्बु भोटे उल्लेख छ । छिरिङले थुदामेको भाषा संखुवासभाका ल्होमी (सिङसाबा) भोटेसँग थोरै नमिल्ने तर ताप्लेजुङका तोप्केगोला र वालुङहरूसँग मिल्ने बताउँछन् । लामाका अनुसार थुदामेहरू देशभर १४/१५ सय जति संख्यामा छन् । उनीहरूको नागरिकतामा भोटे वा लामा नै लेखिएको छ । वालुङ र तोप्केगोला अनुसूचीमा उल्लेखित समुदाय हुन् । तिनीहरू २०५८ को जनगणनामा सूचीकृत थिएनन् । तर पनि नागरिकतामा वालुङ र तोप्केगोला लेखिएको एकैजना व्यक्ति पनि अहिलेसम्म फेला नपरेको जानकारी जनजाति उत्थान राष्ट्रिय प्रष्तिष्ठानका कर्मचारीहरू बताउँछन् । इथ्नोलगमा वोलाङचुङ गोला, वालुङ, होलुङ, होलुंगे एकै भाषाका विविध नामहरू हुन् भन्ने लेखिएको छ । त्यसैगरी तोप्के गोला वालुङ भाषाको भाषिका र त्यो थुदाममा सजिलै बुझिने भन्ने उल्लेख छ । 

अनुसूचीमा परेको अति अन्योल समुदाय ‘फ्री’ हो । त्यो सम्भवत: कात्तिक र चैत महिनामा फेरी लाउन हिँड्ने जोगीलाई फ्री भनिएको हुनुपर्छ । तेह्रथुमस्थित ओयाकजुङ गाविसका कृष्ण जोगीले ‘सामाजिक समावेशीकरण अनुसन्धान कोष’ (सिर्फ) को अनुदान सहयोगमा फेरी लाउने समुदायको दिनचर्याप्रति अनुसन्धान गरे । उक्त अनुसन्धानकै आधारमा जोगीले ‘फेरी कल्चर’ (जुन २०१२) शीर्षकमा एक पुस्तक लेखेका छन् । पुस्तकमा फेरी लगाउने फेरीवालहरू नेपालको आदिवासी जनजाति नै हुन् भन्ने जिकिर छ । २०६९ साल वैशाखमा फेरीवाल जोगी समुदायको पूर्वाञ्चल भेला धरानमा सम्पन्न भयो । उक्त भेलाले ‘नेपाल फेरीवाल जोगी संघ’ गठन गरेको छ । भेलाले ‘जोगी अर्थात् फेरी लाउने समुदाय मौलिक सांस्कृतिक र जातीय पहिचान छ भन्दै फेरीवालहरू एक छुट्टै अल्पसंख्यक समुदाय भएको दाबी’ पनि गरेको छ । 

अनुसूचीमा ‘मुगाल’ भन्ने पनि छ । मुगालसँग सम्बन्धित ‘मुगाल जनजाति समाज कल्याण केन्द्र’ नेपाल आदिवासी जनजाति महासंघ सदस्य हो । उक्त संस्थाको केन्द्रीय समितिको कार्यलय मुगुमा छ । तर, इथ्नोलगमा अरुण नदीको किनारमा बस्ने समुदायले मुगाली भाषा बोल्छन् भन्ने उल्लेख गरिएको पाइन्छ । मुगालीहरूको मुगा, सिंधुवाखोला, पाख्रिवास, फलाटेमा करिब १५ सयको संख्यामा बसोबास छ भन्ने लेखिएको छ । मुगालबारे अन्य जानकारी पाइँदैन । त्यस्तै अनुसूचीमा वनकरिया पनि छ । जनगणनाको तथ्यांकमा वनकरिया भाषीको संख्या ६९ जना भन्ने लेखिएको छ । चन्द्रबहादुर श्रीस मगरले वनकरियाको मौलिक ज्ञान र जैविक विविधता संरक्षणसम्बन्धी एक अनुसन्धान सन् २००६ मा सामाजिक समावेशीकरण अनुसन्धान कोषसँग आबद्ध भएर गरेका थिए । श्रीस मगरले बुझाएको प्रतिवेदनमा जनजाति महासंघको एक अभिलेख उल्लेख गर्दै वनकरियाको जम्मा संख्या ६९ जना (१३ परिवार) भन्ने लेखेका छन् । उनीहरूको बसोबासस्थल मकवानपुरको हाडीखोला गाविस अन्तर्गत ट्वांग्रा डाँडा गाउँ र मुसेधाप भन्ने छ । केहीको पर्साको ठोरी गाविसअन्तर्गत लामीटार भन्ने गाउँमा बसोबास छ भन्ने जनाइएको छ । श्रीस मगरले वनकरियाहरू चेपाङ समुदायसँग अत्यन्त मिल्दोजुल्दो हुन्छन् भन्ने लेखेका छन् । हिँजोआज वनकरिया चेपाङ नै हुन् भन्ने बुझाइ छ । 

कार्यदल गठन 
नेपाल सरकारले समाजशास्त्री सन्तबहादुर गुरुङको संयोजकत्वमा कृष्णबहादुर भट्टचन, टेकनारायण राजवंशी, विष्णुदत्त आङबुहाङ, रामलखन चौधरी र रवीन्द्रनाथ अधिकारी सम्मिलित जनजाति उत्थान प्रतिष्ठान कार्यदल २०५२ साल पुस ३० गते ३ महिना समयावधि तोकेर बनाएको थियो । कार्यदलले झापा, गोरखा, पोखरा र काठमाडौंमा जनजाति अभियन्ता, राजनीतिक व्यक्तित्व, पत्रकार तथा अधिवक्तामाझ अन्तक्र्रिया र जनजातिसम्बन्धी विभिन्न पाठ्यसामग्रीका आधारमा प्रतिवदेन तयार पारिएको उल्लेख छ । प्रतिवेदनमा जम्मा ६१ समुदायको सूची छ । त्यसबाट मनाङे हटाइयो । चिमतन, ठिनतन, स्वागतनलाई तीनगाउँले थकाली र होलुङलाई वालुङ बनाउँदै प्रतिवेदनमा नपरेको याक्खा थपेर अनुसूचीमा जम्मा ५९ आदिवासी जनजाति जारी भएको हो । भाषाविद् तथा अधिवक्ता रामजी कोङग्रेनको जोडमा याक्खा थपिएको थियो । त्यसअघि याक्खा राई र लिम्बूमा सूचीकृत हुँदै आएका थिए । गाउँघरमा चाहिँ उनीहरू जिमी वा देवानका रूपमा चिनिन्थे । याक्खाको संस्कृति र भाषा लिम्बू संस्कृति र भाषासँग निकै हदसम्म मिल्छ । विवाहबारी पनि याक्खा र लिम्बूमा सरोबरी चल्छ । 

सामन्यत: जनगणनामा सूचीकृत तथा अध्ययन अनुसन्धानका आधारमा जातजातिसम्बन्धी अनुसूची जारी गर्ने प्रचलन छ । तर, अनुसूची जारी गर्दा त्यसो गरिएन । त्यो अनुसूचीमा परेका ५९ आदिवासी जनजातिमध्ये ३० समुदाय २०४८ को जनगणनामा सूचीकृत नै थिएनन् । त्यसमध्ये २०५८ को जनगणनामा १५ समुदाय सूचीकृत भए । बाँकी १५ मध्ये ४ समुदाय डोल्पो, तोप्के गोला (ताप्लेजुङ), ल्होपा (मुस्ताङ – ल्होमान्थाङ) र ल्होमी (संखुवासभा– हटिया, चेपुवा, किमाथांका) २०६८ को जनगणनामा सूचीकृत भए । अझै अनुसूचीमा परेका ११ आदिवासी जनजाति कहाँ छन्, अत्तोपत्तो छैन । तीनको भाषा, संस्कृति के हो ? राज्यको अभिलेखमा उल्लेख छैन । केही मानवाशास्त्री तथा समाजशास्त्रीहरूका बुझाइमा कार्यदलको प्रतिवेदन हचुवाको भरमा तयार गरिएको थियो । प्रतिवेदन तयार पार्दा आदिवासी जनजाति अर्थात् इथ्निसिटीका बारेमा पर्याप्त मात्रामा अध्ययन नगरेको भन्न सकिने स्थिति छ । त्यो अनुसूची समाजशास्त्रका मान्यताका आधारमा तयार गरिएको भन्ने पुष्टि हुँदैन । 

जनगणनामा जनजाति 
जनगणना २०६८ मा राईबाट छुट्टिएका १२ आदिवासी जनजाति (आठपहरिया, बाहिङ, बान्तावा, चाम्लिङ, खालिङ, कुलुङ, लोहरुङ, मेवाहाङ, बाला, साम्पाङ, थुलुङ, नाछिरिङ र याम्फू) थपिए । उनीहरूको भाषा २०५८ कै जनगणनामा सूचीकृत भइसकेको थियो । त्यसैगरी थारूबाट खसास र गुरुङबाट घले छुट्टिएर जनगणनामा सूचीकृत भएका छन् । अनुसूचीमा राजवंशी र कोचेलाई एकै मानी राजवंशी (कोचे) लेखिएको थियो । २०६८ को जनगणनामा राजवंशी र कोचे छुट्टाछुटट्टै सूचीकृत छ । त्यसबाट २०६८ जनगणनामा आदिवासी जनजाति समुदाय जम्मा ६३ संख्यामा देखिन्छ । तर, अनुसूचीका आधारमा नेपालका आदिवासी जनजाति संख्या भने ५९ नै हो । 

तथ्यांक कि मिथ्यांक ?
अनुसूचीका ५९ आदिवासी जनजातिमध्ये फ्री र छैरोतन भन्ने समुदाय नेपालमा कतै छैन भन्ने जनजाति अभियन्ताहरूले बताउँदै आएका छन् । ती दुई मात्र होइन अनुसूचीमा परेका एक दर्जन समुदाय नै उल्लेख भएबमोजिम छुट्टै आदिवासी जनजाति हुन् वा होइनन् ऐनमा उल्लेख गरिएको परिभाषाको आधारमा शंका गर्न सकिने स्थिति छ । त्यसैले तिनीहरूका छुट्टै भाषा, संस्कृति, सामाजिक संरचना आदि छ वा छैन अनुसन्धान हुन जरुरी छ । पत्थरकट्टा (कुसबाडिया) र धानुक अनुसूचीको अर्को गलत पाटो हो । अनुसूची अनुसार ती दुवै आदिवासी जनजाति हुन् । नेपाल दलित आयोगको अनुसूचीमा पत्थरकट्टा मधेसी दलित समूहमा छ । चित्रबहादुर थापाले गरेको एक अध्ययन प्रतिवेदनमा कपिलवस्तुका कुसबाडियाले आफूहरूलाई दलित नै भन्छन् भन्ने छ । भारतमा पत्थरकट्टालाई दलित समुदायका रूपमा लिइन्छ । त्यसैगरी मण्डल कमिसन (सन् १९८०) को प्रतिवदेनमा धानक/धानुक सेड्यल कास्ट अर्थात् दलिततर्फ समावेश छ । महासंघले सरकारको धेरैजसो तथ्यांक सत्य छैन, त्यसलाई मिथ्या भन्दै आएको छ । माथिका विवरणले महासंघ आफैं मिथ्यांकका जगमा उभिएको देखिन्छ । महासंंघको निर्वाचन पद्धति समयसापेक्ष छैन । केवल निर्वाचनका निम्ति निर्वाचनजस्तो मात्र छ । 

अन्तमा, महासंघमा राजनीतिक पार्टीको ठाडो हस्तक्षेप सुरु भएको छ । जिल्लास्तरकै निर्वाचनमा राजनीतिक पार्टीका प्यानल उठ्ने चलन बसिसकेको छ । महासंघमा भाषा, संस्कृति, पहिचान आदिका कुरा ओझेलमा परी राजनीति गर्नेहरू सभासद बन्न पाइने आकांक्षामा महासंघ अध्यक्ष र महासचिव हुने परिपाटीले घर गरेको छ । दोस्रो जनआन्दोलन पश्चात् अपवाद बाहेक अध्यक्ष र महासचिव मनोनीततर्फबाट सभासद चुनिए । हिजोआज महासंघ राजनीति गर्नेहरूको अखडाजस्तो बनेको छ । त्यसले महासंघ आफ्नो लक्ष्यमा चुकेको छ । बेलैमा सच्चिन जरुरी छ ।

प्रकाशित : माघ ८, २०७३ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?