वाणिज्य बैंकहरूको तरलता समस्या

वाणिज्य बैंकहरू हायर पर्चेज, घर जग्गा खरिद, सेयर धितोजस्ता क्षेत्रमा धेरै ऋण लगानी नगर्ने भन्दै आएका छन् तापनि बैंकहरूको हालको अधिकांश कर्जा अनुत्पादक क्षेत्रमै गएको तथ्यांकले पुष्टि गर्छ ।

वाणिज्य बैंकहरूको तरलता समस्या

आजकल बजारमा तरलताको विषयलाई लिएर नेपाल राष्ट्र बैंक र निजी क्षेत्रका बैंकहरूबीच जुहारी र रस्साकस्सी चलिरहेको देखिन्छ । तरलता अभाव भएको विषयलाई दुवै पक्षले स्विकारिरहेका छन् । बजारमा ऋणको माग बढेको र बढ्दो मागअनुसार वाणिज्य बैंकसँग पुँजी अभाव भएकाले यो समस्या आएको हो । किन र कुन क्षेत्रमा ऋण माग बढेको हो र यसले अर्थतन्त्रमा के प्रभाव पार्छ भनेर विश्लेषण गर्ने बेला आइसके पनि अहिले तत्काल भने वाणिज्य बैंकहरूलाई लगानीका लागि आवश्यक भएको रकम कसरी पूरा गरिदिने भन्ने समस्या टड्कारो देखिएको छ । बैंकको आवश्यकतालाई मध्यनजर गरेर नेपाल राष्ट्र बैंकले रिपो जारी गर्ने र ट्रेजरी बिल खरिद गरिदिने जस्ता तरलता उपलब्ध गराउने उपाय अघि सारेको छ । तर, बैंकहरू भने कर्जा–निक्षेप (सीसीडी) अनुपात ८० प्रतिशत पुगेको अवस्थामा १२ प्रतिशत ब्याज दिएर सर्वसाधारणबाट निक्षेप संकलन गरे पनि राष्ट्र बैंकले करिब ४ प्रतिशत कममा तरलता सुविधा दिन गरेको प्रस्ताव मानिरहेका छैनन् । बैंकबाट कर्जा नगए लगानी अवरुद्ध हुने भई विकासको काम अगाडि नबढ्ने भएकाले यो समस्याबाट सरकार पनि चिन्तित बनेको हुनुपर्छ ।

किन वाणिज्य बैंकहरू राष्ट्र बैंकले उपलब्ध गराएको सुविधा लिन मानिरहेका छैनन् भन्ने सन्दर्भमा संक्षिप्त अध्ययन विश्लेषण गर्दा बैंकहरूको भनाइ पनि मनासिव देखिन आउँछ । सरकारले विकास खर्च गर्न नसकेर केन्द्रीय बैंकसँग अरबौं रुपैयाँ निष्क्रिय रूपमा रहिरहेको छ । यो पैसाबाट सरकारलाई कुनै ब्याज आम्दानी पनि हुँदैन । यस्तो अवस्थामा कि त सरकारले विकास खर्च बढाउने कार्य योजनाका उपायमार्फत पुँजीगत एवं विकास खर्च बढाउन सक्नुपर्छ नभए न्यून दरमा वाणिज्य बैंकहरूलाई रकम उपलब्ध गराएर तरलता अभावको समस्या समाधान गर्नुपर्छ । देशमा तरलता संकट गहिरिने र अनुत्पादक क्षेत्रतिर प्रवाहित भएको कर्जा नरोकिने हो भने बैंक तथा वित्तीय संस्थाहरू थप लगानी गर्न नसक्ने हुन्छन् । लगानी गर्न नसकेपछि बैंकप्रति आम जनताको विश्वास गुम्न थाल्छ । सरकारले पुँजीगत खर्च गर्न पनि नसक्ने र वाणिज्य बैंकहरू लगानी गर्न पनि नसक्ने हो भने देशको अवस्था कति खराब होला र विकासको गति कस्तो होला, सहजै अनुमान लगाउन सकिन्छ । करिब पाँच वर्ष अगाडितिर पनि झन्डै यस्तै स्थिति आइपरेको र त्यसबेला राष्ट्र बैंकले समयमै उचित कदम चालेकाले ठूलो दुर्घटना हुन पाएको थिएन ।

यो वास्तविकता एकातिर छ तापनि अहिलेको तरलता समस्या समाधानको उपायका रूपमा बैंकहरूले ट्रेजरी बिल धितो राखेर रकम लिऊन् भन्ने सोच राष्ट्र बैंकले राखिरहेको देखिन्छ । यसैबीच नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकलाई कर्जा निक्षेप अनुपात ८० प्रतिशतबाट बढाउनुपर्ने माग गरेको छ । नियमन निकायको रूपमा रहेको राष्ट्र बंैक भने जनताको सञ्चित रकमको सुरक्षा र अनुत्पादन लगानीको जोखिमबाट टाढै रहन कर्जा निक्षेप अनुपात बढाउन चाहिरहेको छैन । तर, पछिल्लो समयमा आएर केन्द्रीय बैंकको रूपमा रहेको नेपाल राष्ट्र बैंक केही हदमा कर्जा निक्षेप अनुपात बढाउन सहमत भएको देखिन्छ ।

यसैबीच राष्ट्र बैंकले २०७३ मंसिर महिनाको आर्थिक एवं वित्तीय स्थितिको विवरण प्रकाशमा ल्याएको छ । विवरणअनुसार बैंक तथा वित्तीय क्षेत्रको कर्जा गत वर्षको यसै अवधिको भन्दा ३०.४ प्रतिशतले बढेको छ । यो वृद्धि रोजगारीमूलक उत्पादन क्षेत्रमा भन्दा ओभरड्राफ्ट, हायर पर्चेज, घरजग्गा तथा सेयरको धितोमा बढेको देखिएको हुँदा राष्ट्र बैंकले बढी चिन्ता र चासो लिएको देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आव २०७३/७४ को गत महिनासम्मको ओभर ड्राफ्टको अंक हेर्दा बैंक तथा वित्तीय संस्थाको कर्जा अघिल्लो वर्ष आव २०७२/७३ को मंसिरमा २ खर्ब ४८ अर्ब थियो भने आव २०७३/७४ को मंसिरमा ३ खर्ब ३६ अर्ब पुगेर ८७ अर्बले बढेको छ । यसैगरी मार्जिन ऋण ११ अर्व ५९ करोड, आवास कर्जा ३५ अर्ब ६२ करोड, घरजग्गामा २७ अर्ब ६९ करोड, सवारीसाधन (हायर पर्चेज) मा ५२ अर्ब ५६ करोड बढेको छ । यद्यपि वाणिज्य बैंकहरू हायर पर्चेज, घरजग्गा खरिद, सेयर धितोजस्ता क्षेत्रमा धेरै ऋण लगानी नगर्ने भन्दै आएका छन् तापनि बैंकहरूको हालको अधिकांश कर्जा अनुत्पादक क्षेत्रमै गएको तथ्यांकले पुष्टि गर्छ ।

एकातिर अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह बढी गराई तरलताको अभाव सिर्जना गर्ने, अर्कातिर तरलता बढाउन राष्ट्र बैंकले दिएको सुविधा पनि नलिने वास्तविकताले भने वाणिज्य बैंकहरूको क्रियाकलापबाट राष्ट्र बैंक असन्तुष्ट देखिएको हुनुपर्छ । सामान्यत: रिपो र ऋणपत्रको धितोमा राष्ट्र बैंकबाट पाइने ऋण ज्यादै छोटो अवधि १५ दिन (प्राय: रिपो कारोबार) को हुने गरेको र यसरी १५ दिन मात्रका लागि लिएको ऋण लगानी गरेर असुली र चुक्ता भुक्तानी हुन नसक्ने हुँदा वाणिज्य बैंकहरूले रिपोको अवधि बढाउन वा रिभर्स रिपोको सुविधा दिन माग गर्ने गरेका छन् । अहिलेको अवस्थामा सरसर्ती हेर्दा वाणिज्य बैंकहरूको यो माग विचारणीय नै देखिन्छ ।

नेपालको अर्थतन्त्रको अवस्थालाई दीर्घकालीन सोच राखेर हेर्दा सन्तोषजनक नभएको तथ्यलाई वाणिज्य बैंकहरूको कर्जा लगानीका क्षेत्रहरूले पनि स्पष्ट पारिरहेका छन् । उद्योग स्थापना गर्ने, रोजगारी बढाएर आन्तरिक मागका साथै निर्यातसमेत बढाउने उद्देश्यका आयोजनामा लगानी बढ्न सकेको छैन । यसतर्फ सरकार, राष्ट्र बैंक र निजी क्षेत्र मौन बराबर छन् । नीतिगत रूपमा रोजगारी बढाउने भने पनि कार्यगत रूपमा सम्भव भइरहेको देखिँदैन । रोजगारी, उत्पादन र आयआर्जन बढाउने किसिमका उद्योगको स्थापना हुन नसकेको अवस्थामा पुँजी पलायन हुनु वा सेयरका रूपमा लगानी हुनु पनि आश्चर्यजनक हुँदैन । समग्रमा हेर्दा बैंकिङ क्षेत्र सम्पूर्ण राज्य व्यवस्थाको एउटा मात्र क्षेत्र हो । वित्तीय क्षेत्र, सामाजिक क्षेत्र र त्यसभित्रका स्वास्थ्य शिक्षा आदि सबै क्षेत्रको प्रतिफल निराशाजनक नै देखिन्छ । निर्यात प्रवद्र्धन गरेर विदेशी मुद्रा आर्जन गर्न नसकी विप्रेषणबाट खाँचो पूरा गर्नु परिरहेको अवस्थामा बैंकहरूले गर्ने लगानी र त्यसले अर्थतन्त्रमा पार्ने असरबारे चासो हुनु अत्यन्त सान्दर्भिक हुन्छ । सरकार र राष्ट्र बैंकले तरलताको विषयलाई लिएर तुरुन्त निर्णय गरिहाल्नुपर्छ र पुँजीगत क्षेत्रमा लगानी बढाउन नसक्ने हो भने राजस्वका रूपमा असुल भई निष्क्रिय रहिरहेको पुँजीलाई उपयोगमा ल्याउने विकल्पलाई पनि प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रकाशित : माघ ९, २०७३ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?