कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मुसहर, माटो र अखण्डता

चन्द्रकिशोर

मधेस विद्रोहको १० वर्ष पुगिसक्दा पनि काठमाडौंबाट आउने गरेको प्रश्न हो, यसले एउटा आम मुसहरको जीवनमा के परिवर्तन ल्यायो ?

मुसहर, माटो र अखण्डता

एक दशकभित्र तीनपटक आन्दोलन भइसक्दा पनि भुइँ सतहसम्म त्यसले के दियो ? प्रत्येक वर्षझैं यसपालि पनि जाडो सुरु भए लगत्तै प्राय:गरी मुसहरहरूको विपन्नता र तिनलाई जाडो छल्न परेको गाह्रोसाह्रोको चर्चा मिडियामा प्रशस्त आइरहेका छन् ।

 कतिपय संघ/संस्था र दाताले उनीहरूका लागि केही गरेको देखिन्छ/सुनिन्छ । यो बर्सेनिको चक्रजस्तै चल्छ । कतिपयले यस्तो अवस्थालाई मधेसी राजनीतिको अँध्यारो पाटोसँग जोड्छन्, तर मूलभूत रूपमा हेर्दा यो खासगरी ०४६ सालपछिको जनपक्षीय राजनीतिको पराजय हो । विगतका निर्वाचनमार्फत जोजसले तिनको मतबाट आफूलाई ‘माननीय’का रूपमा उभ्याएका छन्, ती सबैको नैतिक पराजय हो यो । 

मुसहर मात्रै किन जोकोही पनि अन्तिमजन आफूलाई जबसम्म उपेक्षित महसुस गरिरहन्छन्, त्यतिन्जेलसम्म नेपालको राजनीति न स्थिर हुनसक्छ, नत भौगोलिक अखण्डता नै अक्षुण्ण रहन सक्छ । अन्तिमजन भनेको सामाजिक, आर्थिक र राजनीतिक रूपमा किनारामा परेका समूह वा व्यक्ति हुन् । राजनीतिमा ‘अन्तिमजन’को सवाललाई महात्मा गान्धीले इमानदारितासाथ उठाएका थिए । उनले राजनीतिलाई तिनीहरूको बृहत्तर स्वार्थसँग जोडेका थिए । उनी भन्ने पनि गर्थे, ‘जब निर्णय गर्न कुनै अलमल वा अप्ठ्यारो पर्छ, त्यतिखेर सोच कि मैले लिने निर्णयले अन्तिमजनलाई के लाभ पुग्छ ।’

मुसहर र माटो
मुसहर जातिको सबैभन्दा बढी घनत्व भएको जिल्ला सिरहा हो । मुसहर, मधेसी दलितहरूमध्ये पनि सर्वाधिक पिछडिएका जाति हुन् । पछिल्लो ७ वर्षदेखि सवरी संकल्प समाज तथा नेपाल राष्ट्रिय मुसहर संघको संयोजनमा यिनीहरूले प्रत्येक वर्ष माघ १० लाई माटो दिवसको रूपमा मनाउँछन् । माटोसँग मुसहरहरूको परम्परादेखि नै अभिन्न सम्बन्ध रहेको मानिन्छ । त्यसैले आफ्नो पहिचान र सामाजिक परिवर्तनका निम्ति माटो दिवस उनीहरूका लागि सामुदायिक ऐक्यबद्धता दिवस पनि हो । आफूलाई ऋषिकुलका सन्तान र रामायणकालीन सवरीका वंशज मान्ने मुसहरहरूले ‘दिनाभद्री’लाई लोकदेवताको रूपमा स्विकारेका छन् । दिनाभद्रीको वीरगाथा मुसहर जातिको विशिष्ट सांस्कृतिक परम्पराको प्रतीक रहीआएको छ । यस जातिको आदर्श, यसका वर्ग—संघर्षलाई मनोबल बढाउने मानदण्डका रूपमा दिनाभद्री रहिआएको छ । यस पटक सिरहाको गोलबजारमा गोलबन्द भएका मुसहरहरूले आफ्नो व्यानरमा दायाँ—बायाँ दिनाभद्री र सवरीको चित्रका साथै बीचमा नेपालको राष्ट्रिय ध्वजालाई अंकित गरेका थिए । 

मूलत: माटो दिवसमार्फत मुसहरहरूले पाँच ‘प’लाई प्रक्षेपित गरेको पाइयो । विस्तारै त्यो समुदायभित्र पनि जुर्मुराहट सुरु भइसकेको छ । पहिलो ‘प’ हो, पुर्खाप्रतिको सम्मान । जातीय प्रतीकमार्फत उनीहरू आफ्नो पीडा र संघर्षलाई स्वर दिन चाहिरहेका छन् । दोस्रो, पर्णकुटीप्रतिको न्याय । प्राय:गरी उनीहरूको घर खरले छाएको हुन्छ र त्यो पनि आफ्नो स्वामित्व नभएको जग्गामा । अब उनीहरूले भूमिप्रतिको अधिकार तथा आधारभूत आवासको हक पनि खोज्दैछन् । तेस्रो, पर्यावरणसँग गाँसिएको छ । भूमिलाई उर्वर बनाउनु र खेती संस्कृतिको जग हाल्नुसँग आफूलाई जोडेर हेर्ने मुसहरहरू भूमिको उर्वरतामा आउँदो ह्रास, पानीको संकट, चुरेको विनाशले निम्त्याएको बालुवाकरण, कृषि माथिको संकटजस्ता पक्षलाई औंल्याउन चाहन्छन् । सिरहामै रहेको दिनाभद्रीको जन्मथलो ‘जोगिया जागर’बाट माटो ल्याई त्यसैलाई चन्दन लगाउँदै उनीहरू प्रतिबद्धता गर्छन् कि सामुदायिक हितका लागि गोलबन्द अब हुनैपर्छ । बर्सेनि यिनीहरूको सहभागिताको संख्या थपिँदै छ । पाँचौं कुरा हो— प्रतिरोध, अब उनीहरू राज्य र समाज दुइटैसँग शान्तिपूर्ण प्रतिरोध गर्न खोज्दै छन् । 

असमान सामाजिक व्यवस्थाले द्वन्द्व उत्पन्न हुन्छ, स्थायित्वका निम्ति आर्थिक वृद्धिले मात्र हुँदैन । हो, आर्थिक वृद्धिले एक हदसम्म समाजलाई गतिशील बनाउँछ । नेपालजस्तै मधेसी समाजको बनोट साह्रै असमान छ । सिरहामै पनि मुसहरहरूको ठूलो हिस्सा पूर्व–पश्चिम राजमार्गको छेउछाउमा बसोबास गर्दै आएका छन् । सडक मात्रले पनि उनीहरूको जीवनमा मुक्ति दिएन । मुसहरहरूको अवनतिका प्रत्येक पक्षलाई विवेचना नगरिकन लोकतान्त्रिक समाजको जग स्थिर हुनसक्दैन । समाजलाई उथलपुथल हुनबाट जोगाउन सकिँदैन । 

पृथक स्वर
मधेस विद्रोहको दसौं वर्षको अवसरमा सिरहाको लहानमा पृथक नारा र स्वर गुन्जियो । प्रहरीको बाक्लो उपस्थितिका बाबजुद पनि खासगरी युवा वर्गको संख्या धेरै देखियो । अहिले पनि त्यहाँका स्थानीयहरू त्यो दिनको उपस्थितिलाई लिएर चर्चा गर्छन् । सिरहाको कुनै गाउँ वा चोक पुग्नुस्, घुमिफिरी कुरो त्यही आउँछ । त्यो दिनको भेलालाई लिएर युवा वर्गमा एक प्रकारको रुझान भेटिन्छ । तिनीहरूले काठमाडौंको असहिष्णुताको प्रतिक्रियामा आफू उभिएको दाबी गरे । आफूले समात्न लागेको गोरेटोले कहाँ पुर्‍याउँछ भन्ने प्राय:लाई थाहा छैन । तर उनीहरू के कुरामा प्रस्ट छन् भने काठमाडौंले दिने गरेको हाँकप्रति अब कति सहिष्णु हुने ? मधेसको मध्यमार्गी दलहरूले परिणाम दिन नसक्दा वा तिनीहरूको आयतन संकुचनमा पर्दा जुन खालीपन राजनीतिमा आएको छ, त्यसलाई चरमपन्थीहरूले ओगट्न खोज्दै छन् । अहिले केन्द्र र भुइँसतह दुवैतिरबाट मधेसको मध्यमार्गी राजनीतिलाई चेपुवामा पार्ने प्रयत्न हुँदै छ । 

संविधानका रचनाकार पक्षले नेपाली राजनीतिमा धेरै विषय आवाद गरे । तर बहुलतावादी दृष्टिकोणलाई व्यावहारिक धरातलमा ल्याउन चुके । ठूलै उपलब्धिको रूपमा गणतन्त्र त आयो, तर समाजमा कट्टरता बढ्यो, बहुलताका तानाबाना भत्किन थाल्यो, यो मूलधारका राजनीतिकर्मीहरूको चुक हो । उनीहरूले बेलैमा मधेसमा बदलिँदै गरेको मनोविज्ञानलाई छाम्न सकेनन् । फगत उनीहरूले मधेसी भनिने दलका पात्रहरूको खिस्सी उडाउँदै रमाउनुलाई नै आफ्नो कर्तव्यको इतिश्री ठाने । आज त्यही कारण हो, युवाहरू फरक धारतिर आकर्षित हुँदै छन् । तिनको बाटो सही हो कि गलत ? त्यसले तिनलाई र समाजलाई कहाँ पुर्‍याउँछ ? यस्तो सवालको जवाफ खोज्ने चाहना पनि उनीहरूमा देखिन्न । यो भयावह अवस्था हो । नेपालमा लोकतन्त्र र शान्तिको भविष्य हेर्न चाहने जोकोही जिम्मेवार नागरिकले पनि यो बदलिँदो आयामलाई नियाल्नैपर्छ । सिके राउतहरूको नियति कस्तो हुने हो ? अहिल्यै यकिन गर्न गाह्रो छ, तर प्रभाव जे भए पनि तिनबाट उत्पन्न हुने राजनीतिक ज्वारलाई उपेक्षा गरेर, दबाएर अब नेपालको स्थायित्व, गतिशीलता र जीवनलाई निरन्तरता दिन सकिन्न । 

ओरालो लागेको गति
मुलुक यतिखेर गम्भीर मोडमा छ । संविधानका रचनाकार दलहरूको सुझबुझका कारण यात यो अब उँभो लाग्छ वा जनआन्दोलन दुईको पूर्ण उपेक्षा र जनताको अपहेलना गर्दै ओरालो लाग्छ । लामो समयदेखि देखिएको उन्नतिका आशा र आकांक्षा खेर जानेछन् । ओरालो लागेमा इतिहासले गरिब बनाएका जनतालाई वर्तमानले पनि उपहास गर्नेछ र यसको दोष आज सत्ताको डाडु—पन्यु खेलाउने तागाधारी महानुभावहरूको काँधमा जानेछ । यतिखेर राष्ट्रिय एकता, अखण्डता एवं सार्वभौमिकताका स्वघोषित पहरेदारहरू स्वत: सक्रिय भएका छन् । खासगरी एकखाले वामपन्थीमा राजाहरूको महिमागान गर्ने मिसन नै चलेको छ । एउटा चल्तीको उखान छ, जसले इतिहासको व्याख्यालाई आफ्नो अनुकूल स्थापित गर्न सक्छ, वर्तमानलाई निर्देशित र नियन्त्रण गर्ने अधिकार पनि उसैले पाउँछ । अहिलेको संघर्ष इतिहासलाई हेर्ने अवधारणाप्रतिको मतान्तर होइन, निकट आगतलाई आफूखुसी नियन्त्रण गर्ने चाहनाको परिणति हो ।

मधेसमा सुरक्षातन्त्रको माकुरोजालो जेलिँदै गएको छ । सुदूर देहाततिर पनि सेनाका घुमुवाहरूको निगरानी बाक्लिएको छ । गणतन्त्र आएदेखि नै अलोकतान्त्रिक तागतको सामना हुँदै थियो । अहिले मधेसको भुइँ सतहको घटना तेस्र्याएर झन् अनुदार राज्य बनाउन चाहनेहरू हौसिएर आएका छन् । काठमाडौंभन्दा आम मधेसीलाई थाहा छ, पृथकतावादी आन्दोलनको हविगत के हुन्छ । स्वतन्त्र र संगठित नेपालका निम्ति मधेसले पटक—पटक संघर्ष गर्दै आएको हो । तर अहिले मधेसमा उब्जिएको निराशा र आक्रोश संयोगले केन्द्र र भुइँसतह दुइटैका अनुदारवादीहरूका लागि उर्वर खेत भएको छ । 

गान्धीको सम्झना
इतिहासलाई हेर्ने दृष्टिकोणको निसानामा परेर ३० जनवरी १९४८ मा गान्धी मारिए । आज उनको भौतिक अनुपस्थितिको करिब ७ दशकपश्चात् पनि बहुलतावादी सांस्कृतिक र वैचारिक उदारतामाथिका हमलाहरूले मान्छेलाई ज्यादा बेचैन गर्न थालेको छ । गान्धीले भारतमा विभिन्न धर्म र जातिबीच मैत्रीपूर्ण सम्बन्ध एवं असाम्प्रदायिक लोकशाही स्थापित गर्ने कार्य गरे । एउटा अत्यधिक धार्मिक एवं पारम्परिक मानसिकता भएको देशमा उनले एउटा धर्मनिरपेक्ष लोकतान्त्रिक व्यवस्थाको निर्माणको दिशामा सक्दो कोसिस गरेका थिए । अहिंसात्मक प्रतिरोधको गान्धीको बाटो आज हाम्राजस्ता समस्या भोगिराखेका देशका लागि सान्दर्भिक हुन्छ । नुस्खा एउटै भए पनि त्यसको प्रभावकारिता भने वैद्यको अनुभव, ज्ञान एवं सेवन विधिको विशिष्टता अनुसार फरक हुन सक्छ ।

यतिखेर मधेसीहरूको दिमागमा द्वन्द्व चलिरहेको छ, ना उम्मिदको भावना बढ्दो छ । जनताको अस्पष्ट विचारलाई मध्यमार्गी दिशा दिन ढिला हुँदैछ । यस्तो नाजुक मौकामा जुनसुकै भूगोलका जिम्मेवार नागरिकको निष्क्रियता घातक साबित हुन सक्छ । सिरहाका एक शिक्षक भन्दै थिए, ‘अहिले इन्सानियत, जम्हुरियत र मधेसियत संकटमा परेको छ ।’ अर्थात् मानवता, लोकतन्त्र र मधेसी अपेक्षा धरापमा छ । त्यस क्षेत्रका प्रौढ नागरिक निकट आगतमा जुनसुकै निहुँमा हुनसक्ने दमनको सम्भावनालाई लिएर त्यत्तिकै सशंकित छन् । तर सबभन्दा वञ्चितिमा रहेका मुसहरहरूले आफ्नो प्रतिरोधको क्रममा नेपालको राष्ट्रिय झण्डा अंकित गरिराख्नुले काठमाडौंका अतिवादीहरूलाई विनम्र जवाफ दिएको छ । 

प्रकाशित : माघ १३, २०७३ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?