१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

असल बन्ने चिकित्सक चाहना

डा. अजय रिसाल

बाह्र वर्ष भएछ, नाम अगाडि ‘डा.’ लेख्न थालेको पनि । २०६१ माघ १९ गते एमबीबीएस उत्तीर्ण भएको उल्लासमा भैरहवा छोडेर काठमाडौं उत्रिने तारतम्य मिलाएको क्षण । अनि फागुन १ बाट वीर अस्पतालमा इन्टर्नसिप सुरु गरेको समय ।

असल बन्ने चिकित्सक चाहना

अनि झन्डै २ दशकदेखिको आफ्ना संघर्षका क्षणहरू एक—एक गरी मानसपटलमा आइरहेछन् ।

सानो दु:ख भएको थिएन, आजको स्थितिमा आइपुग्न । अहिले पनि म आफ्ना समकक्षी—समवयी चिकित्सक मित्रहरूको त्यो बेलाको अनुहार झल्झली सम्झन्छु । उहाँहरूको पनि जीवनका स्वर्णिम वर्षहरू वास्तवमा संघर्षमय नै थिए । ‘दु:खम—सुखम’ गर्दै छात्रवृत्तिका लागि ६—६ महिना, १—१ वर्ष गर्दै दिन काटिएको थियो । ‘टिचिङ, मन्त्रालय, धरान, एम्बेसी’ धाउँदा—धाउँदै, घर—परिवारमा भइरहेका धार्मिक—सामाजिक जमघट—रमाइलोको परित्याग गर्दै, गोजी खर्चका लागि ‘ट्युसन—कोचिङ’ खोज्दै, ढोका थुनेर घोक्दै, पिरिएर—पिल्सिएरै इन्ट्रान्स परीक्षा दिइन्थ्यो । सधैं आशामुखी भएरै रिजल्टको प्रतीक्षा गरिन्थ्यो, तर नाम नआउँदा हिस्स परिन्थ्यो । लिखित राम्रो हुन्थ्यो, तर इन्टरभ्युमा बर्बाद † सोर्सफोर्स, लेनदेनका गाइँगुइँ नसुनिने होइन, तर कोही न कोही साथीभाइ पास भई नै रहन्थे । अन्तत: आफूले पनि एमबीबीएस पढ्ने सिट पाएँ । कठिन प्रतीक्षाको फल मिठो नै भयो । आखिर ‘डाक्टर’ बनेरै छाडियो । 

एउटा योग्य विशेषज्ञ बन्न झनै गाह्रो छ । समय, जाँगर, घरपरिवार, आफूले काम गरिरहेको संस्थाको साथ सँगसँगै ३—४ वर्षसम्मको अहोरात्र तपस्या आवश्यक पर्छ । त्यत्तिमात्र होइन, आफ्नो सीप र सामथ्र्यको सम्मान हुने र त्यसको उचित उपयोग गर्न सकिने स्थान पाउन ठूलै संघर्ष गर्नुपर्ने हुन्छ । आफूसँगै पढेका तर विविध कारणवश बिदेसिन बाध्य साथीहरूलाई सम्झन्छु म । आफ्नालाई यतै छोडेर, ‘छातीमाथि ढुंगा राखी’ विदेशी भूमिमा आफ्नो पसिना चुहाउन विवश ती बन्धुहरूलाई यहीं खटाउनसके कति जाती हुन्थ्यो होला ? मनभरि यस्ता अनेकौं प्रश्न आइरहन्छन् सधैं, तर थाहा छैन, उत्तर कतातिर खोज्ने होला । त्यस्तै जिल्ला—जिल्लामा खुसी (?) साथ गएका तर त्यहाँ उचित सुविधा, साधनस्रोत अनि साथ दिने सहयोगी हातहरूको अभावमा खुम्चिएर बसेका, आफ्नो भविष्यबारे हररात चिन्तित अनि कथंकदाचित् कुनै मानवीय त्रुटि भइहालेमा स्थानीयहरूबाट पाइने बेइज्जती, कहिलेकाहीं त पिटाइ नै पनि, मिडियामा फैलने सम्भव–असम्भव हल्ला, अनि साँचो कुरा नबुझी कारबाहीमा उत्रने पक्ष आदिका कारण फुकी—फुकी पाइला चाल्न विवश मित्रहरूलाई पनि सम्झन्छु । यसमा जवाफदेही को होला ?

व्यवसाय, पेसा (रोजीरोटी), समाजसेवा, अध्यापन अनि अनुसन्धान, विभिन्न आयाममा बाँधिएका अनि अनेकौं कोणमा बाँडिएका छौं, हामी डाक्टरहरू । एकैसाथ यी सब कार्यमा तत्पर भएर रहिरहन सक्दा या पाउँदा गर्वले फुलेल हुन्छ छाती, आत्मविश्वासले रोमाञ्चित हुन्छ मन । तर फेरि अर्कैतिरबाट डरको चिसो सिरेटोले हिर्काइरहेझैं पनि लाग्छ । डाक्टरी पेसाको एक्कासि ‘देवत्वकरण’ गरिंँदा खुसी नै हुन्छु म, आखिर मेरो पनि मानव मन न हो । तर यसरी सहजै देवत्वकरण हुँदा जुनसुकै समय ‘दानवीयकरण’ पनि हुनसक्ला भन्ने यथार्थलाई सजिलै भुलिदिन्छ, यो मन । त्यसैले त मिडियामा ‘डाक्टरको लापरबाहीले गर्दा बिरामीको मृत्यु..’, ‘अस्पतालमा तोडफोड......डाक्टरमाथि हातपात...’, ‘गाउँमा डाक्टर भेटिन्नन्...’, ‘सरकारी डाक्टरहरू क्लिनिकमा...’, ‘लाइसेन्सिङ परीक्षामा डाक्टरहरू फेल...’, ‘डाक्टरहरूद्वारा हडतालको घोषणा...’ जस्ता हेडलाइन आउँदा आफ्नो कान्तिक्षय नै भएझैं महसुस गर्छु । 

पीडित बिरामीहरूको आँसु र संवेदनामा द्रवित भएर, कसरी तिनको पीडा कम गराउन सकिन्छ भन्दै अहोरात्र परीक्षण—अनुसन्धानमा लीन रहेका छौं, हामी डाक्टरहरू । न्यून साधनस्रोतका बाबजुद सफल शल्यक्रिया गरेर व्यक्तिको ज्यान बचाउँदा होस्, सुत्केरी महिला तथा बालबच्चा अनि अन्य बिरामीको सेवासुश्रुषा गर्दा नै । त्यस्तै भूकम्प, बाढी—पहिरो आदि दैवी/प्राकृतिक प्रकोपका समयमा आफू या आफ्नालाई भुलेर पीडितको सेवा गर्ने या ज्यान जोगाउने धर्म सुरक्षा निकायहरूले झैं हामी स्वास्थ्यकर्मीहरूले पनि निर्वाह गरिरहेको यथार्थ कतैबाट छिपेको छैन । मलाई लाग्छ, यस्तै—यस्तै सकारात्मक ऊर्जाले नै होला, हामीलाई अहिलेसम्म चलायमान गराइरहन सकेको । यसको मतलब सबै डाक्टरहरू ‘दूधले नै धोइएका’ हुन्छन् भन्ने अर्थ किमार्थ नलागोस् । अपवाद नहुने क्षेत्र कुन पो होला र ? त्यसकारण नै पनि हामी चिकित्सकहरूले आफ्नो मानवीय सेवारूपी धर्मलाई उच्चस्थानमा राखेर अगाडि बढ्न जरुरी छ । आफूलाई अझै माझ्न, तिखार्न निरन्तर अध्ययन र तालिममा लगाइरहन आवश्यक छ । यसमा कुनै पनि सम्झौता गर्नु हुँदैन ।

१२ वर्षमा खोलो त फर्कन्छ भन्छन् । त्यसैले आशा भने अझै छ, हाम्रो विशिष्ट नै नभए पनि विशेष किसिमको व्यावसायिकतातर्फ चाँडै सम्बन्धित पक्षको ध्यान जाने नै छ । अनि देवत्वकरण र दानवीयकरण दुवैबाट जोगाएर असल मानव बन्ने दिशातिर लाग्न हामीलाई सबै पक्षबाट साथ, सहयोग र प्रेरणा प्राप्त हुने नै छ ।
डा. रिसाल मानसिक रोग विशेषज्ञ हुन् ।

 

प्रकाशित : माघ १३, २०७३ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?