१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मस्त जवानी गुप्तरोग

विमल निभा

झापाको काँकडभित्ता नगरीको एक स्वास्थ्य शिविरमा नेपाली साहित्यका दुई दिग्गज साहित्यकारहरूले स्वास्थ्यसम्बन्धी तगडा साहित्यिक प्रवचन दिएका छन् ।

मस्त जवानी गुप्तरोग

यसको फलस्वरूप तमाम डाक्टरहरूसमेत दंग परेका छन् । चाहे त्यो मेडिकलधर्मी डाक्टर होस् अथवा साहित्यकै डाक्टर नै किन नहोस् ! यी दुई अदत साहित्यकारहरूमध्ये प्राध्यापक अभि सुवेदी आफैं एक साहित्यका खाँट्टी डाक्टर हुन् । र अर्का साहित्यकार खगेन्द्र संग्रौला स्वयम्मा डाक्टर नभए पनि कुनै डाक्टरभन्दा अलिकति पनि कम छैनन् । उनले दिएको साहित्यिक इन्जेक्सन असाध्यै घोचक हुने गरेको छ । अब त्यसमा औषधि भरिएको छ या छैन, यो अर्काे कुरो हो ।

मलाई झापाली स्वास्थ्य महोत्सवको राजनीतिक संयोजक विश्वप्रकाश शर्माले साहित्यिक स्वास्थ्य शिविरमा विलकुलै आमन्त्रित गरेनन् । के यो कवि विमल निभा कुनै अस्वस्थ प्रकारको साहित्यकार हो र ? हुन त नेपाली साहित्यका प्राधिकारवादी प्राचार्य, प्रतिभाहीन प्राज्ञ र प्राविधिक समालोचकहरू मेरो व्यंग्य साहित्यलाई मूलत: साहित्य मान्न नै तयार छैनन् । यस्तोमा मैले साहित्यकारद्वय अभि सुवेदी र खगेन्द्र संग्रौलासरह के स्वस्थ र अस्वस्थ साहित्यको घाघडान बहस गर्ने ? त्यसकारण म त्यतातिर नगएर केवल मलाई मनपर्ने साहित्यिक चरित्रका दुई स्वस्थ पात्रको याद गर्ने प्रयास गर्नेछु ।

यो अहिलेको नभएर उहिलेको मेरो नगर नभइसकेको नगर वीरगन्जको याद हो भने पनि हुन्छ । अर्थात मेरो किशोर कालको प्रिय नगर वीरगन्जको भन्नोस् । त्यसबखत वीरगन्जमा एक पर्याप्त स्वस्थ कवि थिए– रमन्ना पहलमान । याने रामनारायण कुर्मी, दुई नम्बर रोड, रेशमकोठी, वीरगन्ज । एक पूर्णकालिक कुस्तीवाज पनि कवि हुनसक्छ भनेर प्रख्याति थियो, उनको । पहलमान सखारै बिछ्यौनाबाट जुरुक्क उठ्थे, त्यसपछि कुनै चलनचल्तीको सवैया अथवा दोहा गुनगुनाएर कसरत गर्न थाल्थे । जस्तै— दण्डपेल, मुगदर घुमाइ, डोरीकुद, उठक बैठक इत्यादि । अनि आखिरीमा मनमनै कुनै प्राइभेट कविताको श्लोक गुनेर चार–पाँच सेर दूध घटघट पिउँथे । यो विशुद्ध गाईको दूध हुन्थ्यो । कोही–कोही बकरीको दूध पनि भन्थे । उनको आँगनमा बाँधिएको बकरीको धारोष्ण दूध । यसबारे कसैले सोधेमा पहलमान मुसुमुसु मुस्कुराइरहन्थे । तर बेलुकीपखको स्वास्थ्य कार्यक्रममा भने केही मौलिक खालको परिवर्तन हुन्थ्यो ।

उनी अखडाबाट सोझै गएर दूध–सुधको साटो स्थानीय ताडी लिन रुचाउँथे । साँझको ताडी अमिलो हुन्थ्यो । यसको नशा चढेपछि पहलमान कवि अरूमाथि बेसरी जाइलाग्थे । यसबखत हनुमान चालिसाको अशुद्ध पाठ गर्नचाहिँं पटक्कै बिर्संदैनथे । यो नियमित मारपिटको कार्यक्रम थियो । यसमा नभएर ताडी सेवनमा कहिलेकाहीं उनलाई हाम्रो त्रिजुद्ध बहुउद्देश्यीय इंगलिस हाइस्कुलमा ‘साहित्य–सुषमा’ पढाउने गुरु भवनाथ पण्डितजीको पनि आत्मीय साथ हुन्थ्यो । सम्भवत: यसैले एक बिहान कवि रमन्ना पहलमान स्कुलको सरस्वती पूजामा कविता सुनाउन प्रमुख अतिथिको रूपमा सादर उपस्थित थिए । त्यसबखत उनले भारीभरकम शरीर लयपूर्वक फिरफिर हल्लाएर स्वनिर्मित कविता सुनाए ।
‘खडखड–खडखड
सग्गड चलेला
बडबड–बडबड
हमरा मेहरारु
खनखन–खनखन
रुपैयाँ चलेला
घटघट–घटघट
महुवाके दारु ।’
(लामो कविताको एक अंश)

यस्तै मेरो टोल अलखियारोडका युनानी डाक्टर भवरमल सेवक, एच.एच.डी. एल.एम.सी.पी.आर.जेड.एम. आयुर्वेदाचार्य, तन्त्राचार्य, साहित्याचार्य पनि समान रूपले स्मरणीय रहेका छन् । पहिलेका झोलाछाप डाक्टर मुख्यत: युनानी पद्धतिका डाक्टर भए पनि आयुर्वेदको गुलियो पाचक आदिको पनि बेजोड जानकार थिए । यसका साथै तन्त्रमन्त्रद्वारा रोगीहरूका रोग निवारण गर्नमा अटुट लागिरहन्थे । त्यसताका डाक्टरसाबले मध्यरात सिर्सिया नदीको किनारमा गई घन्टौं तन्त्रसिद्धि गर्ने गरेको अद्भुत किस्सा व्यापक प्रचलित थियो । डाक्टर भवरमल सेवकले आयुर्वेद र तन्त्रमन्त्रको फरक–फरक शैली चिकित्सामा अपनाए पनि साहित्यको क्षेत्रमा भने एकनिष्ठ थिए । ससाना यौनकथाहरूमा रचना गर्ने गर्थे । एउटा सवा सय पृष्ठको मोटो उपन्यास पनि प्रकाशित थियो– मस्त जवानी गुप्तरोग । यस प्रकार डाक्टरसाबले साहित्यलाई चिकित्सासँग सफलतापूर्वक जोडेका थिए । यो उपन्यास गुप्त रोगग्रस्त नायिकाको सम्पूर्ण उपचारमा आधारित थियो । नायक स्वयं डाक्टरसाब नै थिए । तर नायिकाको उपचारमा उनले जुन पद्धतिको प्रयोग गरेका थिए, त्यो डाक्टरीको नभएर अन्य थियो । त्यसैले उपन्यासले अन्य खालकै मजा दिन्थ्यो । खास मजा । गुप्त मजा । यही उपन्यासको सार थियो । जे होस्, स्वास्थ्य र साहित्यका संयुक्त व्यक्तित्व डाक्टरसाबको ‘सेवक’ साहित्यिक उपनाम थियो भने उनको नाममा झुन्डिएको एच.एच.डी.एल.एम.सी.पी.आर.जेड.एम.को रहस्य कहिल्यै खुलेन ।

वास्तवमा स्वस्थ साहित्य विषयक मेरो घोर विचारहीनताका कारण मैले यस्तो संस्मरणको शरण लिनुपरेको हो । कदाचित यसबारे मेरो कुनै विचार भए पनि त्यो अग्रज साहित्यकार अभि सुवेदी र खगेन्द्र संग्रौलासँग मिल्ने कुनै सम्भावना छैन । हो, कुनै पनि साहित्यिक कार्यक्रम पश्चातको अनिवार्य तरल टाइप कुरोमा भने हाम्रो कुनै न कुनै ढंगको मिलेमतो हुनसक्छ । असलमा भएकै पनि छ । खासमा साहित्यकार खगेन्द्र संग्रौलासँग । याद गर्नाेस्, कतारको राजधानी दोहाको हाम्रो साहित्यिक भ्रमण । के त्यो कम्ता तरल थियो त खगेन्द्र दाइ ? अँ, अर्का साहित्यकार अभि सुवेदी सरसँग मेरो यस्तो छताछुल्ल विचारको विशिष्ट आदान–प्रदान हालसम्म नभइसकेकाले अरू केही नभनूँ !

प्रकाशित : माघ १५, २०७३ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?