कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन मिति घोषणा गर

सम्पादकीय

यस्तो अवस्थामा आयोगले समयसीमा दिएको मिति घर्किएपछि निर्वाचन मिति घोषणा गर्नुको कुनै अर्थ छैन किनकि त्यतिबेला निर्वाचन घोषणा गरे पनि आयोगको तयारी नपुगेर निर्वाचन नहुने जोखिम बढ्न सक्छ ।

निर्वाचन मिति घोषणा गर

प्रधानमन्त्री पुष्पकमल दाहालले अघिल्लो हप्ता निर्वाचनका विषयमा आशा जगाउने अभिव्यक्ति दिए पनि त्यसयताको व्यवहारले भने निराशा मात्रै ल्याएको छैन, निर्वाचन गराउने विषयमा प्रधानमन्त्री दाहाल र सरकारप्रति नै सन्देह गर्ने ठाउँ छाडेको छ । प्रमुख तीन दलको माघ ८ गते बालुवाटारमा बसेको बैठकपछि प्रधानमन्त्रीले समयसीमा नै तोकेर माघ १३ गतेभित्र निर्वाचनसँग सम्बन्धित विधेयक पारित गर्ने र १४ गते निर्वाचनको मिति घोषणा गर्ने जुन प्रतिबद्धता व्यक्त गरेका थिए, त्यो विगतमा झैं आश्वासनमा मात्रै सीमित भएको छ, जसले पनि निर्वाचन गराउने विषयमा सरकार र विशेष गरी प्रधानमन्त्रीलाई विश्वास गर्न गाह्रो भएको हो । 

प्रतिबद्धताअनुसार चुनाव घोषणा त हुन सकेन नै, निर्वाचनसँग सम्बन्धित सबै कानुनसमेत संसद्बाट पारित हुन सकेको छैन । यसले गर्दा प्रधानमन्त्रीले भनेझैं ‘वैशाख २५ देखि ३० गतेभित्र चुनाव गर्ने’ योजना कार्यान्वयन हुन कठिन छ । त्यसमाथि प्रधानमन्त्री आफंैले उतिबेला सार्वजनिक कार्यक्रममै ‘आफू जोखिम मोलेरै भए पनि चुनावमा जाने’ बताएका थिए । तर, त्यो जोखिम के हो भन्ने खुलाएका थिएनन् । उतिबेला जोखिम मोलेर भए पनि निर्वाचन गराउने अभिव्यक्ति दिने र अहिले निर्वाचन घोषणामा नै भएको ढिलाइले प्रश्न प्रधानमन्त्रीतर्फै सोझिएको हो । 

वर्तमान सरकारले प्रतिबद्धता जनाएयता निर्वाचनको वातावरण निर्माण गर्न जुन किसिमको पहलकदमी लिनुपथ्र्याे, त्यसतर्फ चासो दिएको पाइँदैन । आफूलाई चुनावविरोधी ‘ट्याग’ लाग्न सक्ने भयकै कारण चुनावी प्रतिबद्धतालाई जोड दिएको पाइन्छ । प्रधानमन्त्रीले चुनावका लागि प्रतिबद्धता व्यक्त गर्नेभन्दा त्यसका लागि वातावरण निर्माण गर्ने महत्त्वपूर्ण विषय हो । त्यसो त प्रमुख तीन दलको बैठकलगत्तै प्रधानमन्त्री दाहालले कांग्रेस र मधेसी मोर्चासँग बैठक गरे, जहाँ संविधान संशोधनको पूरक प्रस्ताव राखे जसअनुसार राष्ट्रियसभा गठनका लागि आवश्यक निर्वाचन मण्डलबाट स्थानीय तहको सहभागिता हटाउने बताए । तर, त्यसप्रति मोर्चा पूर्ण रूपले सन्तुष्ट नभएपछि प्रधानमन्त्रीले खासै पहलकदमी लिएको पाइएन । यस हिसाबले मधेसी मोर्चालाई मात्रै बहाना बनाएर प्रधानमन्त्री र सत्ता साझेदार दलहरू निर्वाचनबाट उम्किन मिल्दैन । 

निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री दाहालको थप क्रियाशीलता र पहलकदमी जरुरी छ । यस्तो अवस्थामा असन्तुष्ट पक्षलाई सम्बोधन गर्ने नाममा प्रधानमन्त्री दाहालले एकपटक मधेसी मोर्चाका नेताहरूसंँग औपचारिक बैठक गरेर मात्र पुग्दैन, त्यसका लागि अनौपचारिक छलफल र संवादलाई तीव्रता दिनु जरुरी छ । खासगरी प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलहरूबीच समान धारणा निर्माण गरी प्रतिपक्षी एमाले र असन्तुष्ट मधेसी मोर्चासँग छलफल गर्न आवश्यक छ । यता निर्वाचन आयोगले १ सय २० दिनको समय राखेर निर्वाचनसम्बन्धी कानुनहरू दिनुपर्ने भनिरहेका बेला प्रधानमन्त्री दाहालले आयोगका लागि सहज वातावरण निर्माण गरिदिन जरुरी छ । 

त्यसो त प्रमुख निर्वाचन आयुक्तले दिएको समयसीमासमेत घर्किन थालिसकेको छ । र, त्यतिखेर आयोगलाई दोष दिएर पन्छिन प्रधानमन्त्री दाहाल र सत्ता साझेदार दलहरूलाई सुहाउने विषय होइन । त्यसैले यो अवस्थामा निर्वाचनको वातावरण निर्माण गरी छिटोभन्दा छिटो मिति घोषणा गर्नुको विकल्प छैन । 

प्रकाशित : माघ १८, २०७३ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?