२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लिङ्ग पहिचान : भ्रम र यथार्थ

‘घट्दै बालिकाहरू’, ‘छोरीलाई गर्भमा थुनछेक’, ‘लिङ्ग पहिचानपछि छोरी भए गर्भमै हत्या’ प्राय:जसो सञ्चार माध्यममा झुल्किने यी समाचारहरूबारे हामी कोही अनभिज्ञ छैनौं ।

लिङ्ग पहिचान : भ्रम र यथार्थ

प्रतिष्ठा र सामाजिक आडम्बरसँग गाँसिएको यो अपराध गोप्य रूपमा बढ्दै सामाजिक सन्तुलनमा खलल पुर्‍याएको देखिन्छ । त्यही कारण यदाकदा सञ्चार माध्यममा यसले चर्चा पाउने गर्छ । पुरातन पितृसत्तात्मक ढाँचाबाट चलिरहेको हाम्रो समाजका विभिन्न प्रचलन र मान्यताले छोरालाई एक विशेष जिम्मेवारी दिएको छ । बदलिँदो समाजले यो मान्यता उछिन्न नसक्दा समाजमा अझै पनि छोराको चाहना अकासिएकै छ । त्यही अविछिन्न चाहनाको आपराधिक पृष्ठभूमिमा मौलाउँदै छ, छोरी भ्रूणहत्या । 

सामान्यतया विवाहित महिलामा परिवार नियोजनको साधनको नियमित प्रयोग नगरेको बेला महिनावारी नभए पिसाबको जाँचबाट गर्भ बसेको थाहा पाउन सकिन्छ । गर्भधारणको इच्छा नहुँदा गर्भ बस्न गएमा गर्भपतन गर्न पाउने अधिकार रहन्छ । मुलुकी ऐनको ११ औं संशोधनपछि नेपालमा गर्भपतनले कानुनी मान्यता पायो र २०६० मा सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति पारित भयो । यसमा गर्भवती महिलाको मन्जुरीले १२ हप्तासम्मको गर्भ, बलात्कार वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानको खतरा हुने वा शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने वा विकलांग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मन्जुरीमा गर्भपतन गराउन सकिने व्यवस्था छ । 

महिला प्रजनन सम्बन्धीको यो अधिकार अन्तर्राष्ट्रिय मान्यता बमोजिम नेपालमा समेत स्थापित भयो र यसबाट धेरै परिवार लाभान्वित भए । तर सँगै भित्रियो, अनिच्छित गर्भ हटाउने नाममा छोरी गर्भ हटाउने चलन । मुलुकी ऐनले गर्भपतन गर्ने—गराउने उद्देश्यले लिङ्ग पहिचान गर्ने—गराउनेलाई ३ महिनादेखि ६ महिनासम्म र लिङ्गको आधारमा गर्भपतन गर्ने र गराउनेलाई ६ महिनादेखि २ वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । विश्वका विभिन्न देशमा यससम्बन्धी आफ्नै नियम कानुन छन् । चिकित्सा विज्ञानमा समेत लिङ्ग पहिचानको महत्त्व छ । कतिपय आनुवांशिक रोगको अवस्था र भविष्य लिङ्ग पहिचानबाट सहज हुन्छ । नेपालमा गर्भको लिङ्ग पहिचान गैरकानुनी हो । तर यही गोरखधन्दा चलाएर छोरी भ्रूणहत्या भइरहेको तितो यथार्थ हामीसामु छ । सामाजिक मान्यताको बलियो जरो र कानुनको फितलो प्रभावले सायद यो अपराध मौलाएको मान्न सकिन्छ । तर अपराधको एउटा अर्को बहस नभएको पाटोसमेत हामीसामु छ । के छोरी भ्रूणहत्या भनेर गरिएको हत्या छोरीकै हो त ? लिङ्ग पहिचान गरिरहेका कथित चिकित्सकले तपाईंको गर्भमा भएको बच्चाको लिङ्ग सही ठम्याएका छन् ? छोरी भनेर तुहाइएको तपाईंको गर्भ छोरी नै थियो भन्ने केही प्रमाण हुन्छ, तपाईसँग ? गर्भपतनपछि रगताम्य भ्रूणका अंशमा कुनै प्रमाण रहन्न । विज्ञानले दिएका केही प्रमाणहरूलाई केलाउँदै हामी यो अपराधसँग जोडिएको तथ्यहरू केलाउने छौं । 

छोरा र छोरीको शरीरमा आउने फरक परिवर्तनका कारण विज्ञानले विभिन्न किसिमबाट गर्भको लिङ्ग बिभिन्न सटिकतासाथ ठम्याउन सक्छ, जसमध्ये अल्ट्रासाउन्ड एक सहज रूपमा उपलब्ध प्रविधि हो । गर्भको पहिलो त्रैमासिकमा लिङ्ग पहिचानका लागि भएको एक अनुसन्धानका अनुसार ९० प्रतिशतमा मात्र सही रूपमा लिङ्ग पहिचान भएको पाइयो, जसमध्ये छोरा लिङ्ग पहिचान ४६ प्रतिशतमा मात्र सही रूपमा भयो । अर्थात् शतप्रतिशत लिङ्ग पहिचान सम्भव देखिएन । एक अनुमानका भरमा गरिएको लिङ्ग पहिचानको भर परेर धेरैले छोरी भ्रूणहत्याका नाममा छोरा भ्रूणहत्या गरेको हुनसक्ने भयो । यो तथ्य विशेषज्ञले गरेको अनुसन्धानमा आधारित हो भने हामीकहाँ यस्ता अपराधमा संलग्न व्यक्ति प्राय:जसो विज्ञभन्दा सामान्य तालिम प्राप्तहरू हुन्छन् । साथै बद्नियतपूर्वक तपाईंको गर्भमा छोरा नै भएको थाहा पाए पनि गर्भपतन गराउँदा झन् बढी पैसा असुल्न मिल्ने भएकाले उक्त गर्भ छोरी नै हो भनिदिने सम्भावना पनि उत्तिकै प्रचुर छ । कानुनी रूपमा वर्जित लिङ्ग पहिचान पैसाका लागि गर्नसक्नेले अझै बढी पैसाका लागि तपाईंको गर्भको वास्तविक लिङ्ग लुकाउन नसक्लान् भन्ने केही छ ? मनन गर्नुपर्ने प्रश्न हो, एक अभिष्ट चाहना पुरा गर्न मानवता उपरको जघन्य अपराध र साथै अज्ञानतामा आफूमाथि नै अन्याय गर्दै हुनुहुँदैछ कि ? 

गर्भको उमेर बढ्दै गएसँगै लिङ्ग पहिचानको परिणाम बढी सटिक हुँदै जान्छ । तर बढ्दो उमेरसँगै गरिएको गर्भपतनले कानुनी उल्लंघनका साथै आमाको ज्यान जोखिममा पार्छ । नेपाल मेडिकल काउन्सिल वा अन्य निकायमा धेरथोर यस्ता गतिविधिबारे उजुरी भए तापनि कुनै ठोस अनुसन्धान भएको देखिँदैन । राज्यको उदासीनता नै यसका प्रमुख मलजल हुन् । महिला—पुरुषको अनुपातमा आउने असमानताले दीर्घकालीन रूपमा धेरै सामजिक समस्याहरू निम्त्याउँछन् । सामाजिक मान्यता र प्रचलनका कुरामा समेत छोराजत्तिकै छोरीलाई पनि भागिदार बनाउनुपर्छ र समान महत्त्वका चलनहरू अवलम्बन गर्नुपर्छ । एक उन्नत समाजको सन्तुलित परिकल्पना गर्न छोरा र छोरीको प्राकृतिक रूप स्वीकार गर्नुको विकल्प हामीसँग छैन ।

लोहनी र झा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका चिकित्सक हुन् । 

प्रकाशित : माघ १९, २०७३ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?