२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सरस्वतीलाई सम्झने दिन

महाभारतको मङ्गलाचरणमा सरस्वतीलाई प्रणाम गरी ग्रन्थको प्रारम्भ गरिएको छ । आज विद्याकी देवीको रूपमा सम्मान पूजा गरिने सरस्वती देवी वैदिक समयमा पवित्र नदीको रूपमा स्थापित थिइन् ।

सरस्वतीलाई सम्झने दिन

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्दे
वीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्

हिन्दुहरूका अधिकांश प्राचीन शास्त्र सरस्वती नदीकै किनारमा लिपिबद्ध गरिएका थिए । एक ईश्वर, बहुईश्वर र सर्वईश्वरवादमा विश्वास गर्ने सनातन धर्म लामो कालखण्ड पार गर्दै आजको स्वरूपमा आइपुगेको हो । त्यही परिवर्तनको एउटा ज्वलन्त स्वरूप हो, सरस्वती नदी विद्याकी आराध्यदेवी माताको रूपमा पुजिनु । भारतको पञ्जाबमा गङ्गाको ७ धारामध्ये एउटा धारालाई सरस्वती नदी भनिन्छ । पुराण र महाभारतमा ऋषि दधिची र सरस्वती नदीको संगमद्वारा जन्मिएका सारस्वत मुनीको उल्लेख छ । 

आफ्नो शरीरको हड्डी दान गरेर सम्पूर्ण लोकको कल्याण चाहने ऋषि दधिचीको कठिन तपस्या र त्यागबाट देवराज इन्द्र डराए । तपस्या भङ्ग गर्न उनले अप्सरा अलम्बुषालाई खटाए । हाउभाउ, नाचगान र मोहिनी लगाउन अलम्बुषा सिपालु थिइन् । सुन्दरी अलम्बुषाको रूपको जालोमा दधिची परे । अप्सरासँग आँखा लड्दा ऋषिले आफूलाई काबुमा राख्न सकेनन्, उनको वीर्य सरस्वती नदीमा खस्यो । मानव जन्मको चक्र पुरा भएजस्तै समय भएपछि एक सुन्दर बालकको जन्म भयो । विश्वमा ती बालक सारस्वत नामले प्रसिद्ध भए । सरस्वती पुत्र भएकाले उनी दिव्य त छँदै थिए, प्रकाण्ड विद्वान पनि भए ।

ब्रह्माको मुखबाट जन्मिएकी सरस्वतीको सौम्य स्वरूपको चर्चा पुराणहरूमा छ । त्यही अनुरूप प्रतिमा विज्ञानका पुस्तकले नीति निर्देशन गरेर सरस्वतीको चित्र मूर्ति बनेका छन् । चार बाहुमा पुस्तक, जपमाला, वीणा र कमण्डलु धारण गरेकी, सेतो वस्त्र लगाएकी सरस्वतीको उभिएको मूर्ति बनाउने विधान विष्णुधर्मोत्तरमा छ । अग्निपुराणमा अक्षमाला, त्रिशूल, पुस्तक र कमण्डलु लिएको सौम्य स्वरूपकी सरस्वती माताको मूर्तिको वर्णन छ । जटामुकुट लगाएकी सरस्वती माताले माणिकको कुण्डल धारण गर्ने विधान अंशुमद्भेदागममा छ । सरस्वतीको चित्र र मूर्तिमा जनै बनाउने नियमको उल्लेख पनि पाइन्छ । पूर्वकारणागममा सरस्वती मातालाई मोतीको कुण्डल पहिराउनुपर्ने उल्लेख छ । उपत्यकामा निर्मित सरस्वती मूर्तिहरूका हातमा रुद्राक्ष माला, पुस्तक, वीणा, मसीको भाँडो, तुम्भी, अभय र वरद मुद्रा अंकित छ । 

ब्रह्माण्डका सृष्टिकर्ता ब्रह्माकी सन्तान सरस्वतीलाई कालान्तारमा गायत्री, सावित्रीसँगै सम्बोधन गरेर शक्ति स्वरूपमा दर्शाइयो । मत्स्यपुराणमा हाँसमा बसेका, चारमुख, चारहात भएका ब्रह्माको दायाँ—बायाँ सावित्री र सरस्वतीको उल्लेख छ । वैदिक समयमा ब्रह्माको शक्तिको रूपमा वर्णन गरिएकी सरस्वती पौराणिक समयमा पालनकर्ता विष्णुको शक्तिको रूपमा स्थापित हुनपुगिन् । सरस्वतीका विविध रूपको स्थापना र पूजनबारे रूपमण्डन र देवतामूर्ति प्रकरणमा वर्णन छ । देवतामूर्ति प्रकरणमा सूत्रधार मण्डनले द्वादश सरस्वतीको मूर्ति विधानको उल्लेख गरेका छन् । महाविद्या, महावाणी, भारती, सरस्वती, आर्या, ब्राह्मी, महाधेनु, वेदगर्मा, ईश्वरी, महालक्ष्मी, महाकाली र महासरस्वतीको उल्लेख देवतामूर्ति प्रकरणमा छ । शारदा सरस्वतीको पाँच भेदमा वाणी सरस्वती, वागिश्वरी सरस्वती, वाचा सरस्वती, वाक्प्रदा सरस्वती, पारिजात सरस्वती पर्छन् । यसै गरेर ब्राह्मी सरस्वतीका सात भेद (चिन्तामणि, ज्ञान, नील, महा, किनी, अन्तरिक्ष र घट सरस्वती) स्वरूपको वर्णन शास्त्रमा पाइन्छ । 

सरस्वतीलाई बच्चाहरूको रक्षाको लागि आराधना गरिएका प्रमाण पनि प्राप्त भएका छन् । त्रिरत्न सौन्दर्य गाथामा भूतप्रेत हटाउन जाउलाखेलमा सरस्वतीको मूर्ति स्थापना गरिएको वर्णन छ । राजा रणबहादुर शाहले रानी कान्तिमतिको मृत्युपछि अपशकुन हटाउने विभिन्न उपाय अपनाए । गिद्धहरूले अपशकुन फैलाउने विश्वास अनुसार रणबहादुरले आकाशमा देखेसम्म गिद्धहरू मार्न लगाए । ती गिद्धलाई जावलाखेलको ठूलो चौरमा पोलियो । बाटो हिँड्ने बटुवा र बच्चाहरूलाई भूतप्रेतले दु:ख नदेओस् भनी गुरु—पुरोहितहरूको सल्लाहअनुसार त्यहाँ सरस्वतीको मूर्ति स्थापना गरियो । यसरी वसन्त पञ्चमीमा विद्याको लागि विशेष पूजा गरिने सरस्वती देवी विविध स्वरूप र शक्तिमा सम्मानित देखिन्छिन् । राजहंसले जस्तै दूध र पानी छुट्याउने क्षमता सबैमा हुनुपर्छ भन्ने सन्देश सरस्वतीको वाहन राजहंसद्वारा पाइन्छ । ऋतुहरूको राजा हुन्– वसन्त । वसन्त पञ्चमीको दिन सामुहिक रूपमा नै वसन्त श्रवण गर्ने र वसन्त ऋतुका स्वामी, प्रेमका प्रतीक कामदेवलाई आह्वान पूजन गर्ने चलन छ । कामदेव र उनकी पत्नी रति दुवैको स्मरण वसन्त श्रवणमा गरिन्छ । माता यशोधरा र पिता सहिष्णुका पुत्रको रूपमा कामदेवको उल्लेख आउँछ । पृथ्वीका स्त्री र पुरुषमा सम्भोग र प्रेमको भावना जगाउन कामदेवले सुन्दर र मिठो वास्ना आउने फूलहरूको वाण चलाउँछन् । माघ महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा विद्याकी देवी सरस्वती र प्रेमका देवता कामदेव दुवैको आह्वान गरेर जीवनमा सन्तुलन ल्याउने सन्देश प्रवाह गरिन्छ । 

नेपालका बौद्ध धर्मावलम्बीहरू पनि ज्ञान र प्रज्ञाको प्रतीक अन्धकारलाई हटाउने मञ्जुश्रीको आराधना र पूजा गर्छन् । नेपाली समाजमा विद्यमान धार्मिक सहिष्णुताका ज्वलन्त उदाहरण मञ्जुश्रीलाई सरस्वतीको रूपमा पूजा—आराधना गर्नु हो । वसन्त पञ्चमी, सरस्वतीको जन्मदिन भएकोले देवीलाई प्रसन्न पारेर कृपा प्राप्त गर्न विद्यार्थीहरू प्रयत्न गर्छन् । पुस्तक, कापी, कलमलाई पूजा गर्ने र मन्दिर गएर सरस्वती वन्दना गर्ने हो । शैक्षिक समुदायले आ–आफ्नो कार्यथलोमा पर्वकै रूपमा सरस्वती पूजा गर्ने प्रचलन बढ्दैछ । विद्या, कला, साहित्य र सङ्गीतकी देवी सरस्वतीको प्राचीन मूर्तिहरूसँगै आजकाल हरेक वर्ष नयाँ—नयाँ मूर्तिहरू बनाउने र पण्डालमा स्थापना गरेर पूजा गर्ने प्रचलन बढ्दैछ । माटोबाट बनाइएका सरस्वती मूर्तिहरू पूजापश्चात् नदीमा विसर्जन गर्ने परम्परा छ । यसको सकारात्मक पक्षसँगै प्रदूषणको नकारात्मक पक्ष पनि छ । फर्पिङको कमलपोखरी पाटीमा रहेको मिति र अभिलेख सहितको सरस्वती मूर्ति सबैभन्दा प्राचीन हो । तेजचन्द्र नामका व्यक्तिले ने.स. ३१२ (इ.स. ११९१) मा स्थापना गरेको यस सुन्दर मूर्ति टुक्रा—टुक्रा गरेर चोर्ने प्रयत्न धेरैपल्ट भएको छ । चोरी भएको सरस्वतीको शिर हालै विदेशबाट फर्काएर राष्ट्रिय संग्रहालयमा प्रदर्शन गरिएको छ । हाम्रा सांस्कृतिक सम्पदा संरक्षणमा युवावर्ग जागरुक हुन आवश्यक छ । 

 जाडो मौसममा पर्ने श्रीपञ्चमीको दिन नाक, कान छेड्ने चलन पनि छ । दुर्गा सप्तसतीमा वर्णन गरिएका महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा दसैँमा गरिए पनि सरस्वतीको विशेष पूजा श्रीपञ्चमीकै दिन गरिन्छ । ‘विद्या धनं सर्व धनं प्रधानम्’ भन्दै विषयको विट मार्ने अनुमति माग्छु । देवीका विविध रूपमध्ये सरस्वतीको कृपा प्राप्त भए सबैथोक उपलब्ध हुने भएकाले आजको दिनको सम्मान सबै वर्ग र स्तरकाहरूले गर्छन् । 

प्रकाशित : माघ १९, २०७३ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?