कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तर्किदै र तर्साउँदै महिला मुक्तिको सपना !

मीना मरासिनी

सबै पुरुषलाई नारीविरोधी डालोमा हालेर पुरुषबाट हामी सधैं असुरक्षित छौं भन्ने भावना हाम्रा कलिला छोरीचेलीहरूमा भर्नुभन्दा उनीहरूलाई समाजका सबै सदस्यसँग घुलमेल हुने वातावरण निर्माण गर्न आवश्यक छ ।

तर्किदै र तर्साउँदै महिला मुक्तिको सपना !

सन्दर्भ १ : लुगाफाटो खरिद गर्नका लागि चिनेजानेको दाइको पसलमा जाने कुरा भयो एकजना साथीसँग । तर साथीले एक्कासि भनिन्, ‘पसलमा भाउजू नभएको (दाइ मात्रै भएको) बेलामा जानुपर्छ ।’ उनको आशय थियो, ‘भाउजूले सामानको भाउ नै मिलाउँदिनन्, कसिकसाउ गर्छिन् तर दाइले मिलाएर भाउ गर्छन् र बार्गेनिङ गर्न सकिन्छ ।’ विगतका किनमेलको अनुभवका आधारमा ती साथीको तर्कसँग म पनि असहमत हुन सकिनँ । आफू बसोबास गर्ने डेरा आसपासका केही गृहिणी महिला साथीले समेत छिमेकमा रहेका किराना पसलका साउजीहरू र उनका श्रीमती साउनीहरूका बारेमा यस्तै गुनासो गरिरहने/गरेको सुनेकी छु । महिला ग्राहक मात्र होइन, आम पुरुष ग्राहकहरूको पनि उस्तै गुनासो हुने गर्छ कि महिला पसले कडिकडाउ हुन्छन्, बढी नाफा खान्छन् र भाउमा बार्गेनिङ गर्न सकिँदैन । पुरुषहरूले मात्र महिला व्यापारीको आनीबानीमाथि खोट लगाएका भए त त्यसलाई पुरुषवादी सोच भनेर नजरअन्दाज गर्न सकिन्थ्यो । तर, आम महिला ग्राहकले नै महिला व्यापारीलाई न्यून ग्राहकमैत्री, असहिष्णु तथा नाफाखोर ठान्ने गरेको यथार्थ वास्तवमै विचारणीय छ ।

सन्दर्भ २: काठमाडौंमा सार्वजनिक सवारी साधनका सिटमा हुने आरक्षणको पालना आजभोलि स्वत:स्फूर्त हुने गरेको छ । मानिसमा बढेको चेतना तथा कानुन पालनाको अवस्था आफैंमा सुखद हो, तर गाडीमा सिटको आरक्षणको पालना यति निर्मम भएछ कि मन नै कुँडिन्छ । गाडीमा पुरुष यात्री कोचाकोच हुन्छन्, बस्ने सिट नपाएर उभिएका हुन्छन् । महिला भनेर लेखिएका सिट खाली नै किन नहोऊन्, उभिएका पुरुष यात्रु प्राय: ती महिला आरक्षित सिटमा बस्न चाहँदैनन्, मान्दैनन् । ‘यो त महिला सिट पो !’ खाली सिटमा हेर्दै मुसुक्क हाँस्दै उभिएरै यात्रा गर्नुमै सजिलो मान्छन् । गाडीमा महिलाका लागि आरक्षित सिट अचेल ‘महिला सिट’ मा परिणत भएका छन् । अनि त्यस्ता ‘महिला सिट’मा बस्न पुरुषहरूले लाज मान्ने अवस्था सिर्जना गरिएको छ । महिलाका लागि आरक्षित खाली सिटमा समेत पुरुष यात्री बस्नै नहुने वा बसेमा महिला हिंसाको बात लाग्ने पो हो कि जस्तो भाव प्रकट गरिन्छ त्यहाँ । तर, त्यसको विपरीत अपांग तथा ज्येष्ठ नागरिकका लागि आरक्षित खाली सिटमा बस्नका लागि कोही पनि हिच्किचाउँदैन । गाडीमा कोही ज्येष्ठ नागरिक वा अपांग चढेमा आफू बसेको त्यस्तो आरक्षित सिट तत्कालै छाडिदिने मनस्थितिका साथ ज्येष्ठ नागरिक र अपांगका लागि आरक्षित सिटमा बस्न कुनै तन्नेरीले पनि अप्ठेरो मान्दैन । तर, महिलाका लागि आरक्षित सिट खाली हुँदा समेत त्यसैगरी बस्दा किन लज्जित महसुस गर्छ ? के महिलासँग पुरुषहरू डराउन थालेका हुन् ? के पुरुषहरूले महिलालाई घृणा गर्न थालेका हुन् ? अपांग र ज्येष्ठ नागरिकको सिटमा बस्दा ग्लानि नहुने सबलांग तन्नेरी किन महिलाको सिटमा बस्दा भयंकर अपराध हुने ठान्छ ?

उल्लिखित दुई फरक सन्दर्भ वास्तवमा नजरअन्दाज गरिएका वर्तमानका यथार्थ हुन् जसले आम महिलाको वास्तविक सोच तथा इच्छा र परम्परावादी महिला अधिकार तथा मुक्तिका नाममा थोपरिने नियम तथा व्यवस्थाहरूबीचको विरोधाभासलाई छर्लंग पार्छ । एकातर्फ आम महिलाहरू पुरुषसँगको सहकार्य, सहसम्बन्ध तथा कारोबारलाई सहज मान्छन् तर अर्कोतर्फ चरम महिलावादी सोचले ग्रस्त ठालुहरू महिलाका मामिलामा पुरुषलाई निषेध नगरेसम्म महिला स्वतन्त्र तथा सुरक्षित हुँदैनन् भन्ने रटान लगाउँछन् । समाजमा महिलाका इच्छा, चाहना र क्षमताको आयाम फराकिलो हुँदै छ । महिला स्वतन्त्रताको परिभाषा बदलिदो छ र पुरुषसँगको सहकार्य, सहसम्बन्ध तथा सहअस्तित्व नै महिला स्वतन्त्रता तथा सशक्तीकरणको महत्त्वपूर्ण आधारका रूपमा स्थापित भएको छ, विश्वव्यापी रूपमा । हाम्रै परम्परागत समाजमा समेत महिलाप्रतिको विगतको विभेदपूर्ण दृष्टिमा सकारात्मक परिवर्तन आइरहेको छ । तर विडम्बना, चरम महिलावादले भने पुरुषलाई निषेध गर्ने संस्कारको वीजारोपण गरिरहेको छ । यसबाट स्वाभाविक रूपमा प्रश्न उठ्छ कि सामाजिक सम्बन्ध, सामाजिक स्वरूप तथा महिलाका चाहना र भावना बदलिँदै गर्दा तथा लैंगिक समभाव र सहकार्यको महत्त्व बढ्दै जाँदा चरम महिलावादको नाममा कतै हामीले आफैंलाई एक्ल्याइरहेका र कमजोर बनाइरहेका त छैनौं ? महिलामैत्री भन्दै पुरुषलाई पूर्णत: निषेध गर्ने गरी सिर्जना गरिने सामाजिक, आर्थिक तथा भौतिक संरचना तथा परिवेशहरू कतै प्रत्युत्पादक त बनिरहेका छैनन् ? महिला मुक्ति तथा सशक्तीकरणका लागि पुरुषसँग सहकार्य बढाउनु आवश्यक रहेका बेला पुरुषलाई निषेध गरेर महिला मात्रको संसारको सिर्जना गर्न खोज्दा कतै महिला नै ‘आइसोलेसन’ मा परिरहेका त छैनौं ?
कामकाजी महिलाका लागि हाकिम पनि महिला नै हुँदा सहज होला भन्ने ठानिन्छ । त्यस्तै छात्राहरूका कन्या स्कुल, कलेज तथा महिला शिक्षिकासँग पढ्नु सिक्नु नै सहज हुने मान्यता रहन्छ । तर, आम महिला कर्मचारी तथा छात्राहरूको धारणा यसको विपरीत पाइन्छ । तल्लो तहका महिला कर्मचारी महिलाभन्दा पुरुष हाकिम हुँदा काम गर्न सजिलो हुने अनुभव गर्छन् । बिदा, सुविधाजस्ता कुरामा बरु पुरुष हाकिमले समभाव राख्ने र लचिलो बन्ने तर महिला हाकिम बढी कठोर हुने र महिलाका पीडा नबुझ्ने गुनासो गर्ने गर्छन्, कार्यालय सहयोगीजस्ता तल्लो तहका महिला कर्मचारीले । कन्या क्याम्पस तथा कन्या स्कुल सबै छात्राको रोजाइमा नपर्ने गरेको यथार्थ लुकाइरहनु पर्दैन । आजकलका स्वच्छन्द किशोरी तथा युवती छात्राहरू महिला मात्र एकांगी तथा बन्द वातावरणको संसारमा रमाउन सक्दैनन् । विद्यालय तथा कलेजमा शिक्षिकाले भन्दा शिक्षकले पढाएको चित्त बुझ्ने गरेको अनुभव साट्न छात्राहरूले धक मान्दैनन्, आजकल । यो युवावयका छात्राहरूको उमेरगत स्वभाव वा विपरीत लिंगप्रतिको आकर्षण वा झुकावको परिणाम मात्र भनेर होच्याइयो भने त्यो न्यायसंगत हुँदैन । यो आम नारीको बदलिदो सोच, चाहना र भावनाको प्रतिबिम्ब मात्र होइन, एकांगी महिलावादी सोचले खडा गरेको आम पुरुषप्रतिको नकारात्मक दृष्टिकोण गलत छ भन्ने प्रमाण पनि हो । महिलाहरू केवल महिलाको एकांगी संसारमा मात्र रमाउदैनन्, समाजको वृहत तप्कासँग डिल गर्न चाहन्छन् भन्ने उदाहरण पनि हो, यो । कट्टर तथा निरपेक्ष महिलावादको परम्परागत दृष्टिकोणबाट आम महिलाको भावना वा चाहनाको पैरवी गर्ने शैली द्धेषपूर्ण छ भन्ने प्रमाण हुन्, माथिका सन्दर्भहरू ।

यसरी आम महिलाहरूलाई नै महिला पसले, महिला हाकिम तथा महिला शिक्षिकालाई झेल्नु भन्दा तत् तत् क्षेत्रका पुरुष पात्रहरू सहज लाग्दछन् भने हामीले महिलामैत्री संरचनाको नाममा पुरुषलाई किन निषेध गर्ने ? जब हामी महिलाहरूलाई नै आफुजस्तै अरू महिला कठोर, नाफाखोर, निर्दयी, कुरौटे लाग्छन् भने हामीमा रहेका यस्ता कमजोरी हटाएर दया, मैत्रीभाव, सहनशीलता, व्यवस्थापकीय सीप जस्ता गुणहरू सिक्नका लागि पुरुषहरूसँग सहकार्य गर्ने कि महिलाहरू बाघ बनेर पुरुषलाई तर्साउने ? स्कुल, कलेज, छात्राबास हुँदै बस र बसका सिट समेत महिलाका लागि मात्रै भनेर छुट्टाउँदै गर्दा कतै हामीले छोरीचेली तथा बुहारीहरूलाई एक्ल्याइरहेका र कमजोर बनाइरहेका त छैनौं भन्ने कुरालाई गम्भीर रूपमा लिने बेला आएको छ । सबै पुरुषलाई नारीविरोधी डालोमा हालेर पुरुषबाट हामी सधैं असुरक्षित छौं भन्ने भावना हाम्रा कलिला छोरीचेलीहरूमा भर्नुभन्दा उनीहरूलाई समाजका सबै सदस्यसँग घुलमेल हुने, जटिल परिस्थितिको सामना गर्न सक्ने, सामाजिकीकरणमा सहभागी हुने तथा पुरुष सदस्यसँग सहकार्य गर्ने सीप र क्षमताले युक्त बनाउनु आवश्यक छ । यसले मात्र महिलाहरूको सशक्तीकरण तथा मुक्ति सम्भव हुन्छ । पुरुषविरुद्ध घृणा फैलाएर, पुरुषलाई तर्साएर वा पुरुषसँग तर्सिएर महिला मात्रको संसार खडा गर्नु घातक सिद्ध हुनेछ ।

प्रकाशित : माघ २३, २०७३ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?