१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

देवानी संहिता सुधारको खाँचो

निर्मला भण्डारी

देवानी र फौजदारी संहिताद्वारा निकट भविष्यमा नै १६३ वर्ष पुरानो मुलुकी ऐन विस्थापित हुने क्रममा छ । उक्त संहिताका सम्बन्धमा सरोकारवाला निकाय तथा विज्ञहरूद्वारा देशभरबाट राय संकलन कार्य पुरा भई विषयगत समितिमा छलफल अन्त्य भएर दुवै संहिता संसदमा विचाराधीन रहेका छन् ।

देवानी संहिता सुधारको खाँचो

यो संहिता लगायत अन्य अति आवश्यकीय कानुनी मस्यौदा संसदबाट पास हुने अपेक्षा गरिएको छ । वास्तवमा यी संहिता आम नागरिकको दैनिक जीवनसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण कानुन भएकाले मस्यौदाले कानुनी रूप धारण गर्नुपूर्व नै यसमा देखिएका त्रुटि, कमी—कमजोरीबारे सम्बन्धित निकायलाई जानकारी गराउनु, सल्लाह—सुझाव दिनु उपयुक्त देखिए तापनि एउटा लेखमा दुवै संहितालाई समेट्न असम्भव भएकाले देवानी संहितामा देखिएका केही कमजोरी केलाउनु आवश्यक ठानेको छु । 

देवानी संहिता दफा ७४ (१) हाडनाता र जबर्जस्ती करणी बाहेकको अवस्थामा कुनै पनि पुरुषको शारीरिक सम्पर्कबाट महिलाले शिशु जन्माएको प्रमाणित भएमा त्यस्ता महिला—पुरुषबीच स्वत: विवाह भएको मानिने छ भनिएको छ । तर फौजदारी संहिता दफा १७३ मा बहुविवाह गर्न नपाइने व्यवस्था छ । तसर्थ यी दुई संहितामा भएको व्याख्यालाई एकै अर्थ लाग्नेगरी परिभाषित गर्नु आवश्यक देखिन्छ । 

दफा ९४ (ख) पत्नीले पतिलाई खान—लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा पतिले सम्बन्धविच्छेद गर्नसक्ने व्यवस्था गरेको छ । हाम्रो जस्तो सामाजिक, सांस्कृतिक मूल्य–मान्यता रहेको पितृसत्तात्मक समाजमा पत्नीले पतिलाई खान—लाउन नदिएर घरबाट निकाला गर्ने सम्भावनाको कल्पनासमेत गर्न नसकिने हुँदा यही दफामा टेकेर केही गलत सोच भएका पुरुषले श्रीमतीमाथि अन्याय गर्नसक्ने सम्भावना रहेकाले यो दफा हटाउनु उपयुक्त देखिन्छ । 

दफा १२४ मातृक तथा पैतृक अख्तियारी सम्बन्धी व्यवस्था अन्तर्गत नाबालकले आमाबाबुले दिएको आज्ञा, आदेश वा निर्देशन पालना गर्नु पर्नेछ भनिएको छ । जुन व्यवस्था बालबालिका सम्बन्धी ऐन २०४८ तथा अन्तर्राष्ट्रिय बालअधिकार अभिसन्धि विरुद्ध भएकाले सच्याउनुपर्ने हुन्छ । 

दफा २१६ (२) (३) बाबुआमाले छोराछोरीलाई आफ्नो आर्थिक हैसियतअनुसार उचित शिक्षादीक्षा, लालनपालनको व्यवस्था गर्नुपर्ने तथा पुरा गर्नुपर्ने दायित्व भएका व्यक्तिले दायित्व पुरा नगरे अंशियारले अंश लिई भिन्न बस्न पाउने व्यवस्था गरे पनि अंश लिने छोराछोरी वा अंशियारले अंश दिने दायित्व भएका बाबुआमा वा अन्य व्यक्तिलाई भने कुनै कतव्र्य पुरा गर्नुपर्ने प्रस्ट व्यवस्था छैन । अंश लिएर पनि बाबुआमा वा अंश दिने व्यक्तिलाई हेरचार नगरे त्यो पाएको अंश फिर्ता गर्ने या दण्डित गर्ने प्रस्ट व्यवस्था थप गर्नु उचित हुन्छ । 

दफा २६२ मा स्याहारसुसार गर्नेले अपुताली पाउने व्यवस्था गरेको छ । अपुताली प्राप्तिको आधार जीवित छउन्जेल पालनपोषन, मृत्युपश्चात दाहसंस्कार, काजकिरिया गर्दा लागेको खर्च कटाई बाँकी रहेको अपुताली पाल्ने व्यक्तिको हुन्छ । तर पालनपोषण र मृत्युपछि काजकिरिया कसले गर्‍यो भन्ने प्रमाणित गर्ने त्यस्तो केही ठोस आधार हुँदैन । काजकिरिया सामान्यतया: सबै दाजुभाइ बसेर गर्ने चलन रहेको छ । दुवै पक्षको साक्षीले आफ्नो पक्षको हितमा नै कुरा गर्छन् । तसर्थ स्याहारसुसारको प्रस्ट परिभाषा गर्नु उचित हुन्छ । 

२० वर्षदेखि बेपत्ता बाबुको नाममा रहेको अपुताली जग्गा नामसारीको विवादमा भर्खरै जिल्ला अदालत काठमाडौंले बाबु मरेको नदेखिएको, काजकिरियासमेत यसैले गरेको भन्ने प्रमाणित नभएको हुँदा वादी–प्रतिवादी दुवैले जग्गा नामसारी गर्न नपाउने फैसला गरेको छ । कुनै पनि व्यक्ति बेपत्ता भएको १२ वर्षसम्म पनि सम्पर्कमा नआए काजकिरिया गर्ने कानुनी व्यवस्था छ । काजकिरिया सकेपछि हकवालाहरूले सम्पत्ति बन्डा गर्न सक्छन् । सम्पत्ति बन्डापछि बेपत्ता भएको व्यक्ति फिर्ता आएको अवस्थामा के गर्ने ? यस विषयमा कानुन बोलेको छैन । प्रस्ट कानुनी व्यवस्था हुनुपर्ने तथा बेपत्ताको काजकिरिया गर्ने समय १२ वर्षबाट बढाउनु आवश्यक छ । 

साथै यो संहिताले आधुनिकतासँगै वर्तमान नेपाली समाजमा भित्रिएको ‘लिभ इन टुगेदर’ (विवाह नै नगरी सँगै बस्ने चलन) लाई समेट्नसकेको छैन । यसले हाम्रो समाजलाई तीव्र रूपमा आक्रमण गरिरहेको छ । परिमाण यसले धेरै समस्या निम्त्याइरहेको मात्र नभई भविष्यमा निम्त्याइरहने निश्चितप्राय: छ । सामान्यतया रोजगारी या अध्ययनको सिलसिलामा विदेशिएका नेपाली, आधुनिक बौद्धिक वर्ग तथा युवायुवतीहरू (जो घरपरिवारबाट टाढा रहेका छन्) ले यो सम्बन्धलाई प्रयोगमा ल्याइरहेका छन् ।

जब गाउँघरबाट पढ्न वा रोजगारीको लागि युवायुवती सहर पस्छन्, त्यसबेला एक्लो व्यक्तिले कोठा पाउन गाह्रो हुने या पाए पनि आर्थिक हिसाबले कठिन हुने भएकाले सँगसँगै मिलेर बसे सहज हुने भ्रममा परी ख्यालठट्टामै निर्णय गरेको देखिन्छ । केही बौद्धिक वर्ग भने योजना बनाएरै एकअर्कोको स्वतन्त्रतामाथि हस्तक्षेप नगर्ने, चाहेका बेला अलग पनि हुनसक्ने समझदारीसाथ सँगै बसे पनि समयको गतिसँगै मानवीय स्वभावका कारण एकअर्काको हस्तक्षेप बढ्दै जाँदा त्यो सम्बन्ध यति अप्ठ्यारो मोडमा पुग्छ, जस्तो– कसैको गर्भ रहन्छ, तर केटाले स्वीकार गर्दैन । बिहे नै गर्छु भनी झुक्याउने तर अर्कोसँग बिहे गर्ने ।

गर्भ रहेपछि केटाको मृत्यु भएमा केटी तथा बच्चाको बिचल्ली हुने । चतुर केटाकेटीहरूले प्रभावमा पारेर सम्बन्धमा रहने, आर्थिक लाभ लिने, शारीरिक शोषण गर्ने र अन्त्यमा विभिन्न बहानामा छाडिदिने । यो सम्बन्धमा रहेका धेरैजसो केटाले अर्कोतिर पनि प्रेम सम्बन्ध बनाउने तर पार्टनरलाई भने बन्देज गर्ने । अधिकांश अवस्थामा अस्थायी साधन भने केटीले नै प्रयोग गर्नुपर्ने मात्र नभई धेरैपल्ट गर्भपतन पनि गर्नुपर्ने बाध्यता । सबै कुरा घरपरिवार, समाजबाट गुपचुप रहने भएकाले मानसिक तनाव, आर्थिक संकट, डिप्रेसनको सिकार हुने, स्वास्थ्य कमजोर हुनुका साथै बीचैमा पढाइ छाड्न बाध्य हुने र कतिले यो अवस्थामा आत्महत्या समेत गरेको भेटिन्छ । केटाको अर्को केटीसँग प्रेम सम्बन्ध रहेपछि पहिलो पार्टनरले बिहेका लागि दबाब दिने भएकाले त्यो झञ्झटबाट मुक्ति पाउन पहिलो प्रेमिकाको हत्या गर्ने गरेको पनि पाइन्छ ।

यसको उदाहरण २०६८ चैत १० कुपन्डोलमा पहिलो सम्बन्धकी प्रेमिकालाई प्रेमी सौगात ढकालले गरेको हत्यालाई लिन सकिन्छ । जिन्दगीलाई पश्चिमा समाजले झैं स्वतन्त्र ढंगले उपभोग गर्ने चाहना राखेका यी युवा अहिले सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका छन् । यो सम्बन्धमा रहेका अधिकांश युवायुवती तथा बौद्धिकहरूसमेत यो सम्बन्धबाट उत्पन्न असमझदारीको दलदलमा फँसेर कष्टकर र पीडादायी जिन्दगीबाट मुक्ति पाउन वा न्याय खोज्न प्रहरी प्रशासन या अदालतको ढोका चहार्न बाध्य छन् । अफ्सोच यस्तो सम्बन्धबाट उब्जेको समस्या समाधानका लागि हामीसँग कुनै कानुन छैन । नत कसैले चाहेर नै यो खाले सम्बन्धलाई रोक्न सक्ने अवस्था छ । तसर्थ ‘लिभ इन टुगेदर’बाट उत्पन्न समस्या सम्बोधन गर्न कानुन बन्नैपर्ने अवस्था सिर्जना भएको छ ।

हाम्रो जस्तो सामाजिक, आर्थिक, परम्परागत मूल्य–मान्यता भएको समाजमा यो नयाँ मुद्दालाई समय—सान्दर्भिक परिभाषितसमेत गर्नुपर्ने आवश्यकता तथा कस्तो–कस्तो अवस्था र उमेरका महिला–पुरुष यो सम्बन्धमा रहन सक्ने ? आधिकारिक निकायमा जानकारी गराउनुपर्ने या नपर्ने ? बच्चा जन्मिएको अवस्थामा उनीहरूको सम्बन्ध के हुने ? अंश, वंश र अपुताली आदिमा दाबी गर्न मिल्ने कि नमिल्ने ? उनीहरू बीचको दायित्व र कतव्र्य के कस्तो हुनुपर्ने ? एकै समयमा धेरैसँग सम्बन्धमा रहन पाउने कि नपाउने ? जस्ता यावत कुरा प्रस्ट हुनुपर्ने भएकोले विद्यायिकाले यो विषयलाई गम्भीर रूपमा लिएर देवानी संहिताको पारिवारिक कानुन अन्तर्गत छुट्टै परिच्छेदमा समेट्नु जरुरी छ । 

साथै यो संहिताले नदेखेको अर्को महत्त्वपूर्ण पक्ष भाडाको कोख (सरोगेसी) समेत हाम्रो सामाजिक मूल्य–मान्यता प्रतिकूल प्रयोगमा रहेकाले सामाजिक संरचनामा प्रत्यक्ष प्रभाव पार्ने अवस्था सिर्जना भएको छ । यस विरुद्ध रिट परी सर्वोच्च अदालतबाट कानुन बनाउन निर्देशनात्मक आदेश जारी भैसकेका कारण सरोगेसी समस्यालाई समेत यो संहितामा छुट्टै परिच्छेदमार्फत समेट्नु उपयुक्त छ ।

प्रकाशित : माघ २८, २०७३ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?