कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

किन हुन्छ ‘एसिड आक्रमण’ ?

डा. अजय रिसाल

छापामा पढिएको ‘विवाह गर्न नमान्दा प्रेमीद्वारा प्रेमिकामाथि एसिड प्रहार’ समाचार अनि ती किशोरीको उपचार क्रममा मृत्यु हुनपुगेको घटना पढ्दै गर्दा करिब दुई वर्ष अघिको यस्तै प्रकृतिको घटना सम्झनामा आयो ।

किन हुन्छ ‘एसिड आक्रमण’ ?

मध्य राजधानीमै ट्युसन पढ्न गएका दुई किशोरीमाथि सबेरै एसिड आक्रमण भएको थियो, त्यो बेला । यस किसिमका अमानवीय एवं आपराधिक प्रवृत्तिसँग सम्बन्धित घटनाबारे अनेक कोणबाट आइरहेका समाचार टिप्पणी/लिखोटहरूले मलाई केही तथ्य उजागर गर्ने हौसला प्रदान गरेको छ ।

एसिड आक्रमण विश्वव्यापी रूपमा नै विद्यमान रहेको तथ्यांकहरूले दर्शाएका छन् । वर्षेनि करिब १५०० जना यसको सिकार हुने गरेको पाइन्छ । तीमध्ये ८० प्रतिशत महिला अनि ४० प्रतिशत १८ वर्षमुनिका भएको आँकडामाथि विचार गर्दा यसले सामाजिक रूपमा कमजोरलाई नै निसाना बनाउने गरेको छर्लङ्गै हुन्छ ।

ऐतिहासिक पक्षलाई केलाउँदा सन् १८७९ मा युरोपेली मुलुक फ्रान्समा पुरुषको ध्यानाकृष्ट गर्न महिलाले एकअर्का विरुद्ध आक्रमण गर्ने हतियारको रूपमा प्रयोग गरिने गरेको एसिड १९६० को दशकयता बंगलादेश, भारतजस्ता दक्षिण एसियाली मुलुकहरूमा महिला हिंसाको निकृष्ट नमुनाको रूपमा देखापरेका छन् ।

विश्वस्तरीय अध्ययनहरूले एसिड आतंकले ग्रस्त मुलुकहरूमा बंगलादेशलाई पहिलो स्थानमा रहेको देखाएको छ भने भारत र कम्बोडिया दोस्रो अनि तेस्रो नम्बरमा आउँछन् । दक्षिण एसियाली अनि मध्यपूर्वी देशहरूमा सामाजिक अधिकार र आर्थिक पहुँचको दृष्टिकोणले महिलाहरू पछि पर्ने र गार्हस्थ हिंसाको सिकार बन्ने गरेको जगजाहेरै छ । यस्तो अवस्थामा महिलामाथि हुने गरेको यातनाको हतियारको रूपमा एसिड नै प्रयोग भएको देखिन्छ ।

वैवाहिक या प्रेम प्रस्ताव अथवा जबर्जस्ती यौन सम्बन्ध राख्न अस्वीकार गर्दा, दाइजोको मामिला वा अन्य सामान्य झगडा आदिमा पनि पुरुष पक्षले महिलाको अनुहारै बिगार्ने घृणित उद्देश्यसाथ एसिड प्रहार गरेको देखिन्छ । त्यस्तै अफगानिस्तान, पाकिस्तान, इरानजस्ता इस्लाम बहुल मुलुकहरूमा धार्मिक नीति—नियमको विपक्षमा जाने जोकोहीलाई यसको सिकार बनाउन सकिने देखिएको छ, जस्तै— महिलाले स्कुल जाँदा बुर्का नलगाउँदा ।

अफ्रिकी एवं दक्षिण अमेरिकी मुलुकहरूमा समेत महिलामाथि एसिड खन्याएर पुरुषहरूले लैंगिक असहिष्णुताको चरम दृष्टान्त देखाएको पाइन्छ । उत्तर अमेरिकी एवं युरोपेली देशमा भने अहिले कडा कानुनी प्रावधानका कारण एसिड आतंक लैंगिक हिंसाको रूपमा अगाडि नआए तापनि अल्पसंख्यक समुदायमाथि मद्यपान या लागुपदार्थ सेवनको आडमा गरिने आपराधिक क्रियाकलापको माध्यमको रूपमा अझै रहेको पाइन्छ । त्यहाँ पेट्रोल, मट्टितेलजस्ता तेलजन्य प्रज्ज्वलनशील पदार्थ पनि प्रयोग भएको देखिन्छ । विशेषगरी बेलायतमा एसियाली आप्रवासीहरूमाझ अझै पनि नारी/पत्नीहरूलाई दबाउन या यातना दिन एसिड नै प्रयोग भएको पाइन्छ ।

एसिड आक्रमणको अर्को कारणको रूपमा जग्गाजमिनमाथिको अधिकारको लागि चल्ने विवाद, एकअर्काप्रतिको शत्रुता या बदलाको भावना आदि पनि रहेको देखिन्छ । यस्ता घटनाले शेरलक होल्म्सको अपराध साहित्यमा समेत स्थान पाएको थियो । विशेषतया मोटरसाइकल मर्मतमा प्रयोग हुने सल्फरिक एसिड, गहना सफा गर्न प्रयोग गरिने नाइट्रिक या हाइड्रोक्लोरिक एसिड नै यस्ता कार्यमा उपयोग भएको देखिए तापनि आजकल बिग्रेको मोटर ब्याट्रीभित्रका तरल पदार्थसमेत यसमा प्रयोग हुने गरेको पाइन्छ । 

यी एसिड/पदार्थले गर्ने शारीरिक हानिमा अन्धोपना, छाला बिग्रने, हातहरू काम गर्न नसक्ने बन्ने अनि अनुहारमा स्थायी दाग लाग्ने/पोल्ने या कुरूपपना आउने आदि देखिन्छ । त्यसभन्दा पनि बढी हृदयविदारक त यसबाट पीडित महिलाहरूको गिर्दो मनोवैज्ञानिक अवस्था, स्थायी रूपमा नै डिप्रेसन, एन्जाइटी, पोष्टपार्टम डिस्अर्डरजस्ता रोगको सिकार बन्नु रहन्छ । सामाजिक रूपमा बहिष्कृत बन्ने, काम/पेसाबाट विमुख हुने आदि पीडा त अवर्णनीय नै छन् । 

यस्तो विश्वव्यापी आतंकको रूपमा रहेको एसिड आक्रमणको घटना र तत्सम्बन्धी आएका समाचारहरूलाई हामीले हल्का रूपमा कदापि लिनु हुँदैन । अत: सबै पक्षबाट यस्तो प्रवृत्ति दोहोरिन नदिन प्रभावकारी पाइला चालिहाल्नुपर्ने देखिन्छ । त्यस्तै यस घटनाका सिकार किशोरी/महिलाहरूको उपचार अनि सामाजिक पुनर्वासका लागि पनि सरकारले सोच्नुपर्ने हुन्छ ।

अनि यसमा संलग्न अपराधीहरूको पहिचान गरी सबैले देख्नेगरी अनि आपराधिक मनोवृत्तिको निराकरण नै हुनेगरी सजायको व्यवस्था गर्न सम्पूर्ण सचेत नागरिक, सम्बद्ध संघ/संस्था अनि मिडियाकर्मीले घचघच्याउनुपर्ने हुन्छ । सर्वाधिक एसिड आतंक छाएको बंगलादेशमा सन् २००२ देखि विभिन्न गैरसरकारी संस्थाहरूको सत्प्रयासका कारण यस्ता घटनामा न्युनीकरण हुँदै आएको वास्तविकतालाई बिर्सन मिल्दैन । अत: यो हामी सबैले गम्भीरतासाथ मनन गर्नुपर्ने सामाजिक महत्त्वको विषय हो । 

डा. रिसाल मानसिक रोग विशेषज्ञ हुन् । 

प्रकाशित : माघ २८, २०७३ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?