कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जे हुन्छ, हुन्छ

विमल निभा

मलाई त के लागिरहेको छ भने कतै प्रचण्ड निर्वाचन संशोधन र संविधान गराइतिर त तीव्र वेगले अग्रसर भइरहेका छैनन् ?

जे हुन्छ, हुन्छ

वर्तमान प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ समयबद्ध प्रधानमन्त्री हुन् । अब यो समयावधि कतिको हो, यो सर्वथा गोप्य रहेको छ । तर यसबारे कसलाई थाहा छैन र ? जे होस्, उनी प्रधानमन्त्री भइसकेपछि सबभन्दा पहिले छिमेकी मुलुक हिन्दुस्तानको यात्रामा सपत्नी निस्किए । अनि त्यहाँबाट खुसी–खुसी फर्किएर सिंहदरबारस्थित सरकार प्रमुख प्रधानमन्त्रीको नरम–नरम कुर्सीमा आरामले बसेका छन् ।

यसको अर्थ कमरेड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही पनि गरिरहेका छैनन् भन्ने होइन । वस्तुत: ‘बसिरहनु’ पनि एउटा काम नै हो । चाहे त्यो आरामले होस् अथवा जेसुकै किन नहोस् ! यहाँ सवाल आराम–सारामको नभएर कामको हो । र प्रधानमन्त्री कमरेड प्रचण्ड त्यसै चुपचाप बेकाममा आसन जमाएर बसेका छैनन् । उनी आफ्नो सम्पूर्ण बुता एवं वर्कतले भ्याएसम्म केही न केही काम गरिनै रहेका छन् । जस्तै, विभिन्न सभा–सम्मेलनको आफ्नो करकमलद्वारा उद्घाटन... आयन्दा कुनै पनि कार्यक्रमको रिबन काट्न नजाने उद्घोषण... एक राजनीतिक (अराजनीतिक पनि हुनसक्छ) समारोहमा पुरानो कमरेड (?) बाबुराम भट्टराईसँग लामो हात मिलाइ... भारतीय प्रधानमन्त्री श्रीमान नरेन्द्र मोदीसँग टेलिफोनमा वार्ता... सरकारको तर्फबाट नेपालीहरूका गरिबी परिचयपत्रको उदारतापूर्वक वितरणको योजना... सुविख्यात धनीमानी अजय सुमार्गीको यताउता (कुन्नि, कता–कता) अवरुद्ध रहेको डलर र पौन्डमा उत्कट चासो... माओवादी अक्षयकोष निर्माणमा पहलकदमी... एक्कासी बिरामी परेकी नेपाली कांग्रेसकी गिरिजापुत्री सुजाता कोइरालालाई विदेशमा उपचारार्थ नगद पचास लाख रुपियाँ प्रदान... गरिबी निवारण कोषको अपर्झट स्थापनाको प्रयत्न... एकमात्र (सु) पुत्र प्रकाश दाहाललाई एकपटक फेरि प्रधानमन्त्री कार्यालयमा निजी शैलीको बलबद्र्धक नियुक्ति... एक समयका वाईसीएल कार्यकर्ताहरूलाई सुषुप्त अवस्थाबाट पुन: सडकमा आउन जोशिलो आह्वान... भारतको राजधानी नयाँदिल्लीमा रिक्त रहेको राजदूतमा कांग्रेसी नेता दीपकुमार उपाध्यायको पुनर्नियुक्ति... एक बिहान पुनरागमन गरेका कमरेड रामबहादुर थापा ‘बादल’हरूलाई लालसलामी स्वागत... नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवासँग अत्यन्तै आत्मीय डिनर... भारतीय राजदूत रन्जित रेसँग सन्ध्याकालीन भेटघाटमा सुमधुर गफगाफ... एकदिन रुकुम र रोल्पाको आकाशमार्गीय सवारी भ्रमण... ती पुराना स्मरणलाई समर्पित भावुकता प्रदर्शन... चितवनमा एककठ्ठा जग्गा र जम्माजम्मी तीन तोला सुनको सम्पत्ति प्रस्तुति... भाडाको घरलाई लिएर नेकपा–माओवादीका कमरेडहरूसँग व्यवहारवादी किचलो... भूकम्प पीडित पुनर्निर्माण प्राधिकरण प्रमुखको हठात् परिवर्तन... क्रिसमसडेमा सबैलाई हार्दिक शुभकामना... ब्रिक्स सम्मेलनमा चिनियाँ तथा भारतीय नेतासँग गहन वार्ता... त्रिपक्षीय वार्ता सफलताको एकपक्षीय निष्कर्ष... मधेसी मोर्चाका नेताहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा तात्तातो चियापान... यसको निरन्तरताको वचनबद्धता... अनशनरत डा. गोविन्द केसीसँग कुराकानी गर्न एक सानो टोलीको गठन... नेकपा एमालेसँग तीनबुँदे सहमति... एमाले अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओलीसँग अन्त्यहीन खिचखिच... नेकपा माओवादी (केन्द्र) मा तीन हजार नौ सय निनान्बे केन्द्रीय पार्टीका लगभग एक दर्जन राजमन्त्रीहरूलाई सपथ... सरकारी सचिवहरूसँग कार्य नतिजाको जोडदार माग... युनाइटेड अरब इमिरेट्स अर्थात् युएईको सदलबल भ्रमण... वीरेन्द्र अन्तर्राष्ट्रिय सभागृहमा उपस्थित–अनुपस्थित माननीय सभासदहरूका भारी भत्तावृद्धि... भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल आगमनमा एकदिने विदा... राजधानी काठमाडौंका प्रमुख सडकहरू बन्द... संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई... भारतीय सेनाप्रमुख दलवीर सिंहसँग प्रत्यक्ष भेटघाट... छिमेकी मुलुक जनगणतन्त्र चीनलाई गैंडाको बच्चा उपहार... तीनै खाले निर्वाचन गराउने... संविधान संशोधन गर्ने... निर्वाचनको मिति तोक्न गम्भीर... पहिले संविधान संशोधन... निर्वाचन... संशोधन... निर्वाचन... आदि—इत्यादि ।

यतिका काम गर्दै (अथवा नगर्दै पनि) आधा वर्ष अर्थात ६ महिना समय सजिलैसित बितिसकेको रहेछ । अब हिसाबले समयबद्ध प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को कति समय बाँकी रहेको छ, यो मलाई के थाहा हुन्छ ? यसका लागि त नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवासँग सावधानीपूर्वक सोधनी गर्नु उचित हुनेछ । यो दुई पक्ष बीचको आपसी मामला भएकोले हामीलाई थाहा हुने कुरो पनि भएन नि ! वास्तवमा नौ महिना नभएसम्म गर्भको बच्चा त बाहिर निस्कँदैन भने अरू के कुरा गर्ने ? यही प्रकृति प्रदत्त नियम हो । अँ, यसबीच प्रधानमन्त्री कमरेड प्रचण्डले साँच्चिकै एकाध काम गर्न खोजेकै हुन् । उदाहरणका लागि उनको दुई प्रतिनिधि कामलाई अघि सार्न सकिन्छ । एक, अहिलेसम्म नभइरहेको निर्वाचन सम्पन्न गराउने र अर्काे, क्रियान्वयनमा नआइसकेको संविधान संशोधन गर्ने । होइन र ? होइन, कुन्नि, किन–किन मलाई त के लागिरहेको छ भने कतै उनी निर्वाचन संशोधन र संविधान गराइतिर त तीव्र वेगले अग्रसर भइरहेका छैनन् ? मेरो मतलव, दुई नम्बरको संविधान गराई असफलमा नगराई भन्नेतिर हो । कमरेड प्रधानमन्त्री प्रचण्डका लागि दुवै कुरो एउटै हो । अर्थात् के गर्नु र के नगर्नु ! र यो एक जबर्जस्त मनस्थिति हो । यसलाई मेडिकल टर्ममा के भन्छ, म भन्न सक्दिन । यसमा जे पनि हुनसक्छ । याने अब आगे जे हुन्छ, हुन्छ !

प्रकाशित : माघ २९, २०७३ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?