कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

स्ववियुमा समावेशी प्रतिनिधित्व

सुनिता बराल

पाँच दशकपछि स्ववियु निर्वाचन समावेशी बन्दैछ । यस पटक समानुपातिक निर्वाचन प्रणालीले एउटैमात्र संगठनको प्रतिनिधित्व हुने परिपाटीको अन्त्य गरेको छ । प्रत्यक्ष प्रतिस्पर्धासँंगै हुने समानुपातिक रूपमा निर्वाचित हुने प्रणालीको कारण स्ववियुको आगामी नेतृत्व सबै विचार र राजनीतिक धार बोकेका विद्यार्थी संगठनहरूको मालाझैं हुनेछ ।

स्ववियुमा समावेशी प्रतिनिधित्व

विद्यार्थी आन्दोलनमा स्ववियुको अतुलनीय भूमिकासाथ स्ववियु आन्दोलनको एउटा अर्को अध्यायको रूपमा यस वर्ष स्ववियु निर्वाचन हुँदैछ । राजनीतिक दलहरूको सम्बन्धकै आधारमा विद्यार्थी आन्दोलनमा समय—समयमा एजेन्डाहरूमा मतभेद सिर्जना हुनु भने दुर्भाग्यपूर्ण हो ।

स्ववियुमा समावेशीकरण अहिलेको मूल सौन्दर्य हो । प्राप्त मतका आधारमा समानुपातिक प्रतिनिधित्वले स्ववियुलाई सन्तुलित ढंगबाट साझा रूपमा सञ्चालन गर्ने अख्तियारी दिएको छ । यसले हाँक्ने आन्दोलनलाई पनि साझा रूपमा लैजानुपर्ने चुनौती यससंँगै आएको छ । यतिन्जेल प्रतिनिधित्वका आधारमा समानुपातिक भए पनि एजेन्डाहरूमा मतभेद भएकै कारण स्ववियु सञ्चालनमा समस्या सिर्जना हुँदै आएको छ । 

जुनसुकै राजनीतिक दलसँंग आबद्ध विद्यार्थी भए पनि स्ववियुभित्र निर्वाचित भएपछि विद्यार्थी कल्याणमै केन्द्रित हुनसके समानुपातिक प्रतिनिधित्वको परिकल्पना सार्थक हुनेछ । 

विद्यार्थीहरूले राजनीति गरेकै कारण शिक्षामा पछौटेपन सिर्जना भएको लगायत आरोपको आधारमा नयाँ पुस्तामा राजनीतिप्रतिको वितृष्णा बढिरहेको अवस्थामा स्ववियुले राजनीतिक सचेतनाको पक्षलाई बढावा दिन जरुरी छ । इतिहासमा स्ववियुको आवश्यकता र यसको परिकल्पना विद्यार्थी कल्याण र राजनीतिक सशक्तीकरण दुवै कोणबाट समान ढंगमा उठाइएको थियो । फरक समयमा नेपालको राजनीतिक, सामाजिक र शैक्षिक विकासमा स्ववियुको आफ्नै खालको इतिहास, भूमिका र योगदान छ । विशेषत: राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाइएको समयमा पनि तत्कालीन सरकारको आँखा छलेर राजनीतिक सन्देश प्रवाहित गर्दै आम नागरिकको घरदैलोसम्म विचार सम्प्रेषण गर्न सहज वातावरण बनाइदिने निकायको रूपमा राजनीतिक आन्दोलनमा स्ववियुको योगदान छ । लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा हरेक नागरिकलाई राजनीतिप्रति सचेत र संगठित राख्नुपर्छ, अन्यथा जुनसुकै बेला राष्ट्रियता, लोकतन्त्र र स्वाभिमान खतरामा पर्न सक्छ भन्ने सन्देश विद्यार्थीमाझ लैजान स्ववियु जरुरी छ । 

हाम्रो सामाजिक अवस्था यतिबेला द्वन्द्वोत्तर मनोविज्ञानले ग्रस्त छ । द्वन्द्वका कारण पढाइ छाडेका, निराश भएका र बेरोजगारीले पिल्सिएका युवा विद्यार्थीहरूलाई व्यावहारिक शिक्षामार्फत पुन:स्थापित गर्ने विषय अब स्ववियुको एजेन्डा बन्नुपर्छ । सामाजिक समायोजनमा समस्या बेहोरिरहेका विद्यार्थी तथा युवालाई समाजमा पुन:स्थापित गराउन हाम्रो शिक्षा प्रणालीको परिमार्जनमा स्ववियुको योगदान हुनुपर्छ । 

आन्तरिक श्रमशक्तिको खपत, कृषि र उत्पादनमूलक क्षेत्रमार्फत कुल गार्हस्थ उत्पादकत्वको वृद्धि र रोजगारी निर्माणमार्फत अर्थतन्त्र बलियो बनाउन प्रगतिशील उत्पादन प्रणालीको अगुवाइ गर्नसक्ने शिक्षाको नेतृत्वमा स्ववियुको योगदान हुनेछ । अब विश्वविद्यालय मार्फत पाठ्यक्रम निर्माणदेखि प्रयोगात्मक परीक्षासम्मका सबै प्रक्रियामा व्यावहारिकता र जनमुखी प्रकृतिको शिक्षा छ—छैन, हरेक पाइलामा विद्यार्थी आफैंले आत्मसन्तुष्टि पाउनेगरी स्वपरीक्षा हुने खालको व्यवस्था गर्नुपर्छ । त्यसका लागि स्ववियुले अगुवाइ गर्नुपर्छ । 

विश्वविद्यालय प्रशासनले स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन गरेसँंगै यस्ता एजेन्डा सबै विद्यार्थी संगठनले उठाउलान्, उठाउन पाउनुपर्छ, उठाउनुपर्छ । तर विद्यार्थीहरूलाई क्याम्पसको प्रशासन वा कसैको हस्तक्षेप बेगर कुन विद्यार्थी संगठनलाई मतदान गर्ने ? भन्ने निर्णय गर्न दिने स्वतन्त्रताको सुरक्षा पनि हाम्रो अभियानमा हुन जरुरी छ । अन्यथा समानुपातिक प्रतिनिधित्वकै खिल्ली उड्नेगरी नतिजा नआउला भन्न सकिन्न । एजेन्डाहरूको उठानदेखि कार्यान्वयनसम्मको नेतृत्व गर्न सक्नेलाई मतदान गर्नु विद्यार्थीहरूका लागि यो अवसर हो । धेरै विषयमा विद्यार्थी संगठनहरूबीच छलफल र सहकार्य नै हुने गरेको छ । विशेषत: विद्यार्थी कल्याणका एजेन्डामा राजनीतिक रूपले फरक भए पनि साझा मुद्दामा एकमत भएको अवस्थालाई विकास गरेर सैद्धान्तिक र वैचारिक प्रतिस्पर्धालाई कायम राख्दै कार्यान्वयनमा सहकार्यलाई निरन्तरता दिन जरुरी छ । 

अनेरास्ववियुको माग भनेकै गुणस्तरीय शिक्षामार्फत विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति तयार गर्न राज्यले आफ्ना कार्यक्रम केन्द्रित गर्नुपर्छ भन्ने हो । यस्तै शिक्षालाई यथार्थ आवश्यकता र क्षमताको आधारमा प्राकृतिक स्रोतसाधनको परिचालन गर्न सक्षम हुने खालको जनशक्ति तयार गर्नु अर्को महत्त्वपूर्ण माग हो । अहिले विद्यार्थी शैक्षिक प्रमाणपत्र बोकेर खाडीमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय स्रोतसाधनको परिचालन गर्दै समाजलाई समृद्धितर्फ डोर्‍याउन सक्ने जनशक्ति निर्माण अबको कार्यसूची बनाउन अखिलको माग छ । जुन कुरा स्ववियु निर्वाचनमार्फत विद्यार्थी पंक्तिले अनुमोदन गर्ने अपेक्षा छ । मेडिकल र इन्जिनियरिङ विषयलाई अझ सर्वसुलभ बनाउन अखिलको माग रहिआएको छ । 

विश्वविद्यालयमा हुने नियुक्तिको राजनीतिक भागबन्डा प्रणाली अन्त्य गर्दै प्रतिस्पर्धाबाट क्षमताका आधारमा नियुक्त हुनुपर्ने कुरामा सम्झौता गर्नु हुँदैन । स्ववियु निर्वाचनले शैक्षिक, सामाजिक र राजनीतिक आन्दोलनमा मुलुकको सामाजिक, राजनीतिक अवस्थाको छाया प्रस्ट देखाउँछ । स्थानीय निर्वाचनसमेत नभएर लोकतन्त्रको आधारस्तम्भ नै खल्बलिएको बेला स्ववियु निर्वाचनले लोकतन्त्र, नेतृत्व हस्तान्तरण, नयाँ पुस्ताको नेतृत्वलाई समाजको अपनत्व लगायत केही तत्त्व प्रदान गर्छ ।

बराल अनेरास्ववियुकी उपाध्यक्ष हुन् । 

प्रकाशित : फाल्गुन ४, २०७३ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?