१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गर्भपतन : यो पाटो पनि हेरौं

डा. अरूणा उप्रेती

म भारतको कोलकाता सहरमा एक वर्ष बस्दा थाहा भयो कि त्यहाँका गरिब गाउँमा पञ्जाबबाट मानिसहरू आएर गरिबका छोरीहरू किनेर विवाह गर्छन् र केही सन्तान भइसकेपछि श्रीमतीलाई लखेट्छन् ।

गर्भपतन : यो पाटो पनि हेरौं

अहिलेको भारतमा यस्तो त हुँदैन होला जस्तो लागेको थियो, तर विभिन्न पत्रपत्रिका र सेमिनारमा यही कुरा दोहोरिएपछि साँच्चै हुँदोरहेछ भन्ने भयो । पञ्जाबमा धनी मानिस र शिक्षितहरू बसोबास गर्ने भए पनि उनीहरूलाई छोराकै जरुरत पर्छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गराउने उनीहरूको चलनले गर्दा पञ्जाबमा विवाह गर्न युवती नै कम भएको कुरा सुन्दा मलाई नेपालमा त यस्तो हुँदैन भन्ने लागेको थियो । तर पछिल्लो समय नेपालका केही जिल्ला अस्पतालमा छोरीको तुलनामा छोरा बढी जन्मेको तथ्यांक देखिएपछि हामीकहाँ पनि केही वर्षपछि पञ्जाब र हरियाणामा जस्तै गाउँमा गएर युवतीहरू किनेर विवाह गर्ने चलन बढ्छ कि भन्ने लाग्न थालेको छ । 

बुझ्दै जाँदा गर्भमा छोरी भएमा गर्भपतन गर्न डोल्पा र मुगुबाट नेपालगन्जसम्म पनि महिलाहरू जाने गरेको पाइयो । डोल्पा र मुगु गरिबीले आक्रान्त जिल्ला हुन् भनी तथ्यांकले देखाउँछ । तर त्यहाँका परिवारलाई पनि छोरा चाहिने बाध्यताले गर्भ रहेपछि जँचाउन नेपालगन्जसम्म पुग्दा, अनि निजी क्लिनिकमा गएर गर्भपतन गराउन कति खर्च लाग्दो हो ? यस्तो घटना सुनेपछि कतिजनाले ‘महिलाहरू नै गर्भपतन गराउन चाहन्छन्, महिला डाक्टरहरूले पनि गर्भपतन गराइदिन्छन्, त्यसैले दोषी त महिला नै हुन्’ भन्न भ्याउँछन् । तर महिलाहरूले छोरी भनेर थाहा पाएपछि गर्भपतन गराउनुको पछाडि कति ठूलो विवशता छ, कसैले विचार गर्छ ? छोरी पाएपछि महिलालाई अपमानित गरेर घरबाट निकालिदिने, दुव्र्यवहार गर्ने, सके छोरा पाउन अर्को व्यवहार गर्ने हुनाले महिलाहरूले आफ्नो मन मारेर भए पनि छोरी भन्ने थाहा पाएपछि गर्भ तुहाउन विवश हुन्छन् । किनभने ती महिलाहरू पनि आफ्नो जिन्दगी जिउन चाहन्छन् । 

धार्मिक विचारले भरिपूर्ण भएका मानिसहरू छोरा भएन भने दागबत्ती दिने र वंशरक्षा गर्ने मान्छे हुँदैन भनेर छोरीलाई बोझ भन्ठान्ने बेलासम्म वा धार्मिक अधिकार नदिने बेलासम्म गर्भबाट छोरी तुहाउने चलन कम हुँदैन । कुनै कानुन, क्लिनिकको नियम अनुगमन गरेर यो समस्या समाधान हुँदैन । गर्भपतनको अधिकार महिलालाई दिइएको छ । उनले कुनै ठाउँमा गएर भ्रूण पहिचान गरिन् र अर्को ठाउँमा गएर ‘मेरो गर्भले गर्दा म मानसिक र शारीरिक रूपमा अस्वस्थ भएँ, गर्भ तुहाइदिनुस्’ भनेपछि चिकित्सकले गर्भपतनका कानुनी परिधिभित्रै रहेर गर्भ तुहाउँदा कानुन लाग्छ र ? गर्भ तुहाउने स्वास्थ्यकर्मीलाई थाहा नहुन पनि सक्छ– ती महिलाले कुनै अर्को ठाउँमा गर्भजाँच गराएर छोरी भन्ने पत्ता लगाएर त्यहाँ आएकी हुन् । नेपालमा लिंग पहिचान गरी गर्भपतन गराउनु हुँदैन र गराएमा सजाय हुन्छ भन्ने धेरैलाई थाहा छैन । यस सम्बन्धी कानुन बनेको यतिका वर्षमा स्वास्थ्यकर्मी समातिएका घटना पनि विरलै होलान् । कानुन बनाउने सांसद, वकिल, न्यायाधीश, सरकारी कर्मचारीले नै गर्भमा छोरी भन्ने थाहा पाएपछि निजी अस्पतालमा गएर गर्भपतन गराएका घटनाहरू छन् । जबसम्म समाजमा छोरीलाई पनि छोरासरह अंश, वंश र धार्मिक क्रियाकलाप गर्ने, पिण्ड र दागबत्ती दिने अधिकार हुँदैन, छोरीहरूलाई तुहाउने प्रवृत्ति कम हुँदैन । भारतमा करिब पाँच दशकअघि लिंग पहिचान गरी गर्भ तुहाउन नपाइने कानुन बनेको थियो । तर त्यो कानुनकै उपहास गरेको छ, त्यहाँको अवस्थाले ।

छोरीको गर्भ तुहाउनुलाई ‘भ्रूणहत्या’ भन्ने शब्द प्रयोग गर्नु पनि गलत छ । यदि छोरी छ भन्ने थाहा पाएर गर्भ तुहाउनुलाई भ्रूणहत्या भन्ने हो भने महिलाले आफ्नो अधिकार प्रयोग गरेर नचाहेको गर्भ तुहाउनु पनि भ्रूणहत्या नै हो त ? अनि के प्रसूतिगृह, थापाथली जहाँ गर्भपतनको सुविधा छ वा मेरी स्टोप्स क्लिनिकमा ‘यहाँ भ्रूणहत्या गरिन्छ’ भनेर बोर्ड झुन्ड्याउने ? गर्भपतन गराउने अधिकारलाई कमजोर पार्छ, यस्ता शब्दहरूको प्रयोगले । गर्भपतनका पक्षमा कानुनी अधिकार लड्दा हामीले असुरक्षित तरिकाले गर्भपतन गरेर आमाहरूको मृत्यु नहोस् भन्ने उद्देश्य राखेर सुरक्षित गर्भपतन हुनुपर्छ भन्ने आवाज उठाएका थियौं । भारतको केरला, सिक्किम, मेघालय, अरूणाचल, आसाम आदि प्रदेशमा गर्भमा छोरी भन्ने थाहा पाएपछि गर्भपतन गराउने चलन छैन । किनभने त्यहाँको संस्कृति र धर्मले छोरीलाई नेपाल र भारतका अन्य भागमा जस्तो अवहेलना गर्दैन । यसले पनि देखाउँछ, यस्तो समस्या कानुनले मात्र रोक्न सक्दैन । महिला विरुद्घ हुने भेदभाव, गलत संस्कृति रोकेर, धार्मिक क्रियाकलापमा भाग लिने अधिकार नदिएसम्म समस्या समाधान हुँदैन । त्यसैले छोरीहरूको संख्या घटेकोमा दु:ख मान्नेहरूले धार्मिक गुरुहरूलाई भनेर धार्मिक रीतिरिवाज परिवर्तन गर्न लगाउनुस्, महिलाविरोधी कानुन पुनर्लेखन गर्न लगाउनुस् । गर्भपतन गराउने डाक्टर र नर्सलाई गाली गरेर र उनीहरूलाई जेलमा हाल्नुपर्छ भनेर मात्र समस्या समाधान हुँदैन । सरकारले कानुनमात्रै बनाएर समस्या समाधान हुने भए नेपालमा धेरै समस्या उहिल्यै सुल्झिसक्थे ।

गर्भपतन गरेको अपराधमा जेल पर्ने केवल गरिब, एकल र गाउँका महिला हुन्छन् । म र मेरा कति साथीले गर्भपतन गराउँदा तत्कालीन सरकारले हामीलाई जेल हाल्न सकेन । अहिले पनि छोरीलाई गर्भपतन गराउने कुन महिला र कुन स्वास्थ्यकर्मीलाई जेल हालिएको छ र ?

प्रकाशित : फाल्गुन ५, २०७३ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?