कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

स्ववियुको औचित्य

अस्मिता बर्मा

स्ववियु निर्वाचनले शिक्षण संस्थाको वृद्धिका लागि मात्र नभई गुुणात्मक र सिर्जनात्मक शिक्षाका लागि पनि ध्यान दिन जरुरी छ ।

स्ववियुको औचित्य

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकेको छ । आठ वर्षदेखि रोकिएको स्ववियु निर्वाचन हुने भएपछि विद्यार्थी संगठनहरूमा उत्साह सञ्चार भएको छ । २०६९ सालमा अन्तिम समयमा आएर निर्वाचन स्थगित भएको हामीलाई अवगत नै छ । आठ वर्ष निर्वाचन नहुँदा स्ववियुमार्फत नेतृत्व निर्माण हुने प्रक्रिया नै अवरुद्ध हुनपुग्यो ।

हेर्दा विद्यार्थीको हकहितसित सम्बन्धित चुनावजस्तो लागे पनि यो देशकै राजनीतिलाई दूरगामी असर पार्ने चुनाव हो । स्ववियु निर्वाचनले राजनीतिको आगामी पुस्ताको आगमनको संकेत पनि गर्छ । यसले पार्टी राजनीतिलाई कुशल नेतृत्व निर्माणको आधार तयार गर्छ । तर लगभग एक दशकदेखि नेपालको राजनीति यो शौभाग्यबाट बञ्चित भएको छ । त्यसैले सबै राजनीतिक दललाई यो चुनावको महत्त्व अवगत छ । तर हाम्रा राजनीतिक दलहरू भित्रका केही नेतृत्व पंक्तिका हर्ताकर्ताहरू नयाँ पुस्तालाई राजनीतिमा निषेध गरेर वर्षौँ राजनीतिमा आफ्नो फोहोरी बर्चस्व कायम गर्न लालायित छन् । विद्यार्थी राजनीति केही हदसम्म त्यस्तो दरिद्र चिन्तनको सिकार हुन पुगेको पनि हो ।

तर अहिले सबै बाधा—अवरोध हटेर स्ववियु चुनाव हुने वातावरण निर्माण हुँदैछ । यही संरचनाको संविधान कायम रहिरहे स्थानीय चुनावमा भाग नलिने भन्दै आएको मधेसी मोर्चा निकट विद्यार्थी संगठन, अखिल क्रान्तिकारी र पार्टीहरूसमेत स्ववियु निर्वाचनका लागि जोडतोडले लागिपरेका छन् । यसकारणले पनि स्ववियु निर्वाचनको महत्ता र औचित्य पुष्टि हुन्छ ।

निरंकुश पञ्चायती व्यवस्थामा बहुदलीय व्यवस्थाका लागि संघर्ष चर्किरहेको अवस्थामा स्ववियुको स्थापना भएको हो । स्वतन्त्र विद्यार्थी युनियनको माध्यमले पनि प्रजातान्त्रिक आन्दोलनलाई गति प्रदान गरेको हो भन्ने यथार्थलाई हामीले भुल्नु हुँदैन । सधैँ आन्दोलनको अग्रपंक्तिमा रहने विद्यार्थी र युवा जमात नै हुन् । त्यो जमातलाई बलियो बनायो भनेमात्र देशको राजनीतिले अपेक्षित गति प्राप्त गर्न सक्छ । अब यो यथार्थबाट कसैले आँखा चिम्लन र पन्छिन मिल्दैन । त्यसैले स्ववियु निर्वाचनलाई सहज र निर्वाध सम्पन्न गर्न सबै राजनीतिक दलले सक्दो सहयोग गर्नैपर्छ ।

कमजोर आर्थिक हैसियतका जनताका जो महङ्गो पैसा तिरेर अरु विश्वविद्यालयमा पढ्न सक्दैनन्, तिनका निम्ति त्रिभुवन विश्वविद्यालय र त्यसका आंगिक क्याम्पसहरू भविष्य निर्माणको गतिलो ठाउँ हो । यो सबै स्तरका विद्यार्थीको ज्ञानको मन्दिर पनि हो । त्यसैले यो विश्वविद्यालय जति विकृति र विसंगतिबाट मुक्त हुन्छ, त्यति नै यसले दिने शिक्षाको प्रभावकारितामा अभिवृद्धि हुन्छ । त्यसैले अबका दिनमा यस विश्वविद्यालय अन्तर्गत थप शिक्षण अस्पताल, कृषि क्याम्पस, वनविज्ञान क्याम्पस, प्राविधिक र व्यावसायिक लगायतका संस्थान सबै प्रदेशमा स्थापना गर्नुपर्छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ‘लोन’ लिन पाउने व्यवस्थाको उल्लेख त भएको छ । तर यसको उचित कार्यान्वयन हुनसकेको छैन । फलतस् यसको फाइदा बहुसंख्यक विद्यार्थीले पाउनसकेका छैनन् । अब विद्यार्थी नेतृत्व, त्रिवि पदाधिकारी र सत्ता तथा विपक्षमा रहेका सबै राजनीतिक दलले गम्भीरतापूर्वक यो प्रक्रिया कार्यान्वयनमा उचित र सार्थक प्रतिबद्धता जाहेर गर्नुपर्छ ।
जेहेनदार विद्यार्थी, जो चिकित्साशास्त्र, इन्जिनियरिङ या बढी आर्थिक भार पर्ने अन्य कुनै विषय पढ्न चाहन्छ । तर ऊसँग पैसा छैन भने त्यस्ता विद्यार्थीलाई निब्र्याजी शैक्षिक ‘लोन’को व्यवस्थामार्फत पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ ।

अब हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेका छौँ । त्यसैले राजनीतिक दलहरूले विगतदेखि बोक्दै आएको आफ्नो रुढ चिन्तनबाट आफूलाई मुक्त गरेर विद्यार्थी राजनीतिप्रति सकारात्मक धारणा राख्नुपर्छ । अबको ठूलो चुनौती भनेको संविधान कार्यान्वयन हो । यो चेतनालाई जनस्तरसम्मै प्रवाह गर्न जरुरी छ । त्यसका लागि विद्यार्थीभन्दा गतिलो माध्यम अरु केही हुनसक्दैन । त्यसैले विद्यार्थीलाई राजनीतिक रूपले सचेत बनाउने प्रक्रिया भनेकै स्ववियु निर्वाचन हो र यसका लागि सबैले सकारात्मक वातावरण निर्माण गरिदिनुपर्छ । स्ववियुमा राजनीतीकरण बढी भयो भन्ने पनि छन् । विद्यार्थी राजनीतिका केही विकृति हुन सक्छन् । तर त्यो विकृतिको कारण विद्यार्थी राजनीतिमा नभएर तिनलाई त्यस्तो संस्कार दिने राजनीतिक पार्टीभित्र खोज्नु जरुरी छ । तर त्यही निहुँमा समग्र विद्यार्थी राजनीतिलाई अर्थहीन सावित गर्ने गल्ती कसैले पनि गर्नु हुँदैन । यस्तो नियत अलिकति पनि राख्यौँ भने युवा पुस्ताले अहिलेका राजनीतिक नेतृत्वलाई सराप्न विवश हुनेछ ।

हामीले बुझ्न जरुरी छ, स्ववियु राजनीति गर्नेमात्र थलो होइन, यो भविष्यको सामाजिक, आर्थिक, राजनीतिक, वैज्ञानिक नेतृत्व विकास गर्ने थलो पनि हो । क्याम्पसभित्र स्ववियुले ‘वाचडग’को भूमिका निर्वाह गर्छ । त्यहाँभित्र हुने बेथितिप्रति खबरदारी गर्छ । यसले क्याम्पसलाई असल र गुणात्मक शैक्षिक विकासका लागि योगदान पुग्छ ।

अबको स्ववियु नेतृत्वको लागि पहिलेभन्दा अझ बढ्ता चुनौती थपिएका छन् । नेपालका युवा पुस्ता विदेशमा शिक्षा लिन जाने क्रम बढ्दो छ । यसले देशको धेरै मुद्रा बाहिरिँदैछ । पैसाभन्दा खतरनाक त मस्तिष्क बाहिरिनु हो । ब्रेनड्रेनको समस्याले कालान्तरमा देशमा घातक परिणाम उपस्थित हुनेछ । त्यस बाहेक क्याम्पसहरूमा उचित पुस्तकालय, नियमित शिक्षणको व्यवस्था, दूरशिक्षाको पनि उत्तिकै सबल व्यवस्था हुन जरुरी छ र यस्ता कार्यमा स्ववियुको भूमिका र दबाब महत्त्वपूर्ण हुनेछ र आगामी स्ववियु नेतृत्वले यी चुनौतीको सामना गर्न आफूलाई तयार राख्नु पर्नेछ । यो चुनौतीले भविष्यको राजनीतिमा उनीहरूको भूमिकालाई पनि स्थापित गर्नेछ । त्यसैले यो एउटा सुन्दर अवसर हो । ठूला समस्या अरु पनि होलान् । तर अहिले हामी ससाना समस्याबाट पनि घेरिएका छौँ । हाम्रा कतिपय सरकारी क्याम्पसमा खानेपानीको समस्या छ । सुलभ क्यान्टिनको व्यवस्था छैन । धेरैजसोमा शौचालय निकै जीर्ण अवस्थामा छन् । लगभग शतप्रतिशत शौचालय महिलामैत्री छैनन् । कतिपय क्याम्पसमा खेल मैदान छैनन् । कतिपयमा खेल सामग्री छैनन् ।

स्ववियु निर्वाचनले शिक्षण संस्थाको वृद्धिका लागिमात्र नभई गुुणात्मक र सिर्जनात्मक शिक्षाका लागि पनि ध्यान दिन जरुरी छ । शिक्षालाई सहज, कम खर्चिलो बनाउनेतर्फ पनि स्ववियु नेतृत्व सचेत हुनुपर्छ । त्यसपछि मात्र स्ववियु निर्वाचनले गरिमा प्राप्त गर्नेछ र यसबाट निर्माण हुने युवा नेतृत्वले भविष्यको राजनीतिलाई सुन्दर ढंगले बाटो देखाउनेछन् भन्ने आशा जागृत हुनेछ ।

प्रकाशित : फाल्गुन ६, २०७३ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?