‘रातो टीका’ : कसका लागि ?

कैलाश राई / बन्दना ढकाल

तीन सातायता सामाजिक सञ्जालमा एकल महिलाकेन्द्रित ‘रेड टीका च्यालेन्ज’ अभियान चालु छ । रातो रंग र सौभाग्यको प्रतिकको रूपमा गरिने शृंगारको अधिकारबाट श्रीमान्को मृत्युपश्चात् श्रीमतीलाई अलग्याउन नहुने मान्यता स्थापित गर्न २०५८ सालमा मानवअधिकारका लागि महिला, एकल महिला समूहले ‘रातो पहिरन’ अभियान थालेको थियो ।

‘रातो टीका’ : कसका लागि ?

श्रीमान्को मृत्युसँगै खोसिने एकल महिलाहरूको धार्मिक–सामाजिक–सांस्कृतिक र व्यक्तिगत अधिकार उपभोगको पुनर्दाबी गर्ने प्रतीकात्मक अस्त्रका रूपमा रातो रंगको प्रयोग गरियो । समाजमा स्थापित ‘सधवा’ र ‘विधवा’ जस्ता ‘स्टेरियोटाइप’ बिम्बको विभेद कम गर्न तथा आत्मविश्वास र सम्मानसाथ बाँच्न यो अभियान केही हदसम्म उपयोगी साबित पनि भयो ।

भर्खरै सुरु भएको रातो टीका अभियान त्यसैको सटिक र आकर्षक रूप हो । यो अभियानप्रति अपेक्षा गरेभन्दा बढी संख्यामा महिला–पुरुषहरूले ऐक्यबद्धता जनाउनुलाई यसको महत्त्व, औचित्य र सफलता मापनको आधारसमेत मान्न थालिएको छ । अभियानमा सामाजिक सञ्जालमा पहुँच भएका शिक्षित, सचेत र कुनै न कुनै हिसाबले प्रभावशाली व्यक्तित्वहरूको संलग्नता र सक्रियता रहनु स्वाभाविक हो । एकल महिलाहरूमध्ये कतिले आफ्नो घरपरिवार, नरनाता, साथीसंगीहरूका मुखेन्जी सार्वजनिक रूपमा ‘रातो टीका’ चुनौती स्वीकारेर स्व:स्फुर्त सञ्जाल बढाएका छन् वा बढाउँदै छन् भन्ने पक्षले यहाँ बढी महत्त्व राख्छ ।

यस्तो अभियानले महिलाहरूले चाहेको कुनै पनि रंग र वेशभूषा लगाउने स्वतन्त्रताको वकालत गर्ने हुँदा उनीहरूको धार्मिक, सामाजिक र सांस्कृतिक स्वतन्त्रता, आफ्नो शरीरमाथिको अधिकार उपभोगमा टेवा दिन्छ । जुनसुकै पृष्ठभूमिका महिलाहरूले रुचिपूर्वक रमाउँदै, खुसी हुँदै यो अभियानमा ऐक्यबद्धता जनाउनुले महिलाहरूको खुसी हुन र रमाउन पाउने वा मनोरञ्जन लिन पाउनेलगायतको वैयक्तिक स्वतन्त्रताको अधिकारलाई समेत यसले प्रोत्साहन गर्छ । अझ यसले एकल महिलाहरूको आन्दोलनलाई सामाजिक सञ्जालमा फैलाउन र सारथिहरू बटुल्न मद्दत गरेको छ । 

सोह्र शृंगारमा मात्रै एउटी नारी सम्पूर्ण रूपमा ‘सुन्दर’ ठहरिने र विवाहित महिलालाई मात्रै श्रीमान्का लागि त्यस्तो शृंगार गर्ने र शृंगारमा रमाउने अधिकार हुने हिन्दु धर्मशास्त्रको मान्यताकै सेरोफेरोमा यो अभियान अडेको छ । यस्तो शृंगारयुक्त महिला श्रीमान्को अस्तित्व र अधीनकै कारण निश्चित दायराभित्र सम्मानित, अधिकारसम्पन्न र सुरक्षित मानिने पुरानो हिन्दु परम्परा हो । तर हिन्दुबाहेकका संस्कार–संस्कृति मान्ने महिलाहरूको सामाजिक–सांस्कृतिक–धार्मिक मान्यता र परम्पराको अभ्यास गर्ने, आफ्नो शरीरमाथिको अधिकारको स्वतन्त्रता उपभोग गर्ने मामिलामा यो अभियानले के, कसरी र कस्तो प्रभाव पारिरहेको छ भन्ने कुरामा पनि घोत्लिन जरुरी छ । अर्को महत्त्वपूर्ण पक्ष, मूलधारे महिला आन्दोलनमा पहिचान र मुद्दाविहीन भएको, हिन्दुकरणको मारमा पारिइएको गुनासो र आलोचना गर्ने वा त्यस्ताखाले आलोचनात्मक विचारसँग सहमत हुने महिलाहरूले यस्ता अभियानलाई कसरी हेरिरहेका छन् त भन्ने पनि हो ।

यो पक्ष किन पनि महत्त्वपूर्ण छ भने हामीकहाँ धार्मिक–सामाजिक–सांस्कृतिक रूपमा श्रीमान्को पहिचान र अधिनबिना, रातो रंग र सोह्र शृंगारबिनै समाजमा महिलालाई सम्मानित, अधिकारसम्पन्न र सुरक्षित ठानिने र मानिने परम्परा पनि छन् भन्ने कुरा जानेर–नजानेर प्राय: छायामा पर्ने र पार्ने गरिएको छ । जस्तो कि आदिवासी–जनजाति समुदायका बाहुल्य महिलाहरूको अविवाहित, विवाहित वा एकल अवस्थामा तात्त्विक भिन्नता देखिँदैन । उनीहरूको अस्तित्व र अधिकारहरू श्रीमान्को अस्तित्व र पहिचानमा मात्रै सीमित नहुने हुँदा यी तीनै अवस्थामा उनीहरूका सामाजिक–सांस्कृतिक अधिकार कटौती हुँदैनन् । रातो रंग र शृंगारको उपभोग जुनसुकै अवस्था वा उमेरमा स्वेच्छाले गरिनुबाहेक यसको विशिष्ट महत्त्व स्थापित गरिएको पाइन्न । रंग विशेषको महत्त्व जातिपिच्चे फरकफरक हुने भए पनि कुनै एक रंग विशेषको प्रभुत्व कायम गरिएको पाइन्न । 

त्यसो त रातो रंगका टीका र पहिरन वा जुनसुकै रङ र पहिरन लगाउन पाउने हरेक महिलाको जन्मसिद्ध अधिकार हो । यो अधिकार कसैले हनन गर्न नहुने कुरामा दुईमत राख्ने सायदै होलान् । तर, कुनै पनि रंग र पहिरन लगाउने–नलगाउने छनोट गर्न पाउनु पनि महिलाको जन्मसिद्ध अधिकार नै हो । हिन्दु होस् या अन्य समुदायका, यी दुवै अधिकार उपभोग गर्न पाउनु महिलाहरूको वैयक्तिक स्वतन्त्रताको कुरा पनि हो । हिन्दुबाहेकका संस्कार र समुदायमा हुर्केका महिलाहरू, जसले रातो रंगको बिम्बात्मक आयामहरूको मान्यता पछ्याउँदैनन्, को सन्दर्भमा भने समाजमा आफ्नो आत्मरक्षा, आत्मसम्मान, सुरक्षा, स्वतन्त्रता र अधिकार प्राप्त गर्न वा जोगाउन रातो रंग, पहिरन र सोह्र शृंगारको सहारा लिनुपर्ने बाध्यताबारे सोच्ने दायित्व पनि यही समाजका सचेत नागरिकहरूको होइन र ?

एकल महिलाको दृढता, आत्मसम्मान, सुन्दरता, हैसियत, अधिकार र स्वतन्त्रतालगायतका कुराहरूको पुनर्दाबी गर्ने प्रतीकात्मक अस्त्र रातो रंग शक्ति र क्रान्तिको प्रतीक पनि हो । त्यही शक्ति र क्रान्तिसँग जोडिएको ‘रातो टीका’ एउटा सांस्कृतिक बिम्ब हो । र, यो एउटा सांस्कृतिक बिम्बात्मक अभियान हो । पुरुष (श्रीमान्) कै प्रभुत्व र निर्णयमा खोसिएका र खोसिने महिलाका खुसी, स्वतन्त्रता र अधिकारहरू फेरि त्यही प्रभुत्व र निर्णयअनुकूल प्राप्त गर्न खोज्नु नै अभियानको विशेषता हो । 

रातो टीका र पहिरन पहिरेर व्यावसायिक दिनचर्या जिउने एकल महिलामाथि बाह्य समाजबाट हुन सक्ने मानसिक यातना वा दुव्र्यवहारलाई छेकथुन गर्न रातो रंगले पक्कै मद्दत दिन्छ । एकल महिलाको वास्तविकतालाई आत्मसात् गरी अरूसरह सम्मान र व्यवहारको आदानप्रदान गर्ने–गराउनेतर्फ रातो रंग केन्द्रित अभियान मात्रै पर्याप्त थिएन र छैन । पहिरन र शृंगारमा आएको रातोपनले पलाउने आत्मविश्वास र उज्यालोपनको एक खालको महत्त्वलाई नकार्न मिल्दैन । तर रातो रङ र टीका अभियानको मर्मसँग गमेर हेर्दा यो एउटा यस्तो प्रतिनिधिमूलक घटना हो, जसले एकल महिलाको विभेदित छविभित्र खप्टिएका अनेक समस्याको जटिलतातर्फ संकेत गर्छ र अभियानको सतहीपनप्रति औंला उठाउँछ ।

सामाजिक–सांस्कृतिक रूपमा बलियो गरी उभ्याइएको ‘विधवा’ महिलाको अपमानजन्य शाब्दिक उच्चारण क्रमिक रूपमा परिवर्तन हुँदै आएपनि त्यही छविले स्थापित गरेको अमानवीय मनो–सामाजिक–सांस्कारिक हेयपूर्ण व्यवहारमा खासै परिवर्तन भएको छैन । ‘सधवा’ र ‘विधवा’ छविबीचको खाडलको स्वरूप अझै भयंकर नै छ । प्राय:जसो एकल र सामाजिक–आर्थिक–पारिवारिक रूपमा कमजोर अवस्थामा रहेका महिला नै ‘बोक्सी’, ‘अलच्छिनी’ र ‘साइत बिगार्ने’हरूको रूपमा उभ्याइने र उनीहरू नै चर्को सामाजिक हिंसा र यातनाको सिकार हुने क्रम जारी छ ।

त्यसो त रातो रंग र महिलाबीचको सम्बन्ध आफैंमा समस्यामुक्त छैन । पुरुषको वर्चस्व स्थापित समाजमा महिलाको स्वतन्त्रता र अधिकारलाई पुरुष (श्रीमान्, दाजुभाइ, बुबा, छोरा)को अधीनमा राख्ने एउटा माध्यम रातो रंग र महिलाबीच स्थापित सम्बन्ध पनि हो । असमान सामाजिक संरचना र लैंगिक असमान शक्ति सम्बन्ध टिकाउने एउटा खम्बा पनि हो यो सम्बन्ध । जसलाई महिलाहरूले परिवार र समाज सञ्चालनको प्रक्रियामा श्रीमान् पाएसँगै श्रीमान्को जीवनचर्या चुस्त–दुरुस्त राख्न प्रोत्साहनस्वरूप अपनाउनु र गुमाएसँगै दण्डस्वरूप त्याग्नुपर्ने एक अत्यावश्यक संस्कृतिको स्वरूप दिइयो ।

अझ, रातो रंग र महिलाको सम्बन्धलाई नेपालका सबै महिलामा उत्तिकै लागू हुने वा भएको संस्कृतिका रूपमा हेरियो र बुझियो । त्यहीअनुरूपका अभ्यास हुँदा र गरिँदा ठूलो संख्यामा रहेका गैरहिन्दु महिलाहरूको सांस्कृतिक परम्परा, अभ्यास र भोगचलनमा समेत असर पर्न गयो । तर यहाँनेर जोड दिन खोजेको कुरा भनेको त्यस्तो सम्बन्धले महिलाहरूको आत्मविश्वास र कुनै पनि माध्यमबाट खुसी हुने वा रहने अधिकारको एउटा स्पष्ट सीमारेखा तोकिदियो । त्यसलाई तोड्नुको साटो त्यहींभित्र रमाउने उपायहरू अपनाउने यो अभियानले कुनै न कुनै हिसाबले असमान सामाजिक संरचना, लैंगिक विभेद र निश्चित सांस्कृतिक मूल्यमान्यताअन्तर्गतको सांस्कृतिक अभ्यास र प्रक्रियालाई मलजल गरिरहन्छ ।

रातो रंगसँग महिलाको सम्बन्धको स्थापित कडीलाई टिकाइराख्दा हुने लाभको उपभोगको तुलनामा त्यसको ‘साइड इफेक्ट’ पक्ष बढी नै छन् र अझै बढ्दै जान सक्छन् । किनभने यो अभियानले एक मानवका रूपमा महिलाको स्वतन्त्र अस्तित्वको त कुरै छाडौं, एक पुरुष सरहको समान अधिकारको वकालत पनि गर्दैन । अबका अभियानहरू संस्कृति र परम्पराको परिवर्तनशील चरित्र र रूपान्तरणको प्रक्रियालाई समाज सञ्चालन र जीवन जिउनका लागि समयसापेक्ष, अधिकतम सहजपन र अपनत्व, बहुउपयोगिताको व्यापकताजस्ता कुराको आधारमा अघि बढाउने कि ? 

रातो रंगमा प्राप्त हुने वा खोसिने जुनसुकै महिलाको अधिकारलाई त्यही रंगभित्रै खोजिरहनु नेपालका महिलामाझ रहेको अनेक विविधताका दृष्टिकोणको हिसाबले लाभकारी त छैन नै, एकल महिलाका समस्या समाधानको दीर्घकालीन बाटो पनि यसले पहिल्याउन सक्दैन । महिलाको निधारमा टल्किने वा टल्किएको रातो टीकाको उज्यालोपन, खुसी, दृढता र आत्मविश्वासको आधार फेरि पनि महिला–पुरुषबीचको असमान शक्ति सम्बन्धमा अडिएको छ । त्यसैले एकल महिलाको आत्मविश्वास, सम्मान र अधिकार रातो परिधान र शृंगारमा हैन, समान सामाजिक संरचना र विभेदरहित सामाजिक–संस्कृतिक मूल्यमान्यता, मानसिकता, व्यवहार र पद्धतिहरूको विकासमार्फत खोज्ने हो कि ? 

प्रकाशित : फाल्गुन १०, २०७३ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?