कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

समाजलाई अल्मल्याउने कि फेर्ने ?

राजेन्द्र महर्जन

अबको समाज चिन्तन र परिवर्तन कुनै पनि एकल पहिचानका आधारमा गर्न सकिँदैन, न त गर्नु नै उचित हुन सक्छ ।

समाजलाई अल्मल्याउने कि फेर्ने ?

यतिखेर कला साहित्य उत्सवको निहुँमा समाज चिन्तन बढेको छ । पोखरा, जनकपुर र झापामा भएका कला साहित्य उत्सवमा कवितादेखि फिल्मसम्मका विषयमा मात्रै बहस र प्रवचन भएन, सिंगो समाजबारे पनि छलफल भयो । त्यस्तै, समाजका अनेक आर्थिक, सांस्कृतिक र राजनीतिक पक्षबारे चिन्ता, चासो र चिन्तन भएको देखिन्छ । नेपाली समाजलाई केन्द्रमा राखेर भएका बहस, प्रवचन र चिन्तनले हाम्रो समाजको जटिल अवस्था र यसको परिवर्तनको दिशातिर संकेत गरेका छन् । हामी यतिखेर कति हदसम्म उथलपुथलकारी समयमा बाँचिरहेका छौं, हामी, हाम्रो समाज र राज्य कस्ता कस्ता द्वन्द्व एवं एकताबीच अगाडि बढिरहेका छौं अनि त्यस्ता द्वन्द्व र एकता कुन दिशातिर अगाडि बढ्लान् भन्ने तथ्य हेक्का राख्न यस्ता समाज चिन्तनले पक्कै पनि सघाउनेछन् ।

रिडर्स झापाले गरेको कला साहित्य उत्सव २०७३ मा डा. देवेन्द्रराज पाण्डेदेखि खगेन्द्र संग्रौलासम्म, प्रदीप गिरिदेखि डा. चैतन्य मिश्रसम्म, सीके लालदेखि किशोर नेपाल र संजीव उप्रेतीसम्मको बौद्धिक मन्थन र हस्तक्षेप लोभलाग्दो थियो । त्यस्तै, घनश्याम भुसाल, आहूति, नवीन सुब्बा, चन्द्रकिशोर, नारायण वाग्लेदेखि भूपाल राई, राजन मुकारुङ र तुलानारायण साहले गरेका बहसले अग्रजका बौद्धिक हस्तक्षेपलाई विस्तार र गहन पार्न सघाएका थिए । त्यस्तै, अर्चना थापा, सीमा आभास, सावित्री गौतम, सरिता तिवारी, प्रणिका कोयूले गरेका विचारोत्तेजक बहसले महिला वा दमितका आँखाबाट समाज चिन्तन र परिवर्तन गर्न प्रेरित गरेका छन् । त्यस्तै, एकसे एक कवि, कथाकार, पत्रकार, चित्रकार, सिनेकर्मी, लेखकहरूले आआफ्नो क्षेत्रमा उठाएका सन्देह र प्रश्न, व्यक्त गरेका विचारतथा देखाएको आलोचनात्मक तेवरले अबको समाज चिन्तन र परिवर्तनका नयाँ–नयाँ आयामतिर संकेत गरेका छन् ।

समाज बांगोटिंगो इतिहास र श्रमण चिन्तन
अहिले जारी समाजको चिन्तन र परिवर्तनको आफ्नै इतिहास छ, जो आफ्नै बांगोटिंगो बाटोबाट अनेक उतार–चढावका साथ हाम्रा विचार र संस्कृतिसम्म आइरहेको छ । ‘दक्षिण एसियाको बौद्धिक परम्परा’ बारे व्याख्यान दिने क्रममा सीके लालले तीन हजार वर्षदेखि संस्थापन पक्षका रूपमा रहेको ब्राह्मण चिन्तनलाई चिर्दै हुर्केको श्रमण चिन्तन र चिन्तकहरूको रूपरेखा प्रस्तुत गरेका थिए । यस क्षेत्रमा ब्राह्मण चिन्तन र श्रमण चिन्तनको द्वन्द्वबीच चार्वाक, बुद्ध, महावीर, कवीर र अम्बेडकर जन्मिएका थिए, जसले व्यापक र सघन बनाएको समतामूलक श्रमणसंस्कृतिले समाज चिन्तनलाई दिशानिर्देश गरिरहेको छ । त्यस्तै, नेपालको सन्दर्भमा महेशचन्द्र रेग्मी, हर्क गुरुङ र कमलप्रकाश मल्लहरूले गरेका आलोचनात्मक चिन्तन र बौद्धिक योगदानको विशिष्ट महत्त्व र भूमिका छ । यसको अर्थ दक्षिण एसियाको श्रमण बौद्धिक चिन्तन परम्पराकै जगमा टेकेर नेपालमा पनि समाज चिन्तन र परिवर्तनको प्रयास गर्न जरुरी देखिन्छ, जसमा न्याय, समतार स्वतन्त्रताको इतिहास छ, भविष्यमा पनि रहने सम्भावना प्रबल छ । ब्राह्मण चिन्तन र अभ्यासको लामो परम्पराका कारण मानिसलाई वर्ण, वर्ग, श्रेणीमा मात्रै बाँडिएको होइन, सुर–असुर, पवित्र–अपवित्र, शुद्ध–अशुद्ध, छूत–अछूतको अवधारणाबाट पनि शासित पारिएको छ । यस्तो अमानवीय समाज र कुसंस्कृति तीन हजार वर्षदेखि हावी रहेको अवस्थामा अब त्यसको सम्यक् विकल्पका रूपमा न्याय, समता, स्वतन्त्रता भएको चिन्तन र समाज अत्यावश्यक भएको हो ।

तीन हजार वर्षको इतिहासले देखाउँदै छ, अबको समाज चिन्तन र परिवर्तन कुनै पनि एकल पहिचानका आधारमा गर्न सकिंदैन, न त गर्नु नै उचित हुन सक्छ । त्यस्तो एकल पहिचान वर्गको पनि हुन सक्छ, वर्ण र अरू पनि हुन सक्छ । वर्गलाई पहिचानको घेराबाहिरै राख्ने र अन्य पक्षलाई मात्रै पहिचानको घेरामा सीमित गर्ने समस्या व्यापक छ, जसले पहिचानलाई पुरातन नश्लवादी विचार वा अत्याधुनिक फेसन भन्ने मतलाई मात्रै सघाउँछ । समाजमा बाँच्ने व्यक्तिको पहिचान गर्दा ऊ एकसाथ वर्गका हिसाबले गरिब, वर्णका हिसाबले ‘अछूत’, लिंगका हिसाबले महिला, क्षेत्रका हिसाबले मधेसी, कामका हिसाबले टोकरी र ढकी बनाउने शिल्पी, भाषा र संस्कृतिका हिसाबले मैथिल वा अन्य हुन सक्छ । यसरी प्रत्येक व्यक्तिका पनि बहुल पहिचान हुने सहज अवस्थामा पनि वर्गका आधारमा मात्रै समाजका सबै समस्या फुमन्तर गर्न सकिने दाबीले नेपालमै सात दशकदेखि हावा खाँदै आएको छ । कला साहित्य उत्सवमा ‘नेपाली समाजमा वर्ग र वर्ण’ बारे संवाद गरेका एमालेका नेता घनश्याम भुसाल र माओवादी केन्द्रका नेता आहूतिले पनि एकल पहिचानवादी फर्मुलालाई ऐतिहासिक तथ्यका आधारमा चिर्न सकेको अनुभूति भएन । आहूतिले वर्ण र वर्गको अन्तरसम्बन्धबारे चिरफार गर्ने कोसिस नगरेका होइनन्, तर अनेक सीमाका कारण त्यस्तो प्रयास विस्तृत र गहन हुन सकेको छैन ।

सायद त्यसैले होला, प्रदीप गिरिले श्रोतादीर्घाबाट बोल्दै वर्ग र वर्णको अन्तरसम्बन्धबारे प्रकाश पार्ने काम नभएको गुनासोका साथ भनेका थिए, ‘दलित वर्णको अधिकारबारे जीवनभर लडेका र माक्र्सवादका पनि विद्वान् रहेका डा. अम्बेडकरका अनुसार वर्ग अचल भएपछि वर्ण हुन्छ र वर्ण चलायमान भएपछि वर्ग हुन्छ । वर्ण भनेको न्यायको चाहना हो, वर्ग भनेको समानताको चाहना हो । युरोपेली समाजमा वर्णको अभ्यास र पर्यायबाची शब्द नै छैन । त्यही युरोपेली सिद्धान्त: माक्र्सवादको आधारमा मात्रै यस समस्यालाई परिभाषित गर्न सकिँदैन, अलमल्याउन भने पक्कै सकिन्छ ।’

वर्णव्यवस्था र माक्र्सवादका सीमा
यसको अर्थ दक्षिण एसियामा विशिष्ट रूपमा वा अरू क्षेत्रमा भन्दा भिन्न रूपमा कायम रहेको वर्णव्यवस्थालाई चिरफार गर्न माक्र्सवादमै नया शास्त्र र शस्त्र थप्नुको कुनै विकल्प छैन, अन्यथा यो हदसम्म अग्रगामी वाद र वादीहरूको पनि खैरियत छैन । ब्राह्मण वर्णका उच्च वर्गका पुरुषहरूबाट नेतृत्व हुदै आएको भारतीय माक्र्सवादी चिन्तन र आन्दोलनले बाह्मण धर्म वा हिन्दु धर्मबाट अछूतका रूपमा परिभाषित गरिएका दलित, तिनीहरूले बेहोर्दै आएका उत्पीडन, अपमान, गरिबी र श्रेणीको शासनलाई गरेको बेवास्ता खतरनाक छ । त्यसबाट खासै अछुतो नभएको नेपाली लोकतान्त्रिक र वामपन्थी दल, नेतृत्व र आन्दोलनले पनि दुई सहस्राब्दीअघिका समाज वैज्ञानिक बुद्धले जति पनि चिन्तन नगर्नु दु:खद पक्ष हो, उनीहरू अम्बेडकरभन्दा पनि अग्रगामी कहिले बन्ने हुन्, प्रश्नकै घेरामा छन् ।

अत: दक्षिण एसियाको बौद्धिक परम्परालाई हेक्का राख्दै नेपाली समाजको चिन्तन र परिवर्तन गर्ने हो भने ब्राह्मण चिन्तन र अभ्यासका आधारमा कायम रहेको वर्ण र वर्गको सम्मिश्रित रूपबारे गहन चिरफार गर्नु जरुरी छ । त्यस्तै, विदेशबाट बक्साबाट नआउने महिलादेखि प्रदेशमा समेत राज्यका तहमा सहभागी हुन पाइने–नपाइने निश्चित नभएका, विशेषत: खस नेपालीइतर भाषाभाषीसम्मका मुद्दा, ‘विश्वकै उत्कृष्ट संविधान’ मा नअटाएका मधेसीदेखि मधेसभित्र पनि उच्च वर्णका ठालुहरूबाट सोसिएका किसान जातिका दु:ख र तिनका अपहेलित संस्कृतिजस्ता पहिचानजन्य समस्यालाई कसरी कसले सम्बोधन गर्ने हो, प्रश्न अनुत्तरित नै छ । यसको अर्काे अर्थ हो, वर्गबाहेकका अन्य पहिचानका समस्या र त्यसलाई मुद्दा बनाउने कामलाई नश्लीय चिन्तन वा अत्याधुनिक फेसनको संज्ञा दिनु आफैंमा नश्लवादी हुनु हो, नश्लवाद र जातिवादलाई वर्गीय मुक्तिको सुन्दर मुखुण्डोले छोप्नु हो, वर्गलगायत पहिचानसँग सबै समस्यालाई चिन्तन र परिवर्तनको एजेन्डाको दशगजाबाटै बाहिर हुत्याउने वर्णवादी राजनीति हो । यस्तो छलकारी वर्णवादी चिन्तन र विभेदी राजनीतिक व्यवहारबाट नेपाल र दक्षिण एसियाको वर्ण–वर्गवादी पितृसत्तात्मक समाजबारे न सम्यक् खोज गर्न सकिन्छ, न त त्यस्ता रोगको निदान र उपचार नै सकिन्छ ।

दक्षिण एसियाको चिन्तन परम्परामा तीन हजार वर्षदेखि नै एकल वर्णका पुरुष र तिनले बनाएको ‘न्यारेसन’ (भाष्य), विचार–विश्वास पद्धति हावी रहेकाले अहिलेका वामपन्थी र लोकतान्त्रिक शक्तिमा वैचारिक र चिन्तनगत समस्या छ । त्यो पुरातन समस्या भनेको आफूले विश्वास गरेको शास्त्र वा आफूले मान्दै आएको वादका सीमा र समस्याबारे प्रश्न नगर्ने बानी हो । त्यस्तै, आफ्नो शास्त्र वा वाद वा धर्मभन्दा भिन्न शास्त्र वा शक्तिलाई ‘परायाकरण’ (अदरिङ) गर्ने वा ‘म्लेच्छ’ का रूपमा परिभाषित र सीमान्तीकरण गर्ने प्रवृत्ति कुनै न कुनै रूपमा व्यवहारमा अनुवाद हुँदै आएको छ । त्यसैले अहिलेका वामपन्थी तथा लोकतान्त्रिक शक्ति र व्यक्तिहरूले आफ्नै चिन्तन र संस्कृतिबारे ऐनामा हेर्न जरुरी छ, ऐना सफा गर्दैमा अनुहार र दिमागको दाग मेटिंदैन । यस अर्थमा आफैंबारे सोच्नु, पटक–पटक सोचविचार गर्न र आत्मालोचक भएरचिन्तन गर्न जरुरी छ : अब पनि विश्वास, आस्था, भक्ति र अर्चनाको सांस्कृतिक राजनीतिलाई निरन्तरता दिंदै बसियो भने समाजको चिन्तन र रूपान्तरण तलाउको पानीजस्तै अवरुद्ध भइरहने त होइन ?

यसका लागि पनि हामीलाई समाज वैज्ञानिक बुद्धका विचार सहयोगी हुन सक्छन् । उनले उहिल्यै भनेका थिए, ‘कुनै पनि कुरालाई सुनिएकै भरमा विश्वास नगर । पुस्तौंपुस्तादेखि हस्तान्तरण हुँदै आएको परम्परा हुँदैमा विश्वास नगर । धेरै मान्छेले भनेकै आधारमा वा व्यापक रूपमा प्रचार भएकै आधारमा विश्वास नगर । तिम्रा धार्मिक पुस्तकमा लेखिएकै आधारमा कुनै शब्दमा विश्वास नगर । तिम्रा गुरु वा अग्रजजस्ता अधिकारसम्पन्न व्यक्तिले भनेकै आधारमा कुनै कुरामा विश्वास नगर । तिम्रो बानीसँग जोडिएकै कारण वा तर्क आकर्षक भएकैले कुनै कुरामा विश्वास नगर । तिमी आफैं बुझ र विश्लेषण गर, ती कुरा एक र सबै व्यक्तिलाई उचित र हितकारी छ कि छैन जाचेर हेर, त्यसको पछाडि रहेका तर्क स्वीकार्य लाग्यो भने मात्रै अँगाल र त्यसलाई जीवनमा लागू गर ।’

प्रकाशित : फाल्गुन १८, २०७३ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?