धूलो र फोहोरको संस्कृति

सुजीव शाक्य

आजभोलि सबै धूलो, धूवाँ, तुँवालो र फोहोरको विशेषज्ञ भएका बेला म पनि कम † यसको संस्कृति, संस्कार र अर्थतन्त्र एक–आपसमा कसरी जोडिएको छ त, विश्लेषण गर्न मन लाग्यो । सोसल मिडियाको जमानामा मनमा आएको भन्न पाउने छुट छ, किन नभन्ने त ? नेपाली र दक्षिण एसियाली समाजमा नै भनौं, धूलोको कुरो फोहोरसँग जोडिएको छ ।

यी दुवै हाम्रो सामाजिक संरचना, हाम्रो हुर्काइ र मूल्य–मान्यताहरूसँग जोडिएका छन् । तसर्थ यसलाई विभिन्न कोणबाट हेर्न जरुरी छ ।

चोखो र सफा हुनुको अन्तर
हाम्रो संस्कृतिले चोखो हुनुमा धेरै जोड दिन्छ । पूजाआजाअघि, विभिन्न चाडपर्वमा चोखो हुनु एकदम जरुरी हुन्छ । हाम्रो हुर्काइ ननुहाए पनि दुर्गन्धित खोलाको चोखो पानी छर्केर चोखो हुनेको सिकाइबाट आयो । छिमेकीले फ्याँकेको फोहोरको थुप्रोको छेउमा माटोले लिपेर चोखो गरी लक्ष्मीको आगमनको बाटो तिहारमा गर्न सिकियो । पूजाआजा गर्न दुषित वातावरणमा अरूले फ्याँकेका पूजाका विभिन्न सामानको प्लास्टिकको झोलादेखि, टपोरहरूका बीच अलिकता पानी छर्केर स्वच्छ हुन्छ भनेर सिक्यौं । अरूले झैं आफुले पनि फोहोर त्यहीं फाल्ने संस्कृति बनायौं । मन्दिरहरू फोहोर हुने सामाजिक स्वीकार्यता भएको ठाउँमा आफ्नो वरिपरि कसरी सफा र धूलोरहित हुन्छ ?

Yamaha

जबसम्म फोहोर हुनु भनेको चोखो नहुनु हो भनेर हाम्रो समाज र संस्कृतिले मान्यता दिँदैन, हाम्रो वरिपरि फोहोर हट्ने छैन । धूलो भनेको फोहोरको एक पक्ष हो । हामीले फोहोरलाई झैं धूलोलाई सामाजिक स्वीकृति दिएका छौं । तसर्थ अन्य दक्षिण एसियाली मुलुकहरूमा झैं यसको नागरिक प्रतिकार हुँदैन । थाइल्यान्डजस्तो देशमा सफाइलाई समाजको एक पहिचानको रूपमा विकास गरेर लगिएको छ, तसर्थ सफाइको सामाजिक स्वीकार्यताले गर्दा त्यहाँ धूलो पनि स्वीकार्य छैन । चोखो हुनु भनेको सफा हुनुपर्ने हो भन्ने सामाजिक मान्यता आएको छ । मन्दिरहरूमा फोहोर छैन । मन्दिर परिसरमा बेच्ने पूजा सामग्रीका स्टलहरू पनि सफा छन् । गरिब भएर पनि विकसित देशहरूझैं सफा हुन सकिन्छ भनेर रुवान्डाले संसारलाई देखाएको छ । हामीकहाँ गत ३० वर्षमा आर्थिक रूपमा धेरै परिवर्तन आयो, शैक्षिक रूपमा धेरै परिवर्तन आयो तर पैसा कमाउँदैमा वा डिग्री आर्जन गर्दैमा मानिस सफा नहुने रहेछ । 

सफाइको संस्कार
मलाई स्कुलको बिदामा आउँदा धेरै कुराहरूले अचम्भित गथ्र्याे । हिउँदमा बिहे र भोजहरूको सिजन हुन्थ्यो । भोजमा जानका निम्ति मात्र नुहाउने संस्कृति बसेको थियो । रेड लेबल र पाँच सय पचपन्न चुरोटको फुर्ती लगाउनेहरूको घरमा शौचालय पनि नहुन सक्थ्यो । कुनै सामाजिक अवसरमा मात्र रंगरोगन गर्ने चलन अहिलेसम्म गएको छैन । पाँच–सात वर्षमा रङरोगन गर्न गाह्रो हुने ठूल्ठूला घर किन बनाउने भनेर ४० वर्षअघिको प्रश्न अहिले पनि म सोध्ने गर्छु । सफाइ गर्ने जिम्मा आफ्नो होइन, विशेष गरिकन पुरुषहरूको भन्ने मान्यता दिमागमा पालिएको छ । समाजको आधा भागले सफाइ गरेन भने समस्या त हुने नै गर्छ । हामीलाई पढाइ सँगसँगै सफाइ पनि सिकाइयो । जुत्ता राम्रोसँग पालिस गरेर गएन भने क्लासको बाहिर बस्नुपर्ने हुन्थ्यो । त्यसैले शौचालय सफा गर्न सिकियो । घरमा पनि, हातमा कुचो लिएर धूलो बडार्न सिकियो । अहिले हाम्रो अफिसमा पनि शौचालय सफा राख्ने जिम्मा साझा नै छ ।

फोहोर सफा गर्ने जातसँग चिनिने हाम्रो समाज छ । तल्लो स्तरको काममा गनिन्छ । तसर्थ ग्लानी महसुस हुने पेसाका रूपमा लिइन्छ । हुर्किंदादेखि सफाइ भनेको सक्दो अरूले वा महिलाले मात्र गर्ने पेसाका रूपमा सिकाइन्छ । हामीले पश्चिम विश्वको रहनसहन अनुशरण गर्न सिक्यौं, लुगा लगाउन, खानपिनलाई प्रस्तुत गर्न पनि अनुशरण गर्‍यौं । तर, हामीले त्यससँगै सफाइको अनुशरण गरेनौं । बाथरुममा कमोड भित्र्याउन सक्यौं तर कमोड सफा गर्ने विधि हामीले सिक्न आवश्यक ठानेनौं, किनभने कमोड सफा गर्नुलाई जात वा निम्नस्तरको कामसँग जोड्यौं । हामी हजारौ पर्ने फोन किन्छौं तर थोत्रो खोल लिएर हिँड्छौं । 

सफाइको संस्कार आफैंबाट सुरु गर्न जरुरी छ । बाल्यकालदेखि नै यो सिक्न र सिकाउन जरुरी छ । सफाइलाई स्वच्छ जीवनसँग जोड्न र यस तथ्यलाई स्कुलदेखि नै दिमागमा भर्न जरुरी छ, यसको मतलब शिक्षकहरूको सोचाइमा परिवर्तन आउन जरुरी छ । सफाइ गर्ने र सफा ठाउँ खोज्ने बच्चाहरू जब ठूलो हुन्छन्, तब मात्र आफू वरिपरिको फोहोर र धूलोको प्रतिकार गर्छन् र समाधानतर्फ लाग्छन् । जीवनमा तमासाको रूपमा बाहेक कुचो नबोक्नेहरू राजनीतिमा आएर सफाइ र धूलोसम्बन्धी समाधान ल्याउँछन् भनेर सोच्नु व्यर्थ हो । 

समृद्धिका लागि सफाइ
फोहोर र धूलोमा पैसा फलेको देख्नेहरूले पनि फोहोर र धूलो राख्नमा आर्थिक अवसरहरू देखे । सफाइको अर्थतन्त्र, धूलो र फोहोरको अर्थतन्त्रभन्दा ठूलो छ । नेपालमा भारतमा झैं, फोहोर र धूलोमा धेरै पैसा कमाए तर थोरैले मात्र । सम्पूर्ण सहरलाई दु:ख दिएर केहीले फाइदा लिए । सडक खनेर धूलाम्य छाड्दा पनि ठेकेदारको कमाइ हुँदोहरेछ । पुर्न जति ढिलो गर्‍यो, त्यति बढी पैसा । आयोजना जति तन्कियो, त्यति बडी फाइदा । फोहोर व्यवस्थापन गर्ने आयोजनाको तयारीमा धेरै पैसाको चलखेल । योजना आयो भने पैसा बन्द हुने रहेछ । आफूले फोहोर फ्याँक्ने बाल्टिन नकिन्ने, विभिन्न एनजीओले किन्ने, त्यही ठाउँमा कति संस्थानहरूले कति खर्च गरे ? वृक्षरोपण कार्यक्रममा त मन्त्री र ठूलाबडा नै चाहियो तर त्यो नउम्रेका रूखका वरिपरि संस्था वा बैंकको नाम हट्दैन र कतिले खुरुखुरु पैसा पनि लिने होलान् ।

हामीले सफा र धूलोरहित हुनुमा आर्थिक फाइदा छ भनेर बुझ्नुपर्‍यो । भुटानले आफ्नो सफा वातावरणलाई पर्यटकीय फाइदाको ठूलो पक्षका रूपमा परिवर्तन गरेको छ । सिंगापुरले आफूलाई विश्वमा नमुनाको रूपमा प्रस्तुत गरेको छ । संसारका विकसित सहरहरूमा खोलाछेउको जग्गा सबैभन्दा महँगो हुन्छ । ‘रिभरफ्रन्ट’ भनेर चिनिन्छ । नेपालका सहरहरूमा खोला छेउ सस्तो हुन्छ । त्यहाँ सुकुम्बासीको राजनीतिक संरक्षण पाएका झुपडी र घरहरू हुन्छन् । थाइल्यान्डले सफाइको बलमा पर्यटन विकास गरेर लागेको छ । रुवान्डाले सफाइलाई नै आफ्नो प्रतिस्पर्धात्मक कोणको रूपमा विकास गरी संसारका ठूल्ठूला सभा–सम्मेलन गर्न थालेका छन् । सफा सामान हुँदाहुँदै फोहोर सामान कसले किन्छ ? तर त्यो फोहोर देख्नुपर्‍यो अन्तर्राष्ट्रिय चक्षुबाट । हामीले चोखो बनेको जस्तो पनि चलिहाल्छ भन्ने सोचले होइन । सफाइ सभ्य समाजको पहिचान हो र यसको आर्थिक फाइदा धेरै छन् । यसका लागि दृष्टिकोण फेर्नुपर्‍यो । यो राजनीतिक समस्या होइन, सामाजिक–आर्थिक समस्या हो भन्ने रूपमा बुझ्नुपर्‍यो ।

Esewa Pasal

प्रकाशित : फाल्गुन १९, २०७३ ०७:५९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पैसैपैसा तर खर्च भएन

सरकारी ढुकुटीमा टन्न राखेर अंग्रेजी बोली—बोली हामी विभिन्न दाताहरुसँग मागी हिँडेका छौं ।
सुजीव शाक्य

गत साता त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पुग्दा मलाई कताकता २० वर्षअघि भर्खर खुलेको गोंगबुको बसपार्क पुगेजस्तै लाग्यो ।

जाने बेलामा मैले नचलेको सुरक्षा गेटको विषयमा त्यहाँ उपस्थित प्रहरी अधिकृतलाई भनेँ । तर आउने बेलामा ब्याग लिन जाँदाको दृश्य हेरेर त म दंग परेँ । नयाँ बनेको टर्मिनलमा अहिले पनि ‘कनवेयोर बेल्ट’मा चार–पाँच विमान कर्मचारीहरूले तँछाड–मछाड गरिरहेका यात्रुहरूको सामान दिइरहेका थिए । २१ औं शताब्दीमा पुरानो परम्परालाई नेपालीहरूले जतन गर्नसक्ने क्षमताबाट म दंग परेँ । नेपालको क्यान (नागरिक उड्डयन प्राधिकरण) ले गतवर्ष झन्डै ५०० करोड रुपैयाँको आम्दानी गर्‍यो, कर्मचारीहरूलाई ५३ करोड रुपैयाँ बोनस बाँड्ने निर्णय पनि अघि सार्‍यो । यति पैसा हुने संस्थाले विश्वको अन्य एयरपोर्टमा झैं किन २० करोड रुपैयाँ खर्च गरेर अत्याधुनिक ‘बेगेज सिस्टम’ हाल्न नसक्ने ? एयरपोर्टको दुर्दशा पैसाको कमीले होइन, सोचको कमीले गर्दा हो ।

पैसाको कमी छैन
दुई दशकअघि पैसाको कमीले विकास हुनसकेन भन्दा पत्यारिलो लाग्थ्यो । आजको भन्दा अर्थतन्त्रको आकार आधा थियो र सरकारी आय र बजेट कम । केही गर्नका लागि माग्ने भाँडो लिएर विभिन्न देश र निकायहरूलाई गुहार्नुपथ्र्यो । अब त्यो स्थिति छैन । सरकारी राजस्व बढेको छ । अर्थतन्त्रको आकार २० हजार करोड नाघिसकेको छ र बजेट खर्च १० हजार करोड भनिएको छ । तर हामीले खर्च गर्न भने सकिरहेका छैन । भुटान जस्तो देश, जसको अर्थतन्त्रको साइज हाम्रोभन्दा १० गुणा कम छ, उसले पनि हामीभन्दा बढी विकास खर्च गर्नसकेको छ । हामी रुवान्डा र कम्बोडियामा काम गर्दा नेपालको तुलना गर्दा आँखा रसिन्छ । 

रुवान्डाको अर्थतन्त्र हाम्रोभन्दा आधा छ र बजेट हाम्रोभन्दा एक तिहाइ, त्यति पैसाले उसले विश्व मानचित्रमा हक जमाइसक्यो । रुवान्डा जस्तै द्वन्द्वले तहसनहस भएको कम्बोडियाले अहिले ५० लाख पर्यटक भित्र्याउँछ । नेपालभन्दा आधा वार्षिक बजेट भएको कम्बोडियाले महत्त्वाकांक्षी योजनाहरू ल्याइरहेको छ । तर हामी ढुकुटीमा अर्बौं राखेर हजारको बैठक भत्ताको राजनीतिमा अडेर बस्छौं । नेपालसँग अहिले विदेशी मुद्राको मौजदात १० अर्ब डलर छ अर्थात् १ लाख करोड रुपैयाँ छ । २० वर्षअघि यसको १० प्रतिशतमात्र थियो ।

खोक्रो राष्ट्रवाद
नेपालमा हामी ह्विस्की विदेशी मनपराउँछौं, त्यो पनि स्न्याक्समा आयातित ‘प्राउन’ भए त झनै गज्जब । आफ्नो सबभन्दा लेटेस्ट मोडलको स्मार्टफोनमा विदेशमा पढिरहेका वा काम गरिरहेका छोराछोरीको फोटो र भिडियो मक्ख भएर देखाउँछौं । भर्खरै विदेश भ्रमणबाट किनेका सरसामानहरू अरूलाई डाह हुनेगरी देखाउँछौं । तर जब योजना कार्यान्वयन गर्ने कुरा आउँछ, तब हाम्रो खोक्रो राष्ट्रवाद अघि आइहाल्छ । एक किलोमिटर राम्रोसँग ढल नबनाएकाहरूलाई ठूलठूला बाटोका परियोजनाहरू सुम्पिन्छौं । दसवटा विमानस्थल नदेखेकाहरूलाई एयरपोर्टको ठेक्का दिन्छौं । झ्याम्पलले बाटो बिगार्न जाँदैमा राम्रो बाटो बनाउँछौं भनी ठान्छौं । 

संसारमा धेरै काम गरिसकेकालाई काम गर्न बिभिन्न रूपमा गाह्रो पारेर नेपाल छाड्न बाध्य बनाउँछौं । खरिद नियमहरूलाई यस्तो राम्ररी परिमार्जन गरिएको छ कि संसारका राम्रा कम्पनीहरूले कहिले नेपालमा काम गर्न सक्दैनन् । हामीले हाम्रा नियम कानुनहरू यसरी विकास गरेर लागेका छौं, जसले गर्दा संसारका ‘ट्याक–टुक’ मिलाउन सक्ने र नेपाली कम्पनीहरूसँग ठ्याक्क मिल्नेगरी बनाउने रुचि राख्ने बनायो । ‘सेटिङ’ जस्ता अंग्रेजी शब्दहरूको नयाँ नेपाली परिभाषा निकाल्यौं । राजनीतिक अस्थिरताहरूको फाइदा लिएर नेताहरूलाई राष्ट्रवादको नाममा ‘माफिया’, ‘चलखेल’जस्ता शब्दहरूको गजब उपयोग गरी छोटो कार्यकाल भए पनि फाइदामूलक बनाइदिए । अब किन चाहियो विश्वका सर्वश्रेष्ठ कम्पनी र प्रविधि ? पाँच सय हजार करोडको ठुला परियोजनाहरू बनाएर उद्घाटन गर्नुभन्दा एटीएम, दिसामुक्त क्षेत्र र झोलुंगे पुलहरू उद्घाटन गर्नमा व्यस्त भए । 

माग्ने बानी
हालै एउटा प्रोजेक्टको तालिमका दौरान धेरै जनासँग अन्तरक्रिया गर्ने मौका पाएँ । कति पुस्ट कमाएका व्यापारीहरू तालिमको निम्ति अलिक प्रोजेक्टले पैसा हाले हुन्थ्यो भनेर गुहार गरे । नयाँ बाइक र फोन किन्ने पैसा छ, राति बियर, सेकुवा र ब्ल्याक लेबल ह्विस्कीको लागि पनि पैसा छ, तर तालिम लिएर आफ्नो व्यवसाय अझै बढाउन भने माग्ने भाँडो अघि सार्‍यो । यो ठूलो रोगले पनि हामीलाई सताएको छ । 

आफूसँग भएको खर्च नगर्ने तर पैसा मागेर हिँड्ने । नेपालका बैंकहरू कति पाँच—दस हजार करोडका मूल्य भइसके, तर नयाँ शाखा खोल्न वा तालिममा विदेश पठाउन बिभिन्न दाताका प्रोजेक्टहरूको ढोका ढकढकाइरहेका हुन्छन् । अब भएकाले मागी हिँड्ने देशमा नभएकाले त अवश्य सीप र आफ्नो क्षमतालाई बढाएर लानुको साटो माग्ने नै भए । यही बानी हामीले मजासँग सञ्चित गरेर राखेका छौं र त्यसैले सरकारी ढुकुटीमा टन्न राखेर अंग्रेजी बोली—बोली हामी बिभिन्न दाताहरूसँग मागी हिँडेका छौं । 

बनाउने बानी कसरी बसाल्ने ?
सानो छँदा बच्चाहरूले सामान छरपस्ट पारी कोठाभरि छर्दा हामीले बच्चालाई अन्य कति संस्कृतिमा झैं त्यो बटुलेर मिलाउन अक्सर सिकाउँदैनौं । हामीले बिगारेकोलाई बनाउने संस्कृतिसँग त्यति विश्वास गर्दैनांै । तसर्थ राजनीतिक पार्टीहरूको अधिवेशन होस् वा कुनै संस्थाको निर्वाचन होस् वा कुनै निजी कम्पनीले आयोजना गरेको कार्यक्रम नै किन नहोस्, अक्सर हामीले कार्यक्रमपछि भएको फोहोर छरपस्ट देख्छौं । यस संस्कृतिले गर्दा होला, सडक भत्काउन जसरी लागिन्छ, बनाउनतिर त्यति चासो देखिँदैन । धुलो र फोहोर नै हाम्रो संस्कृतिको धरोहर हो भन्ने झल्काउन थाल्छौं । तसर्थ पहिलो, यस भत्काउने संस्कृतिबाट बनाउने संस्कृतितिर लाग्नैपर्छ । सुरु सायद उत्पादन गरेको फोहोरको व्यवस्थापनबाट गर्नु उत्तम होला । 

दोस्रो, सोचलाई खोक्रो राष्ट्रवादबाट अलिक फराकिलो बनाउन जरुरी छ । त्यसको थालनी गर्नैपर्छ । मन्त्रीहरूले पाँच सय करोडको परियोजनाभन्दा कमको परियोजनाको उद्घाटन गर्नतिर लाग्न भएन । जग हाल्नेमा होइन, परियोजना सम्पन्न भएको मात्रमा जानुपर्छ । हेलिकप्टर खर्चभन्दा कम खर्चको कार्यक्रमहरू हेलिकप्टरमा गएर उद्घाटन गर्ने लतबाट मुक्त हुनैपर्छ । दिसामुक्त क्षेत्रको कार्यक्रमलाई टेलिभिजनमा हेरेर कब्जियतबाट मुक्ति पाउने तरिकामा बदलाव ल्याउनैपर्छ । तेस्रो, दाता राष्ट्र र संस्थानमा विनम्र निवेदन छ कि खर्च गर्न नसक्ने सरकार वा सरकारी संस्थाहरूलाई अब पैसा नदेऊ । खर्च गर्न नसक्नेले माग्ने भाँडो अघि सारे भाँडोमा ज्ञानबुद्धि र सुझावहरूले भरेर पठाऊ । यो शैलीमा ठूलो परिवर्तनको आवश्यकता छ । 

नेपालको दिगो आर्थिक विकासको निम्ति भौतिक तथा सामाजिक पूर्वाधारहरूमा धेरै लगानी गर्नुपर्ने छ । यो बिना आर्थिक रूपान्तरण असम्भव छ । त्यसैले पनि भएको पैसा खर्च गरौं र त्यो पनि राम्ररी मात्र खर्च गरौं । 

प्रकाशित : माघ १२, २०७३ ०८:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT