१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गुणस्तरीय स्वास्थ्य सेवाका चुनौती

डा. कपिलमणि केसी

स्वास्थ्य सेवा देशका नागरिकलाई आवश्यक पर्ने अत्यावश्यक सुविधामध्ये एक हो । पछिल्लो समय स्वास्थ्य सेवामा थोरै भए पनि सुधारका लक्षण देखिन थालेका छन् । दुई वर्ष पहिला गएको महाभूकम्पमा अंगभंग भएका हजारौं नागरिकलाई आफ्नै देशका चिकित्सकले सफलतापूर्वक उपचार गरेर देखाउनु यसको ज्वलन्त उदाहरण हो ।

गुणस्तरीय स्वास्थ्य सेवाका चुनौती

गुणस्तरीय स्वास्थ्य सेवाका लागि देशको आर्थिक अवस्था, राजनीतिक स्थिरता, चिकित्सक तथा स्वास्थ्यकर्मीको दक्षता, अस्पतालहरूको भौतिक पूर्वाधार, बाटोघाटोको सर्वसुलभता, नागरिकको जनचेतना, स्वास्थ्यप्रतिको संवेदनशीलता, देशको शैक्षिक अवस्थादेखि लिएर स्वस्थ्यकर्मीको बोलीचाली जस्ता ससाना कुराको उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ ।

कुनै पनि मानिस अस्पतालमा आउँदा केही न केही पीडा, दर्द वा समस्या लिएर आउने गर्छ । अस्पतालमा जम्मा भएको भीड र कुनै मेलापर्व वा चाडबाडमा जम्मा भएको भीडको अन्तर्मनको कथा बेग्लै हुन्छ । कसैको छोराको क्यान्सर भएर अन्तिम अवस्थामा छटपटाइरहेको, कसैका श्रीमान्को मेरुदण्डको हड्डी भाँच्चिएर प्यारालाइसिस भएको, कसैको आमा–बुबाको अन्तिम सास अड्केर आईसीयूमा छटपटाइरहेको, कसैको हड्डी भाँच्चिएर शल्यक्रिया गराउन हम्मेहम्मे परेको र कसैको मृगौला फेल भएर आर्थिक अभावमा महिनौंदेखि पिरोलिएको अवस्था अस्पतालमा सामान्य लाग्छन् ।

कुनै पनि सरकारी अस्पतालमा बिहान ६ बजेदेखि टिकटको लाइनमा बसेर टिकट पाइसकेपछि पनि थप दुई तीन घण्टा ओपीडीमा लाइन बसेपछि मात्र एउटा विशेषज्ञ चिकित्सकलाई जाँच गराउन पाइन्छ । चिकित्सकलाई भेटेपछि एक्सरे लगायत रगतको जाँच गराउनका लागि अर्को लामो लाइन बस्नुपर्ने बाध्यता हुन्छ । अन्तमा सबै रिपोर्ट जम्मा गरेपछि चिकित्सकलाई देखाउन अर्को कुनै दिन फेरि लाइन बसेर आउनुपर्छ । त्यो दिन पहिला जाँचेको डाक्टर उपस्थित नहुन पनि सक्छन् । रोग पत्ता लाग्ने वा नलाग्ने र सन्चो हुने वा नहुने अर्को पक्ष त बाँकी नै छ । यस्तो प्रतिकूल अवस्थामा मानिसमा खिन्नता, असन्तुष्टि र आवेग पैदा हुनु स्वाभाविक हो । त्यसकारण गुणस्तरीय उपचारको सुरुवात अस्पतालको पहिलो लाइनमा काम गर्ने कर्मचारीबाट सुरु हुन्छ । 

टिकट काट्ने काउन्टर, सोधपुछ कक्षदेखि लिएर अस्पतालमा काम गर्ने सुरक्षा गार्डको मीठो बोली बिरामीको उपचारका लागि पहिलो महत्त्वपूर्ण पाइला हो । तर धेरै अस्पतालमा यी कुराले त्यति धेरै महत्त्व राखेको पाइँदैन । बिरामीको उपचारमा प्रत्यक्ष संलग्न हुने चिकित्सकको व्यवहार बिरामीका लागि कति महत्त्वपूर्ण छ भन्ने कुराको विश्लेषण गर्नुपर्ने जरुरत नै छैन । रोगका बारेमा राम्रोसँग बुझाउँदा बिरामीले आधा रोग सन्चो भएको महसुस गर्छन् । चिकित्सकको दक्षता अर्को ठाउँमा छँदै छ । राम्रो दक्षता हुँदाहुँदै पनि स्पष्ट रूपमा सम्झाउन नसक्दा बिरामीहरू भित्रदेखि सन्तुष्ट नहुन सक्छन् ।

वास्तवमा भन्ने हो भने चिकित्सा पेसा आफ्नो र आफ्नो परिवारका लागि भन्दा दीन–दु:खी र असहायका लागि हो भन्ने फराकिलो सोचाइ आत्मसात् गर्दा चिकित्सकलाई नै ठूलो सन्तुष्टि मिल्छ ।

स्वास्थ्य सेवाको अर्को महत्त्वपूर्ण पक्ष भनेको चिकित्सकहरूको आफ्नै पीडा वा व्यथा हो । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न खटिएका चिकित्सकको पनि आफ्नो परिवार, छोराछोरी, बुबाआमालगायत आफ्नो छुट्टै समाज हुन्छ । अरूलाई जस्तै चिकित्सकलाई पनि आफ्नो परिवार चलाउनुपर्नेदेखि लिएर आर्थिक व्यवहार बहन गर्नुपर्ने हुन्छ ।

यदि देशमा गुणस्तरीय स्वास्थ्य सेवालाई स्थापित गर्ने हो भने सरकारले चिकित्सकहरूलाई तल्लोस्तरको तलबभत्ता दिएर काममा रगडाउँदा परिस्थिति अनुकूल हुँदैन । कमसेकम दैनिक जीवनयापन गर्न आवश्यक पर्ने पारिश्रमिक समयअनुसार समायोजन गर्दै जाने हो भने चिकित्सकहरू एउटै अस्पतालमा बिहानदेखि साँझसम्म काम गर्ने मात्र नभएर पढाइ लेखाइलगायत अनुसन्धानमूलक काममा संलग्न भई गुणस्तरीय स्वास्थ्य सेवामा थप मद्दत मिल्ने अवस्था आउँछ । 

आजको दिनमा कुनै कुनै सरकारी तथा निजी अस्पतालले चिकित्सकहरूलाई अनेक बहानामा दैनिक ज्यालादारीमा काम गर्न बाध्य पारेको अवस्था छ । एउटा गए अर्को आउँछ भन्ने अत्यन्त संकीर्ण सोच अस्पतालले बनाउँदा चिकित्सकहरूको मनोबल घट्नुका साथै आफ्नो पेसाप्रति नकारात्मक सोच पैदा हुन थाल्छ । अर्को कुरा दक्षताभन्दा भनसुन र सिन्डिकेटको आडमा डाक्टरलाई छनोट गर्ने अनि सिनियर डाक्टरहरूले जुनियरहरूलाई सहयोगी वातावरण सिर्जना नगरिदिँदा अहिलेको अवस्थामा काम गर्न चिकित्सकलाई निकै गाह्रो छ । 

बिरामीको तर्फबाट नकारात्मक सोचाइ राखेर झैझगडा गर्ने, अस्पताल तोडफोड गर्ने, चिकित्सकहरूलाई अभद्र व्यवहार गर्ने, सोर्सफोर्स लगाएर बिरामी भर्ना गराउने, सकेसम्म सरकारी अस्पतालको सेवासुविधा नि:शुल्क गराउन खोज्नेजस्ता कार्यले दीर्घकालीन रूपमा फाइदा गर्दैन । कुनै बिरामीलाई अन्याय भएको रहेछ भने अड्डाअदालत तथा न्यायालयमा शिष्ट तवरले कुरा राख्न सकिन्छ । यस्ता कार्यले दुर्गम भेगबाट आउने सोझासाझा बिरामीलाई प्रत्यक्ष असर पार्छ । गुणस्तरीय स्वास्थ्य सेवा भनेको कुनै सम्पन्न व्यक्ति, समुदाय, परिवार र नेताहरूलाई मात्र नभएर गाउँगाउँमा बस्ने अति विपन्न परिवारका मानिससम्मको सहज पहुँचलाई मानिन्छ । देशको माथिल्लो ओहदामा काम गर्ने व्यक्तिलाई भने अस्पतालमा लाइन लाग्ने, बिल काट्नेदेखि लिएर भर्ना भएर उपचार गर्नसमेत कुनै झन्झट छैन । 

केवल अस्पतालमा मात्र आइदिनुपर्‍यो, अस्पताल प्रशासन पछि लागेर उपचार गर्ने जिम्मेवारी लिन्छ । यति मात्र नपुगेर विदेशका महँगा अस्पतालमा त्यो पनि सरकारी खर्चमा उपचार गराउनेको होडबाजी उत्तिकै बढी छ । यसो गर्दा नीतिनिर्माणमा बस्ने महानुभावले एउटा सामान्य मानिसलाई अस्पतालमा आएर उपचार गराउन कति गाह्रो र कष्टप्रद छ भन्ने कुराको महसुस गर्न सकेका हुँदैनन् र यस्ता अस्पतालको वृद्धि विकासमा ध्यान पुगेको हुँदैन । 

विदेशमा गएर उपचार नै नगर्ने भन्न खोजिएको होइन तर हाम्रो देशमा उपचार सम्भव भएसम्म सरकारी खर्चमा विदेशमा उपचार गर्नु कदापि राम्रो होइन । छिमेकी देश भारतमा मन्त्री, प्रधानमन्त्रीजस्ता व्यक्तित्व आफ्नै देशको सरकारी अस्पतालमा गएर जटिल प्रकृतिका शल्यक्रियासमेत गराउन तयार हुन्छन् भने हाम्रो देशमा पनि त्यो कुरा किन लागू गर्न सकिँदैन ? आफ्नै देशका चिकित्सक र अस्पताललाई भरोसा नगर्ने वा भरोसा गर्ने वातावरण नमिलाउने हो भने हाम्रो स्वास्थ्य सेवा कहिले गुणस्तरीय हुने अनि गुणस्तरीय बनाउन कसले पहल गर्ने ?

त्यसकारण जटिल प्रकृतिका शल्यक्रिया पनि आफ्नै देशमा गर्ने हिम्मत गर्नुपर्छ, सरकारी अस्पतालहरूको सेवासुविधा र कार्यक्षमता बढाउनुपर्छ, अत्याधुनिक उपकरण प्रयोगमा ल्याउनुपर्छ, आफ्नै देशका चिकित्सकहरूको गुणात्मक शिक्षालाई ध्यान दिएर कार्यदक्षता र क्षमतामा वृद्धि गर्नुपर्छ, देशको चिकित्सा शिक्षा प्रणाली उच्चस्तरको हुनुपर्छ, स्वास्थ्य सेवा गरिब र असहाय जनताको पहुँचमा हुनुपर्छ र अन्तमा निजी अस्पतालमा लिने शुल्कलाई नियन्त्रण गरिनुपर्छ । कुनै पनि जनता आर्थिक अभावमा स्वास्थ्य सेवाबाट वञ्चित हुनु हुँदैन । अनि मात्र भोलिका दिनमा हामीले गुणस्तरीय स्वास्थ्य सेवाको आभास गर्नेछौं । 

 गुणस्तरीय स्वास्थ्य सेवामा अरू केही गहन विषय पनि जोडिएका छन् । केही प्रतिशत मानिसमा हाम्रा अस्पताल र चिकित्सकप्रति नकारात्मक सोचाइ भएको पाइन्छ । सरकारी अस्पतालका चिकित्सक ठग्न बसेका हुन् र निजी अस्पतालका चिकित्सक कमाउन बसेका हुन् भन्ने संकीर्ण विचार समयसमयमा बाहिर आउँछन् जुन सही होइन । त्यस्तै, देशको कुनै भागमा सडक दुर्घटना भएर हातखुट्टा भाँच्चिएका बिरामीलाई एम्बुलेन्सले आफू अनुकूलका अस्पतालमा लाने प्रवृत्ति छ । यो अवस्थामा त्यस्ता अस्पतालले कि सर्वसुलभ मूल्यमा उपचार गर्न जरुरी छ, होइन भने सडक दुर्घटनामा परेका बिरामीलाई सरकारी अस्पतालमा उपचार गर्ने नियम बनाउनुपर्छ । 

प्रकाशित : फाल्गुन २२, २०७३ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?