चीनको ओबोर रणनीतिमा नेपाल

हिमाल न्यौपाने

चीन, भारत र नेपालबीचको सम्बन्धमा केही समययता अलि बढी उतार—चढाव देखिएको छ । संवाद र सतर्कताको सेरोफेरोमा घुमिरहेका कूटनीतिक चालहरूले यो क्षेत्रमा दूरगामी असरहरू पार्ने निश्चितप्राय: छ । अघिल्लो साता चीन र भारतले बेइजिङमा रणनीतिक संवाद आयोजना गरे ।

चीन–भारत रणनीतिक संवाद नाम दिइएको यो बैठकमा दुवै देश अपेक्षित मुडमा बसेका थिए । अर्थात् चीन भारतसँग केही लचिलो र थप सहजतासाथ संवाद गर्न उत्सुक देखिन्थ्यो ।

त्यसको कारण एउटै छ– चीनलाई चिढ्याइरहेका शक्तिहरू जापान र अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भारत नजिकिंँदो छ । उता बैठकमा सहभागी भारतीय विदेश सचिव जयशंकर आफ्ना भूराजनीतिक स्वार्थहरूलाई अझै प्रस्टसँग राख्न सतर्कतापूर्ण मुडमा देखिए । उनले बेइजिङ उड्नु अघि भारतीय सञ्चार माध्यममा भनेका थिए, ‘हामी सार्वभौमिकताको कुरा छाडेर ओबोर प्रवेशमा हतार गर्दैनौं ।’ चीन–पाकिस्तान इकोनमिक करिडोरलाई लिएर खुला रूपमा असन्तुष्टि जनाउँदै आएको भारतले रणनीतिक संवादमा पनि यो कोरिडोरले आफ्नो सार्वभौमिकतामा चुनौती भएको कुरा दोहोर्‍याउन पुग्यो । यही मुद्दा देखाएर भारत चीनले प्रस्ताव गरेको बहुआयामिक वान बेल्ट वान रोड (ओबोर) इनिसिएटिभमा प्रवेश गर्न आनाकानी गर्‍यो । यसरी यो रणनीतिक संवादलाई दुई मुलुकले एकअर्काका चासो दोहोर्‍याएर सुन्ने अवसरको रूपमा मात्रै उपयोग गर्न पुगे ।

Yamaha

दुवै पक्षबीच अविश्वास कायमै रहँदा अबको दुई महिनापछि हुनलागेको ‘ओबोर इनिसिएटिभ समिट’मा भारतको उच्चस्तरीय सहभागिता नहुने देखिएको छ । ब्रिटिस साम्राज्यको औपनिवेशिकता व्यहोरेको र त्यसैमा आधारित सतर्कतापूर्ण कूटनीतिमा चलेको भारतका लागि चिनियाँ प्रस्ताव सहज हुने कुरा पनि थिएन । त्यसैले धेरै चिनियाँ कूटनीतिक विश्लेषकहरू सतर्क रहिरहन चाहने भारतीय मानसिकतालाई संवादमार्फत खोल्नु ओबोरको मुख्य चुनौती हुने ठान्छन् । 

के उसो भए कास्मिर मुद्दामा जकडिएको चीन–भारत–पाकिस्तान सम्बन्धमा जस्तै यतापट्टि हिमालय क्षेत्र हुँदै ओर्लिन थालेको चीनलाई भारतले यसपटक नेपालमार्फत रोकिरहन सक्ला त ? यसको उत्तर सहज छैन । यसका लागि भारतीय सतर्कता तोड्न नेपालमा चिनियाँ सक्रियता कतिसम्म अगाडि आउँछ, त्यसमा धेरै कुरा भर पर्नेछ । किनभने अघिल्लो साता नै नेपालले परराष्ट्र मन्त्रालयमा अड्किएको ओबोर इनिसिएटिभ फ्रेमवर्कमा प्रवेशसम्बन्धी चिनियाँ प्रस्तावको घुमाउरो जवाफ पठाएको छ । नेपालले ढिलोगरी पठाउनु र त्यसमा थप प्रस्टीकरण चाहनुलाई केही चिनियाँ विश्लेषकहरू भारतीय सतर्कतासँग जोडेर हेर्छन् । किनभने अहिलेको सरकारलाई भारतीय स्वार्थको विस्तारका रूपमा हेर्नेको संख्या कम छैन । 

भारतीय सतर्कताका बाबजुद चीनले लिएको ओबोरको रणनीतिक आयामबाट नेपालले कसरी फाइदा लिनसक्छ भन्नेमा थप बहस आवश्यक छ । ओबोर रणनीति र लक्ष्यमाथि बहुआयामिक व्याख्याहरू छन् । अहिले यसका केही रणनीतिक पक्षहरूलाई नियालौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको घोषित लक्ष्य छ– सन् २०५० सम्ममा चिनियाँ सभ्यताको उच्चतम लक्ष्यलाई पुन: प्राप्त गर्नु, जसले ‘चिनियाँ सपना’को नाम पाइसकेको छ । त्यसैलाई पुरा गर्ने माध्यमको रूपमा सिल्क रोड, एसियाली पूर्वाधार विकास बैंकदेखि ओबोर इनिसिएटिभको कार्यान्वयन सुरु भएको हो । यसमध्ये ओबोर इनिसिएटिभको वास्तविक कार्यान्वयनका आधारहरू यही दुई महिनापछि बेइजिङमा हुने ‘मे समिट’मा सार्वजनिक गर्ने चिनियाँ तयारी छ । 

उक्त समिटमा ओबोर इनिसिएटिभ कार्यान्वयनको खाका कसरी आउँदैछ भन्ने बुझ्न यसका रणनीतिक पक्षहरूलाई केलाउनुपर्छ । समसामयिक चिनियाँ कूटनीतिका प्राध्यापक वाग लीलाई मैले यसबारे सोधेको थिएँ । उनी भन्छन्, ‘ओबोर इनिसिएटिभलाई बाह्य र आन्तरिक रणनीतिसँग जोडेर हेर्नुपर्छ । बाह्य रूपमा चीनको उदयलाई सामना गर्न या त्यसलाई हुर्कन नदिन साविकको महाशक्ति अमेरिका र उसका साझेदारहरूले जुनसुकै बेला पनि गर्नसक्ने गडबडीलाई सामना गर्नेगरी तम्तयार बस्नुपर्छ भन्नेमा चिनियाँ नेतृत्व केन्द्रित देखिन्छ । त्यो गडबढी भनेको व्यापारको विश्वव्यापीकरणमा सुनिश्चित गरिएका सामुद्रिक तथा सामरिक मार्गहरू हुन् । यस्ता सामुद्रिक मार्गमा हुनसक्ने अवरोधले चिनियाँ रणनीतिक स्वार्थमा सिधै प्रहार गर्छ । साउथ चाइन सी होस् या इस्ट चाइना सीमा उठेका तथा देखिएको विवादमा अमेरिका, जापान र अहिले भारतको कसिंँदो गठबन्धन यसकै लागि हो भन्ने चिनियाँ बुझाइ छ । त्यसको विकल्पको रूपमा सडक र रेल्वेमार्फत मध्यएसिया हुँदै युरोप र हिमालय पार गरी दक्षिण एसियामा फैलनु ओबोर इनिसिएटिभको बाह्य रणनीतिक उद्देश्य हो ।’

बाह्य आयामहरू आन्तरिक रूपमा एकआपसमा गाँसिएका छन् । प्रा. वाग लीका अनुसार, यो ‘न्युज’ अर्थात् ‘एनईडब्लुएस’ रणनीतिमा आधारित छ । एन–नर्थ अर्थात् उत्तरी क्षेत्रलाई स्थिर राख्दै ऐक्यबद्धता जनाउनु, ई–इस्ट अर्थात् पूर्वी क्षेत्रलाई शान्त राख्ने प्रयास गर्नु, डब्लु–वेस्ट अर्थात पश्चिम भएर दौडिनु । र एस–साउथ अर्थात् दक्षिणमा गतिशील भइराख्नु । यसलाई विस्तृत रूपमा हेर्दा, एन–नर्थ अर्थात् उत्तरमा मंगोलिया र रूस पर्छन् । मंगोलिया हुँदै रूससम्म आर्थिक करिडोर निर्माण गर्नु र रूससँग सैन्य तथा हवाई प्रविधिमा साझेदारी बढाउनमा चिनियाँ ध्यान केन्द्रित छ । आन्तरिक रूपमा उत्तरी प्रान्तहरूमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रवादी धारलाई मजवुत पार्दै त्यहाँ रहेका औद्योगिक र खनिजजन्य कच्चा पदार्थलाई बढीभन्दा बढी उपयोग गर्ने । 

ई–इस्ट अर्थात् पूर्वी क्षेत्रमा कोरियाली प्रायद्वीप र जापान पर्छन् । त्यो क्षेत्र सबभन्दा बढी समस्याग्रस्त छ । जापानसँग पुस्तैनी वैरभाव छ । कोरियाको उथलपुथलमा अमेरिका सिधै संलग्न छ । त्यहाँ उत्पन्न हुने जुनसुकै असरलाई सामना गर्न धेरै मिहिनेत गर्ने चिनियाँ रणनीति छ । त्यहाँ द्वन्द्वलाई सकेसम्म पन्छाउँदै संवादमै टिकेर अघि बढ्ने रणनीति देखिन्छ । आन्तरिक रूपमा पूर्वी क्षेत्रमा केन्द्रित ठूलो परम्परागत उद्योगलाई पश्चिम क्षेत्रमा सारेर यहाँ नयाँ सामरिक महत्त्वका उद्योगहरू स्थापना गर्ने तयारी छ । कपडा, मेसिनरी, उपभोग सरसामान उत्पादन गर्ने उद्योगलाई पश्चिमी क्षेत्रमा सार्ने र यस क्षेत्रमा जहाज, रेल्वे तथा रोबोटिक उद्योगहरूको स्थापना गर्ने । यसका लागि उत्तर—पूर्वी प्रान्तहरूलाई जोडेर विकास गर्ने रणनीति देखिन्छ । यही क्षेत्रमै साविकका बोइङ तथा एयर बसभन्दा ठूलो आकारका यात्रुवाहक जहाज निर्माणका लागि रूससँग संयुक्त आयोजना अघि बढाइएको छ । 

डब्लु–वेस्ट अर्थात् पश्चिम भएर दौडिँदा बाह्य रूपमा सिन्जियाङ हुँदै मध्यएसिया र युरोप पुग्ने । तेलको निर्वाध आपूर्तिका लागि पाकिस्तान करिडोर हुँदै इरान, मध्यपूर्व र अफ्रिका पुग्ने खाका छ । यसैगरी तिब्बत हुँदै हिमालय पार जाने योजना पनि यसमै पर्छ । यसो गर्दा बाहिर फैलन सकिने र पश्चिमी क्षेत्रमा विकास गरी आन्तरिक सन्तुलन मिलाउन सकिने चिनियाँ बुझाइ छ ।

तर यसरी पश्चिममा सार्ने भनिएको उद्योगहरूका लागि तिब्बतको वातावरण, जनशक्ति र बजारका कारणले पनि त्यति सहज छैन । त्यसैले तिब्बत हुँदै हिमालय पार हुने रेल्वे र सडक पूर्वाधारले नेपाल जोडेपछि चिनियाँ लगानी नेपाल हुँदै भारततर्फ सर्दै जानेछ । भारतको विशाल र आधुनिक हुँदै गएको बजारका लागि आवश्यक लगानी र उत्पादनहरूको प्रवाहका लागि नेपाल नै भरपर्दो ढोका हो भन्नेमा चिनियाँहरू अल्मलिएको देखिँदैन । तर त्यसका लागि नेपालको आन्तरिक राजनीतिका हकमा भारतलाई नचिढ्याउने र भरपर्दो स्थायी शक्ति खोज्ने चिनियाँ रणनीति खुलेर प्रकट हुनलागेको छ । 

अब एस–साउथ अर्थात् दक्षिणलाई हेरौं । चीनको दक्षिणमा विवादास्पद साउथ चाइना सी, ताइवान र पूर्वी एसियाली देशहरू पर्छन् । साउथ चाइना सीमा हुनसक्ने द्वन्द्वलाई सकेसम्म पर धकेल्दै आफ्नो सामरिक क्षमता बढाउने रणनीति देखिन्छ– साउथ चाइना सीमा पुरै अवरोध नहुँदासम्म चुपचाप सामरिक क्षमता विकास गर्ने र सँगसँगै पश्चिम क्षेत्रमा उच्च गतिमा सडक र रेल्वे विकास गर्ने । साउथा चाइना सीमा अवरोध आइहालेमा उत्तर—पूर्व र दक्षिणको निर्यात व्यापारलाई पश्चिम क्षेत्रको स्थलमार्ग हुँदै युरोपसम्म विस्तार गर्ने । यसैगरी फिलिपिन्स, भियतनाम र अन्य दक्षिणपूर्वी एसियाली देशहरूसँगको विवादलाई बहुपक्षीय अर्थात् अमेरिकी संलग्नताबिनै समाधान गर्ने चिनियाँ रणनीति छ । र आन्तरिक रूपमा सबभन्दा बढी आधुनिक निर्यातजन्य र वित्तीय सेवा उद्योग रहेका दक्षिणी क्षेत्रहरू सांघाई, फुजियान लगायतका प्रान्तहरूले पश्चिमी प्रान्तहरूलाई सघाउनैपर्ने नीतिगत व्यवस्थाहरू थप सक्रिय पार्ने भन्ने छ । यसले पश्चिमी क्षेत्रका लागि लगानीको खाँचो टर्नेछ । यसै नीतिअनुसार धेरै दक्षिणी चिनियाँहरू लगानीका प्रस्ताव बोकेर नेपालसम्मै पुगिसकेका छन् । यसरी ओबोर इनिसिएटिभका रणनीतिक पक्षहरू केलाउँदा जतिसुकै सतर्कता अपनाउन या टार्न खोजे पनि यसका प्रभावबाट कुनै छिमेकी सहजै उम्किन सक्ने देखिँदैन । त्यसैले यसबाट समयमै फाइदा लिन प्रयास गर्नु नै अहिलेको आवश्यकता हो ।

न्यौपाने चीनको जिलिन युनिभर्सिटीमा जनकूटनीति विषयमा पोस्ट ग्रयाजुएट गर्दै छन् ।

प्रकाशित : फाल्गुन २३, २०७३ ०७:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छोरीलाई अंश

अखण्ड भण्डारी

पाँचवटी छोरीपछि छोरो जन्मियो । उनले ठूलो भोज गरे । गाउँभरिकालाई बोलाएर मीठो–मीठो खुवाए । सुत्केरी उकास्न खसी काटे । पाँचौं छोरी जन्मिँदा अवस्था ठीक उल्टो थियो । छोराको आसमा रहेका उनी फेरि पनि छोरी नै जन्मिँदा ‘खङ्ग्रङ्ग’ भए । त्यसको रिस श्रीमतीसँग पोखे । उनलाई गुन्द्रुक र ढिँडो पकाएर खान दिए । अर्कोपालि जब छोरो जन्मियो, अनि मात्र उनको ‘रिस’ मर्‍यो ।

छोरो २० वर्षको हुँदा श्रीमती बितिन् । त्यही छोरामाथि सौतेनी आमाले दुव्र्यवहार गर्ली भन्ने चिन्ताले उनले अर्को बिहे गरेनन् । छोरीहरूको बिहे भइसकेको थियो । छोराको पढाइ तीव्र गतिमा गइरहेको थियो । छोरा २४ वर्षको हुँदा धुमधाम बिहे गरिदिए । तराईमा केही बिगाहा जमिन जोडेकै थिए । खान–लाउन र पैसा खेलाउन खास खाँचो थिएन । उनी ढुक्कले चलिरहेका थिए । 

छोरा–बुहारी राजधानी गए, उतै काम गर्न थाले । एक दिन आएर छोराले भनेछ, ‘तपाईंको सेखपछि यो सम्पत्ति अर्कैले खान सक्छ, बरु बेलैमा मेरो नाममा पास गरिदिनुहोस् । तपाईंलाई बाचुन्जेल म हेरिहाल्छु ।’ उनले छोराले भने–भने ठाउँमा सहर्ष ल्याप्चे लगाइदिए । छोराले त्यो जग्गा बेच्यो । काठमाडौंमा जग्गामै पैसा हाल्यो । कमाउन, बढाउन थाल्यो । क्रमश: करोडपति भयो । 

उनी भने वृद्धाश्रममा भेटिए ।आश्रमको पेटीमा तपतप आँसु झार्दै उनले पछुतो गरे, ‘मैले छोरा र छोरीबीच भेदभाव गरें । चिन्न सकिनँ । जन्मिँदै छोरीमाथि दुव्र्यवहार गरें । सम्पत्ति छोराकै हो भन्ने ठानें । छोरीलाई पनि हेर्नुपर्छ भन्ने कहिल्यै सोच्न सकिनँ । त्यसैको पाप अहिले भोगिरहेको छु ।’ उनको वृद्धाश्रम यात्रा केही वर्षको दु:खद जीवन भोगाइपछि तय भएको थियो । ‘बुहारीले तथानाम मुख छाड्थी, चुइँक्क बोल्यो भने छोराले मुख च्यातिदिन्छु भन्थ्यो’, उनले सुनाए, ‘पछि–पछि त कुटपिटै गर्न थाले । केही उपाय नलागेर यहाँ आएँ ।’

खुसीको संयोग– बुवा आश्रममा बस्न थालेको थाहा पाएर तिनै छोरी भेट्न गइछिन्, जो जन्मिँदा उनले श्रीमतीलाई गुन्द्रुक–ढिँडो खुवाएका थिए । उनको जन्मप्रति ग्लानि गरेका थिए । जो जन्मिँदा हर्षबढाइँ गरिएको थियो, त्यही छोराले घर निकाला मात्र गरेन, बुवालाई भेट्न गएको निहुँमा दिदीसँग बोल्नै छाडेछ । तिहारसम्म माया मारेछ । 

अहिले नारी दिवस सप्ताह चलिरहेछ । संसारभरि नारी अधिकारका फरक–फरक पाटाबाट बहस भइरहेका छन् । नेपालमा पनि धेरै गोष्ठी, सेमिनार र अन्तरक्रिया भइरहेका छन् । नारीका नाममा आएको ‘डलर’ कतै नारीद्वारा त कतै पुरुषद्वारा ‘ढंग पुर्‍याएर’ खर्च भइरहेको छ । तर, कहीं–कतै एउटा विषय उठेको खासै पाइँदैन, त्यो हो– छोरीलाई पनि पैतृक सम्पत्तिमा बिनासर्त समान अधिकार । 

नेपालको संविधानको धारा ३८ मा ‘महिलाको हक’ प्रत्याभूत गरिएको छ । त्यसको (१) मा ‘प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुनेछ’ भनिएको छ । त्यसकै (६) मा भनिएको छ, ‘सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ ।’ संविधानको ‘भेदभावबिना समान वंशीय हक’ को व्यवस्थालाई घुमाएर ‘सम्पत्तिमा छोरा–छोरीको समान अधिकार’ बुझ्न सकिएला, भिन्दै कुरा । तर, वास्तविकता भिन्न छ । यतिका भरमा छोरीले सम्पत्तिमा समान हक पाउन सक्दैनन् । र, छोरीले जबसम्म पैतृक सम्पत्तिमा बराबर हक पाउँदैनन्, तबसम्म हाम्रो समाज रूपान्तरण हुँदैन । अर्थात्, बाबु–आमाले पनि साँचो अर्थमा सुख पाउँदैनन् ।

नारीका दुइटा पाटा छन्– छोरी नारी र बुहारी नारी । बुहारीलाई सम्पत्तिमा जति बढी हक छ, छोरीलाई त्यति छैन । संविधानले पनि छोरीलाई भन्दा बुहारीलाई बढ्ता अधिकार दिएको छ । छोरालाई पढाइमा राम्रो खर्च गर्ने, त्यही छोराका लागि जोगाइदिन छोरीका जरुरी काममा पनि खर्च नदिने अभिभावक धेरै छन् । छोरो नजन्मिुउन्जेल जति पनि छोरी थप्नेहरू धेरै भेटिन्छन् । त्यसभन्दा दु:खद पक्ष, भ्रुणमै छोरा–छोरी पहिचान गरी गर्भपतन गराउने क्रम बढ्दो छ । यसमा बाबुभन्दा आमाको रहरले बढ्ता काम गरेको छ । महिलालाई नै छोरीको भर छैन । अर्थात्, छोरा नै चाहिने, छोरीले वंशको निरन्तरता नदिने मान्यता राख्ने बढ्ता महिला नै छन् । 

ठीक उल्टो– महिलाको जिन्दगी भने नियन्त्रणै नियन्त्रणमा गुज्रिन्छ– सानामा अभिभावकको, बिहेपछि लोग्ने र उसको परिवारको अनि वृद्धा भएपछि छोरा–बुहारीको । उनीहरू स्वतन्त्र हुन नसक्नुको कारण उही हो– सम्पत्तिमा हक नहुनु । अभिभावकले अर्काको घर जाने, उतैको मानो खाने ठान्छन् । लोग्ने र परिवारले ‘ल्याइते’ का नजरले हेर्छन् । बुढेसकालमा छोरा–बुहारीले दु:ख गरेर स्याहार्नुपर्ने बोझका रूपमा लिन्छन् । सबैका हकमा यो लागू हुँदैन । तर, खोज्दै जाँदा यसलाई भोग्ने समाजमा धेरै पाइन्छन् । उपल्लो कालमा बढ्ता नियन्त्रणको जिन्दगी व्यक्तित गर्ने नारी लाखौं छन् ।
त्यसकै परिणाम धेरै बुवा–आमा वृद्धाश्रममा छन् । तीमध्ये ठूलै संख्या घरमा छोरी–बुहारी सम्पत्ति हुँदाहुँदै शरण पर्न गएका हुन् । कतिपय त घरबाट लखेटिएका हुन् । कतिपयले सन्तानलाई सुम्पेको अथाह सम्पत्ति उनीहरूले जिन्दगीभरि रगत पसिना बगाएर जुटाएको हो । आफ्नै पौरख अन्तत: उनीहरूको आफ्नो छैन । आफ्नै सन्तान आफ्नाजस्ता छैनन् । खाई–नखाई हुर्काएका सन्तान नै बैरी भएका छन् । त्यसको कारण पनि सम्पत्तिमा उत्तराधिकार तोक्ने प्रचलन भएर हो । त्यो पनि छोरालाई मात्र । कतिपयका छोराले भएको सम्पत्ति बेलैमा अंशबण्डा गराएर लिन्छन्, बाबु–आमालाई रित्तै पार्छन् । कसले ‘पाल्ने’ नाममा अन्त्यमा बाबु–आमालाई नै मिल्काइदिन्छन् ।

उही नारी– बुहारी कठोर होलान्, छोरी पक्कै कठोर हुन सक्दैनन् । छोरीलाई समान माया र अधिकार दिनुहोस्, कहिल्यै दु:ख पाउनुहुने छैन ।

प्रकाशित : फाल्गुन २३, २०७३ ०७:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT