नारी दिवसको सार्थकता

साधना प्रतीक्षा

आफ्नो व्यस्त यात्राका क्रममा गाडीमा बजिरहेको गीतले मेरो ह्दयमा स्पर्श गर्दै मलाई भावुक बनायो । त्यसै गीतका स्थायी र अन्तरासँगै मैले जीवनको यथार्थ खोज्न थालेँ । यही बराबरी नै त हो, हाम्रो गन्तव्य हुनुपर्छ ।

नारी दिवसको सार्थकता

तिम्रो माया उनान्सय मेरो माया सय
एक थप्छु म पनि हुन्छ दुई सय
बराबर तिम्रो मेरो माया बराबर...
         सुखदु:ख बाँडौँ बराबर...।

यही बराबरीको स्थान पाउन लगभग दुई शताब्दीदेखि विश्वका महिलाले आन्दोलनको शंखघोष गरेका थिए । कैयौँ महिलाले अनेक अपवाद, पीडा, लाञ्छना र व्यवधान झेल्दै महिला मुक्तिको मार्ग कोरेका थिए, जसमा टेकेर आज हामी समाजका हरेक पक्षमा बराबरीको हक दाबी गर्न सकिरहेका छौँ । म पनि पलभरका लागि गद्गद् हुन्छु, आफू ‘दोस्रो दर्जा’मा सीमित बन्न नपरेकोमा तर मेरो खुसी दिगो रहन सकेन । अघिल्लो स्टपमा झर्नलागेका एक परिचित व्यक्तिले जाँदाजाँदै मतिर प्रहार गरेको वक्रदृष्टिले अतीतको एउटा नमिठो क्षणमा पुर्‍याइदियो ।

त्यस दिन म र एक परिचित बहिनी चिया दोकानमा गफ गर्दै चिया पिउँदै थियौँ, अन्य दुई परिचितको आगमन भयो । ‘के छ नारीवादीहरूको खबर ? निकै मस्ती मुडमा देख्छु नि ?’ व्यंग्य हाने उनले । ‘तपार्इँको नजरलाई धन्यवाद । हामी सधैँ मस्तीमा नै हुन्छौँ । किनकि हाम्रो मनमा आग्रह/पूर्वाग्रह छैन’, मैले भनेँ, अनि हामी दुबै मज्जाले हाँस्यौँ । उनले फेरि व्यंग्य नै हाने, ‘घर पुगेपछि हाँस्नु त्यत्तिकै हो, जति हाँस्ने—खेल्ने बाहिरै त हो नि’, मलाई खपिनसक्नु भयो, ‘तपाईँको परिवारमा हाँसो वर्जित छ भन्दैमा सबै परिवारमा यो नियम लागु हुन्छ र ?’ मेरो मुखबाट फुस्किहाल्यो । ‘दिदी जाऔँ, मलाई अलि हतार छ ।’ सम्भावित द्वन्द्वबाट उम्कन होला, बहिनी उठिन्, बाध्य भएर म पनि उठेँ । दुई पाइला अघि बढ्न नपाउँदै कानमा ठोक्किन आयो, ‘हिँडे भँडुवीहरू’ आज कसको घर भाँडिने हो कुन्नि’, यिनका संगतमा त कसैका जहान नपरुन् ।’ बहिनी अर्कै बाटो लागेकी थिइन्, म पनि रछान चलाएर हात मैल्याउन चाहिन र पछि नफर्किकन अघि बढिरहेँ । उनले त्यसरी मप्रति व्यंग्य गर्नुको कारण पुन: मेरो मानसपटलमा घुम्न थाल्यो । 

वर्षौंदेखि पतिको यातना लुकाएर हाँसिरहेकी दिदी अनायास त्यस दिन भक्कानिएर रोइन् । सायद उनको धैर्यको बाँध भत्केछ र उनले सारा पीडा मेरासामु छरपस्ट पारिन् । पतिले दिएका व्यक्त/अव्यक्त सबै पीडाको बेलिविस्तार लाउँदै उनले आफू जीवनदेखि थाकेको दु:खेसो पोखिन् । बालबच्चा अनि इज्जत/प्रतिष्ठाका नाममा उनले खेपेको यातना लुगाले छोपेको शरीरभित्रका नीलडामले प्रस्टै देखाउँथ्यो । एउटा शिक्षित अनि प्रतिष्ठित व्यक्तिकी पत्नीको यस्तो यथार्थ पत्याउन गाह्रो थियो । मैले उनीभित्र आत्मविश्वास र स्वाभिमान जगाउन भरमग्दुर प्रयास गरेँ । महिला वस्तु नभई मान्छे हो भन्दै उनलाई पनि अस्तित्वको खोजी गर्न प्रेरित गरेँ । त्यसपछि उनको मौनता विद्रोहमा परिणत भएछ, अनि उनी त्यो कथित ‘मर्द’को प्रतिकारमा उत्रिछन् । आफ्नो निरंकुश शासनको अन्त्य भएको पीडाको बदलास्वरूप थियो, अघिको मप्रतिको व्यंग्य प्रहार । यस्ता धेरै प्रहार खेप्नुपर्छ मैले र पनि म सन्तुष्ट छु, किनकि मेरो प्रयासले ती दिदीजस्ता दुई—चार महिला अव्यक्त पीडाको बन्धनबाट मुक्त हुनसकेका छन् ।

ओहो, कति संकुचित छौँ हामी । एक्काइसौँ शताब्दीमा पनि महिलालाई सोह्रौँ शताब्दीका आँखाले हेर्छौँ । मान्छेबीच पनि दास र मालिकको अदृश्य सीमा कोरिरहेका छौँ, अनि एउटाको भागमा दोहोरो/तेहोरो दायित्व थोपरेर परम्परा र संस्कारको संरक्षणकर्ताका रूपमा आफूलाई सृष्टिको सर्वश्रेष्ठ ठानिरहेका छौँ । पितृसत्तात्मक सामाजिक संरचनाले निर्माण गरिदिएको दास मनोवृत्तिबाट अझै मुक्त हुन सकिरहेको छैन, हाम्रो पुरुष अहम् । हामीकहाँ मात्र कहाँ हो र ? हामीले स्वतन्त्र देख्ने पश्चिमी समाजका नारीहरू यस्तै उत्पीडनका कारण लगभग दुई शताब्दीअघि नै पुरुषसत्ताका विरुद्ध उभिएका थिए । उदारवादी दृष्टिकोणले आरम्भ भएको उनीहरूको नारीवादी आन्दोलन उग्र नारीवादमा अझै सशक्त देखियो । पश्चिमी समाजमा उदारवादी बुभायर र फ्राइडनभन्दा केट मिलेट र फायरस्टोनका अभिव्यक्तिहरू लोकप्रिय बने । पुरुष निषेधित नारी समाजको परिकल्पना हुनथाल्यो । जुलिया क्रिस्तेवा, लुसी इरिगोरी र हेलेन सिक्स्युज पुरुष भाषाको बहिष्कार र नारी भाषाको आविष्कारका पक्षमा उत्रिए । न्यान्सी चोडोरोले त नारीवादी राजनीतिक सूत्र सोझै पुरुषलाई नारीकरण गर्नेतर्फ लक्षित हुनुपर्छ भन्ने अभिमत राखिन् । यसरी पाश्चात्य जगतका नारीहरू पुरुषविरुद्ध त्यसै खनिएका होइनन् । एउटा अतिवादले अर्को अतिवाद निम्त्याउँछ भन्ने मान्यताको उदाहरण हो त्यो । त्यहाँका महिलामाथि पितृसत्ताले गरेको शोषण र दमन चुलिँदै गएपछि नारी विद्रोह त्यसरी उर्लेको हो । महिला र पुरुषका नैसर्गिक अधिकारले सत्ताको रूप लिएपछि एकले अर्कोलाई दमन गर्ने र त्यसमाथि शासन गर्ने मनसा राखेपछि समाज द्वन्द्वग्रस्त बन्ने गर्छ । यसले समाजका स्वस्थ मान्यता पनि विघटित गराउनुका साथै पारिवारिक विखण्डनसमेत निम्त्याउँछ ।

आज हाम्रो समाजमा पनि यस्तै भइरहेको छ । महिला वर्गमा स्वअस्तित्व र चेतना जागृत हुनुलाई पुरुष वर्गले आफ्नो सत्ता अन्त्यको संकेतका रूपमा आँकलन गरेको देखिन्छ । त्यसैले महिला उत्पीडन विरुद्ध आवाज उठाउने अनि महिला पनि ‘मान्छे’ नै हो भन्दै बराबरीको स्थान खोज्ने महिलालाई चौतर्फी रूपमा व्यंग्य गर्ने गरिन्छ । यथार्थमा यो आँकलन सही देखिँदैन, किनकि हामी जसलाई ‘नारीवादी’ भनिने गरिन्छ, कुनै सत्ता स्थापनाका लागि संघर्षरत छैनौँ । पितृसत्ता विरुद्धको हाम्रो युद्ध मातृसत्ता स्थापनाका लागि होइन, किनकि सत्ता सधैँ शासन र दमनका लागि स्थापित हुने गर्छ । हामी त सत्ताविहीन र समतामूलक समाजको परिकल्पनामा संघर्षरत छौँ । त्यस्तो समाज हाम्रो लक्ष्य हो, जहाँ ‘छोरी’ भएर जन्मदैमा कसैलाई कर्तव्य र दायित्वको भारी बोकाउने अनि ‘छोरा’ भएर जन्मदैमा कसैलाई असीमित अधिकार दिएर दायित्वबाट मुक्त गराउने प्रवृत्ति रहने छैन । हरेक व्यक्ति केवल मान्छे भएर जन्मनेछ, अनि कर्मका आधारमा समाजमा उसले आफ्नो पहिचान स्थापित गर्नेछ । त्यो पहिचान केवल उसको आफ्नो हुनेछ । कसैको नामथरसँग जोडिने छैन । बिना कुनै भेदभाव मान्छे भएर बाँच्न पाउने अधिकारको लडाइँ हो, हाम्रो नारीवाद । आग्रह/पूर्वाग्रह र प्रतिशोधले प्रेरित क्षणिक आवेग होइन । त्यसैले तर्सिनु आवश्यक छैन, ‘नारीवादी’हरूसँग । 

हो, मेरो नारीवादी मन ती दिदीसँग दुख्ने गर्छ, जो घरमा लोग्नेले हेला गरेर खान—लाउन नदिएपछि अर्काको घरमा काम गर्न थालिन्, तर त्यहाँ पनि उनको श्रमको शोषण भइरहेको दु:खेसो पोख्छिन् । उनीमात्र होइन, असंख्य यस्ता महिला छन्, जसको घरमा परिवारले शोषण गर्छ, कार्यक्षेत्रमा मालिकले श्रम शोषण गर्छ, अनि एकान्तमा कुनै पुरुषले यौनशोषण गर्छ । यसरी तेहोरो शोषणको मार खेपिरहेछन्, आम महिला । यस्तो शोषणको अन्त्यका लागि एक—दुई जनाको प्रयासले पुग्दैन । हरेक व्यक्ति, परिवार अनि समाज यसतर्फ सकारात्मक बन्नुपरेको छ । 

भगवानको अर्धनारीश्वर स्वरूप नारी–पुरुषको सहअस्तित्वको प्रतीक हो । दुबैको आधा—आधा मिलेर एउटा सिंगो बनेको त्यो शक्ति जीवन जगतको यथार्थ हो । त्यसैले पुरातन संस्कारी पुरुषले महिलालाई दासी ठान्नु अनि आधुनिक संस्कारी पुरुषले महिलालाई प्रतिद्वन्द्वी ठान्नु दुबै गलत दृष्टिकोण हुन् । जबसम्म यस्तो दृष्टिकोण रहिरहन्छ, समाजमा लिंगमा आधारित श्रम विभाजन चलिरहन्छ, तबसम्म महिलामुक्ति नारामा मात्र सीमित रहन्छ । महिलाका लागि वर्षमा एकदिन विशेष मञ्च, सभा/जुलुसभन्दा पनि व्यक्ति र परिवारको मानसिकतामा परिवर्तनको खाँचो छ । जीवन जगतका लागि हामी दुबै बराबरी हौँ भन्ने यथार्थबोध नै सही अर्थमा समाज विकासको मार्ग हो । 
 

प्रकाशित : फाल्गुन २४, २०७३ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?